बनेपा/काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि बजेट सार्वजनिक गरेका छन् । अधिकांश स्थानीय तहले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आफ्नो वित्तीय क्षमता भन्दा धेरै योजना तथा कार्यक्रम समेटेर बजेट ल्याएको टिप्पणी हुन थालेको छ ।
नीति तथा कार्यक्रमसँगै सार्वजनिक गरिएका बजेटमा कतिपय पालिकाले विगतको तुलनामा उल्लेख्य वृद्धि गरेका छन् भने केहीले साविककै आकारको बजेट प्रस्तुत गरेका छन् । तर बजेटमा समावेश गरिएका धेरै योजना व्यवहारिक रूपमा कार्यान्वयन हुन सक्नेभन्दा पनि निर्वाचनका बेला मतदातालाई आश्वस्त पार्ने उद्देश्यले राखिएको देखिएको छ । केहि पालिकाले पुराना अधुरा योजनालाई पनि प्राथमिकतामा राखेका छन् ।
संविधानअनुसार स्थानीय तहको निर्वाचन २०८४ वैशाखभित्र सम्पन्न हुनुपर्ने व्यवस्था छ । सरकारले भने निर्वाचन निर्धारित समयभन्दा करिब छ महिना अगाडि, अर्थात् मंसिरमै गराउने तयारी गरिरहेको छ । निर्वाचन मंसिरमा भए निर्वाचन आचारसंहिता करिब ९० दिनअघि लागू हुने भएकाले असोजदेखि विकास बजेट खर्चमा विभिन्न प्रतिबन्ध लाग्नेछ । साउन र भदौ महिनामा नयाँ बजेट कार्यान्वयनको प्रारम्भिक तयारी, अघिल्लो आर्थिक वर्षको समीक्षा तथा वर्षायामका कारण विकास निर्माणका काम प्रभावकारी रूपमा अघि बढ्न सक्दैनन् । असोजदेखि निर्वाचन आचारसंहिता लागू भए अधिकांश योजना प्रभावित हुने सम्भावना रहन्छ। कार्तिकमा दशैं–तिहारजस्ता ठूला चाडपर्व पर्ने भएकाले विकास निर्माणका कामले गति लिन कठिन हुन्छ ।
यदि निर्वाचन वैशाखमै भयो भने पनि माघ अन्तिमसम्म मात्र बजेट खर्च गर्ने पर्याप्त समय उपलब्ध हुन्छ । मंसिर, पुस र माघ महिनामा चिसो मौसम र छोटो दिनका कारण निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न सक्दैन । नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि जेठ र असारको सीमित अवधिमा ठूलो परिमाणमा बजेट खर्च हुने अपेक्षा पनि धेरै भरपर्दो मानिएको छैन । यद्यपि यो बजेट २०७९ मा निर्वाचित जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकालको अन्तिम बजेट भएकाले राजनीतिक र विकासात्मक दुवै दृष्टिले महत्वका साथ हेरिएको छ । नयाँ संविधान जारी भएपछि करिब एक दशक स्थानीय सरकार सञ्चालन हुँदा संघीयताको अभ्यासले नागरिकलाई स्थानीय स्तरमै सेवा प्राप्त गर्ने अवसर दिएको छ । तर केही स्थानमा जनप्रतिनिधिको कार्यशैली, कार्यकर्तामुखी बजेट विनियोजन, सुशासनसम्बन्धी प्रश्न तथा शक्ति प्रदर्शनका कारण नागरिक असन्तुष्ट रहेको गुनासो पनि सुनिने गरेको छ ।
जिल्लामध्ये नमोबुद्ध नगरपालिकाले असार ८ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बजेट सार्वजनिक गर्ने पहिलो स्थानीय तह बनेको छ । चौरीदेउराली गाउँपालिकाले असार ९ गते मंगलबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । पनौती नगरपालिकाले एक साताअघि नै नीति तथा कार्यक्रम पारित गरे पनि बजेट भने असार १० गते प्रस्तुत गरेको थियो । अन्य अधिकांश स्थानीय तहले पनि सोही दिन नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । कतिपय पालिकाले योजना र बजेटको विस्तृत विवरणसमेत सार्वजनिक गरेका छन् । २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बनेपा नगरपालिकाको भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो। क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ र प्रदेश सरकारबाट पर्याप्त प्राथमिकता नपाएपछि नगरपालिकाले आफ्नै स्रोतबाट व्यवस्थापन गर्ने तयारी गरेको छ ।
आगामी वर्षका लागि सार्वजनिक गरिएका अधिकांश बजेटमा सडक, खानेपानी, सिँचाइ तथा अन्य आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ । तर निर्वाचनको मुखमा सार्वजनिक भएका यी महत्वाकांक्षी योजनाहरू कति कार्यान्वयन हुन्छन् भन्ने प्रश्न भने अझै कायम रहेको छ । जिल्लामा ६ वटा नगरपालिका बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध, मण्डनदेउपुर र पाँचखाल छन् भने ७ वटा गाउँपालिका बेथान्चोक, खानीखोला, भुम्लु, रोशी, महाभारत, तेमाल, चौरीदेउराली रहेका छन् । पाँचखाल नगरपालिकाले नगर प्रमुख महेश खरेलका पिता पुर्व मन्त्री राजेन्द्र खरेलको निधन भएकाले केहि दिन पछि बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।
१३ वटै पालिकामा साविकको नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा समाजवादीको गठवन्धन थियो । तीनवटा पार्टी मिलेर निर्वाचनमा नेकपा एमाले लगायतका एक्लै रहेका दलहरुसँग प्रतिस्पर्धा गरेका थिए । त्यसो हुँदा पनि नेकपा एमालेले धुलिखेलमा प्रमुख तथा बनेपा, पनौती र पाँचखालमा उपप्रमुखमा विजयी हासिल गरेको थियो । एउटा पालिकाको प्रमुखमा मात्रै विजयी भएको समाजवादीले जिल्ला समन्वय समितिको प्रमुख पाएको थियो । अन्य पालिकामा नेपाली काँग्रेस र नेकपा माओवादीका उम्मेवार विजयी भएका थिए । २०८२ फागुन २१ गतेको निर्वाचनमा ति दलहरुको जनमत भत्किएको तथ्यांक सार्वजनिक भएको छ । तर पनि दलहरुले अझै पुरानो किल्ला कायमै रहेको निश्कर्ष निकालेका छन् । दलहरु आन्तरिक विवादमा फसिरहेका बेला नागरिकहरुले भने नयाँ भनिएको दल प्रति झुकाव बढाउन थालेका छन् ।









