सरकारले सहकारी ठगी गर्नेहरु विरुद्ध मुद्दा दायर गरी सहकारीलाई संकटग्रस्त घोषणा गरे गरिए पनि बचतकर्ताहरुले बचत गरेको रकम अझै फिर्ता पाउन सकेका छैनन् । फिर्ता हुने ग्यारेन्टी पनि सरकारले गर्न सकेको छैन । जग्गाको हुँदै नभएको मुल्य भिडाएर पुनः संचालक र सरकारका प्रतिनिधिहरुले नागरिकहरुलाई उल्लु बनाउने प्रयत्न गरिरहेका छन् । भविष्यमा संकट पर्दा बचत गरेको रकम खर्च गर्न सकिन्छ भन्ने सोच बनाएर जम्मा गरिएको रकम बर्षाैसम्म फिर्ता नहुँदा बचतकर्ताहरु निराश बनेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लामा पनि देशभरमा जस्तै विभिन्न सहकारीहरु मार्फत बचतकर्ताहरुको रकम ठगी गरेको अभियोगमा २० जना पक्राउ परेका छन् भने ४६ जना फरार छन् । बचतकर्ताहरुले रकम प्राप्त गर्न सकेका छैनन् । ठगी मुद्दा दर्ता गरिएका भन्दा अलग सहकारीमा रकम जम्मा गरेकाहरुले पनि रकम पाउन सकेका छैनन् । ठगी विरुद्ध जाहेरी परेका ३ वटा सहकारीको अनुसन्धान सम्पन्न भई जिल्ला अदालतमा पेश भएको छ । पेश भएका सहकारीहरुमा पुण्यश्वरी सहकारीको ३ करोड ८० लाख ९३ हजार ४ सय १८ रुपैयाँ बचत फिर्ता नभएको निवेदनकर्ताहरुको दावी छ भने गरुड सहकारीको १४ करोड भन्दा धेरै बचत फिर्ता नभएको जाहेरीका आधारमा अनुसन्धान सम्पन्न भई अदालतमा पेश भएको छ । युनिटी सहकारीको ३ करोड ५० लाख भन्दा धेरै बचत फिर्ता नभएको अनुसन्धानबाट खुलेको छ । वाँकी ४ वटा सहकारीको अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । बचतकर्ताहरुले रकम फिर्ता हुने आशमा दिएको जाहेरी घर न घाटको जस्तो भएको बताउन थालेका छन् ।
बयान, हैरानी, तनावले बचत रकम भन्दा धेरै ठुलो क्षति भएको छ । जिल्लामा भएका ७ वटा सहकारीका संचालकहरुलाई ठगी मुद्दामा अनुसन्धान भईरहेको छ । थप केहि सहकारी विरुद्ध ठगी सम्बन्धी मुद्दा दर्ता गर्ने गरी अनुसन्धान भएको छ । मुद्दा दर्ता भएका सहकारीका ६६ संचालक विरुद्ध ठगीमा मुद्दा दर्ता भएको छ । जिल्लामा सबैभन्दा धेरै सहकारी ठगी र बैकिङ्ग कसुर सम्बन्धी घटना छन् । ब्यापार ब्यवसायमा आएको मन्दी लगायतका कारण नागरिकहरुले सोचे जस्तो कारोवार नगर्दा वा विश्वासमा गरिएको कारोवार समेत समयमा भुक्तानी गर्न नसक्दा दैनिक अदालतमा बैकिङ्ग कसुर सम्बन्धी अभियोग दर्ता भईरहेका छन् । सहकारी संचालकहरुले भने ऋण लिएर नतिरेका कारण बचत फिर्ता गर्न नसकेको बताएका छन् । सहकारी ऐन र कानून अनुसार संचालन भएका जिल्लाका नमूना सहकारीहरुमा भने अहिलेसम्म कुनै समस्या आएको छैन । सहकारीको रकम गैह् क्षेत्रमा लगानी गरी मुनाफा कमाउन खोजेका सहकारीहरुमा समस्या देखिएको छ । सहकारी सम्बन्धी ब्यवस्था अनुसार स्थानीय तहलाई हस्तान्तरण गर्ने अवधीमा जिल्लामा सहकारी दर्तामा किर्ते र ठगी भएको खुलासा भएको छ । डिभिजन सहकारीका केहि कर्मचारीहरुको मिलेमत्तोमा सहकारी खरिद विक्री भएको अनुसन्धानले देखाएको छ । केहि सहकारीहरुले बचत लिन र लगानी गर्ने अवधीमा पनि किलो मिटर ब्याज लिने दिने गरेको खुलेको छ । बचतकर्ताहरुको एउटै गुनासो छ बचत कहिले फिर्ता हुन्छ ? सरकार ! बचत कहिले फिर्ता गर्ने ?









