शंखु/काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्वर १२ स्थित दुई विद्यालयका ४४ जना विद्यार्थीलाई छात्रवृत्तिसहित विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ ।
सहयोग र सरोकार केन्द्र धुलिखेलमार्फत सञ्चालन गरिएको ‘ज्योति जीवन छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत धुलिखेल–१२ शंखु एक्लेखेतमा रहेको धनकाली आधारभूत विद्यालयका २७ जना तथा शंखेश्वर महालक्ष्मी माध्यमिक विद्यालयका १७ जना विद्यार्थी लाभान्वित भएका हुन् । कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई एक वर्षसम्म पुग्ने स्टेशनरी सामग्री, विद्यालय पोसाक, स्कुल ब्याग, हाईजिन किट, पानीको बोतल, छाता तथा झुल उपलब्ध गराइएको संस्थाले जनाएको छ ।
सामग्री वितरण कार्यक्रममा संस्थाकी कार्यकारी प्रमुख रामप्यारी बज्राचार्य, विद्यालयका प्रधानाध्यापक, शिक्षक, स्थानीय शिक्षासेवी, अभिभावक तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर विद्यार्थीहरुको अध्ययनलाई सहज बनाउने विश्वास व्यक्त गरे । उनीहरुले विद्यार्थीहरुको सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्दै संस्थाप्रति आभार व्यक्त गरे । कार्यक्रममा बोल्दै संस्थाकी कार्यकारी प्रमुख बज्राचार्यले सामाजिक अभियान तथा शैक्षिक सहयोगका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइन् ।









