2026 February 25/ 04:28: 08am

    मतदाताहरुलाई रिझाउन उम्मेदवाहरु घर दैलोमा पुगिरहेका छन् । नेपालको नीति र थितीका बारेमा जनता अझै जानकार छैनन् । भोट माग्ने बेला देखाउने आश्वासन दिए पछि पुरा नभएका कयन उदाहरण छन् । त्यसको एउटै कारण छ मुलुकको बजेट विनियोजन गर्ने तरिका र अवस्था । सांसद्हरुले संसद्मा पुगेर मुलुक निर्माण गर्ने कानून बनाउनु पर्ने हो । सांसद्ले गर्ने काम र वडा अध्यक्षले गर्ने भूमिका उस्तै छ । उसले पनि बजेटको कुरा गर्छ । सांसद्ले पनि बजेटको । आवश्यकताका आधारमा भन्दा पनि पहुँच र पदका आधारमा विनियोजन हुने बजेटले जनता आक्रान्त भएका छन् । राज्य जबसम्म सबै नागरिकका लागि समान हुन सक्दैन । तबसम्म उसले दिने सेवाबाट नागरिक सन्तुष्ट हुन सक्दैन । 
    उदाहरणका लागि हात्तिले खाने खाना र बाख्राले खाने खानालाई समानता खोजेर पनि हुँदैन । राजधानीमा हुने विकास र ग्रामिण क्षेत्रको विकासलाई पनि समान रुपमा हेरिनु हुँदैन । काठमाडौमा भत्केको पिच नटाल्दा भएको समस्या गाउँमा सडक नै नपुगेका कारण भएको छ । यस्ता कयन विषयमा राजनीतिक दल, तीन तहका सरकार जानकार छन् तर अबुझ भएका छन् । जबसम्म वडागत रुपमा बजेट विनियोजन गरी पहुँचका आधारमा गर्ने प्रथा हटाउन सकिदैन तबसम्म चुनाव र उम्मेदवार आउँछन् जान्छन् जनताको समस्या जस्ताको तस्तै हुन्छ । २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मा हुन लागेको छ । यो त्यसकै एउटा विस्फोटको रुप हो । अहिले पनि हाम्रो जिल्लाका कयन समस्या छन् । २०८० मा गएको बाढी पहिरो, २०७२ सालमा गएको भुकम्प, २०७५ सालमा आएको कोरोना भाईरस यसका उदाहरण हुन् । यसबाट हामी पीडित छौं तर पीडामा मल्हम लगाउनु पर्ने सरकार आफै विभेदमा संलग्न भयो । जातका आधारमा, विचारका आधारमा, क्षेत्र र लिङ्गका आधारमा उपलब्ध गराउने राज्यका सेवा सुविधाहरुले समेत हामीलाई छुन सकेन । 
    मेरो नाम माया । यो नाम मैले आफैं रोजेको होइन । यो नाम मेरो जन्मसँगै आयो । तर २०८० असोज १०–१२ पछि भने मेरो नामसँगै एउटा अर्को कुरा पनि जोडियोानीको अभाव । पहिले मलाई पहिरोको डर लाग्थ्यो । अब मलाई पानीको डर लाग्छ । किनकि पहिरोले घर भत्काउँछ, तर पानी नहुँदा जीवन भित्रैबाट सुक्छ । मेरो घर गाउँको तल छ । गाउँका मान्छेले यसलाई तलको दलित बस्ती भन्छन् । तल भिर, माथि पहिरो । हामी बीचमा छौं । हामीलाई हेर्ने आँखा पनि बीचमै अड्किन्छ न माथि मानिन्छ, न तल बाँच्न दिइन्छ । असोज १० को बिहान म चुल्हो बाल्दै थिएँ । दाउरा भिजेको थियो । धुवाँले आँखा पोलिरहेको थियो । बाहिर पानी परिरहेको थियो सुरुमा बिस्तारै, अनि क्रमशः झन् जोडले । मलाई थाहा छैन किन, त्यो दिनदेखि नै मन भित्र कताकता डर बसिसकेको थियो । मानौं आकाशले केही ठूलो कुरा लुकाएर राखेको थियो । छिमेकी कमला विक दिदी ढोका छेउ आइन् । उनले भनिन्, माया, आज पानी धेरै पर्छ जस्तो छ । माथिको ढिस्को हेर है । मैले टाउको हल्लाएँ । म मुस्कुराएँ पनि । तर मेरो मुस्कान झुटो थियो । मेरो पेटभित्र डरको गाँठो बसिसकेको थियो ।
    असोज ११ मा पानीले गाउँलाई कुट्न थाल्यो।मलाई लाग्यो, पानीले केवल माटो बगाउँदैन मान्छेको धैर्य पनि बगाउँछ । साँझपख घरको छानोमाथि टकटक आवाज आयो । ढुंगा झरेको थियो । मेरो छोरो सुरजले सोध्यो, आमा, हाम्रो घर भत्किन्छ ? मैले के उत्तर दिनु ? मैले ‘भत्किँदैन’ भनेँ । तर त्यो शब्द मैले बच्चालाई बचाउन बोलेको थिएँ, आफूलाई होइन । मेरो छोरी प्रिया भित्रैबाट रोइरहेकी थिई । उसको रोदनमा पानीको आवाज मिसिएको थियो । असोज १२ को रात बत्ती गएको थियो । मोबाइलमा चार्ज थिएन । घरभित्र अँध्यारो थियो, तर मेरो मनभित्र झन् ठूलो अँध्यारो । त्यहीबेला माथिबाट ठूलो गर्जन आयो, मेरो शरीर जम्यो । म चिच्याउन खोजेँ । तर मेरो घाँटीबाट आवाज निस्केन । कमला दिदीको घरतिरबाट चिच्याहट आयो, ओइ ! पहिरो आयो ! मैले बच्चालाई समातेर छातीमा च्यापेँ । प्रिया काँपिरहेकी थिई । सुरजले मेरो हात समातेर भन्यो, आमा, मलाई नछोड है । त्यो रात पहिरोले मेरो गोठ पु¥यो । दुईवटा बाख्रा पुरियो । बाख्राको ‘म्या’ आवाज मेरो कानमा अझै पनि बज्छ । घर आधा बाँकी रह्यो । तर आधा घर बाँकी हुनु भनेको पूरै डर बाँकी हुनु रहेछ । असोज १३ को बिहान म सबैभन्दा पहिले धारामा गएँ । धारा खोल्दा पहिले जस्तो ‘छपछप’ आवाज आउँछ भनेर मनले आशा गरेको थियो । तर धाराबाट केवल हावा निस्कियो । ‘क्याँ...क्याँ...’पानी आएन । मैले फेरि खोलेँ । फेरि हावा । फेरि खालीपन । त्यो क्षण मलाई लाग्यो, पहिरोले मेरो गोठ पुरेन, मेरो भोलि पु¥यो । बच्चाहरुको भविश्य पनि । फेरी संघर्ष र अभाव । 
    हाम्रो गाउँमा केही वर्षअघि खानेपानी आयोजना बनेको थियो । ठूलो होइन । तर हाम्रो जस्तो बस्तीका लागि त्यो आयोजना ठूलो सपना थियो । धारा घरनजिकै आउँदा मैले पहिलो पटक महसुस गरेकी थिएँ हामीजस्ता मान्छेले पनि धारा पाउन सक्छौं । तर असोज १०–१२ ले सबै बगायो । मुख्य पाइप बग्यो । स्रोत जाने बाटो पुरियो । ट्यांकी चर्कियो । अब धारा मेरो घर अगाडि छ, तर पानी छैन । धारा छ, तर जीवन छैन । पानी छैन भने भात पकाउन सकिँदैन त्यो त सबैलाई थाहा छ । तर पानी छैन भने, बच्चाको हात–मुख धुन सकिँदैन । महिनावारीमा महिलाले आफूलाई सफा राख्न सक्दैन । लुगामा गन्ध आउँछ । छाला चिलाउँछ । घरभित्र गन्ध बस्छ । बच्चा बिरामी पर्छ । मानिसले आफूलाई ‘मान्छे’ जस्तो महसुस गर्न छोड्छ । पानी नहुँदा म भित्रैबाट सुक्दै गएँ । कहिलेकाहीँ मलाई लाग्यो म रोएर पनि आँसु बचत गरिरहेकी छु ।
    अब मेरो बिहान गाग्री उठाएर सुरु हुन्छ । म र कमला दिदी, र अरू महिलाहरू, खोल्सातिर झर्छौं । खोल्सा जानु भनेको केवल तल झर्नु होइन । खोल्सा जानु भनेको भिरको किनारै किनार मृत्युसँग हात मिलाउँदै हिँड्नु हो । माथिबाट पहिरो झर्ला कि भन्ने डर । तलबाट चिप्लिएर खोल्सामा खसिएला कि भन्ने डर । तर प्यासले डरलाई जित्छ । मान्छे डराएर पनि पानी खोज्न जान्छ । खोल्साको पानी धमिलो छ । गाईबस्तु पनि त्यहीँ पिउँछ । तर म पनि त्यहीँ पिउँछु । किनकि पानी नपिउँदा मान्छे मर्छ । प्रिया एकदिन स्कूलबाट रोइँदै आई । उनले भनिन, आमा, साथीहरूले मलाई फोहोर भने... मेरो लुगा गन्हाउँछ रे । त्यो दिन पहिरोभन्दा ठूलो चोट लाग्यो । पहिरोले घर भत्काउँछ । तर अपमानले बच्चाको आत्मा भत्काउँछ ।उसले फेरि सोधी, आमा, हाम्रो घरमा पानी किन आउँदैन ? मैले उत्तर दिन सकिनँ । मसँग शब्द थिएन । मसँग केवल आँसु थियो । म वडा कार्यालय गएँ । निवेदन लिएर । गाग्री बोकेको हातले कागज पनि समातेँ । वडा अध्यक्ष थिएनन् । सदस्य र केहि कर्मचारी थिए । उनिहरुले वडा अध्यक्षकै शैलीमा भन्न थाले । समस्या थाहा छ । तर बजेट छैन । त्यो ‘बजेट छैन’ भन्ने वाक्यले मेरो घाँटी फेरि च्याप्यो । मलाई लाग्यो हाम्रो दुःख सरकारको भाषामा अंक मात्र रहेछ ।
    अभावको अर्को नाम पालिका । पालिकामा गएँ । कर्मचारीहरुले कागज हेरे । हजुर, पालिकाले मात्रै गर्न सक्दैन । बजेट छैन । मैले सोधेँ, प्रदेश ? उनले भने, प्रदेशको प्राथमिकतामा परेको छैन । मैले सोधेँ, संघ ? उनले मुस्कुराएर भने, संघले धेरै ठाउँ हेर्नुपर्छ नि । त्यो वाक्य सुन्दा मलाई लाग्यो, हामी यो ठाउँका होइनौं र ? एकदिन इन्जिनियर आए । सबैको नाम कण्ठस्थ भए पनि भन्न मन लागेको छैन । उनले पाइप बगेको ठाउँ हेरे । ट्यांकी चर्किएको ठाउँ हेरे । कम्तीमा २–३ करोड चाहिन्छ । तर उनले अर्को कुरा पनि भने, कहिलेकाहीँ करोड होइन, थोरै पाइप र फिटिङले पनि काम चल्छ । यो स्थानमा तत्कालका लागि थोरै बजेट भयो भने खानेपानी नियमित हुन सक्छ । मैले त्यो वाक्य सुन्दा मनभित्र आगो लाग्यो । थोरै पाइप नहुँदा पनि हामी यति ठूलो संकटमा छौं ।
    विस्थापनको विकल्प भएन । घर छोड्नु भनेको आत्मा छोड्नु हो । बैठकमा वडा अध्यक्षले भने, तलको बस्ती सार्नुपर्छ । मलाई त्यो शब्द सुन्दा शरीर चिसो भयो । माथि ठाउँ कहाँ छ ? कसले जग्गा दिन्छ ? कसले घर बनाइदिन्छ ? विस्थापन शब्द सरकारी कागजमा सजिलो छ । तर मेरो भाषामा विस्थापन भनेको, घर छोड्नु, आत्मा छोड्नु। ‘भन्यो कसैले सुन्दैन’ । हामी महिलाहरू ११ जना भएर पुनः वडा कार्यालय गयौं । औंठाछाप लगायौं । निवेदन दियौं । वडा सचिवले कागज लिएर भने, ठिक छ, पठाउँछु । कमला दिदीले सोधिन् । कहिले आउँछ ?वडा सचिवले भने, भन्न सकिन्नँ । त्यो दिन मेरो आँखाबाट आँसु निस्केन । आँसु पनि थाकेको थियो । मेरो मुखबाट एउटा वाक्य निस्कियो, भन्यो कसैले सुन्दैन । धारामा बसेर मैले आफूलाई सम्झाएँ । एक साँझ म सुक्खा धाराको छेउमा बसेँ । धाराको टुप्पोमा जंग लागेको थियो । पानीको सट्टा हावा मात्रै । मैले धाराको टुप्पो छोएँ । र मनमनै भनेँ, धारा सुक्यो भने पनि, म सुक्न दिन्न । मेरो छोरी प्रिया आई । उसले फेरि सोधी, आमा, पानी कहिले आउँछ ? मैले यसपटक झुटो बोलिनँ । मैले उसलाई अँगालो हालेर भनेँ, पानी आउँछ छोरी । तर हामीले चुप बसेर होइन, बोलेर, मागेर, लडेर ल्याउनुपर्छ । मलाई थाहा छ यो लडाइँ सजिलो छैन । तर माया सधैं आँसु मात्र होइन । माया कहिलेकाहीँ आगो पनि हो ।
    यो पटक हामीले नेताहरुलाई बाचा मात्रै गराएका छैनौं । पहिरोको जोखिमलाई हटाउन र पानीलाई नियिमत आउने गरी बनाउन तत्काल गर्नु पर्ने काम गराएका छौ । भोट सबैको बराबर हो । तर त्यसको मत र जनमतलाई कदर गर्ने नेता मात्रै जनताको असली भगवान हुन् । त्यो भगवान बन्न चाहनेहरु मात्रै मन माग्न जानुस् । हामी मत दिन्छौं तर जनतासँगै रहनुस् । 

माया परियार
पनौती, काभ्रे