2026 April 12/ 02:58: 21am

    मलाई मेरो बाल्यकालको गन्ध अझै सम्झना आउँछ । ओसिलो माटो, भिजेको पराल र चुल्होको धुवाँ मिसिएको त्यो गन्ध...। त्यो नै मेरो संसार थियो । हाम्रो घर सानो थियो, तर दुःख भने निकै ठूलो । बाबु दिनभरी काम खोज्दै हिँड्नुहुन्थ्यो, तर प्रायः खाली हात फर्किनुहुन्थ्यो । आमा... । उहाँको अनुहार सधैं थकानले भरिएको हुन्थ्यो । मलाई लाग्थ्यो–उहाँ कहिल्यै हाँस्नुहुन्न । छोरी, पढ्न मन छ ? एक दिन आमाले सोध्नुभयो । मैले टाउको हल्लाएँ । तर त्यो ‘हो’ भित्र हजारौँ अधुरा सपना थिए । स्कूल जाने, किताब बोकेर हिँड्ने, अरू बच्चाहरूजस्तै हाँस्ने...। तर हाम्रो घरमा सपना देख्न पनि विलासिता जस्तै थियो । गरिबी–जसले बाल्यकाल खायो । हाम्रो घरमा धेरै कुरा थिएन, न राम्रो लुगा, न पर्याप्त खाना, न भविष्यको कुनै स्पष्ट बाटो । तर एउटा कुरा थियो, गरिबी । जसले हरेक दिन हामीलाई चुपचाप खान्थ्यो । 
    धेरै रातहरू यस्तो हुन्थ्यो, जब हामी भोकै सुत्थ्यौँ । आमाले भन्नुहुन्थ्यो, म खाइसकेँ, तिमी खाऊ । तर म बुझ्थेँ, उहाँले झुट बोलिरहनु भएको छ । सपना र प्रलोभन । एक दिन गाउँमा एक जना दाइ आउनुभयो । सहरबाट आएका । लुगा राम्रो, बोली मीठो । उहाँले मलाई हेरेर भन्नुभयो, काम गर्छेस् भने सहरमा राम्रो पैसा कमाउन सक्छेस् । मेरो मन एक्कासी उज्यालो भयो । मलाई लाग्यो–यो नै मेरो बाटो हो । त्यहाँ तिमीलाई बस्ने, खाने, सबै सुविधा हुन्छ  । आमाको आँखामा शंका थियो । तर गरिबीले हामीलाई सोच्ने समय नै कहाँ दिन्थ्यो र ? अन्ततः...म सहर जाने निर्णय गरें । गाउँ छोड्ने दिन आमा धेरै रोइनुभयो । म पनि रोएँ । तर हामी दुबैलाई थाहा थियो, यो रोइ रोक्न सकिँदैन । छोरी, आफूलाई बचाएर राख्नु, आमाले भन्नुभयो । त्यो वाक्य मेरो मनमा कुँदिएको छ । तर त्यसबेला मैले बुझिनँ, मलाई कसरी बचाउनु पर्ने थियो ? 
    सहरको पहिलो झल्को सहर...। त्यो ठाउँ जुन मैले कहिल्यै देखेकी थिइनँ । बत्तीहरू, गाडीहरू, मान्छेहरूको भीड...। सबै कुरा नयाँ, अनौठो । म डराएकी थिएँ, तर आशाले भरिएको पनि । मलाई एउटा होटलमा लगियो । त्यहाँ भनियो, यही तिम्रो काम गर्ने ठाउँ हो । सुरुका दिनहरूमा सबै सामान्य लाग्यो । म बिहानदेखि बेलुकासम्म काम गर्थेँ, भाँडा माझ्ने, कोठा सफा गर्ने, पानी दिने...थाक्थेँ, तर मनमा सन्तोष थियो । म सोच्थेँ, अब मेरो जीवन बदलिन्छ । तर केही कुरा अनौठो लाग्न थाले । केही मान्छेहरू मलाई हेर्ने तरिका...। केही कुरा जसले मेरो मनमा डर जगाउन थाल्यो । म बुझ्न सकिरहेकी थिइनँ, तर भित्र कतै केही ठीक छैन भन्ने महसुस हुन्थ्यो । एक रात । सबै कुरा बदलियो । मलाई बोलाइयो । आज तिमीले अर्को काम गर्नुपर्छ भनियो । म अलमलमा परेँ । तर केही बेरमै सबै स्पष्ट भयो । मेरो ‘होइन’ को कुनै अर्थ थिएन । मेरो आवाज कसैले सुनेन । त्यो रात मेरो बाल्यकाल चुपचाप मसँगबाट खोसियो । 
    त्यसपछि म बोल्न छोडेँ । म भित्रैभित्रै चिच्याइरहेकी थिएँ, तर बाहिर शान्त थिएँ । म जिउँदो थिएँ, तर बाँचिरहेकी थिएँ कि थिएन । मलाई थाहा थिएन । अरू पनि थिए.। त्यहाँ म मात्र थिएन । अरू पनि थियौं, मेरोजस्तै साना, मेरोजस्तै डराएका । हामी एकअर्कालाई हेथ्र्यौँ तर बोल्दैनथ्यौँ । हाम्रो मौनताले सबै कुरा भनिरहेको थियो । दिनहरू जो कहिल्यै सकिएनन् । दिन र रात एउटै जस्तो लाग्न थाल्यो । हरेक दिन एउटै पीडा, एउटै डर । हामीलाई थोरै पैसा दिइन्थ्यो, तर त्यो पैसा हाम्रो पीडाको मूल्य हुन सक्दैनथ्यो । म आफूलाई सोध्थेँ, किन म ? के मेरो गल्ती थियो ? के गरिब हुनु अपराध हो ? उत्तर कहिल्यै आएन । म शारीरिक मात्र होइन, आत्मिक रूपमा पनि थाकिसकेकी थिएँ । म भित्रको सानो केटी, जो कहिल्यै हाँस्थी, जो सपना देख्थी, उ बिस्तारै हराउँदै गइरहेकी थिई । एक दिन । केही बदलियो । सायद पीडा धेरै भयो । सायद डरभन्दा ठूलो साहस जन्मियो । मैले पहिलो पटक सोचें । मैले बोल्ने निर्णय गरें । त्यो सजिलो थिएन । डर थियो । के हुन्छ ? तर म चुप बस्न सक्दिनथें अब । प्रहरीसम्म पुग्ने बाटो खोजें । जब म प्रहरीसम्म पुगेँ, म काँपिरहेकी थिएँ । तर त्यही क्षण, मेरो जीवनको सबैभन्दा ठूलो कदम थियो । अन्तिम होइन सुरुवात बन्यो । त्यो उजुरी केवल एउटा कागज थिएन, त्यो मेरो आवाज थियो । त्यो मेरो विद्रोह थियो । त्यो मेरो पुनर्जन्म थियो । 
    म अझै पूर्ण रूपमा ठीक छैन । म अझै डराउँछु । म अझै राति ब्युँझिन्छु । तर अब म चुप छैन । म फेरि बाँच्न सिकिरहेकी छु । मानिस भन्छन् समयले सबै घाउ निको पार्छ । तर मेरो लागि समयले घाउ मेटाएन, बरु मलाई ती घाउसँग बाँच्न सिकायो । म अहिले एउटा सुरक्षित स्थानमा छु । त्यो ठाउँ, जहाँ कसैले चिच्याउँदैन, कसैले आदेश दिँदैन, कसैले डर देखाउँदैन । पहिलो दिन मलाई अचम्म लाग्यो । शान्ति पनि कति अनौठो हुन्छ ! एकदिन म ऐनाअगाडि उभिएँ । धेरै समयपछि आफूलाई नियालेर हेरेँ । त्यो अनुहार मेरो थियो । तर म जस्तो लागेन । आँखामा थकान थियो, तर कतै गहिराइमा सानो उज्यालो पनि देखिन्थ्यो । मैले आफैँलाई सोधेँ, तिमी को हौ ? उत्तर तुरुन्तै आएन । तर प्रश्न जाग्यो, त्यो नै ठूलो कुरा थियो । 
    मलाई फेरि पढ्ने मौका दिइयो । पहिलो दिन कापी र कलम समाउँदा मेरो हात काँपिरहेको थियो । म मुस्कुराएँ, किनकि त्यो काँपाइ डरको होइन, आशाको थियो । कापीको पहिलो पानामा मैले आफ्नो नाम लेखेँ । त्यो नाम । अब नयाँ अर्थ बोकेको थियो । साथीहरू जो बुझ्छन् त्यहाँ म जस्ता अरू पनि थिए । हामी सबै फरक कथा बोकेका, तर एउटै पीडाले बाँधिएका । हामी हाँस्थ्यौँ, कहिलेकाहीँ रोन्थ्यौँ पनि । तर अब हाम्रो आँसु कमजोरीको होइन, मुक्तिको थियो । रातहरू अझै आउँछन् ।  कहिलेकाहीँ रात अझै भारी हुन्छ । पुराना सम्झनाहरू अचानक फर्किन्छन् । म ब्युँझिन्छु, सास फेर्न गाह्रो हुन्छ । तर फरक के छ भने, अब म एक्ली छैन । मसँग शब्द छन्, मानिस छन्, र...आशा छ । 
    मलाई सिकाइयो, मेरो आवाज महत्त्वपूर्ण छ । पहिले म चुप थिएँ । अब म बोल्छु । म आफ्नै कथा सुनाउँछु, किनकि सायद कसैले त्यो सुनेर आफ्नो साहस भेट्नेछ । म फेरि समाजको बीचमा उभिएँ । केही नजरहरू अझै उस्तै थिए, जिज्ञासु, शंकालु, कहिलेकाहीँ कठोर । तर यसपटक म झुकेन । मैले आफैँलाई सम्झाएँ, म दोषी होइन । धेरै समयपछि मैले यो बुझें, मसँग भएको कुरा मेरो पहिचान होइन । म ‘त्यो घटना’ होइन । म त्योभन्दा धेरै ठूलो छु । म बाँचिरहेकी छु । म लडिरहेकी छु । म बढिरहेकी छु । अब म सपना देख्छु, ठूलो । म पढ्न चाहन्छु । म अरूलाई सहयोग गर्न चाहन्छु । सायद एकदिन म त्यही ठाउँमा पुग्छु, जहाँ म जस्ता अरू बालिकाहरूलाई सहारा दिन सकूँ । अहिले म अँध्यारोलाई फरक तरिकाले हेर्छु । अँध्यारो डर मात्र होइन रहेछ, त्यो एउटा परीक्षा रहेछ । त्यसपछि आउने उज्यालो अझ मूल्यवान् हुन्छ । आफूलाई माफ गर्दै सबैभन्दा गाह्रो कुरा के थियो भने, आफूलाई माफ गर्नु । 
    बनेपा नगरपालिका वडा नम्बर १४ साँगामा सञ्चालनमा रहेको ‘कोकास रेस्टुरेन्ट एण्ड गेष्ट हाउस’ भित्रको कथा हो यो । यहाँ भन्दा अघि अन्यत्र यस्ता घटना सुनेको थिएँ । मानव बेचबिखन तथा यौन शोषणको अवैध गतिविधि सञ्चालन गरेको आरोपमा होटल सञ्चालक श्रीमान् थुनामा पठाइएका छन् भने उनकी श्रीमतीलाई धरौटीमा रिहा गरिएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकका जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले ३८ वर्षीय मानबहादुर खड्कालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । सिन्धुपाल्चोक जिल्ला साविक जलविरे गाविस–३ (हाल बलेफी गाउँपालिका–१) स्थायी घर भएका खड्का बनेपा–१४ मा उक्त होटल सञ्चालन गर्दै आएका थिए । उनी नेपाली सेनाका पूर्व सिपाही हुन् । काठमाडौमा भेट भएकी सवितासँगको प्रेम विवाह पछि उनको श्रीमतीले संचालन गर्दै आएको गेष्ट हाउसमा उनी बस्दै आएका थिए । पछिल्लो समय उनकै नाममा होटल दर्ता गरिएको रहेछ । उनकी ४६ वर्षीया श्रीमती सविता माझी पनि पक्राउ परेकी थिइन् । तर अदालतले उनलाई भने धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
    होटलमा काम गर्ने नाममा राखिएका महिला तथा हामी बालिकालाई न्यून पारिश्रमिक प्रति ब्यक्ति ५०० रुपैयाँ दिई यौनजन्य गतिविधिमा संलग्न गराइएको थियो । हामी जस्ता बालिकाहरुलाई निरन्तर यस्तो कार्यमा बाध्य बनाए पछि हामीले प्रहरीमा जाहेरी दिएका हौं । जाहेरी तथा बयानका आधारमा खड्का दम्पतीसहित अन्य व्यक्तिहरूलाई पक्राउ गरिएको हो । यसअघि पनि बनेपाकै एक होटल सञ्चालकविरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता भएको रहेछ । पाँचखाल केराघारी क्षेत्रमा रहेको अर्को होटलका सञ्चालकविरुद्ध पनि यस्तै प्रकृतिको मुद्दा चलिरहेको रहेछ र उनी हाल पुर्पक्षका लागि कारागारमा छन् । जिल्लामा विभिन्न स्थानमा संचालनमा रहेका यस्ता होटल तथा लजहरुमा हामी जस्ता बालिकाहरु अझै यस्तो कार्यमा संलग्न हुन बाध्य छन् । हुनत काम पनि अर्काे सहज पाउन कठिन छ । तर पनि यस्तो कठोर र दयनीय ब्यवसायमा संलग्न हुन छाडौं । गराईएको छ भने मुख खोलौ । विकल्प कति छन् कति । 
    मैले आँट गरें । संघर्ष गरें । बिस्तारै मैले सिकेँ, त्यो मेरो गल्ती थिएन । आज म पूर्ण रूपमा ठीक छैन । सायद कहिल्यै हुँदिन पनि । तर म अघि बढिरहेकी छु । हरेक दिन सानो पाइला, तर अगाडि । यदि कसैले मलाई सोध्यो, तिमी को हौ ? अब म भन्छु, म त्यो केटी हुँ जसले अँध्यारो देखी, तर उज्यालो रोजी । म त्यो आवाज हुँ जसलाई दबाउन खोजियो, तर अझ बलियो भएर फर्कियो । यदि कतै मेरोजस्तै कुनै केटी अहिले पनि अँध्यारोमा छ भने, म उसलाई भन्न चाहन्छु, तिमी एक्ली छैनौ । तिम्रो आवाज महत्वपूर्ण छ । उज्यालो सम्भव छ । अन्त्य होइन । यो कथा अन्त्य होइन । यो केवल नयाँ जीवनको सुरुवात हो । जब एउटा बालिका आफ्नो डरमाथि उठ्छे, त्यो केवल उसको विजय होइन, समाजको पनि जागरण हो । 

पीडित बालिका
बनेपा, १४, काभ्रे