बाबा घरमा हुनुहुन्न । आमा पनि सँगै हुनुहुन्न । घर त छ, तर घरजस्तो लाग्दैन । आँगन उही छ, भित्ताहरू उही छन्, खेल्ने ठाउँ पनि उही छ । तर घरभित्र पहिले जस्तो हाँसो छैन । साँझ परेपछि घर फर्किन मन लाग्ने वातावरण छैन । कहिलेकाहीँ बालबालिकाहरूले पनि आफ्ना मनका कुरा भन्न सक्दैनन् । उनीहरूलाई थाहा हुँदैन–बाबा र आमाबीच किन बोलचाल बन्द भयो ? किन एउटै घरमा बसेर पनि दुई जना अपरिचितजस्ता भए ? किन एक दिन आमाले एउटा बाटो रोज्नुभयो र बाबाले अर्को ? उनीहरूका लागि त बाबा पनि आफ्नै हुन्, आमा पनि आफ्नै हुन् । उनीहरूलाई कसैलाई रोज्नु छैन । दुवैको हात समातेर हिँड्नु छ । दुवैको काखमा निदाउनु छ ।
तर जब सम्बन्ध विच्छेद हुन्छ, बालबालिकाहरूको जीवनमा एउटा यस्तो अदृश्य रेखा कोरिन्छ, जसको अर्थ उनीहरूले सानै उमेरमा बुझ्नुपर्छ । कहिले बाबाको घर, कहिले आमाको घर । कहिले हजुरबुबा–हजुरआमाको सहारा, कहिले आफन्तको निगरानी । तर उनीहरूको आफ्नै घर कहाँ हुन्छ ? विवाह गर्ने उमेरमा पुगेका छोराछोरी हुँदाहुँदै बाबु अर्को सम्बन्धमा रमाइरहेका हुन्छन् । आमा आफ्नो जीवनको नयाँ बाटो रोजिरहेकी हुन्छिन् । दुवैलाई आ–आफ्नो निर्णय गर्ने अधिकार छ । तर त्यस निर्णयको प्रभाव भोगिरहेका सन्तानको मनमा के बितिरहेको छ ?
उनीहरूले कसलाई आफ्नो पीडा सुनाउने ? हजुरबुबा र हजुरआमा रहुन्जेल उनीहरूलाई अभिभावकत्व मिल्ला । तर उनीहरू पनि सधैँ रहँदैनन् । त्यसपछि ? यो प्रश्न केवल एउटा परिवारको होइन । समाजका धेरै घरभित्र मौन भएर रोइरहेका बालबालिकाहरूको साझा प्रश्न हो । सम्बन्ध टुट्नु एउटा घटना हुन सक्छ । तर त्यसले बालबालिकाको मनमा पार्ने असर जीवनभरको कथा बन्न सक्छ । बाबाआमा छुट्टिन पाउँछन् । तर के बालबालिकाले आफ्नो बाल्यकालबाट पनि छुट्टिनुपर्ने हो ? बाबुआमाको खुसीमा सन्तानको आँसु किन ? जीवन सबैको आफ्नै हो । खुसी भएर बाँच्ने अधिकार पनि सबैलाई छ । वैवाहिक सम्बन्धमा हिंसा, अविश्वास, अपमान र असह्य पीडा छ भने त्यसबाट बाहिरिने निर्णयलाई गलत भन्न मिल्दैन । तर प्रश्न त्यतिबेला उठ्छ, जब आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने क्रममा पुरानो सम्बन्धबाट जन्मिएका सन्तानको अध्याय नै बन्द गरिन्छ ।
बाबु नयाँ सम्बन्धमा रमाइरहेका छन् । आमा नयाँ जीवनको खोजीमा छिन् । तर उनीहरूका सन्तान ? उनीहरू अझै पुरानै प्रश्नको उत्तर खोजिरहेका छन् । ‘बाबा किन हामीसँग बस्नुहुन्न ?’ आमाले हामीलाई किन छोड्नुभयो ? हामीले केही गल्ती गरेका थियौँ र ? बालबालिकाको मनमा यस्ता प्रश्न जन्मिनु स्वाभाविक हो । उनीहरूले बाबुआमाको वैवाहिक असमझदारी बुझ्न सक्दैनन् । उनीहरू आफ्नै अस्तित्वमाथि प्रश्न गर्न थाल्छन् । अझ कतिपय अवस्थामा बाबुआमाबीचको द्वन्द्वमा सन्तानलाई हतियार बनाइन्छ । एकले अर्काविरुद्ध बोल्न लगाउने, भेटघाट रोक्ने, आर्थिक जिम्मेवारीबाट पन्छिने र बालबालिकालाई आफ्नै पक्षमा पार्न खोज्ने प्रवृत्तिले उनीहरूको मन झन् कमजोर बनाउँछ । बाबु वा आमामध्ये कसैलाई पनि सन्तानको मनबाट मेटाउने अधिकार छैन । नयाँ सम्बन्ध बनाउनु अपराध होइन । सम्बन्ध विच्छेद गर्नु पनि आफैँमा अपराध होइन । तर सन्तानप्रतिको दायित्वबाट विमुख हुनु गम्भीर सामाजिक र नैतिक प्रश्न हो ।
माया केवल प्रेमी वा प्रेमिकासँगको आकर्षण होइन । माया त आफूले जन्माएको सन्तानको भविष्यप्रतिको जिम्मेवारी पनि हो । क्षणिक खुसीका लागि गरिएका निर्णयले अरू कसैको जीवनमा दीर्घकालीन पीडा नबनोस् । प्रश्न सम्बन्ध विच्छेद गर्न मिल्छ कि मिल्दैन भन्ने होइन । प्रश्न त सम्बन्ध विच्छेदपछि पनि बाबुआमा बन्न सकिन्छ कि सकिँदैन भन्ने हो । बाल्यकालमा लागेको चोट, जिन्दगीभरको छाप । बाल्यकाल मानिसको जीवनको सबैभन्दा सुन्दर समय भनिन्छ । खेल्ने, सिक्ने, रमाउने र सपना देख्ने समय । तर सबै बालबालिकाको बाल्यकाल उस्तै हुँदैन । कसैको बाल्यकाल बाबुको औँला समातेर बित्छ । कसैको आमाको काखमा । कसैको घरमा बिहान उठ्दा बाबुआमा दुवैको आवाज सुनिन्छ । तर कसैका लागि भने यी सामान्य लाग्ने कुरा पनि सपना बन्छन् । बाबुआमाको सम्बन्ध विच्छेदपछि बालबालिकामा पर्ने असर सधैँ बाहिर देखिँदैन । कोही एक्लै बस्न थाल्छन् । कोही पढाईमा कमजोर हुँदै जान्छन् । कोही सानो कुरामा रिसाउँछन् । कोही अरूको परिवार देखेर चुपचाप टोलाउँछन् । कोही आफ्ना समस्या लुकाउन उमेरभन्दा धेरै परिपक्व बन्न बाध्य हुन्छन् ।
उनीहरूलाई पनि जन्मदिनमा बाबुआमा दुवै चाहिन्छ । विद्यालयको कार्यक्रममा दुवैको उपस्थिति चाहिन्छ । बिरामी हुँदा दुवैको स्नेह चाहिन्छ । तर उनीहरूका चाहना सधैँ पूरा हुँदैनन् । बालमनोविज्ञानका दृष्टिले पनि पारिवारिक द्वन्द्व, असुरक्षा र अभिभावकसँगको कमजोर सम्बन्धले बालबालिकाको भावनात्मक विकासमा असर पार्न सक्छ । सबै बालबालिकामा एउटै असर पर्दैन, तर उनीहरूको भावनालाई बेवास्ता गर्नु उचित हुँदैन । आज उनीहरू साना छन् । भोलि ठूला हुनेछन् । पढ्नेछन्, जागिर गर्नेछन्, विवाह गर्नेछन्, आफ्नै परिवार बनाउनेछन् । तर उनीहरूको मनमा बाल्यकालको त्यो खालीपन बाँकी रह्यो भने ? उनीहरूले आफ्ना सन्तानलाई कस्तो परिवार दिनेछन् ? सम्बन्धप्रति कस्तो धारणा बनाउनेछन् ? विश्वास गर्न कति सहज मान्नेछन् ? आजको पारिवारिक व्यवहार भोलिको पुस्ताको सम्बन्ध सँस्कारसँग पनि जोडिएको छ । त्यसैले बालबालिकाको आँखाबाट सम्बन्ध विच्छेदलाई हेर्नु आवश्यक छ ।
बाल्यकालमा लागेको चोट उमेरसँगै हराउँदैन । कहिलेकाहीँ त्यो मौनता बनेर जीवनभर साथ लागिरहन्छ । हजुरबुबा–हजुरआमा सधैँ रहँदैनन्, त्यसपछि कसले सम्हाल्छ ? कहिलेकाहीँ बाबुआमाको सम्बन्ध टुटेपछि बालबालिकाका लागि हजुरबुबा–हजुरआमा नै संसार बन्छन् । उनीहरूको काखमा माया हुन्छ । उनीहरूको बोलीमा सान्त्वना हुन्छ । उनीहरूको उपस्थितिले बालबालिकालाई आफू एक्लो नभएको अनुभूति गराउँछ । तर एउटा प्रश्न छ–के हजुरबुबा–हजुरआमा सधैँ रहनुहुन्छ ? उहाँहरूको उमेर ढल्किँदै जान्छ । स्वास्थ्य कमजोर हुँदै जान्छ । आर्थिक क्षमता पनि सीमित हुन सक्छ । तर उहाँहरूको काखमा आश्रित बालबालिकाको भविष्य अझै लामो हुन्छ । आज नातिनातिना हुर्काइरहेका वृद्ध अभिभावक भोलि आफैँलाई स्याहार चाहिने अवस्थामा पुग्न सक्छन् । त्यसपछि ती बालबालिकाको जिम्मेवारी कसले लिन्छ ?
बाबु र आमाले आ–आफ्नो जीवन रोजिसकेपछि सन्तानको शिक्षा, स्वास्थ्य, खानपान, सुरक्षा र भावनात्मक आवश्यकताको जिम्मेवारी कसरी पूरा हुन्छ ? सम्बन्ध विच्छेद कानुनी रूपमा सम्पन्न हुँदैमा अभिभावकीय दायित्व समाप्त हुँदैन । बाबु र आमाको जिम्मेवारी अलग–अलग घरमा बसेर पनि पूरा गर्न सकिन्छ । सन्तानलाई आर्थिक सहयोग गर्नु मात्रै अभिभावकत्व होइन । उनीहरूसँग समय बिताउनु, कुरा सुन्नु, विद्यालयको प्रगतिमा चासो राख्नु, बिरामी हुँदा साथ दिनु र उनीहरूलाई आफू माया गरिएको अनुभूति गराउनु पनि उत्तिकै महत्वपूर्ण छ । समाजले पनि यस्ता बालबालिकालाई दयाको पात्रका रूपमा होइन, अधिकार भएका नागरिकका रूपमा हेर्नुपर्छ । उनीहरूलाई ‘टुटेको परिवारका सन्तान’ भनेर चिनाउनु हुँदैन । उनीहरूको आत्मसम्मान र गोपनीयताको रक्षा गर्नुपर्छ । अभिभावक छुट्टिए पनि अभिभावकत्व छुट्टिनु हुँदैन ।
सम्बन्ध विच्छेदको तथ्यांकभन्दा पर पनि एउटा बाल्यकाल छ । जिल्ला अदालतमा वर्षेनी दर्ता हुने सम्बन्ध विच्छेदका सयौँ मुद्दा केवल कानुनी अभिलेख होइनन्। ती प्रत्येक मुद्दाको पछाडि एउटा परिवारको कथा छ । कतै पीडा छ, कतै हिंसा छ, कतै अविश्वास छ, कतै मिल्न नसकेको सम्बन्ध छ । र कतै बालबालिकाको अलपत्र भविष्य पनि छ । सम्बन्ध विच्छेदका सबै घटनालाई एउटै दृष्टिले हेर्न मिल्दैन । कतिपय सम्बन्धबाट अलग हुनु नै महिला, पुरुष र बालबालिकाको हितमा हुन सक्छ । हिंसा सहेर बस्न कसैलाई बाध्य पार्न सकिँदैन । तर सम्बन्ध विच्छेदको प्रक्रियामा बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखिएको छ कि छैन भन्ने प्रश्न राज्य र समाज दुवैले गर्नुपर्छ । राज्यको भूमिका के ? सम्बन्ध विच्छेदका मुद्दामा बालबालिकाको मनोवैज्ञानिक अवस्था र सर्वोत्तम हितलाई प्राथमिकतामा राख्ने व्यवस्था प्रभावकारी बनाउनुपर्छ । बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र भेटघाटसम्बन्धी अधिकार सुनिश्चित गर्नुपर्छ । अभिभावकबाट प्राप्त हुनुपर्ने आर्थिक सहयोग र जिम्मेवारी कार्यान्वयन गराउनुपर्छ । जोखिममा रहेका बालबालिकाका लागि परामर्श, संरक्षण र पुनःस्थापनाको व्यवस्था गर्नुपर्छ । विद्यालय र स्थानीय तहबाट पारिवारिक विखण्डनको असरमा परेका बालबालिकाको अवस्था पहिचान गरी सहयोग पु¥याउनुपर्छ । समाजको भूमिका के ? सम्बन्ध विच्छेद भएका परिवारका सन्तानलाई हेप्ने, होच्याउने र फरक व्यवहार गर्ने प्रवृत्ति त्याग्नुपर्छ । पारिवारिक विवादमा बालबालिकालाई पक्ष वा विपक्ष बनाउन हुँदैन । हजुरबुबा–हजुरआमा तथा आफन्तले स्याहार गरिरहेका बालबालिकालाई आवश्यक सहयोग गर्नुपर्छ । छिमेक र समुदायले यस्ता बालबालिकाको भावनात्मक अवस्थाप्रति संवेदनशील हुनुपर्छ । र सबैभन्दा ठूलो कुरा, बाबुआमाले आफ्नो व्यक्तिगत जीवनको निर्णय गर्दा सन्तानको भविष्यलाई पनि सम्झिनुपर्छ ।
विवाह जीवनभर चल्नैपर्छ भन्ने छैन । सम्बन्ध जोगाउन नसक्नु सधैँ कसैको गल्ती पनि हुँदैन । तर सन्तानप्रतिको जिम्मेवारी जीवनभर रहन्छ । आज सम्बन्ध विच्छेदका कागजमा हस्ताक्षर गर्ने हातहरूले भोलि पनि आफ्ना सन्तानको हात समात्न सक्छन् । आज अलग घर बनाउने बाबुआमाले पनि सन्तानका लागि एउटै आकाश बनाउन सक्छन् । आखिर बालबालिकाले धेरै ठूलो कुरा मागेका हुँदैनन् । उनीहरूलाई महँगो उपहारभन्दा माया चाहिन्छ । ठूलो घरभन्दा सुरक्षित वातावरण चाहिन्छ । लामो भाषणभन्दा साथ चाहिन्छ । उनीहरूलाई केवल यति थाहा होस बाबा र आमा अलग भए पनि मलाई दुवैले माया गर्नुहुन्छ । मेरो भविष्यप्रति दुवै जिम्मेवार हुनुहुन्छ । किनकी सम्बन्ध विच्छेद श्रीमान्–श्रीमतीबीच हुन सक्छ, तर बाबुआमा र सन्तानबीचको सम्बन्ध विच्छेद हुनु हुँदैन ।
टुटेको सम्बन्धको मूल्य बालबालिकाले किन चुकाउने ? सम्बन्ध जोडिन नसके अलग हुनुहोस्, तर सन्तानको मन नतोड्नुहोस् । आफ्नो खुसी खोज्नुहोस्, तर उनीहरूको भविष्य नहराउनुहोस् । नयाँ सम्बन्ध बनाउनुहोस्, तर पुरानो सम्बन्धबाट जन्मिएका सन्तानप्रतिको जिम्मेवारी नबिर्सनुहोस् । बाबुआमाको सम्बन्धको अन्त्य हुन सक्छ, तर बालबालिकाको बाल्यकालको अन्त्य हुनु हुँदैन । बाबुआमाले आफ्नो जीवनको नयाँ सुरुवात गरे, तर उनीहरूका सन्तानको जीवनमा पुरानै प्रश्नहरू अझै अनुत्तरित छन् ।
जीवन उप्रेती
भुम्लु, काभ्रे









