2026 November 07/ 12:08: 55am

           धुलिखेल/काभ्रेपलाञ्चोक जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले २०८३ भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका जिल्लाका ३५ जना व्यक्तिहरूको आधिकारिक विवरण स्वीकृत गरेको छ । 
            प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको समितिको बैठकले विभिन्न स्थानीय तहबाट सिफारिस भई आएका उक्त विवरणलाई अन्तिम रूप दिएको हो । विपद् ऐन अन्तर्गत प्रक्रिया स्वीकृत गरिएका ३५ जना बेपत्ता व्यक्तिहरूको विवरण रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३’ बमोजिमको प्रक्रिया पूरा गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाउने निर्णय गरेको हो । भोटेकोशी बाढीमा परी मृत्यु तथा बेपत्ता भएका व्यक्तिहरूका परिवारलाई सम्बन्धित स्थानीय तहले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ बमोजिम यथाशीघ्र राहत उपलब्ध गराई जिल्ला प्रशासन कार्यालयमा सोधभर्ना माग गर्ने निर्णय गरेको छ । भोटेकोशी बाढी बाहेक अन्य विपद्जन्य घटनामा परी बेपत्ता भएका तर मृत्युदर्ता हुन बाँकी रहेकाहरूको हकमा वडा कार्यालयमार्फत निवेदन संकलन गरी कार्यपालिकाको निर्णयसहित जिल्ला प्रशासन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ । 
          २०८३ कार्तिक १२ देखि १४ गतेसम्मको वर्षाका कारण बेथानचोक गाउँपालिका–४, खहरेखोला किनारमा सेते तामाङ लगायत ६ परिवारको घर, खानेपानी र विद्युत पोलमा पुगेको क्षतिको मुख्य कारण ‘चलालगणेश रोडा ढुंगा उद्योग’ को फोहोरको उचित व्यवस्थापन नहुनु रहेको छानबिनबाट पुष्टी भएको बेथान्चोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए । बैठकले पीडितहरूलाई उचित क्षतिपूर्ति दिन, उद्योगबाट निस्कने डस्टको उचित व्यवस्थापन गर्न र कार्य सम्पन्न नभएसम्म उक्त खानी सञ्चालकमा रोक लगाउन गाउँपालिकालाई निर्देशन दिइएको छ । अनुगमन गरी अवैध रूपमा सञ्चालन गरेको पाइएमा बन्द गराएर आवश्यक कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई समेत जिम्मा दिइएको छ । 
           आगामी जाडोयाम तथा आकस्मिक मौसम परिवर्तनबाट हुन सक्ने सम्भावित घटनाहरूप्रति सुरक्षा निकाय, स्वास्थ्य संस्था र विषयगत क्षेत्रहरूलाई पूर्वतयारी र सजगता अपनाउन तथा स्थानीय तहहरूलाई सचेतनामूलक कार्यक्रम र स्वयंसेवक तालिम सञ्चालन गर्न आग्रह गरिएको छ ।