2026 May 29/ 10:41: 30pm

      बनेपा/बनेपा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई सम्मान गरेको छ । 
    नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई प्रशंसा पत्र, नगद सहित सम्मान गरेको हो । नगर प्रमुख शाक्यले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयास आवश्यक रहेको बताए । शाक्यले नगरले सोचेको नतिजा अझै नभएकोले आगामी वर्ष थप मेहनत गर्न आग्रह गरेका थिए । गत बर्ष ८९ प्रतिशत उत्तिर्ण भएकामा यो वर्ष ८५ प्रतिशत मात्रै उतिर्ण भएकाले अझै सुधार गर्नुपर्ने देखीएको शाक्यले बताए । ६ जना विद्यार्थीहरुले ४ जिपिए ल्याउँदा २ जना सामुदायीक र ४ जना संस्थागत विद्यालयबाट ४ जिपिए ल्याएका थिए । कार्यक्रममा उपप्रमुख विमला सापकोटाले मेहनत, अनुशासन र निरन्तर अभ्यासकै कारण विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको र  आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गरेकी थिईन् । 
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले, नगरपालिका शिक्षा शाखा प्रमुख उप–सचिव देवराज निरौला, संस्थागत विद्यालयतर्फ प्याब्सनका केन्द्रिय सचिवालय सदस्य हिरा शर्मा नेपाल, सामुदायीक विद्यालयकोतर्फबाट चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद पाण्डे लगाएतका ब्यक्तिहरुले उक्त कार्यक्रमले विद्यार्थीहरूमा थप हौसला र प्रतिस्पर्धात्मक भावना विकास हुने विश्वास व्यक्त गरेका थिए । 
    कार्यक्रममा ४ जिपिए ल्याउने ६ जना विद्यार्थीहरुलाई नगद १० हजारका दरले प्रमाणपत्र सहित सम्मान, शतप्रतिशत ल्याउने विद्यालयलाई सम्मान गरिएको थियो । नगरबाट १९ वटा संस्थागत विद्यालयले र ३ वटा सामुदायीक विद्यालयले शतप्रतिशत विद्यार्थीहरु उत्तिर्ण गराउन सफल भएका छन् । कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रिन्सिपलहरु र अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन शिक्षा शाखा अधिकृत शिबराज त्रिपाठीले गरेका थिए ।