2026 May 29/ 10:41: 41pm

किसानलाई ‘एच क्यू ००२’ जातको धान लगाउन सिफारिस 

मोतीराम तिमल्सिना
धुलिखेल

    नेपालमा कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने प्रयास भइरहेका बेला धान खेतीमा अपनाइएका उन्नत प्रविधिले नयाँ सम्भावनाको ढोका खोल्न थालेको । काभ्रेपलाञ्चोकको पाँचखालमा गरिएको उन्नत धान जातीय परीक्षणले परम्परागत खेती प्रणालीभन्दा प्रविधिमैत्री खेतीले उत्पादन उल्लेखनीय रूपमा बढाउन सक्ने निष्कर्ष निकालेको छ ।
    कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकद्वारा गरिएको परीक्षणमा उन्नत धानका विभिन्न जात र आधुनिक खेती प्रविधिको प्रयोग गरिएको थियो । अध्ययनले केवल उत्पादन वृद्धिको सम्भावना मात्रै देखाएको छैन, यसले नेपाली कृषि प्रणाली क्रमशः प्रविधिनिर्भर र व्यावसायिक बन्दै गएको कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । 
    प्रतिवेदनअनुसार नेपालमा धान प्रमुख खाद्यान्न बाली भए पनि परम्परागत जात र खेती प्रविधिका कारण उत्पादन क्षमता सीमित रहँदै आएको छ । यही समस्यालाई समाधान गर्न नयाँ उन्नत जात र आधुनिक खेती प्रणालीको परीक्षण गरिएको दवाडीले बताए । प्रविधि प्रयोगले उत्पादनमा छलाङ मारेको छ । परीक्षणमा ‘मकवानपुर १’, ‘हर्दिनाथ हाईब्रिड १’, ‘एच क्यू ००२’ तथा स्थानीय जात ‘जीजे १०’ प्रयोग गरिएको थियो । 
    नतिजाअनुसार ‘एच क्यू ००२’ जातले प्रतिहेक्टर ६.२ टन उत्पादन दिएको छ । जुन परीक्षण गरिएका सबै जातमध्ये सबैभन्दा बढी हो । हर्दिनाथ हाईब्रिड १ ले ५.४ टन, स्थानीय जीजे १० ले ५.१ टन तथा मकवानपुर १ ले ४.३ टन उत्पादन दिएको तथ्यांकमा उल्लेख छ । यो तथ्यांकले परम्परागत खेती प्रणालीको तुलनामा उन्नत बीउ, वैज्ञानिक रोपाइँ र सन्तुलित मल प्रयोगले उत्पादनमा उल्लेखनीय प्रभाव पार्ने देखाएको कृषि विकास कार्यालय काभ्रेका बाली संरक्षण प्राविधिक सहायक झलक खत्रीले बताए । 
    विशेष गरी लाइन रोपाइँ, बीउ उपचार, सन्तुलित मल प्रयोग, समयमै सिंचाइ तथा एकीकृत रोग–कीरा व्यवस्थापनलाई उत्पादन वृद्धिको मुख्य आधार मानिएको छ । प्रतिवेदनले सेमी अटोमेटेड राइस ट्रान्सप्लान्टरको प्रयोगले श्रम लागत घटाउनुका साथै रोपाइँलाई व्यवस्थित बनाएको उल्लेख गरेको छ ।

कृषिमा मेसिनको प्रवेश
    नेपालको कृषि प्रणाली लामो समयसम्म श्रम प्रधान रहँदै आएको छ । युवा जनशक्ति विदेश पलायन भइरहेका बेला खेतीयोग्य श्रमिकको अभाव ग्रामीण क्षेत्रमा ठूलो चुनौती बनेको छ । यस्तो अवस्थामा धान रोपाइँमा मेसिनको प्रयोगलाई कृषि क्षेत्रमा नयाँ आयामका रूपमा हेरिएको छ । पाँचखालमा गरिएको परीक्षणमा सेमी अटोमेटेड राइस ट्रान्सप्लान्टर प्रयोग गरिएको थियो । यसले कृषि श्रम संकट समाधान गर्ने सम्भावना देखाएको कृषि विज्ञहरू बताउँछन् । विशेषज्ञहरूका अनुसार आगामी दिनमा धान खेती पूर्ण रूपमा यान्त्रिकीकरणतर्फ उन्मुख हुन सक्छ । यसले उत्पादन लागत घटाउनुका साथै खेतीलाई व्यवसायिक र आकर्षक बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । परीक्षणले उन्नत जातले बढी उत्पादन दिने देखाए पनि स्थानीय जातको आफ्नै विशेषता रहेको तथ्य पनि उजागर गरेको छ । स्थानीय ‘जीजे १०’ जात होचो भएकाले ढल्ने समस्या कम देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै हाईब्रिड जातमा उत्पादन बढी भए पनि केही अवस्थामा कीराको जोखिम बढ्न सक्ने संकेत पनि गरिएको छ । यसको अर्थ उत्पादन वृद्धि मात्र पर्याप्त नहुने, स्थानीय वातावरण, रोग प्रतिरोधात्मक क्षमता तथा किसानको व्यवहारिक अनुभवलाई समेत ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
    विश्लेषकहरूका अनुसार नेपालजस्तो विविध भूगोल भएको मुलुकमा एउटै जात सबै ठाउँका लागि उपयुक्त नहुन सक्छ । त्यसैले स्थानीय अनुकूलता अनुसार बीउ विकास र परीक्षणलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याइएको छ । यस अध्ययनको अर्को महत्वपूर्ण पक्ष भनेको खेती प्रणालीमा वैज्ञानिक दृष्टिकोणको विस्तार हो । बीउ राख्ने मितिदेखि मलको मात्रा, रोपाइँ दूरी, सिंचाइ व्यवस्थापन र रोग नियन्त्रणसम्म सबै प्रक्रिया वैज्ञानिक ढङ्गले अपनाइएको प्रमुख दवाडीले बताए । परम्परागत अनुभवमा आधारित खेतीबाट तथ्य र परीक्षणमा आधारित कृषितर्फ क्रमशः अघि बढिरहेको छ । 
    परिक्षणका क्रममा स्थानीय तह, कृषि कार्यालय, विश्वविद्यालय, किसान समूह तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सहभागीहरुले कृषि क्षेत्रमा प्रविधि र अनुसन्धानप्रति चासो देखाएको थिए । 

खाद्य सुरक्षा र आत्मनिर्भरताको आधार
    नेपालले हरेक वर्ष ठूलो परिमाणमा चामल आयात गर्दै आएको अवस्थामा धान उत्पादन वृद्धि राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको विषय हो । उत्पादन वृद्धि गर्न सकिए आयात घटाउने मात्रै होइन, खाद्य सुरक्षालाई समेत मजबुत बनाउन सकिने कृषि विज्ञहरूको भनाइ छ । जलवायु परिवर्तन, अनियमित वर्षा र श्रमिक अभावजस्ता चुनौतीबीच आधुनिक कृषि प्रविधि नेपालको कृषि क्षेत्रका लागि विकल्प नभई आवश्यकता बन्दै गएको विश्लेषण हुन थालेको छ । प्रतिवेदनले ‘एच क्यू ००२’ जातलाई स्थानीय अवस्थाका लागि उपयुक्त ठहर गर्दै किसानलाई अपनाउन सिफारिस गरेको छ । साथै लाइन रोपाइँ र सन्तुलित मल प्रयोगजस्ता उन्नत प्रविधिलाई थप विस्तार गर्नुपर्ने सुझाव पनि दिइएको छ ।
    कृषि क्षेत्रमा प्रविधिको विस्तार सहज भने छैन । आधुनिक बीउ, मेसिन तथा मलको लागत, प्राविधिक ज्ञानको कमी, साना किसानको सीमित पहुँच तथा सरकारी सहायताको अभाव अझै चुनौतीका रूपमा रहेका छन् । विशेषज्ञहरूका अनुसार प्रविधिमैत्री कृषि प्रणालीलाई गाउँगाउँसम्म पु¥याउन राज्यले अनुदान, तालिम, बीउ उपलब्धता तथा बजार व्यवस्थापनलाई सँगसँगै लैजानुपर्ने आवश्यकता छ । अन्यथा, प्रविधिको लाभ सीमित व्यावसायिक किसानमै केन्द्रित हुने जोखिम रहन्छ । तर पाँचखालमा गरिएको यो परीक्षणले वैज्ञानिक खेती, उन्नत बीउ र आधुनिक प्रविधिलाई प्रभावकारी रूपमा विस्तार गर्न सकियो भने नेपालको कृषि क्षेत्रले उत्पादन, व्यवसायिकता र आत्मनिर्भरतामा नयाँ आयाम हासिल गर्न सक्छ भन्ने पुष्टि गरेको छ । 

अपनाईएको उन्नत प्रविधि
    २०८२ जेठ २३ गते पाँचखालमा रोपाईका लागि बीउ राखिएको थियो । पाँचखालमा गरिएको यो परिक्षणको प्लट साईज ५ मिटर × ४ मिटरमा गरिएको थियो । रोपाईको दुरी २५ सेमी × २० सेमी सम्म थियो । २ ग्राम प्रति किलो ग्राम बोभिष्टिन पाउडरका दारले बीय उपचार गरि ट्रेमा बीउ राखिएको थियो । बीउदर २.५ किलो ग्राम प्रती रोपनी प्रयोग गरिएको थियो । २७ किलो युरिया, २८ किलो डिएपी र २५ किलोग्राम पोटास र ३ किलोग्राम चिलेटेड जिङ्क पाँच रोपनी क्षेत्रफलमा प्रयोग गरिएको थियो । सेमि अटोमेटेड राइस ट्रान्सपलान्टर (मेशिनद्वारा) रोपाइ गरिएको थियो । २०८२ असार १५ गते रोपाइ गरिएको थियो । यो वर्ष खोपासीमा सोहि विधि मार्फत रोपाइ गर्न बीउ राखिएको छ । समयमै सिंचाई तथा युरिया मल टपड्रेसिङ्ग र कीरा तथा रोगको एकीकृत ब्यवस्थापन गरिएको थियो । विरुवाको उचाई, टिलर संख्या, बाली पाक्ने समय र दाना संख्या प्रति बाली र उत्पादनको अनुगमन गरिएको थियो ।