2026 October 03/ 05:17: 51am

मलाई आज पनि सम्झना छ म सत्र वर्षकी थिएँ । सत्र वर्षको उमेरमा संसार कति ठूलो लाग्दोरहेछ । एउटा मानिससँगको प्रेम नै सिंगो संसार जस्तो । उसले मसँग बिहे गर्ने कुरा गर्दा मैले भविष्यका बारेमा धेरै सोचिनँ । घरको गरिबी, अभाव, आमाबुबाको चिन्ता र आफ्नै रहरबीच मैले प्रेमलाई नै जीवन ठानेँ । 
    त्यतिबेला मलाई लाग्थ्यो–जसले माया गर्छ, उसैले जीवनभर साथ दिन्छ । तर जिन्दगी किताबमा लेखिएजस्तो कहाँ हुँदोरहेछ र ! अठार वर्ष नपुग्दै मेरो काखमा छोरी आइन् । छोरी जन्मिएपछि मेरो जीवनमा खुसी पनि आयो, डर पनि । म आफैं बच्चाजस्तै थिएँ, तर एउटी बच्चाकी आमा भइसकेकी थिएँ । मलाई आमाको अर्थ त्यतिबेला बुझ्न थालेँ । छोरीलाई हेर्दा लाग्थ्यो–अब मैले जे भए पनि उसको लागि बाँच्नुपर्छ । तर मेरो पहिलो श्रीमान्सँगको सम्बन्ध धेरै टिकेन । घरमा दिनदिनै तनाव बढ्दै गयो । अन्ततः एक दिन उनले मलाई घरबाट निकालिदिए ।
    मसँग एउटा सानो बच्चा थियो । मसँग जाने घर थिएन । सहारा थिएन । त्यो दिन मैले पहिलोपटक बुझेँ–गरिब हुनु भनेको केवल पैसा नहुनु रहेनछ, कहिलेकाहीँ आफ्नो दुःख सुनिदिने एउटा मानिस नहुनु पनि गरिबी रहेछ । छोरीलाई काखमा च्यापेर म काठमाडौं आएँ । होटलमा भाँडा माझेँ । अरूका जुठा थाल सफा गर्दा आफ्नै जिन्दगी कति मैलो भएको छ भन्ने सोच्थेँ । तर छोरीको अनुहार हेरेपछि फेरि काममा लाग्थेँ । त्यही समय मेरो भेट अर्काे मानिससँग भयो । उसले मेरो विगत सोध्यो । मैले लुकाइनँ । मैले भनेँ, ‘म एक बच्चाकी आमा हुँ । मलाई पहिलाको श्रीमान्ले छाडिसकेको छ ।’
    उसले मेरो छोरीलाई पनि स्वीकार्ने कुरा ग¥यो । मलाई लाग्यो–सायद जिन्दगीले दोस्रो मौका दिँदैछ । मैले फेरि विश्वास गरेँ । म फेरि विवाह गरेर पाँचखालतिर आएँ । मेरो साथमा मेरी छोरी थिइन् । र मेरो मनमा एउटा सानो आशा–अब त मेरो घर हुनेछ । दोस्रो विवाहपछि मैले विगतलाई पछाडि छोड्ने प्रयास गरेँ । मेरो श्रीमान् मजदुरी गर्थे । हामीसँग धेरै पैसा थिएन । कहिले ज्यामी, कहिले खेतबारीको काम । जहाँ काम पाइन्छ, त्यहीँ जाने । जहाँ सस्तो कोठा पाइन्छ, त्यहीँ बस्ने । तर अभावबीच पनि एउटा कुरा थियो–हामी सँगै थियौँ । मेरी छोरीलाई पनि उसले स्वीकारेको थियो ।
    त्यसैले मलाई लाग्थ्यो, ‘जिन्दगीले मलाई फेरि एउटा परिवार दिएको छ ।’ हामी पाँचखालको तामाघाटतिर डेरामा बस्न थाल्यौँ । घरमा मेरी सासु, श्रीमान्, छोरी र श्रीमान्का मामा नाताका मानिस पनि थिए । सबैजना मजदुरी गथ्र्याैं । बिहान उठ्यो, काममा गयो । साँझ फर्कियो । खान पुग्यो भने भाग्य, नपुगे भोलिको चिन्ता । गरिब मानिसको जिन्दगीमा धेरै ठूला सपना हुँदैनन् । दुई छाक खान पाउनु, बच्चालाई भोकै सुताउनु नपरोस्, टाउकोमाथि छानो रहोस्–यिनै ठूला सपना हुन् । म पनि यिनै सपना बोकेर बसेकी थिएँ । तर त्यही घरभित्र मेरो जीवनको सबैभन्दा ठूलो डर जन्मिँदै थियो । पहिलोपटक उसले मलाई एक्लै भेटेको दिन म अत्तालिएँ । 
    मसँग प्रतिकार गर्ने शक्ति थियो कि थिएन, मलाई थाहा छैन । तर मैले उसको व्यवहार स्वीकार गरेकी थिइनँ । मेरो इच्छा थिएन । मेरो सहमति थिएन । तर मेरो आवाज दबाइयो । त्यसपछि सुरु भयो अर्काे दुःख । एकपटकको कुरा भएन । पटक–पटक हुन थाल्यो । श्रीमान् र सासु काममा गएको समय छानिन्थ्यो । म एक्लै भएको मौका खोजिन्थ्यो । मलाई डर देखाइन्थ्यो–‘कसैलाई भनिस् भने यो कोठामा बस्न दिँदिनँ ।’ कहिलेकाहीँ केही पैसा हातमा राखिदिन्थ्यो । ती पैसा मेरा लागि पैसा थिएनन् । ती मेरो मुख बन्द गराउने मूल्यजस्ता लाग्थे । तीन सय । पाँच सय । र त्यसपछि फेरि त्यही डर । म चुप लागेँ । किनकी मलाई डर थियो–यदि श्रीमान्ले थाहा पाए भने के होला ?
    पहिलो श्रीमान्ले त मलाई एउटा बच्चासहित घरबाट निकालिसकेका थिए । दोस्रो श्रीमानले पनि निकालिदिए भने ? मेरी छोरी कहाँ जान्छे ? म कहाँ जान्छु ? त्यही प्रश्नले मेरो मुख बन्द गरिदियो । मानिसहरूले सोध्लान्–‘किन भनिनस् ?’ मसँग त्यसको उत्तर छ । म डराएकी थिएँ । तर त्यो डर केवल उसको थिएन । म गरिबीबाट डराएकी थिएँ । घरबाट निकालिने डर थियो । श्रीमानले विश्वास नगर्लान् भन्ने डर थियो । छोरी मबाट खोसिएली भन्ने डर थियो । समाजले उल्टै मलाई दोष लगाउला भन्ने डर थियो । त्यसैले मैले आफ्नो शरीरमा भएको चोटभन्दा ठूलो घाउ मनभित्र बोकेर हिँडिरहेँ ।
    बाहिरबाट हेर्दा म सामान्य थिएँ । बिहान उठ्थेँ । काम गर्थेँ । खाना पकाउँथेँ । छोरीलाई हेर्थेँ । अरूसँग बोल्थेँ । तर भित्रभित्रै म हरेक दिन मरिरहेकी थिएँ । कसैलाई केही भन्न सकिनँ । कहिलेकाहीँ श्रीमान् मेरो अगाडि हुन्थे । म उनलाई हेर्थेँ । मनमा आउँथ्यो–भनिदिऊँ ? तर मुखबाट शब्द निस्कँदैनथ्यो । म उनलाई गुमाउन चाहन्नथेँ । किनकी उनले मेरो विगत स्वीकारेका थिए । मेरी छोरीलाई आफ्नै छोरीझैँ राखेका थिए । म फेरि बेसहारा हुन चाहन्नथेँ । त्यसैले मैले आफ्नै पीडा लुकाएर उनलाई बचाइरहेकी थिएँ । तर कसैलाई बचाउन खोज्दा म आफैं हराउँदै गइरहेकी थिएँ । एकदिनसम्म । त्यो दिन पनि म एक्लै थिएँ । फेरि त्यही भयो । पछि मलाई केही पैसा दिइयो । कसैलाई नभन्नू ?
    मैले पैसा लिएँ । तर त्यो पैसा हातमा राख्दा मेरो हात काँपिरहेको थियो । मलाई लाग्यो–मलाई किन्ने प्रयास भइरहेको छ । त्यो रात म छोरीको छेउमा सुतेँ । छोरी निदाइरहेकी थिई । उसको अनुहार हेर्दै मैले मनमनै भनेँ–छोरी, तिमीलाई मैले यस्तो संसार दिन चाहेको थिइनँ । मेरो आँसु उसको अनुहारमा खस्यो । उसले थाहा पाइन । तर त्यो रात मैले पहिलोपटक आफूलाई प्रश्न गरेँ–म कहिलेसम्म चुप बस्ने ? मेरो जिन्दगीको अर्काे घटना झन् ठूलो पीडामा परिणत भयो । त्यसपछि प्रहरीसम्म कुरा पुग्यो । मलाई सोधियो–अरू कसैले पनि दुव्र्यवहार गरेको छ ? त्यो एउटा प्रश्नले मेरो वर्षाैं देखि बन्द भएको ढोका खोलिदियो ।
    म धेरैबेर चुप बसेँ । सायद मेरो अनुहारले नै मेरो कथा भनिरहेको थियो । अन्ततः मैले भनेँ–छ । त्यसपछि मैले सबै कुरा बताएँ । कहिलेदेखि । कहाँ । कसरी । कसले । कस्तो धम्की दिएको थियो । मैले यति दिनसम्म श्रीमान् र सासुलाई किन भनिनँ । सबै कुरा । म बोलिरहेँ । तर प्रत्येक शब्दसँगै मलाई आफ्नै शरीर फेरि भारी हुँदै गएको महसुस भयो । मैले बयान दिँदा आफ्नो विगत मात्र भनिरहेकी थिइनँ । मैले आफ्नो डर, आफ्नो गरिबी, आफ्नो मौनता र आफ्नो विवशता पनि सुनाइरहेकी थिएँ । त्यसपछि मुद्दा अगाडि बढ्यो । घटनास्थलको मुचुल्का भयो । मेरो स्वास्थ्य परीक्षण भयो । मानिसहरूको बयान भयो । जसले केही सुनेका थिए, उनीहरूले आफ्नो कुरा भने । घरधनीले पनि आफूले थाहा पाएको कुरा बताए । 
    मेरो श्रीमान्ले पनि आफूले पछि थाहा पाएको कुरा बताए । तर मेरो मनमा एउटा प्रश्न थियो–मैले यति ढिलो बोलेँ भनेर के मेरो पीडा सानो हुन्छ ? मलाई थाहा थिएन । मुद्दा अगाडि बढ्दै गयो । प्रतिवादीले आरोप अस्वीकार ग¥यो । उसले आफूले केही नगरेको भन्यो । कानुन आफ्नो बाटोमा हिँडिरहेको थियो । तर मेरो बाटो ? मेरो बाटो त अझै उही थियो । राति निद्रा नलाग्ने । छोरीको अनुहार हेर्ने । आफ्नै विगत सम्झिने । र आफूलाई सम्झाउने–अब चुप बस्नु हुँदैन ।
    कानूनले मेरो कथा कागजमा लेख्यो । तर कागजमा लेखिएको मेरो कथा र मैले भोगेको मेरो कथा एउटै थिएन । कागजमा म पीडित थिएँ । अर्काेतिर एउटा प्रतिवादी थियो । मुद्दा थियो । धारा थिए । प्रमाण थिए । बयान थिए । तर ती सबै शब्दको पछाडि मेरो जीवन थियो । सत्र वर्षको प्रेम । अठार वर्षमा जन्मिएकी मेरी छोरी । उन्नाइस वर्षको उमेरमै पहिलो घरबाट निकालिएको पीडा । काठमाडौंको होटलमा माझेका जुठा भाँडा । दोस्रो विवाहमा पलाएको आशा । गरिबीमा बिताएका दिन । र आफ्नै घरजस्तो ठानेको डेरामा भोगेको भय । कहिलेकाहीँ मलाई लाग्थ्यो–कानुनले अपराधको नाम त चिन्छ । तर के उसले मेरो डरको नाम पनि चिन्छ ? के उसले त्यो रात बुझ्छ, जब मैले छोरीलाई अँगालो हालेर आफूलाई बलियो देखाउन खोजेँ ? के उसले बुझ्छ–किन एउटी महिला तुरुन्तै प्रहरीकहाँ जान सक्दिन ? किनभने उसले पहिले आफ्नो ज्यान बचाउनुपर्छ । आफ्नो बच्चा बचाउनुपर्छ । आफ्नो छानो बचाउनुपर्छ । आफ्नो भोलि बचाउनुपर्छ ।
    मेरो मुद्दा कानुनी प्रक्रियामा गयो । मलाई न्याय चाहिएको थियो । तर न्याय माग्दा पनि मनभित्र एउटा अर्काे डर थियो–कतै फेरि मलाई नै दोषी ठह¥याइने त होइन ? मैले ढिलो किन भनिस ? किन त्यही घरमा बसिस् ? किन श्रीमान्लाई भनिनस् ? किन चुप लागिस् ? यी प्रश्नहरू समाजले सोध्छ । तर मेरो प्रश्न कसले सोध्छ ? मलाई चुप बनाउने परिस्थिति कसले बनायो ? म अझै बाँचेकी छु । मेरो कथा अदालतको कागजमा सकिएला । मुद्दा सकिएला । फैसला आउला । दोषी ठहरिएला वा नठहरिएला । कानुनले आफ्नो निर्णय गर्ला । तर मेरो मनमा रहेको घाउको फैसला कसले गर्छ ? म आज पनि कहिलेकाहीँ सोच्दछु–यदि म गरिब नभएको भए ? यदि मेरो टाउकोमाथि आफ्नै घर भएको भए ? यदि समाजसँग डराउन नपरेको भए ? यदि मैले भन्यो भने के हुन्छ ? भनेर सोच्न नपरेको भए ?
    सायद मेरो कथा अर्कै हुन्थ्यो । तर मेरो जीवनमा सायदको कुनै अर्थ छैन । जे भयो, भयो । मैले भोगेँ । चुप बसेँ । रोएँ । डराएँ । फेरि उठेँ । मलाई एकपटक घरबाट निकालिएको थियो । तर मैले आफूलाई जिन्दगीबाट निकालिनँ । मलाई एकपटक प्रेमले धोका दिएको थियो । तर मैले माया गर्न छाडिनँ । मलाई एकपटक परिवारले अस्वीकार गरेको थियो । तर मैले परिवारको सपना देख्न छाडिनँ । ममाथि जबर्जस्ती भएको थियो । तर मेरो इच्छामाथि कसैले सधैँका लागि कब्जा गर्न सकेन । आज मेरी छोरीलाई हेर्दा म एउटा कुरा मात्र चाहन्छु–उसले कहिल्यै मेरो जस्तो जीवन नबाँचोस् । उसले आफ्नो कुरा भन्न डराउनु नपरोस् । उसलाई कसैले चुप लाग भन्दा उसले आफ्नो आवाज अझ ठूलो बनाउन सकोस् । मलाई थाहा छ, न्यायको बाटो लामो छ । कहिलेकाहीँ फैसला आए पनि मनले न्याय पाएजस्तो महसुस गर्दैन । किनकि सजायँले बितेको समय फर्काउँदैन ।
    पैसाले हराएको निद्रा फर्काउँदैन । कानुनी कागजले मनको डर मेटाउँदैन । तर पनि म बोलिरहेकी छु । किनकी मेरो चुप्पीले मलाई जोगाएन । मेरो चुप्पीले मेरो पीडा मात्र लामो बनायो । त्यसैले आज म आफ्नो कथा आफैं सुनाउँछु । म कुनै कागजको एउटा नाम मात्र होइन । म कुनै मुद्दाको एउटा नम्बर मात्र होइन । म एउटी आमा हुँ । म एउटी छोरी हुँ । म प्रेममा परेकी एउटी किशोरी थिएँ । म घरबाट निकालिएकी एउटी महिला हुँ । म फेरि घर बनाउन खोजेकी एउटी पत्नी हुँ । म गरिबीमा बाँचेकी एउटी मजदुर महिला हुँ । र सबैभन्दा ठूलो कुरा–म बाँचेकी छु । मेरो शरीरले भोगेको पीडा मेरो सम्पूर्ण परिचय होइन । मेरो डर मेरो अन्तिम परिचय होइन । मेरो कथा त्यहाँ सकिँदैन जहाँ ममाथि अपराध भयो । 

उर्बशी पन्त
बनेपा, काभ्रे