बनेपा/बनेपा नगरपालिकाको आयोजनामा तथा बनेपा भलिबल प्रशिक्षण केन्द्रको ब्यबस्थापनमा तेस्रो बनेपा उप–मेयर कप खुला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य र उप–प्रमुख विमला सापकोटाले संयुक्त रुपमा गरेका थिए । प्रमुख अतिथी नगर प्रमुख शाक्यले भलिवल खेलले महिला खेलाडीहरूको क्षमता अभिवृद्धि र अनुशासन, आत्मविश्वास तथा स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । नगरपालिकाले विभिन्न खेलहरुको आयोजना गरी युवाहरुलाई खेलकुद मार्फत सक्रिय बनाएको शाक्यले बताए । महिला भलिबल, मेयरकप, कराँते, फुटबल, नगरस्तरीय विभिन्न खेलकुदहरु आयोजना गरी खेल मार्फत युवा तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्य रहेको शाक्यले बताए ।
कार्यक्रममा उपप्रमुख सापकोटाले जिल्लामै पहिलो पटक विगत तीनवर्ष अघि नगरपालिकाले महिलाहरुलाई भलिबल खेल खेल्न प्रशिक्षण गराई प्रतियोगितामा भाग लिन सक्ने बनाएको बताईन् । नगरपालिकाले अहिले पनि महिलाहरुका लागी निरन्तर भलिबल प्रशिक्षण गराईरहेको सापकोटाले बताईन् । प्रतियोगितामा बनेपा नगरपालिका, धुलिखेल नरपालिका, नमोबुद्ध नगरपालिका, ललितपुर महानगरपालिका र न्यु डायमण्ड स्पोर्टस क्लबबले भाग लिएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख सहित ट्रफि, दोस्रोलाई ५० हजार सहित ट्रफी, तेस्रोलाई २५ हजार र चौथोलाई १० हजार नगद प्रदान गरिने प्रशिण केन्द्रका सचिव विक्रम प्रजापतिले बताए । प्रतियोगितामा वडा अध्यक्षहरु, शिक्षा सदन माविका ब्यबस्थापन समितिका अध्यक्ष पदम सुन्दर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । खेलकूद गतिविधिलाई निरन्तरता दिन र महिला भलिबल खेललाई थप लोकप्रिय बनाउन प्रतियोगिता प्रभावकारी हुने बनेपा भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष प्रज्ञा नकर्मीले बताए । प्रतियोगिताको पहिलो खेल धुलिखेल नगरपालिका र बनेपा नगरपालिका बिच भएको थियो । खेल १२ गते शुरु भई आगामी १९ गते समापन हुने जनाएको छ ।









