2026 April 12/ 02:57: 19am

डेढ दशक अवधीमा निष्टले हजारौ विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिसकेको छ । 

लक्ष्मण तिमल्सिना
बनेपा

    बनेपास्थित निष्ट कलेजले आफ्नो १५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । कार्यक्रम सूर्यराज आचार्यको प्रमुख आतिथ्यता तथा कलेजकी निर्देशक प्रणिता शर्मा बरालको सभापतित्वमा सम्पन्न भएको हो । 
    स्थापनाको डेढ दशक अवधीमा निष्ट कलेजले हजारौ विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको छ । यस अघि गुणस्तरीय शिक्षाका लागि राजधानी जानु पर्ने विद्यार्थीका अधिकतम चाहना निष्टले पुरा गरेको विद्यार्थी र अभिभावको दावी छ । बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि सुर्यराज आचार्यले निष्ट कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्रिय स्तरमै पहिचान बनाउन सफल भएको भन्दै प्रशंसा व्यक्त गरे । उनले पछिल्लो समय विद्यार्थीहरू विदेश जाने प्रवृत्ति बढिरहेका बेला कलेजले सीपमूलक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । कलेजका कार्यकारी निर्देशक डा. राजेन्द्र घिसिङले जिल्लाबाट गुणस्तरीय शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यता निष्ट कलेजले अन्त्य गरेको बताए । कलेजको लक्ष्य देशकै अग्रणी उच्च शिक्षा संस्था बन्ने र सीपमूलक शिक्षा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने रहेको उनले बताए । 
    कलेजका प्रिन्सिपल दीपक भट्टले स्वागत मन्तव्य व्यक्त गर्दै कलेजको स्थापना र विकास यात्राबारे प्रकाश पारे । उनले निष्ट कलेज १५ वर्षअघि बनेपा ९ नयाँबस्तीमा स्थापना गरिएको र काठमाडौंस्थित निष्ट कलेजको विस्तारका रूपमा काभ्रेमा सञ्चालनमा ल्याइएको जानकारी दिए । प्रारम्भमा सीमित विद्यार्थी र संकायबाट सुरु भएको कलेजले हाल गुणस्तरीय शिक्षा प्रदान गर्दै शैक्षिक लक्ष्यमा सफलतापूर्वक अघि बढिरहेको उनले बताए । उनका अनुसार कलेजले स्थापना कालदेखि नै शैक्षिक उत्कृष्टतालाई प्राथमिकता दिँदै आएको छ । यहाँ अध्ययन गरेका विद्यार्थीहरूले नेपाल तथा विदेशमा विभिन्न व्यावसायिक तथा उद्यमशील क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन् । कलेजले विगत १५ वर्षमा १५ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सेवा प्रदान गरिसकेको र हाल १ हजार ३ सय २६ विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए । कलेजमा त्रिभुवन विश्वविद्यालय सँग सम्बद्ध स्नातक तहका बीएससी सिएसआइटी, बीसीए र बीआइटी कार्यक्रम सञ्चालनमा छन् । साथै कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा कानुन संकायका विषयहरू अध्यापन हुँदै आएको प्रिन्सिपल भट्टले बताए । पछिल्ला वर्षहरूमा कलेजले उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गरेको पनि उनले उल्लेख गरे । उनका अनुसार २०७९ सालमा कक्षा १२ मा नेपाल टप, २०८१ मा तीन जना विद्यार्थीले ३.९६ जीपीए ल्याउँदै पुनः नेपाल टप गर्न सफल भएका थिए । त्यसैगरी २०८२ मा स्नातक तहमा नेपाल दोस्रो स्थान हासिल गर्दै कलेजले जिल्लाको नाम उच्च बनाएको छ । 
    प्याब्सन सचिवालय सदस्य एव विद्या सागर स्कुलका प्रिन्सिपल हिरा शर्मा नेपाल, प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेल तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोहि अवसरमा प्रशासन प्रमुख पुण्य कट्टेल, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । साथै तत्कालीन पञ्चकुमारी स्कुलका संस्थापक केपी घिमिरे र पुष्पा घिमिरेलाई पनि विशेष सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन सहायक प्रिन्सिपल रजिव श्रेष्ठले गरेका थिए ।