धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेले जेठ महिनाभरि जिल्लामा भएका सुरक्षा तथा अपराधसम्बन्धी गतिविधिको विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणअनुसार जेठ महिनामा मात्रै ११ जनाले आत्महत्या गरेका छन् भने विभिन्न घटना र दुर्घटनामा गरी २५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आत्महत्या गर्ने ११ जनामध्ये ९ जनाले झुण्डिएर र २ जनाले विष सेवन गरेर ज्यान गुमाएका छन् । आत्महत्या गर्नेहरूमध्ये ४ जना पुरुष, ५ जना महिला, १ जना बालक र १ जना बालिका रहेका छन् । उमेर समूहका आधारमा हेर्दा १८ वर्षभन्दा कम उमेरका २ जना, १८ देखि २५ वर्ष उमेर समूहका ३ जना, २६ देखि ३५ वर्ष उमेर समूहका ३ जना, ४६ देखि ६० वर्ष उमेर समूहका १ जना तथा ६० वर्षभन्दा माथिका २ जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जेठ महिनामा जिल्लाभर ७३ वटा विभिन्न प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ३४ वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने ३९ वटा मुद्दा अनुसन्धान तथा कारबाहीको प्रक्रियामै रहेका छन् । प्रहरी प्रवक्ता एवं सूचना अधिकारी डिएस्पी रविन विष्टका अनुसार प्रहरीले चालु मुद्दाका ५८ जना फरार तथा अभियुक्तमध्ये २२ जनालाई पक्राउ गर्न सफल भएको जनाएको छ । यस्तै फैसला कार्यान्वयन अभियानअन्तर्गत १३ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकाहरूबाट १२ वर्ष ६ महिना ४ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको तथा ९ लाख २४ हजार २ सय रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
जेठ महिनामा जिल्लाभित्र ६ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ७ वटा सवारीसाधन संलग्न रहेका थिए । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीका क्रममा १ हजार २ सय २ वटा सवारीसाधन कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट १० लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीले अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि अभियानलाई निरन्तरता दिइरहेको बताएको छ । जिल्लामा आत्महत्याका घटना बढ्दो देखिएकाले मानसिक स्वास्थ्य तथा पारिवारिक परामर्शमा पनि सरोकारवाला निकायले ध्यान दिनुपर्ने प्रहरीले बताएको छ ।









