2026 June 25/ 03:23: 36pm

    मानिसको जीवनमा केही ठाउँहरू यस्ता हुन्छन्, जहाँबाट ऊ जति टाढा गए पनि कहिल्यै छुट्टिँदैन । मेरा लागि त्यो ठाउँ मण्डनदेउपुरको हाम्रो पुरानो घर हो । अहिले पनि आँखा बन्द गर्दा सबैभन्दा पहिले त्यही घर देख्छु–ढुङ्गा र माटोले बनेको, टिनले छाएको, आँगनको बीचमा एउटा बूढो कटुसको रूख उभिएको । बाबाले भन्नुहुन्थ्यो, म जन्मिएको वर्ष नै त्यो कटुस रोपिएको हो ।
    त्यसैले मलाई लाग्थ्यो, त्यो रूख र म सँगै हुर्किरहेका छौँ । म सानी हुँदा त्यसकै फेदमा माटोको घर बनाउँथेँ । कहिले गुडियाको विवाह गराउँथेँ । कहिले साथीहरूसँग लुकामारी खेल्थेँ । आमाले टाढाबाट कराउनुहुन्थ्यो, ओई, साँझ परिसक्यो, घरभित्र आऊ अब । म भने अझै एकछिन भन्दै दौडिरहन्थेँ । बालापन साँच्चै कति धनी हुँदोरहेछ । त्यो बेला न भविष्यको चिन्ता हुन्थ्यो, न समाजको डर । आँखा खुल्दा बिहान हुन्थ्यो, आँखा बन्द गर्दा रात । बीचको समय हाँसोले भरिएको हुन्थ्यो । हाम्रो घर धनी थिएन । तर अभावले कहिल्यै प्रेमलाई जित्न सकेन । 
    बाबा बिहान सबेरै उठेर खेततिर जानुहुन्थ्यो । आमा गाईबस्तु, घरधन्दा र मेलापातमा व्यस्त हुनुहुन्थ्यो । कहिलेकाहीँ घरमा तरकारी नहुँदा आमा नुन–खुर्सानीसँग भात खान दिनुहुन्थ्यो । तर त्यो भातमा पनि सन्तोषको स्वाद हुन्थ्यो । आज सम्झँदा लाग्छ, गरिबीले पेट खाली बनाउन सक्छ, मन खाली बनाउन सक्दैन । म आमाको धेरै लाडली छोरी थिएँ । आमा जहाँ जानुहुन्थ्यो, म पछिपछि लाग्थेँ । घाँस काट्न जाँदा पनि । मेलापात जाँदा पनि । एक दिन आमाले हाँस्दै भन्नुभएको थियो, तँ त बिहे भएपछि कसरी बस्लिस् होला, मलाई छोडेर ? त्यो बेला मैले आमाको कम्मर समातेर भनेकी थिएँ, म बिहे गर्दिनँ । आमा र बाबाले धेरै हाँस्नुभएको थियो । त्यो बेला विवाह भनेको के हो भन्ने पनि राम्रोसँग थाहा थिएन । मलाई त लाग्थ्यो, म सधैँ यही घरमा बस्नेछु । 
    सधैँ आमाको काखमा । सधैँ बाबाको आँखाको नानी भएर । तर जीवनले कसैलाई त्यति सजिलो छुट दिँदैन । म विस्तारै ठूलो हुँदै गएँ । शरीर मात्रै होइन, सपना पनि बढ्दै गए । गाउँका विवाहहरू हेर्दा मलाई दुलहीहरू साह्रै राम्री लाग्थे । रातो सारी, हरियो चुरा, निधारभरी सिन्दूर । कहिलेकाहीँ ऐनाअगाडि उभिएर आफूलाई पनि दुलही कल्पना गर्थेँ । अनि आफैँ लजाएर भाग्थेँ । उमेर बढ्दै जाँदा साथीहरूका कुरा पनि बदलिन थाले । कसैको बिहे भयो । हामी पानी भर्न जाँदा पनि यस्तै कुरा गथ्र्यौँ । भोलिको सपना देख्थ्यौँ । आफ्नो हुने घरको कल्पना गथ्र्यौँ । त्यो बेला कसैले भनेको भए विवाहपछि जीवनमा आँधी पनि आउँछ भनेर, सायद हामी विश्वास गर्ने थिएनौँ । किनकी युवतीहरूको मनमा सपनाको रंग धेरै गाढा हुन्छ । यथार्थको रङ देख्न समय लाग्छ । म लगभग बीस वर्षको हुँदै थिएँ । एक दिन घरमा अपरिचित मान्छेहरू आए । आमाले नयाँ चियाकप निकाल्नुभयो । बाबा सामान्यभन्दा धेरै गम्भीर देखिनुभयो । मैले केही बुझेन । पछि थाहा भयो, उनीहरू मलाई हेर्न आएका रहेछन् । 
    म भित्र कोठामा बसेर लजाइरहेकी थिएँ । साथीहरु जिस्क्याइरहेका थिए । म मुस्कुराइरहेकी थिएँ । तर मुटु बेस्सरी धड्किरहेको थियो । त्यो दिन जीवनले पहिलो पटक मोड लिन खोजिरहेको थियो । केही महिनापछि मेरो विवाह तय भयो । पाँचखालको परिवार थियो । सबैले राम्रो भने । केटा मेहनती छ, जिम्मेवार छ, परिवार राम्रो छ भन्ने सुनियो । आमाको अनुहारमा सन्तोष थियो । बाबाको आँखामा भरोसा थियो । त्यसैले मैले पनि धेरै प्रश्न गरिनँ । हाम्रो समाजमा छोरीहरूले धेरै प्रश्न सोध्ने चलन पनि कहाँ थियो र ? हामी विश्वास गरेर हिंड्थ्यौँ । बाबाको निर्णयमाथि । परिवारको भरोसामाथि । र भविष्यको अनदेखा बाटोमाथि । विवाहको दिन आयो । जीवनका केही दिनहरू यस्ता हुन्छन्, जुन समय बितेपछि झन् स्पष्ट सम्झिन्छौँ । मेरो विवाहको दिन पनि त्यस्तै हो । बिहानदेखि घरमा मान्छेको भीड थियो । आँगनभरी हाँसो थियो । मादलको ताल थियो । साथीहरुको जिस्काई सुन्नै नसक्ने थियो । तर मेरो मनभित्र भने अनौठो हलचल थियो । 
    म खुसी पनि थिएँ । डराएकी पनि थिएँ । आमाले मेरो कपाल कोर्दै हुनुहुन्थ्यो । बारम्बार मेरो अनुहार छामिरहनुभएको थियो । आज सम्झँदा लाग्छ, उहाँले त्यो दिन छोरीको अनुहार स्मृतिमा साँचिरहनुभएको रहेछ । किनकी साँझ भएपछि म उहाँको घरकी छोरी मात्रै रहने थिइनँ । अर्काको घरकी बुहारी बन्ने थिइँ । बिदाइको बेला म आफूलाई रोक्न सकिनँ । म आमाको घाँटीमा झुन्डिएर रोएँ । आमाले पनि आँसु थाम्न सक्नुभएन । बाबा चुपचाप उभिनुभएको थियो । तर उहाँको आँखामा पानी टिलपिलाइरहेको मैले देखेकी थिएँ । उहाँले मेरो टाउकोमा हात राखेर भन्नुभएको थियो, जहाँ जाऊ, खुसी भएर बस्नू । त्यो वाक्य आज पनि मेरो मनभित्र जीवित छ । जन्तीको गाडी अगाडि बढ्यो । म पछाडि फर्केर हेर्दै थिएँ । मेरो घर सानो हुँदै गइरहेको थियो । कटुसको रूख पनि टाढा हुँदै गइरहेको थियो । अनि एक क्षण आयो, जब त्यो आँखाबाटै हरायो । 
    मलाई लाग्यो, मेरो जीवनको एउटा अध्याय बन्द भयो । घर पुग्दा म धेरै डराएकी थिएँ । नयाँ घर । नयाँ मान्छेहरू । नयाँ जिम्मेवारी । तर बिस्तारै सबै सहज हुन थाल्यो । सासुससुरा असल हुनुहुन्थ्यो । घर ठूलो थिएन । तर मन सानो थिएन । श्रीमान् पनि मैले कल्पना गरेभन्दा राम्रो मान्छे हुनुहुन्थ्यो । उहाँ धेरै बोल्नुहुन्नथ्यो । तर म थाकेको बेला थाहा पाउनुहुन्थ्यो । म बिरामी हुँदा चिन्ता गर्नुहुन्थ्यो । साना कुरामा ध्यान दिनुहुन्थ्यो । त्यो प्रेम शब्दमा भन्दा व्यवहारमा देखिन्थ्यो । कहिलेकाहीँ साँझ हामी आँगनमा बस्थ्यौँ । आकाशभरी तारा हुन्थे । टाढाबाट कुकुर भुकेको आवाज आउँथ्यो । उहाँ भविष्यका कुरा गर्नुहुन्थ्यो । एक दिन राम्रो घर बनाउँला । बच्चाहरूलाई राम्रो पढाउँला । आमाबुबालाई दुःख गर्न नपरोस् । म सुन्थेँ । मुस्कुराउँथेँ । र मनमनै भगवानलाई धन्यवाद दिन्थेँ । विवाहको दोस्रो वर्षमै म आमा बनेँ । पहिलो पटक बच्चालाई काखमा लिँदा म रोएकी थिएँ । खुसीले । डरले । आश्चर्यले । एउटा सानो जीव मेरो मुटुको धड्कन बनेर आएको थियो ।
    श्रीमान् बच्चालाई हेरेर घण्टौँ बस्नुहुन्थ्यो । कहिलेकाहीँ म निदाइसकेपछि पनि उहाँ बच्चाको अनुहार हेर्दै हुनुहुन्थ्यो । त्यो दृश्य देख्दा मलाई लाग्थ्यो, संसारमा मभन्दा भाग्यमानी महिला कोही छैन । दुई वर्षपछि दोस्रो बच्चा जन्मियो । हाम्रो घर झन् रमाइलो भयो । बच्चाहरूको हाँसोले आँगन भरिन थाल्यो । दिनभरी उनीहरूको पछि दौडिँदा थकान पनि मीठो लाग्थ्यो । तर जीवनले सधैँ एउटै रङमा चित्र कोर्दैन । सुखको चित्रमा पनि समयले कहिलेकाहीँ अँध्यारो रेखा कोरिदिन्छ । हाम्रो जीवनमा त्यो रेखा विस्तारै देखा पर्न थालिसकेको थियो । कमाईले खर्च धान्न छोड्दै थियो । बच्चाहरू हुर्किँदै थिए । जिम्मेवारी बढ्दै थियो । एक साँझ श्रीमान् असाध्यै गम्भीर देखिनुभयो । हामी दुवै आँगनमा बसिरहेका थियौँ । बच्चाहरू खेलिरहेका थिए । उहाँ धेरै बेर चुप लागिरहनुभयो । अनि बिस्तारै भन्नुभयो, म विदेश जाने सोच्दै छु । मेरो मुटु एकाएक चिसो भयो । किन ? मैले सोधेँ । उहाँ केही बेर चुप रहनुभयो । अनि बच्चातिर हेर्दै भन्नुभयो, यही कमाइले पुग्दैन । यी बच्चाहरूको भविष्यका लागि केही गर्नैपर्छ । मसँग जवाफ थिएन । किनकी उहाँको कुरा गलत पनि थिएन । 
    त्यो रात मलाई निद्रा लागेन । श्रीमान् सँगै हुनुहुन्थ्यो । तर मनले बिछोडको अभ्यास गर्न थालिसकेको थियो । केही महिनापछि उहाँ जाने दिन आयो । बसपार्कमा धेरै मान्छे थिए । कसैले विदेश जानेलाई बिदाइ गरिरहेका थिए । कसैले आँसु लुकाइरहेका थिए । म पनि तीमध्ये एक थिएँ । बस छुट्ने बेला उहाँले मेरो हात समात्नुभयो । अनि बिस्तारै भन्नुभयो, हेर, धेरै नरोऊ । म छिट्टै फर्किन्छु । मैले जबरजस्ती मुस्कान ल्याएँ । तर आँखा भने भरिइसकेका थिए । बस बिस्तारै अगाडि बढ्न थाल्यो । उहाँले झ्यालबाट हात हल्लाइरहनुभएको थियो । म पनि हल्लाइरहेकी थिएँ । बस आँखाबाट हराएपछि मात्रै मैले महसुस गरेँ, मेरो जीवनको अर्को अध्याय सुरु भएको छ । तर त्यो अध्यायमा कस्तो कथा लेखिनेछ, मलाई थाहा थिएन । मलाई यति मात्रै थाहा थियो, अब म बच्चाहरू, सासुससुरा र सम्झनाहरूको सहारामा दिन काट्नेछु । र हरेक साँझ आकाशतिर हेरेर एउटै प्रार्थना गर्नेछु, भगवान्, उहाँ सकुशल फर्केर आऊन् ।
    श्रीमान् विदेश गएको पहिलो महिना मैले दिन गनेर बिताएँ । दोस्रो महिना फोन गनेर बिताएँ । तेस्रो महिना सम्झना गनेर बिताएँ । त्यसपछि समयले आफ्नो गति समात्यो । म पनि बिस्तारै एक्लोपनसँग बाँच्न सिक्न थालेँ । मानिसलाई बानी पर्न धेरै समय लाग्दैन रहेछ । दुःखको पनि बानी पर्छ । अभावको पनि बानी पर्छ । प्रतीक्षाको पनि बानी पर्छ । श्रीमान् विदेश गएपछि मेरो जीवन एउटा घडीजस्तै भयो, जसका काँटाहरू निश्चित बाटोमा मात्र हिँड्थे । बिहान अँध्यारोमै उठ्ने । चुलो बाल्ने । सासुससुराका लागि चिया बनाउने । बच्चाहरूलाई उठाउने । गाईबस्तु हेर्ने । मेलापात जाने । खेतबारीको काम गर्ने । बेलुका घर फर्किने । अनि राति फोनको प्रतीक्षा गर्ने । यही मेरो संसार थियो । कहिलेकाहीँ राति फोन आउँथ्यो । उहाँको आवाज सुन्नासाथ दिनभरको थकान हराउँथ्यो । बच्चाहरू के गर्दैछन् ? उहाँको पहिलो प्रश्न यही हुन्थ्यो । म हाँस्दै भन्थेँ, तपाईंलाई भन्दा उनीहरूलाई बढी सम्झिनुहुन्छ जस्तो छ । उहाँ पनि हाँस्नुहुन्थ्यो । त्यो हाँसो हजारौँ किलोमिटर टाढाबाट पनि मेरो मनसम्म आइपुग्थ्यो ।
    पहिलो वर्ष यसै बित्यो । अर्को वर्ष सुरु भयो । बच्चाहरू हुर्किँदै थिए । सासुससुरा झन् बूढा हुँदै जानुभएको थियो । माथि हेर्दा आकाश उस्तै थियो । तल हेर्दा जीवन उस्तै थियो । तर मनभित्र एउटा खाली ठाउँ थियो । जसलाई मैले कसैलाई देखाइनँ । मानिसहरूले अक्सर भन्छन्, विदेश गएका पुरुषलाई दुःख हुन्छ । त्यो सत्य हो । तर घरमा बसेर प्रतीक्षा गरिरहेकी स्त्रीको दुःख पनि कम हुँदैन । दिनभरि कामले थाकेको शरीर राति सिरानीमा पुगेपछि मात्रै मन बोल्न थाल्छ । त्यो बेला सम्झनाहरू धेरै आउँछन् । एक्लोपन धेरै बोल्छ । कहिलेकाहीँ राति बच्चाहरू निदाइसकेपछि म आँगनमा निस्कन्थेँ । आकाशमा जून टल्किरहेको हुन्थ्यो । म धेरैबेर त्यसलाई हेर्थेँ । अनि सोच्थेँ, सायद यही जून अहिले उहाँले पनि देखिरहनुभएको होला । म यता । उहाँ उता । तर आकाश एउटै । जून एउटै । त्यो सोचले केहीबेरका लागि मन हलुका हुन्थ्यो । तर जीवन सधैँ कविता जस्तो हुँदैन । यथार्थले एकदिन ढोका ढकढक्याउँछ । र त्यसको आवाज धेरै कठोर हुन्छ । घरमा बेलाबेला आफन्तहरू आउनेजाने गर्थे । गाउँमा त्यही चलन हो । कसैको बिहे ।
    कसैको पूजाआजा । कसैको दुःखसुख । सबैजना एकअर्काको घर आउजाउ गर्छन् । त्यसैमध्ये एक जना थिए, घरका ज्वाइँ । सबैले सम्मान गर्ने । सबैले विश्वास गर्ने । घरका मान्छेजस्तै । उनी आउँदा सासुससुरा पनि खुसी हुनुहुन्थ्यो । आफन्त आएको अनुभूति हुन्थ्यो । म पनि अरूले जस्तै व्यवहार गर्थेँ । चिया पकाउँथेँ । खाना खुवाउँथेँ । सामान्य कुरा गर्थेँ । किनकी मेरो मनमा कुनै शंका थिएन । आज फर्केर हेर्दा लाग्छ, जीवनका सबैभन्दा ठूला दुर्घटनाहरू प्रायः त्यहीँबाट सुरु हुन्छन्, जहाँ हामीले कुनै खतरा देखेका हुँदैनौँ । उहाँ घर आउँदा बच्चाहरूसँग खेल्नुहुन्थ्यो । सासुससुरासँग कुरा गर्नुहुन्थ्यो । कहिलेकाहीँ मलाई पनि विदेशमा रहेका श्रीमान्को कुरा सोध्नुहुन्थ्यो । सबै कुरा सामान्य देखिन्थ्यो । सायद त्यही कारण मैले कहिल्यै केही सोचिनँ । तर बिस्तारै केही कुराहरू बदलिँदै गएका रहेछन् । त्यो परिवर्तन सुरुमा मैले बुझिनँ । कतिपय नजरहरू शब्दभन्दा धेरै कुरा बोल्छन् । तर हामी प्रायः ती कुरा बुझ्न ढिलो गर्छौँ ।
    मैले पनि ढिलो गरेँ । वा सायद बुझ्नै चाहिनँ । एक दिन बेलुका म आँगनमा लुगा सुकाउन राख्दै थिएँ । सूर्य डुब्न लागेको थियो । त्यो बेला पहिलो पटक मलाई अनौठो असहजता महसुस भयो । कसैले धेरैबेर हेरिरहेको जस्तो । म पछाडि फर्किएँ । तर केही भनिनँ । आफैँलाई सम्झाएँ, सायद मेरो भ्रम हो । तर त्यो भ्रम विस्तारै वास्तविकतामा बदलिन थाल्यो । त्यसपछि जब–जब उहाँ घर आउनुहुन्थ्यो, मलाई एक प्रकारको असहजता हुन थाल्यो । किन ? मसँग उत्तर थिएन । तर महिलाहरूको मनले कहिलेकाहीँ खतरा शब्दभन्दा अगाडि महसुस गर्छ । म धेरै बोल्न छोड्न थालेँ । तर गाउँको घरमा सधैँ सबै कुरा नियन्त्रण गर्न कहाँ सम्भव हुन्छ र ? यता श्रीमान् विदेशमै हुनुहुन्थ्यो । उहाँसँग कुरा हुँदा म केही पनि भन्दिनथेँ । किनकी म आफैँ स्पष्ट थिइनँ ।
    एक रात बच्चाहरू चाँडै निदाए । सासुससुरा पनि आ–आफ्नो कोठामा सुत्न जानुभयो । घर असाध्यै शान्त थियो । बाहिर पानीको आवाज आइरहेको थियो । म भाँडा मिलाएर सुत्ने तयारी गर्दै थिएँ । त्यही रात मेरो जीवनको दिशा बदलियो । आज पनि त्यो रात सम्झन खोज्दा मेरा हात काँप्छन् । म शब्दहरू खोज्न थाल्छु । तर शब्दहरू कतै हराउँछन् । किनकी केही घटनाहरू बयानभन्दा बढी घाउ हुन्छन् । त्यो रात मैले सबैभन्दा पहिले डर महसुस गरेँ । त्यसपछि अविश्वास । त्यसपछि असहायपन । र अन्त्यमा एउटा यस्तो मौनता, जसले मेरो भित्रको आवाज नै खोसेर लग्यो । भोलिपल्ट बिहान सूर्य उही थियो । आकाश उही थियो । घर उही थियो । तर म उही थिइनँ । म ऐनाअगाडि उभिएँ । आफ्नै अनुहार चिन्न सकिनँ । मलाई लाग्यो, एकै रातमा म धेरै बूढी भएकी छु । धेरै थाकेकी छु । धेरै टाढा पुगेकी छु । त्यसपछि दिनहरू चलिरहे । मानिसहरूले केही देखेनन् । किनकी मैले कसैलाई देखाउन दिइनँ । म खाना पकाउँथेँ । काम गर्थेँ । बच्चाहरूलाई नुहाइदिन्थेँ । हाँस्नुपर्ने ठाउँमा हाँस्थेँ । तर त्यो हाँसो अब मेरो थिएन । रातहरू भने कठिन हुँदै गए । निद्रा हराउन थाले । आँखा बन्द गर्दा डर आउन थाल्यो । आँखा खोल्दा अपराधबोध । यद्यपि गल्ती मेरो थिएन । तर समाजले महिलाहरूलाई एउटा कुरा सानैदेखि सिकाउँछ, दुःख आए पनि दोष आफैँलाई देऊ । सायद त्यसैले म पनि आफैँसँग लडिरहेकी थिएँ ।
    धेरैपटक आमालाई सबै कुरा भनिदिऊँ जस्तो लाग्थ्यो । फोन उठाउँथेँ । आवाज सुन्नासाथ घाँटी भरिन्थ्यो । तर फेरि केही नभएजस्तो कुरा गर्थेँ । म सन्चै छु आमा । कति ठूलो झूट बोलेकी रहेछु म । दिनहरू फेरि बिते । एक महिना । दुई महिना । तीन महिना । अनि एक बिहान मैले एउटा कुरा महसुस गरेँ । जसले मेरो मुटुको धड्कन रोकिदियो । मेरो महिनावारी रोकिएको थियो । पहिलो दिन मैले ध्यान दिइनँ । दोस्रो दिन डर लाग्यो । तेस्रो दिन रातभर निद्रा लागेन । म बारम्बार हिसाब गर्थेँ । दिन गन्थेँ । 
क्यालेन्डर हेर्थेँ । आशा गर्थेँ, म गलत हुनुपर्छ । तर मनभित्र कतै सत्यले ढोका ढकढक्याइरहेको थियो । त्यसपछि एउटा दिन आयो, जब म एक्लै कोठामा बसेर धेरैबेर रोएँ । जति रोए पनि आँसु सकिएन । किनकी त्यो डर केवल मेरो थिएन । त्यो डर मेरा बच्चाहरूको थियो । मेरो परिवारको थियो । मेरो भविष्यको थियो । म कसैलाई भन्न सकिरहेकी थिइनँ । बोल्न खोज्दा आवाज हराउँथ्यो । रुन खोज्दा आँसु लुकाउँथेँ । त्यो बेला पहिलो पटक मलाई लाग्यो, मानिस भीडको बीचमा पनि एक्लो हुन सक्छ ।
    असाध्यै एक्लो । त्यसपछि मैले उनलाई कुरा गरेँ । डराउँदै । काँप्दै । आशा र भयको बीचमा उभिएर । उहाँले धेरै सहज स्वरमा भन्नुभयो, चिन्ता नगर । केही हुँदैन । म मिलाउँछु । त्यो वाक्य सुनेपछि मैले केही समयका लागि सास फेर्न सकेँ । मलाई लाग्यो, सायद समस्या समाधान हुन्छ । सायद यो दुःस्वप्न यतिमै टुंगिन्छ । तर जीवनले मेरो लागि अझै धेरै आँधी जोगाएर राखेको रहेछ । मलाई थाहा थिएन, साँचो पीडा त अब सुरु हुन बाँकी थियो । त्यहि पीडा भयो । माईती जान बाध्य भएँ । न न्याय मिल्यो । न श्रीमानको माया । न घर परिवारको । म मनमनै अपराधी ठहर भएँ । समाजका अगाडी घर खान नसकेकी, श्रीमान पर्खन नसकेकी महिलाका रुपमा चिनिएँ । दुई सन्तान काखमा च्यापेर रोकिएको महिनावारी निरन्तर गराउने गरी अस्पताल पुगें । बल्लबल्ल म त बाँचे तर मेरो अस्तित्व भने म-यो । 

रुपा मिजार
पाँचखाल, काभ्रे