2026 June 25/ 03:23: 09pm

पनौती/पनौती नगरपालिकाको १९ औँ नगर सभाको पहिलो बैठक सम्पन्न भएको छ । 
    नगर सभाको बैठकमा नगर प्रमुख रामशरण भण्डारीले आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकालाई समृद्ध, स्वच्छ, सुरक्षित तथा आत्मनिर्भर नगर निर्माणलाई प्राथमिकतामा राखेको बताए । 
    सभामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण, युवा स्वरोजगार, महिला सशक्तीकरण, डिजिटल सेवा प्रवाह तथा सुशासनलाई मुख्य प्राथमिकताका रूपमा समेटिएको छ । नगर प्रमुख भण्डारीले पनौतीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्तिवक महत्वलाई संरक्षण गर्दै विकास र समृद्धिको यात्रालाई थप प्रभावकारी बनाइने बताए । भण्डारीले  नगरभित्रका सडक, खानेपानी, सिंचाइ, कृषि उत्पादन वृद्धि, स्थानीय उद्यम प्रवद्र्धन तथा रोजगारी सिर्जनाका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।  कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादनमा आधारित अनुदान, कृषक प्रोत्साहन कार्यक्रम, कृषि बजार व्यवस्थापन तथा पशुपालन क्षेत्रको व्यावसायीकरणमा जोड दिइने नीति लिइएको बताइएको छ । 
नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि विद्यालयहरूको भौतिक तथा शैक्षिक सुधार, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार, सूचना प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिका कार्यक्रम समावेश गरिएको छ । स्वास्थ्यतर्फ नगर अस्पतालको सेवा विस्तार, आधारभूत स्वास्थ्य सेवाको पहुँच वृद्धि, ज्येष्ठ नागरिक तथा विपन्न वर्ग लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने भण्डारीले बताए । त्यसैगरी युवा तथा महिलालाई उद्यमशीलता विकासमार्फत आत्मनिर्भर बनाउने, सीपमूलक तालिम सञ्चालन गर्ने, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र क्षमता विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
    नगरपालिकाले आगामी वर्ष वातावरण संरक्षण, विपद् व्यवस्थापन, हरियाली प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको जनाएको छ । साथै, डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउँदै सुशासन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ भण्डारीले बताए । 
    नगरसभामा उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओली, वडाध्यक्षहरू, नगरसभा सदस्यहरू, विषयगत शाखा प्रमुखहरु, कर्मचारीहरूको सहभागिता रहेको थियो । सभामा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै नगर प्रमु भण्डारीले नगरको विकास र समृद्धिका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र तथा आम नागरिकको सक्रिय सहभागिताबाट मात्र पनौतीलाई नमुना नगरका रूपमा स्थापित गर्न सकिने बताए ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्दै कार्यान्वयन मार्फत दिगो विकास, सुशासन र समृद्ध नगर निर्माणको लक्ष्य हासिल हुने विश्वास व्यक्त गर्दै १९ औँ नगरसभाको पहिलो बैठक सम्पन्न भएको घोषणा गरेका थिए । दोस्रो बैठक आगामी १० गते बस्ने भएको छ ।