2026 February 25/ 04:28: 14am

    पहिलो पटक ‘बाबु’ शब्द सुनेको दिन..। मेरो शरीर काँपेको थियो । त्यो शब्द मेरो छोराले बोलेको थियो । तर त्यो शब्दमा खुशीभन्दा धेरै खालीपन थियो । आँगनमा धूलो उडाउँदै खेलिरहेको चार वर्षको मेरो छोरो एक्कासी म तिर फर्कियो । उसको आँखा एकदमै सरल थियो तर प्रश्न चाहिँ यस्तो थियो, जसले मेरो छाती चि-यो । उसले सोध्यो, आमा... मेरो बाबु को हो ?
    म एकछिन चुप लागेँ । हातमा भाँडा माझ्ने झोल थियो, आँखामा पानी, र मनमा १२ वर्षदेखि थिचिएको एउटा भारी ढुङ्गा । म बोल्न खोज्दै थिएँ, ‘तिम्रो बाबु विदेशमा हुनुहुन्छ । तर त्यो वाक्य घाँटीमै अड्कियो । किनभने विदेशमा हुने मान्छे...कम्तीमा फोन गर्छ । फोटो पठाउँछ । आवाज सुनिन्छ । अहिले त प्रविधिको जमाना छ । भिडियो कल गर्छ । भौतिक शरीर नभए पनि भावनात्मक एकता सहितको सामिप्यता रहन्छ । तर मेरो जीवनमा बाबु भनेको, आवाज नभएको, फोटो नभएको, सम्पर्क नभएको..एक धुवाँजस्तो छायाँ बनेको थियो ।
    विवाह हुँदा म २२ वर्षकी थिएँ । हालको बनेपाको एक सामान्य परिवार । जहाँ बिहान चिया, साँझ दालभात, अनि हरेक बिहान घर कसरी चलाउने ? भन्ने चिन्ता । मेरो श्रीमान विनोद । हँसिला थिए । कुरा गर्दा आँखामा चमक हुन्थ्यो । कहिलेकाहीँ उनी भन्थे, हामी पनि राम्रो घर बनाउँछौँ है, सरला ? विवाहपछिको पहिलो वर्ष । मेरो जीवन साँच्चै नयाँ थियो । सासू–ससुरा, नन्द–देवर, गाउँले, छिमेकीसबैको बीचमा म ‘बुहारी’ बनेँ । बुहारी हुनु भनेको यहाँको समाजमा एउटा पद जस्तै हो । जिम्मेवारी, नजर, अनि हरेक निर्णयमा हजारौं प्रश्न । विवाहको नौ महिनामै मैले थाहा पाएँ, मेरो गर्भ बसेको छ । घरमा खुशी आयो । सासुले मिठो बनाएर खुवाउनुभयो । ससुराले गाउँमा बाहिर गएर भन्नुभयो, हाम्रो वंश बढ्ने भयो । विनोदले मेरो निधारमा हात राखेर भने, अब त अझै मेहनत गर्नुपर्छ । त्यही वाक्यले मेरो भविष्यको दिशा तय ग¥यो । किनभने हाम्रो समाजमा ‘मेहनत’ भन्ने शब्दको अर्थ अक्सर एउटै हुन्छ । विदेश जाने ।
    विनोदले पासपोर्ट बनाइसक्नुभएको थियो । कागजहरू तयार । कतार हो कि मलेसिया मलाई ठ्याक्कै सम्झना छैन । तर मलाई आज पनि याद छ, उनको टिकटको मिति । त्यो मिति मेरो जीवनमा एउटा चिरा जस्तै बन्यो । उहाँ जानु अघिल्लो रात, म निदाउन सकिनँ । मेरो पेटमा बच्चा थियो । मेरो मनमा डर थियो । मैले सोधेँ, तिमी गएपछि... म एक्लै...?उहाँले ढाडस दिनुभयो, म छिट्टै फर्किन्छु । पैसा कमाएर आउँछु । हाम्रो बच्चा जन्मिँदा म साथमै हुन्छु । मैले आँसु पुछेँ । र विश्वास गरेँ । भोलिपल्ट बिहान...घरले धूप बाल्यो । सासूले टीका लगाई दिनुभयो । ससुराले निधारमा हात राखेर आशीर्वाद दिनुभयो । म चाहिँ ढोकाको छेउमा उभिएर चुपचाप रोइरहेँ । मेरो आँखामा एउटा प्रश्न थियो, यो विदाई कति लामो हो ? विनोदले फर्केर हेर्नुभयो । उहाँको आँखामा पनि आँसु थियो । तर त्यो आँसुमा एउटा पुरुषको बाध्यता थियो । कमाएर मात्र घर चल्छ भन्ने समाजको आदेश थियो ।
    विदेश पुगेपछि सुरुका दिनहरू ठीक थिए । फोन आउँथ्यो । कहिलेकाहीँ भिडियो कल पनि । म पेटमा हात राखेर बच्चालाई सुनाउँथेँ । तिम्रो बाबु बोल्दै हुनुहुन्छ । विनोदले पनि बोल्नुहुन्थ्यो । छोरा हो कि छोरी ? म हाँस्दै भन्थेँ, जे भए पनि हाम्रो हो । उहाँले पैसा पनि पठाउनुभयो । धेरै होइन । तर घर चल्ने गरी । त्यो एक वर्षमा मलाई लाग्थ्यो, मेरो जीवन अझै पनि सुरक्षित छ । किनभने श्रीमान् विदेश हुनु यहाँ लाज होइन । कतिपयको लागि त गर्व हो । बच्चा जन्मियो–बाबु बिना । बच्चा जन्मिएको दिन घरमा खुशी आयो । तर त्यो खुशीको बीचमा एउटा कमी थियो, बाबु थिएनन् । मैले छोरालाई काखमा लिँदा आँसु आयो । म खुशीले रोएँ, तर त्यो रोदाइमा पीडा पनि मिसिएको थियो । मैले फोन गरेँ । खबर पठाएँ । भिडियो कल गर्न खोजेँ । उहाँले फोन उठाउनुभयो । एकछिन बोल्नुभयो । म आउन सक्दिनँ सरला । काम छ । छुट्टी छैन । मैले केही भनिनँ । किनभने त्यो बहाना थिएन । विदेशमा काम गर्नेहरूको सत्य थियो । त्यो रातमैले छोरालाई काखमा राखेर निदाएँ । छोराको सास चलिरहेको थियो । तर मेरो मनमा एउटा डर पलायो, यो बच्चाले बाबुको काख कहिले देख्ला ?
    बच्चा जन्मेको केही महिनापछि विनोदको फोन कम हुन थाल्यो । पहिले हप्तामा २–३ पटक । पछि हप्तामा एक पटक । पछि महिनामा एक पटक । मैले सोधेँ, किन फोन कम भयो ? उहाँले भन्नुभयो, काम धेरै छ । मैले विश्वास गरेँ । किनभने पत्नीको सबैभन्दा ठूलो कमजोरी यही हो, उसले प्रेम गरेको मान्छेलाई विश्वास गर्नैपर्छ । तर एक दिन...फोन उठेन । भोलिपल्ट पनि उठेन । हप्तौं भयो । महिना भयो । म रातभर मोबाइल हेरेर बस्न थालेँ । मोबाइलको स्क्रिनमा नेटवर्क थियो । तर त्यो नेटवर्कमा विनोदको आवाज थिएन । एक वर्षपछि उहाँ पूर्ण रूपमा सम्पर्कविहीन हुनुभयो ।
    १२ वर्ष भनेको सानो समय होइन । १२ वर्षमा एक बच्चा शिशुबाट किशोर हुन्छ । एक महिला युवतीबाट परिपक्व हुन्छ । सासु–ससुरा बुढा हुन्छन् र समाजले हजारौं कथा बनाउँछ । मेरो जीवनमा पनि त्यही भयो । घरमा उहाँको परिवारसँग सम्पर्क थियो । उनीहरू भन्थे, हामीलाई पनि थाहा छैन । विदेशमै होला । आउला नि । कहिलेकाहीँ सासु रोइदिनुहुन्थ्यो, मेरो छोरो कहाँ गयो ? तर म सोध्थेँ, मलाई किन सम्पर्क गर्दैन ? उत्तर सधैं एउटै—हामीलाई पनि थाहा छैन । सोच्थेँ–यदि थाहा छैन भने १२ वर्षसम्म कसरी थाहा छैन ?
    समाजको आँखाले कहिल्यै खाली हेर्दैन । समाजले खाली ठाउँमा कथा भर्छ । मेरो श्रीमान सम्पर्कविहीन भएपछि गाउँलेले भन्न थाले कतै अर्कै बिहे ग¥यो कि ? कतै मरेको त होइन ? श्रीमतीसँग झगडा भएर नबोल्या होला । अनि यो बच्चा...साँच्चिकै उसकै हो ? त्यो अन्तिम वाक्य...मलाई धेरै पटक मारेको छ । मैले कहिल्यै गलत काम गरेकी थिइनँ । तर समाजको प्रश्नले मलाई अपराधी बनायो । राति छोरालाई सुताएर म आँसु पुछ्थेँ । मेरो जीवनको सबैभन्दा ठूलो दुश्मन मान्छेको जिब्रो रहेछ ।
    छोराले सुरुमा बाबु खोजेन । किनभने बच्चा आमाको काखमै संसार देख्छ । तर स्कुल जान थालेपछि उसले देख्यो, सबैका बाबु आउँछन् । सबैका बाबु टिफिन ल्याइदिन्छन् । सबैका बाबु कार्यक्रममा बस्छन् । ऊ घर आएर सोध्थ्यो, आमा, मेरो बाबु किन आउँदैन ? म हाँस्न खोज्थेँ । तर मेरो हाँसो काँप्थ्यो । बाबु विदेशमा हुनुहुन्छ, छोरा । उसले फेरि सोध्यो, विदेश भनेको कहाँ ? धेरै टाढा । त्यहाँ फोन हुँदैन ? त्यो प्रश्नले मेरो मन चि¥यो । फोन त हुन्छ । फोटो त हुन्छ । भिडियो त हुन्छ । तर मेरो जीवनमा...केही पनि थिएन ।
    छोराको उमेर १० वर्ष हुँदा उसले मोबाइल चलाउन सिक्यो । एक दिन उसले भन्यो, आमा, मेरो बाबुको फोटो छैन ? म चुप लागेँ । घरमा विवाहको फोटो थियो । पुरानो । विनोदको अनुहारमा युवा उमेरको चमक । छोराले फोटो हेरेर सोध्यो, यो नै हो बाबु ? मैले टाउको हल्लाएँ । उसले फेरि सोध्यो, अहिले त यस्तै देखिन्छ ? मैले जवाफ दिन सकिनँ । किनभने मलाई पनि थाहा थिएन—१२ वर्षपछि उहाँ कस्तो देखिनुहुन्छ । मेरो मनमा कहिलेकाहीँ रिस उठ्छ । मलाई छोडेर किन हरायो ? छोरालाई किन यस्तो बनायो ? एक शब्द पनि किन बोलेन ? तर रिससँगै प्रेम पनि हुन्छ । प्रेम अनौठो हुन्छ, जसले पीडा दिन्छ, उसैलाई पनि सम्झाउँछ । र सबैभन्दा ठूलो कुरा, मेरो मनमा डर हुन्छ । यदि उहाँ फर्किनुभयो भने ? यदि अर्कै विवाह गरेर फर्किनुभयो भने ? यदि उहाँ मरेको खबर आयो भने ? यदि उहाँ जीवित हुनुहुन्छ तर जानाजानी सम्पर्क नगरेको प्रमाणित भयो भने ?
    म सबै सम्भावना एकैपटक बोकिरहेकी छु । उहाँ सम्पर्कविहीन भएपछि पैसा पनि आउन बन्द भयो । मेरो जीवनमा वास्तविक संघर्ष सुरु भयो । सासु–ससुराको घरमा बसेर खानु लाज होइन । तर जब समाजले तान्न थाल्छ, त्यही घर पनि जेल जस्तो लाग्छ । मैले सिलाइ–कटाइ सिकेँ । कहिले घरमै कपडा सिलाएँ । कहिले छिमेकीको बच्चा हेरें । कहिले खेतमा काम गरेँ । हातको छाला खस्रो भयो । आँखाको चमक थाक्यो । तर मैले हार मानिनँ । किनभने मेरो काखमा बच्चा थियो । बाबु नभएको बच्चालाई आमा दुई गुणा बलियो बन्नैपर्छ । म जवान थिएँ । मेरो मनमा पनि चाहना थियो, माया पाउने, साथ पाउने, आफ्नो मान्छेले छुनु, बोल्नु, हेर्नु । तर मेरो नाममा ‘श्रीमती’ थियो । श्रीमान् थिएनन् । तर श्रीमान्को नामले मलाई बाँधेको थियो । यदि मैले अर्को विवाह गरेँ भने समाजले भन्थ्यो–श्रीमान विदेशमै थियो, यो बिग्रिई । यदि केही नगरी बसिरहेँ भने समाजले भन्थ्यो–यसलाई त श्रीमान्ले छोडेछ । मेरो जीवन दुई धारको बीचमा थियो । जहाँ जुन बाटो हिँडे पनि घाउ लाग्थ्यो ।
    छोरो १२ वर्षको भयो । ऊ सानो बच्चा छैन । अब ऊ बुझ्छ । एक दिन उसले मलाई सोध्यो, आमा, बाबु साँच्चै विदेशमा हो ? म एकछिन उसलाई हेरें । मेरो नजरमा डर थियो, यदि सत्य भनें भने ऊ भत्किन्छ । यदि झुटो बोलें भने ऊ झन् रिसाउँछ । मैले भनेँ, मलाई पनि थाहा छैन, छोरा । त्यो वाक्य बोलेपछि मलाई लाग्यो, मैले जीवनमा पहिलो पटक आफ्नो कमजोरी स्वीकार गरेँ । ऊ केही बोलेन । तर उसको आँखामा आँसु थियो । मैले छोरालाई पढाएँ । राम्रो मान्छे बनाउन खोजेँ । मैले कहिल्यै बाबुको विरुद्ध भड्काइनँ । कहिल्यै भनिनँ, तिम्रो बाबु खराब हो । किनभने मैले बुझ्छु, बाबु खराब भए पनि छोराको मनमा बाबु भनेको आधा आत्मा हो । यदि त्यो आधा आत्मालाई मैले आफैं तोडेँ भने मेरो छोरो सधैं अपूरो हुन्छ । त्यसैले मैले आँसु लुकाएँर उसलाई हाँस्न सिकाएँ । कहिलेकाहीँ म सोच्दै बस्छु, यदि म पुरुष भएको भएके समाजले यति प्रश्न गथ्र्यो ?
    यदि श्रीमती हरायो भनेके समाजले पुरुषलाई दोष दिन्थ्यो ? यदि पुरुषले १२ वर्ष बच्चा हुर्कायो भने के समाजले उसको ‘चरित्र’ सोध्थ्यो ? मसँग उत्तर छैन । तर म यति बुझ्छु, महिलाको जीवनमा ‘धैर्य’ को नाममा समाजले अन्यायलाई सामान्य बनाइदिएको छ । स्कुलबाट एकदिन फारम आयो । त्यसमा लेखिएको थियो, बाबुको नाम । पेशा । सम्पर्क नम्बर । छोराले फारम ल्याएर मलाई दियो, आमा, यो भरिदिनुस् । मैले फारम हातमा लिएँ । मेरो हात काँप्यो । नाम त लेख्न सक्छु । तर पेशा ? सम्पर्क नम्बर ? १२ वर्षदेखि सम्पर्क नभएको मान्छेको नम्बरम कहाँबाट ल्याऊँ ? त्यो दिन म पहिलो पटक छोराको अगाडि रोएँ । छोराले मलाई अँगालो हाल्यो । र उसले भन्यो, आमा, बाबु नभए पनि हुन्छ । तपाईं हुनुहुन्छ नि । त्यो वाक्य सुनेर मेरो मुटु फुट्यो । किनभने बच्चाले आमालाई ढाडस दिनुआमाको सबैभन्दा ठूलो हार हो ।
    मेरो चाहना ठूलो छैन । मलाई करोडौँ पैसा चाहिँदैन । ठूलो घर चाहिँदैन । समाजको प्रशंसा चाहिँदैन । मलाई केवल एउटा कुरा चाहिन्छ, मेरो छोराले बाबुको आवाज एक पटक सुन्न पाओस् । यदि विनोद जीवित हुनुहुन्छ भने कम्तीमा एकपटक फोन गरेर भनिदिनुहोस, छोरा, म तिम्रो बाबु हुँ । यदि उहाँ मरेको सत्य हो भने कम्तीमा परिवारले सत्य बताइदियोस् । किनभने प्रतीक्षा भन्दा ठूलो यातना कुनै पनि सम्बन्धमा हुँदैन । यो भोगाई यति मात्रै छैन । मेरो जीवनमा अझै पनि रात हुन्छ । अझै पनि मोबाइलको स्क्रिन बल्छ । अझै पनि नम्बर हेर्छु । अझै पनि मनमा एउटा सानो आशा बाँकी छ, अचानक फोन आयो भने ? १२ वर्षको मौनता पनि एक फोनले तोडिन सक्छ भन्ने आशामा म अझै पनि पर्खिरहेकी छु । समाप्ति होइन, प्रश्न । यो कथा मेरो मात्र होइन । यो प्रश्न हजारौँ घरको हो, विदेशिएको श्रीमान् हराउँदा, पत्नी कहाँ जान्छ ? बच्चाको बाबु कहाँ खोजिन्छ ? समाजको आँखा कहिले मानवीय बन्छ ? र सबैभन्दा ठूलो प्रश्न—१२ वर्षसम्म सम्पर्कविहीन हुनु दुर्घटना हो, कि अपराध ?

सरला हुमागाई
बनेपा, काभ्रे