2026 June 25/ 04:29: 10pm

    बनेपा/खोपासी स्थायी घर भएकी स्वर्गीय सावित्रीदेवी न्यौपानेको स्मृतिमा स्थापित सावित्रीदेवी स्मृति प्रतिष्ठानले आफ्नो स्थापना दिवसको चौथो वर्षको अवसरमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
    करिब १५ वर्षअघि स्वर्गारोहण भएकी सावित्रीदेवी न्यौपानेको सम्झनामा स्थापना गरिएको प्रतिष्ठानले सामाजिक सेवामूलक गतिविधिलाई निरन्तरता दिँदै विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरू तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो । प्रतिष्ठानका अध्यक्ष रामईन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा कमला पन्त आचार्य प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा बोल्दै उनले आमाको नाममा स्थापना गरिएको प्रतिष्ठानले समाजसेवाका माध्यमबाट गरिरहेको कार्य अत्यन्त प्रशंसनीय रहेको बताइन् । ‘आमाको आत्माको सम्मानका लागि सुरु गरिएको प्रतिष्ठानले गरेका सामाजिक कार्य अझ महत्वपूर्ण छन्’–उनले भनिन्– ‘आमा शब्दको जति वर्णन गरे पनि पर्याप्त हुँदैन ।’
    कार्यक्रममा पनौती नगरपालिका क्षेत्रभित्र ग्रामीण स्तरमा स्वास्थ्य सेवा पु¥याउन महत्वपूर्ण योगदान दिएकी महिला स्वास्थ्य स्वयंसेविका सुनिता बजगाईलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । त्यसैगरी, कमला माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थी साजन तामाङ र विनोद तामाङलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । शिक्षा क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले काठमाडौंको कोटेश्वरस्थित लालिगुँरास माध्यमिक विद्यालय मा कक्षा ११ र १२ मा अध्ययन गर्ने दुई जना विद्यार्थीका सम्पूर्ण शैक्षिक खर्च छात्रवृत्तिस्वरूप उपलब्ध गराउने व्यवस्था गरिएको छ । उक्त छात्रवृत्ति रकम विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको थियो । 
    प्रतिष्ठानले स्थापना गरेको कोषबाट प्राप्त आम्दानीमार्फत सामाजिक कार्य सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ । कोषाध्यक्ष दुर्गा बरालका अनुसार कोषको दायरा विस्तार गर्दै सहयोगी दाताहरूलाई सम्मान गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । अध्यक्ष रामईन्द्र न्यौपानेले आफ्नी आमाको सपना, चाहना र भावनालाई जीवित राख्ने उद्देश्यले परिवारस्तरबाट सुरु गरिएको प्रतिष्ठानलाई विस्तार गरिएको बताए । उनले सामाजिक सेवामार्फत आमाको आत्मालाई शान्ति प्रदान गर्ने प्रयास निरन्तर जारी रहने उल्लेख गरे ।
    कार्यक्रममा प्रतिष्ठानका सचिव राजेश न्यौपानेले संस्थाको स्थापना, उद्देश्य तथा वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । हाल प्रतिष्ठानमा आजीवन र साधारण सदस्य गरी ४० जना सदस्य आबद्ध भइसकेका छन् । सावित्रीदेवी न्यौपानेका छ सन्तानमध्ये जेठी छोरी उमा न्यौपाने लामिछानेले गीतमार्फत आमाको स्मरण गरेकी थिइन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता मधु आचार्य, काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सका डिन प्रा. डा. मनोज हुमागाईं, ब्राइट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा होटल व्यवसायी लक्ष्मण न्यौपानेलगायत वक्ताहरूले ‘आमा’ शब्द आफैंमा सम्पूर्ण भावना समेट्ने शब्द भएकाले यसको चर्चा जति गरे पनि अपूरो रहने धारणा राखेका थिए ।
    कार्यक्रममा स्वर्गीय सावित्रीदेवीका छोरा तथा नेपाली सेनाका सेनानी दिनेश न्यौपानेसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । यस अवसरमा प्रतिष्ठानको कोषमा सहयोग पु¥याउने ब्राइट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण न्यौपानेलाई धन्यवाद तथा प्रशंसापत्र प्रदान गरिएको थियो । उनले आफ्नी छोरीको जन्मदिनको अवसर पारेर प्रतिष्ठानको कोषमा थप आर्थिक सहयोगसमेत गरेका थिए ।