2026 June 26/ 12:33: 38am

          बनेपा/बनेपा नगरपालिकाको आयोजनामा ९ नम्बर वडा कार्यालयको संयोजनमा तथा काभ्रे जिल्ला फुटबल संघ, बनेपा फुटबल एकेडेमी र बनेपा खेलकुद मैदान संरक्षण उपभोक्ता समितिको प्रविधिक सहयोगमा भएको पाँचौ मेयर कप अन्तर वडा स्तरीय फुटबलको उपाधी वडा नम्बर ६ ले हात पारेको छ । 
         वडा नम्बर ६ ले वडा नम्बर १४ लाई १ गोलले हराउँदै उक्त मेयरकप उपाधी प्राप्त गरेको हो । वडा नम्बर ६ का खेलाडी जर्सी नम्बर ९ का पारस नेपालले  १ गोल गरेका थिए । नगर प्रमुख शान्तिरत्न शाक्यले विजेता टिमलाई नगद १ लाख ५ हजार, ट्रफि, द्धितिय वडा नम्बर १४ को टिमलाई नगद ५५ हजार र ट्रफि प्रदान गरेका थिए । शाक्यले विजेता टिमलाई बद्याई प्रदान गर्दै खेललाई निरन्तरता दिन आग्रह गरेका थिए । 
कार्यक्रममा उप–प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा नगरका १४ वडा बाट १४ वटा टिमले सहभागिता जनाएका थिए । कार्यक्रममा वडा नम्बर ९ की कार्यबाहक वडा अध्यक्ष मनिषा तामाङको सभापतित्व रहेको थियो ।