धुलिखेल/आर्थिक गणना २०८३ अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा हालसम्म २१ हजार ८ सय ३५ प्रतिष्ठान गणना भएका छन् । गणनाको अन्तिम विवरण आउन बाँकी रहेकाले यो संख्या अझै केही बढ्न सक्ने जनाइएको छ ।
जिल्ला आर्थिक गणना कार्यालयका अनुसार प्राप्त प्रारम्भिक तथ्यांकले जिल्लाको आर्थिक गतिविधि विस्तार हुँदै गएको सुचक देखिएको छ । यसअघि २०७५ सालमा सम्पन्न आर्थिक गणनामा जिल्लाभर १४ हजार २ सय ८२ प्रतिष्ठान सूचीकृत भएका थिए । हालको प्रारम्भिक विवरणअनुसार सात वर्षको अवधिमा प्रतिष्ठानको संख्या ७ हजार ५ सय ५३ ले वृद्धि भएको छ, जुन करिब ५३ प्रतिशतको वृद्धि हो । आर्थिक गणना २०८३ का लागि काभ्रेपलाञ्चोकमा २० हजार ३ सय ३२ प्रतिष्ठान गणना गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर प्रारम्भिक नतिजाअनुसार लक्ष्यभन्दा करिब ७ प्रतिशत बढी प्रतिष्ठान गणना भएका छन् । यसले जिल्लामा व्यापार, उद्योग, सेवा तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धित प्रतिष्ठानको संख्या अपेक्षाभन्दा तीव्र गतिमा बढेको देखाएको छ ।
जिल्ला आर्थिक गणना अधिकारी दीपक कोईरालाले केन्द्रीय तथ्यांक कार्यालयको प्रारम्भिक मूल्याङ्कनअनुसार काभ्रेपलाञ्चोकमा सम्पन्न गणना उत्साहजनक रहेको बताए । उनका अनुसार लक्ष्यभन्दा बढी प्रतिष्ठान फेला पर्नु जिल्लाको आर्थिक गतिविधि विस्तार र उद्यमशीलता बढ्दो क्रममा रहेको संकेत हो । ‘अन्तिम विवरण आउन अझै केही समय लाग्छ । केही क्षेत्रका तथ्यांक संकलन तथा प्रमाणीकरणको काम बाँकी रहेकाले प्रतिष्ठानको संख्या थप बढ्न सक्ने सम्भावना छ, यो प्रारम्भिक तथ्यांक हो’– कोईरालाले भने । आर्थिक गणना कुनै पनि क्षेत्रको आर्थिक अवस्था, व्यवसायिक संरचना, रोजगारीको अवस्था तथा उत्पादन र सेवासम्बन्धी गतिविधिको समग्र चित्र प्रस्तुत गर्ने महत्वपूर्ण आधार मानिन्छ । यसबाट प्राप्त तथ्यांकले स्थानीय, प्रदेश तथा संघीय सरकारले नीति निर्माण, योजना तर्जुमा र लगानीको प्राथमिकता निर्धारण गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
काभ्रेपलाञ्चोकमा पछिल्ला वर्षहरूमा व्यापार, पर्यटन, होटल व्यवसाय, निर्माण क्षेत्र, कृषि–आधारित उद्योग तथा विभिन्न सेवा क्षेत्र विस्तार हुँदै गएकाले प्रतिष्ठानको संख्या उल्लेख्य रूपमा बढेको सरोकारवालाहरूको भनाइ छ । विशेषगरी काठमाडौंसँगको नजिकको भौगोलिक सम्बन्ध, सडक सञ्जालको विस्तार तथा शहरीकरणको तीव्रताले जिल्लामा नयाँ व्यवसाय स्थापना हुने क्रम बढेको देखिएको छ ।
प्रारम्भिक तथ्यांकले काभ्रेपलाञ्चोकको आर्थिक गतिविधि अपेक्षाभन्दा तीव्र गतिमा विस्तार भइरहेको संकेत गरेको सहायक आर्थिक गणना अधिकारी सन्तोष कार्कीले बताए । अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि जिल्लाको आर्थिक संरचना, रोजगारी सिर्जना र विभिन्न क्षेत्रगत बिबरण सार्वजनिक हुने बताईएको छ । यो संख्या थप हुन सक्छ ।
पालिकागत रुपमा प्रतिष्ठानको गणनाको अंक सार्वजनिक गरिएको छैन । तर पनि जिल्लामा खटिएका १३ वटा पालिकाका ५८ जना गणक र ८ जना सुपरिवेक्षकहरुको प्रारम्भिक तथ्यांक अनुसार बनेपामा सबैभन्दा धेरै प्रतिष्ठान सुचीकृत भएका छन् । ६ हजार ५ सय ९६ वटा प्रतिष्ठान बनेपामा सूचिकृत हुँदा सबैभन्दा कम खानीखोलामा ३ सय ४० वटा सूचिकृत भएका छन् । यो घर घर पुगेर तयार गरिएको तथ्यांक हो । महाभारतमा ३ सय ७१, रोशीमा ११७२, मण्डनदेउपुरमा १५५४, भुम्लु ६५७, बेथान्चोक ६३४, पाँचखाल २१७१, पनौती ३१५१, नमोबुद्ध १३७०, धुलिखेल २५१८, तेमाल ७६९, चौरीदेउराली ५३३ वटा रहेका छन् । पालिकागत रुपमा भने यो भेरिफाई हुन बाँकी रहेको तथ्यांक हो ।









