2026 April 12/ 02:57: 18am

मोतीराम तिमल्सिना
धुलिखेल 

    काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न शहरलाई केन्द्र बनाएर स्थापना गरिएका वा शाखा विस्तार गरिएका सयौं सहकारीमध्ये हालसम्म १६ वटा डुबिसकेका छन् । सम्पर्कमा नआएका तर डुबेका ५० भन्दा बढी सहकारी छन् भने केही अझै गुमनाम छन् । डुबेका, डुबाइएका र गुमनाम भएका सहकारीमा आवद्ध हजारौं बचतकर्ताहरू गम्भीर संकटमा छन् । दुःखका लागि बचत गरिएको रकम फिर्ता पाउन नसक्दा बचतकर्ताहरू मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउँछन् ।

सहकारी ठगीको प्रारम्भ

    सहकारीमार्फत सर्वसाधारणको बचत रकम ठगी गरेको अभियोगमा जिल्लामा हालसम्म ५० भन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन् भने १०० भन्दा बढी फरार छन् । केही धरौटीमा रिहा भएका छन् ।  सहकारीका मुद्दाहरू फैसला नभएका कारण सञ्चालक, कर्मचारी र बचतकर्ताहरू सबै मानसिक, सामाजिक र आर्थिक रूपमा तनावमा छन् ।
    विभिन्न सहकारीका १५० भन्दा बढी सञ्चालक र कर्मचारीविरुद्ध ठगी अभियोगमा मुद्दा दर्ता भएको छ । तीमध्ये ५० भन्दा बढी पक्राउ परेका छन् भने १०० भन्दा बढी फरार छन् । केही अदालतमा उपस्थित भएका छन् भने फरारहरूको खोजी भइरहेको छ । केही धरौटीमा रिहा भएका छन् । सहकारीमा बचत रहेको करोडौं रुपैयाँ बचतकर्ताहरूले प्राप्त गर्न सकेका छैनन् । 
    तीन तहका सरकार सञ्चालनमा आएपछि नागरिकबाट रकम उठाएर फरार हुने सहकारीमध्ये विनायक र अखण्ड पहिलो हुन् । दुवै सहकारीको ठेक्का रामसुन्दर कार्कीले लिएका थिए । बैंकभन्दा बढी तामझाम र भव्यताका साथ सञ्चालन भएका यी सहकारी केही वर्षमै बचत फिर्ता गर्न नसकी बन्द भए । काभ्रेपलाञ्चोकमा सहकारीमार्फत विकृति भित्र्याउने र बचतकर्ताको रकम नदिई भाग्ने क्रमको सुरुवात विनायक साकोसबाट भएको मानिन्छ ।
    भक्तपुरका रामसुन्दर कार्कीले विनायकपछि अखण्ड साकोस सञ्चालन गरे । सहकारी खरिद–बिक्री लगायतका कार्यमा उनको महत्वपूर्ण भूमिका रहेको बताइन्छ । सहकारीका कार्यालयहरू बैंकभन्दा आधुनिक, गोप्य र भव्य रूपमा निर्माण गरिएका थिए । मिटर ब्याज, किलोमिटर ब्याज, शेयर बजार, जग्गा दलाली, क्रिप्टो करेन्सी, तस्करी लगायतका गतिविधि सहकारीको नाममा सञ्चालन हुन थाले । कार्की हाल अर्धभूमिगत अवस्थामा रहेको बताइन्छ । उनले सहकारीमा नक्कली सञ्चालक खडा गरेर कारोबार गर्ने र काभ्रेबाट बचत फिर्ता गर्न नसकी भक्तपुरतिर पुनः सहकारीकै नाममा गतिविधि सञ्चालन गरिरहेको आरोप छ । विनायक र अखण्डका बचतकर्ताहरूले अझै रकम फिर्ता पाउन सकेका छैनन् । प्रहरीमा उजुरी दर्ता भएको वर्षौं बित्दा पनि कार्यान्वयन हुन सकेको छैन । उनकी श्रीमती विरुद्ध पशुपति साकोसमा मुद्दा छ । विनायक र अखण्डभन्दा अघि बनेपाबाट सम्झना फाइनान्स र लक्ष्मी फाइनान्स पनि फरार भएका थिए ।
    बनेपाको चोकमा रहेको पुण्यश्वर सहकारीका अध्यक्ष डम्बरप्रसाद गौतम र उनका छोरा तथा प्रबन्धक कुमार गौतमले ७ हजारभन्दा बढी सदस्यको करोडौं रुपैयाँ फिर्ता गर्न बाँकी छ । कुमार गौतम पुण्यश्वरमा प्रबन्धक तथा द्रौपदा सहकारीका अध्यक्ष थिए । दुवै सहकारीबाट रकम अपचलन गरेको आरोपमा बाबु–छोराविरुद्ध उजुरी परेको छ । कुमार हाल जेलमा छन् भने डम्बरप्रसाद फरार छन् । बनेपामै रहेको सत्कार सहकारीका अध्यक्ष कैलाश पलाञ्चोके हाल कारागारमा छन्। बचत फिर्ता नगरेका कारण अन्य सञ्चालकहरू पनि तनावमा छन् ।
    जनागालस्थित स्वर्णीम सहकारीले सयौं बचतकर्ताको करोडौं रुपैयाँ ठगेको छ । रमेश राउत क्षेत्री र उनका छोराहरू दिनेश राउत र उमेश राउत क्षेत्रीले उक्त रकम फिर्ता गर्न सकेका छैनन् र हाल सम्पर्कविहीन छन् । गरुड सहकारीका नाममा ठगी गरेका बासुदेव खड्का हाल जेलमा छन् । श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर बच्ने प्रयास असफल भएको बताइन्छ । केही धरौटीमा रिहा भएका छन् । सहकारीमा देखिएका समस्या ठेक्कामा सञ्चालनका कारण भएको बताइन्छ ।
    युनिटी साकोसका अध्यक्ष कृष्णलाल शुद्धाकार र प्रबन्धक शैलश कपालीको मिलेमतोमा भएको ठगीको मुद्दा विचाराधीन छ । अध्यक्ष जेलमा छन् भने प्रबन्धक फरार छन् । अन्य सञ्चालक धरौटीमा छुटेका छन् । अग्नि साकोसका अध्यक्ष रविन्द्र श्रेष्ठ जेलमा छन् । केही सञ्चालक धरौटीमा छुटेका छन् भने कर्मचारीमध्ये केही फरार र केही कारागारमा छन् । पशुपति साकोसका अध्यक्ष पानबहादुर श्रेष्ठसहित १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । पशुपति पछि मुकुल सहकारीविरुद्ध पनि अभियोग दर्ता गरिएको हो । प्रहरीले अन्य सहकारीबारे अनुसन्धान गरिरहेको छ । भक्तपुरबाट काभ्रेको बनेपा तथा अन्य शहरी क्षेत्रमा शाखा विस्तार गरेका सहकारीहरू पनि संकटग्रस्त बनेका छन् ।

यसरी हुन्छ सहकारीबाट ठगी
    बनेपाको चारदोबाटो, वडा नं. ७ मा रहेको पुण्यश्वर बचत तथा ऋण सहकारीका प्रबन्धक, रामेछाप घर भएका २९ वर्षीय कुमार गौतम करिब ९ करोड रुपैयाँ लिएर एक वर्षदेखि बेपत्ता भएका थिए (पछि पक्राउ परे) । द्रौपदा सहकारीको ५ करोडसहित उनले कुल १४ करोड रुपैयाँ अपचलन गरेको आरोप छ । उक्त सहकारीमा उनका परिवारकै सदस्यहरू विभिन्न पदमा रहेका थिए—श्रीमती कोषाध्यक्ष, बहिनी लेखा प्रमुख, सानीआमा सदस्य, भाइ ऋण संयोजक । सहकारीको रकमबाट आफन्तलाई ऋण दिइएको र कतिपय अवस्थामा जानकारीबिनै नागरिकताको प्रतिलिपि प्रयोग गरी ऋण निकालिएको पाइएको छ । पीडितहरूले विभिन्न निकाय—जिल्ला प्रशासन, प्रहरी, नगरपालिका र मन्त्रालय—मा उजुरी दिए पनि प्रभावकारी सुनुवाइ नभएको गुनासो गरेका छन् ।

धेरैलाई डुबायो कान्तिपुरले
    कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परे पनि पछि फरार भएका छन् । उनीमाथि करिब ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोप छ । उक्त रकम घरजग्गा, रिसोर्ट, कम्पनीलगायतमा लगानी गरिएको पाइएको छ । हजारौं बचतकर्ताको रकम अझै फिर्ता भएको छैन ।

गुमनाम सहकारी
    जिल्लामा दर्ता भएका १,४९५ सहकारीमध्ये ८४९ को अवस्था अज्ञात रहेको प्रतिवेदनले देखाएको छ । ६४ वटा सहकारीको कार्यालय र बोर्डसमेत फेला परेको छैन । केही सहकारी विनियमबिना, एउटै अध्यक्षको दीर्घकालीन नियन्त्रणमा र कार्यक्षेत्रभन्दा बाहिर सञ्चालन भएको पाइएको छ ।

मुकुल विरुद्ध अभियोग
    बनेपा–७ स्थित मुकुल सहकारीविरुद्ध ४ करोड ७२ लाख रुपैयाँ ठगी अभियोगमा मुद्दा दायर गरिएको छ । १३० बचतकर्ताको उजुरीका आधारमा अनुसन्धान गरी सञ्चालकहरूविरुद्ध मुद्दा चलाइएको हो । यस अघि पशुपति, अग्नी, युएम, युनिटी लगायतका दर्जन भन्दा धेरै सहकारीका संचालक, कर्मचारी विरुद्ध ठगी गरेको अभियोग दर्ता गरेको प्रहरीले पछिल्लो समय बनेपा ७ तरकारी बजारमा रहेको मुकुल बचत तथा ऋण सहकारी संस्थाका संचालक तथा कर्मचारी विरुद्ध सहकारी ठगी अभियोगमा मुद्दा दायर गरिएको छ । ४ करोड ७२ लाख ८१ हजार ७ सय ७० रुपैया बचतकर्ताहरुलाई फिर्ता गराई क्षतिपुर्ति समेत भराई दिन अभियोगमा माग दावी गरिएको छ । सुनम सुब्बा, बासुदेव राई, अमन श्रेष्ठ, शान्ति प्रजापति, हिमाल राई, नितु सुछा भन्ने नितु छुंका, राहुल चौ प्रधान, सन्तोष नेम्वाङ र उर्मिला तामाङबाट उक्त रकम असुल गरी बचतकर्ताहरुलाई उपलब्ध गराउन अभियोगमा भनिएको छ । अध्यक्ष सुनम सुब्बा लगायतको समुहले ९ करोड भन्दा धेरै हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ ।  

अभिलेखीकरणमा बाँध्ने प्रयास

सरकारले सहकारी क्षेत्र नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेको छ । ऐनअनुसार सहकारीहरूले एक वर्षभित्र अभिलेखीकरण गर्नुपर्ने व्यवस्था भए पनि धेरैले पालना गरेका छैनन् । प्राधिकरणले इजाजत नलिने सहकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । काभे्रपलाञ्चोक जिल्लाबाट हालसम्म ज्योती मिर्मिरे सामुहिक, लक्ष्मि महिला, सामुदायिक, विन्धवासिनी, बुडोल सामुदायिक, शंखु, उद्यम विकाश, प्रिमियर, काठुगणेश, आभाष, पानस, दुमो, आदर्श आर्थिक विकाश, नवदुर्गा, शुलभ, भिमशेन माहाराज, समृद्धि, अटल पाँचकुण्ड, हिमकाली समाजसेवा, चक्रेश्वर र चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले इजाजत प्राप्त गरेका छन् । केहि संस्थाले कर्जासुचना केन्द्रको समेत सदस्यता प्राप्त गरेका छन भने केहि प्राप्त गर्ने क्रममा रहेका छन् ।

काभ्रेमा हालसम्म डुबेका सहकारी 
१) सम्झना फाईनान्स (फरार)
२) लक्ष्मी फाईनान्स (फरार) 
३) विनायक साकोस – रामसुन्दर कार्की (फरार) 
४) अखण्ड साकोस – रामसुन्दर कार्की (फरार)
५) पुण्यश्वर साकोस – कुमार गौतम (जेलमा)
६) द्रौपदा साकोस – डम्बरप्रसाद गौतम (फरार) र छोरा कुमार गौतम (कुमार जेलमा) 
७) सत्कार साकोस – कैलाश पलाञ्चोके (हाल जेलमा) 
८) एशियन स्टार – उमेश राउत र दिनेश राउत (फरार)
९) स्वर्णीम साकोस – उमेश राउत, दिनेश राउत र उमेश र दिनेशका बाबु रमेश राउत
१०) गरुड सकोस – बासुदेव खड्का (हाल जेलमा) 
११) कान्तिपुर – सिवी लामा (जेलबाट फरार) 
१२) युएम – रुसन श्रेष्ठ (जेलमा)
१३) युनिटी – कृष्णलाल शुद्धाकार (जेलमा) र शैलेश कपाली (फरार)
१४) अग्नि – रविन्द्र श्रेष्ठ (जेलमा)
१५) पशुपति – पानबहादुर श्रेष्ठ (फरार)
१६) मुकुल – सुनम सुब्बा (फरार)

बैंकिङ्ग कसुरमा १११ मुद्दा 
    धुलिखेल÷चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि चैत्र २३ गतेसम्म जिल्ला अदालत काभ्रेपलाञ्चोकमा बैंकिङ्ग कसुर (चेक अनादर) सम्बन्धी १११ वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा दर्ता भएका मुद्दाको संख्या विगत वर्षहरूको तुलनामा उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाएको छ ।
    अदालतका अनुसार सरकारवादी फौजदारीतर्फ ३ सय २६, दुनियावादी फौजदारीतर्फ १ सय ४४, अर्धन्यायिक निकायबाट ३ र अदालतको अपहेलना सम्बन्धी १ गरी कुल ५ सय ८५ वटा फौजदारी मुद्दा दर्ता भएका छन् । त्यस्तै, देवानीतर्फ ९ सय ४४, निषेधाज्ञासम्बन्धी २६ र पुनरावेदनतर्फ ३ गरी कुल ९ सय ७३ वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षको सोही अवधिमा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा जम्मा १ हजार ५ सय ५८ वटा मुद्दा दर्ता भएका छन् ।