2026 May 29/ 10:42: 15pm

धुलिखेल/पछिल्ला केही वर्षयता काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लामा अप्राकृतिक मृत्युका घटनामा वृद्धि देखिएको छ । यस्ता घटनाको कारण पत्ता लगाउन गरिने शव परीक्षण (चिरफार) मा आत्महत्याका घटना सबैभन्दा बढी देखिएका छन् । मौन मृत्युको कारण न्यूनीकरण गर्न नलाग्दा त्यसले चर्काे मुल्य चुकाउने संकेतहरु देखिन थालेका छन् । 
    धुलिखेल अस्पतालमा रहेको फरेन्सिक मेडिसिन विभागले पछिल्ला तीन वर्षमा ८ सय ३ वटा शवको चिरफार गरेको जनाएको छ । विभागका अनुसार चिरफार गरिएका शवमध्ये अधिकांश आत्महत्यासँग सम्बन्धित छन् । फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.पंकज कुमार सिंहका अनुसार दैनिक औसत तीनदेखि चारवटा शव परीक्षण हुने गरेको छ । उनका अनुसार चिरफार गरिएका शवमध्ये एक सयभन्दा बढी आत्महत्याका घटना रहेका छन् भने केही मृत्युको कारण अझै स्पष्ट खुल्न बाँकी छ । ‘१० वर्षभन्दा कम उमेरका बालबालिकाले समेत आत्महत्या गरेको अवस्था भेटिएको छ’– डा. सिंहले भने– ‘आत्महत्या गर्नेमा २० देखि ४० वर्ष उमेर समूहका मानिसको संख्या धेरै छ ।’ 
    धुलिखेल अस्पतालमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका अधिकांश अप्राकृतिक मृत्युका घटनाका शव ल्याइने गरिएको छ । त्यसबाहेक दोलखा, रामेछाप र सिन्धुलीका केही क्षेत्रबाट पनि शव परीक्षणका लागि यहाँ ल्याइने गरिएको अस्पतालले जनाएको छ । विभागमा कार्यरत तीन जना विशेषज्ञ चिकित्सकले अप्राकृतिक मृत्यु भएका व्यक्तिहरुको शव परीक्षण गर्दै आएका छन् । उनीहरुले मृत्युको वास्तविक कारण पत्ता लगाउन विस्तृत अध्ययन गर्ने गरेका छन् । तथ्यांकअनुसार २०८० सालमा २ सय ८४ वटा शव परीक्षण गरिएको थियो । २०८१ सालमा २ सय ७३ र २०८२ सालमा २ सय ४६ शवको चिरफार गरिएको छ । तीन वर्षको अवधिमा चिरफार गरिएका शवमध्ये ५ सय ६४ पुरुष र २ सय ३९ महिला रहेका छन् ।
    फरेन्सिक विभागका अनुसार आत्महत्यापछि सडक दुर्घटना अप्राकृतिक मृत्युको अर्को प्रमुख कारण बनेको छ । आत्महत्याका घटनामध्ये झुण्डिएर ज्यान दिने घटना सबैभन्दा धेरै छन् भने विष सेवन दोस्रो स्थानमा रहेको छ । कुनै मृत्युमा शंका लागेमा वा आत्महत्यामा अरू कसैको संलग्नता हुनसक्ने आशंका देखिएमा थप परीक्षण गरिने विभागले जनाएको छ । विशेषगरी बालबालिकाको मृत्युका घटनामा संवेदनशील अंगहरुको समेत सूक्ष्म परीक्षण गरी विस्तृत प्रतिवेदन प्रहरीलाई बुझाइने गरिएको छ । विशेषज्ञहरूका अनुसार बढ्दो मानसिक तनाव, पारिवारिक समस्या, आर्थिक दबाब, बेरोजगारी तथा सामाजिक एकाकीपनका कारण युवावर्गमा आत्महत्याको जोखिम बढ्दै गएको देखिन्छ । त्यसैले मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै समयमै परामर्श र सहयोग उपलब्ध गराउन आवश्यक रहेको उनीहरुको भनाइ छ ।