2026 May 29/ 10:41: 42pm

    धुलिखेल/धुलिखेलस्थित पञ्चकन्या माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५४ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ । वार्षिकोत्सवका अवसरमा विद्यालयले माध्यमिक तह विस्तार गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान अघि बढाएको भन्दै सहभागीहरूले विद्यालयलाई बधाई तथा शुभकामना दिएका छन् ।
    कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जंगमले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकाले नगरभित्र केही विद्यालयको एकीकरण, तह घटुवा तथा शिक्षक दरबन्दी मिलान गरिएको बताए । उनले पञ्चकन्या माध्यमिक विद्यालयले भने तह वृद्धि गरेर गुणस्तरीय शिक्षाको अभियानमा चासो देखाउँदै जोखिमसमेत मोलेको उल्लेख गर्दै सफलताको शुभकामना व्यक्त गरे ।
    वडा नं. ३ का अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक गणेश आचार्यले सीमित स्रोत–साधनका बाबजुद शिक्षकहरूले माध्यमिक तह विस्तारका लागि गरेको मेहनतको प्रशंसा गरे । जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पूर्व तथा वर्तमान पदाधिकारी, शिक्षक–कर्मचारी, पूर्व विद्यार्थी, स्थानीय अभिभावक तथा सहयोगीहरूको साथले विद्यालयले पुनर्जीवन प्राप्त गरेको उनले बताए । विद्यालयले थालेको चुनौतीपूर्ण यात्रामा स्थानीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
    विद्यालयका प्रधानाध्यापक प्रकाश हुमागाईले विद्यालयप्रति अभिभावकको विश्वास सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए । उनले शैक्षिक सत्र २०८३ देखि माध्यमिक तह सञ्चालन गर्ने जोखिम उठाइएको जानकारी दिँदै कक्षा ९ मा नयाँ विद्यार्थी भर्ना भइसकेको बताए । हाल विद्यालयमा कुल २ सय ४० विद्यार्थी अध्ययनरत रहेको र यस वर्ष मात्रै ४७ जना नयाँ विद्यार्थी भर्ना भएको उनले जानकारी दिए । प्रधानाध्यापक हुमागाईका अनुसार विद्यालयले अभिभावक र विद्यार्थीले चाहेजस्तै अंग्रेजी माध्यममार्फत सामाजिक संस्कारयुक्त व्यवहारिक शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ । विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि प्राथमिकतामा राखेर शिक्षक टोली निरन्तर मेहनत गरिरहेको उनले बताए ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वीमान तामाङले विद्यालयलाई धुलिखेल नगरपालिका वडा नं. ३ र ४ का सामुदायिक विद्यालयहरूको साझा शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित सहकार्य भइरहेको बताए । उनले २०८२ सालको कक्षा ८ परीक्षामा विद्यालय नगर क्षेत्रभित्र सामुदायिक विद्यालयतर्फ उत्कृष्ट भएको उल्लेख गर्दै सबै तहमा गुणस्तर कायम राख्न आवश्यक सहयोगका लागि सबै पक्षसँग आग्रह गरे । कार्यक्रममा ५२ वर्षअघि सोही विद्यालयमा अध्ययन गरेकी पूर्व विद्यार्थी तथा सिद्धार्थ बाल गृहकी सञ्चालक शर्मिला श्रेष्ठले १० जना बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिन् । विद्यालयलाई स्थानीय होटल तथा विभिन्न संघ–संस्थाले समेत सहयोग गरिरहेका छन् । 
    कार्यक्रममा धुलिखेल–४ का वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिना, कार्यपालिका सदस्य सञ्जु तामाङ, वडा सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, संघ–संस्थाका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । वार्षिकोत्सवका अवसरमा विद्यालयले उत्कृष्ट विद्यार्थी, विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी तथा उत्कृष्ट शिक्षकलाई पुरस्कार वितरण गरेर सम्मान गरेको थियो ।