८.१७ प्रतिशत राजश्व बृद्धि
बनेपा/बनेपा नगरपालिकाले कृषि तथा पशुपालन, भौतिक पूर्वाधार, नगर प्रशासन, सामाजिक सुरक्षा, महिला सशक्तीकरण र राजस्व संकलनलगायतका क्षेत्रमा गरेको प्रगति सार्वजनिक गरेको छ । बनेपा नगरपालिका आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक सुरक्षा भत्ता ‘सासु’मा बार्षिक २० करोड
नागरिकलाई सहज, प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित नगरपालिकाले सञ्चालन गरेका विभिन्न कार्यक्रमबाट स्थानीय विकास र सेवा प्रवाहमा सकारात्मक उपलब्धि देखिएको हो । सार्वजनिक सुनुवाई तथा सामाजिक सञ्जाल र नगरपालिकाले आफ्नै वेभ पेज मार्फत पनि हरेक गतिविधिहरुलाई सार्वजनिक गर्दै आएको जानकारी दिएको छ । विपद् व्यवस्थापन तथा नगरपालिकाको नियमित सेवा प्रवाहलाई निरन्तरता दिन विभिन्न महत्वपूर्ण कार्यहरू सम्पन्न गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को चारवटै त्रैमासिकमा गरी कुल ५,१०७ जना, ५,१०२ जना, ५,०९१ जना र ५,१४८ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । पहिलो त्रैमासिकमा ५ करोड १९ लाख ६९ हजार १२०, दोस्रो त्रैमासिकमा ५ करोड १८ लाख ७३ हजार १३०, तेस्रो त्रैमासिकमा ५ करोड १४ लाख ३३ हजार ७०५ र चौथो त्रैमासिकमा ५ करोड २४ लाख ५५ हजार १८७ गरी वर्षभरिमा कुल २० करोड ६२ लाख सामाजिक सुरक्षा भत्ताबापत वितरण गरिएको छ ।
२०८३ भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा बनेपा नगरपालिकाको साविक कार्यालय भवन आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नगरपालिकाले नियमित सेवा प्रवाहलाई अवरुद्ध हुन नदिन तत्काल वैकल्पिक व्यवस्थापन गरेको थियो । वडा नं. १० को कार्यालयबाट नगरपालिकाका सम्पूर्ण शाखाहरू सञ्चालन गर्ने व्यवस्था मिलाइएको थियो । हाल पोलिटेक्निक स्कुलको आवास गृह मार्फत कार्यालय संचालन भएको छ । नगरपालिकाले क्षतिग्रस्त संरचनाको सुरक्षालाई समेत प्राथमिकता दिँदै आगजनीबाट क्षति पुगेको साविक नगरपालिकाको कार्यालय भवनको सुरक्षार्थ घेराबार गरेको थियो । त्यसैगरी, जीर्ण अवस्थामा रहेको पुण्यमाता खोलाको पुल मर्मत गरी आवागमनलाई सहज बनाउने कार्यसमेत गरिएको थियो ।
विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगरस्तरीय तथा नगरपालिकाका १४ वटै वडामा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको थियो । उक्त समितिहरूले विपद्का घटनाहरूको विवरण संकलन तथा अभिलेखीकरण गर्नुका साथै आवश्यकता अनुसार प्रभावित परिवारलाई क्षतिपूर्ति, पुनस्र्थापना तथा राहत वितरणका कार्यमा सहजीकरण गरेका थिए । आर्थिक वर्ष २०८२/०८३ को विभिन्न मिति तथा समयमा बनेपा नगरपालिका अन्तर्गतका विभिन्न वडाहरूमा अविरल वर्षा, चट्याङ तथा आगलागीजस्ता विपद्का घटनाबाट प्रभावित घरपरिवारलाई नगरपालिकाले आर्थिक सहायता उपलब्ध गराएको थियो ।
सामाजिक सुरक्षा भत्ता वितरण, विपद्बाट प्रभावित नागरिकलाई आर्थिक सहयोग, क्षतिग्रस्त भौतिक संरचनाको संरक्षण तथा वैकल्पिक कार्यालय व्यवस्थापनमार्फत बनेपा नगरपालिकाले विषम परिस्थितिमा समेत नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवालाई निरन्तरता दिने प्रयास गरेको छ । नगरपालिकाको ५५ वर्ग किलोमिटर क्षेत्रफलमध्ये २ हजार ७ हेक्टरमा खेती हुँदै आएको छ । कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा १३१ वटा टनेल प्लास्टिक र २४८ वटा टु–इन–वन इलेक्ट्रिक स्प्रेयर वितरण गरिएको छ । यसका साथै माटो परीक्षण मिनी ल्याब स्थापना, हाटबजार व्यवस्थापन सुधार तथा किसान सूचीकरणको काम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा सूचीकृत विक्रेतामार्फत कृषकलाई १६ हजार ४५७ बोरा अर्थात् ८२३ मेट्रिक टन युरिया र ९ हजार ८९२ बोरा अर्थात् ४९५ मेट्रिक टन डीएपी मल उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । पशुपालन क्षेत्रको विकासका लागि युनाइटेड अजोड इन्स्योरेन्ससँगको सहकार्यमा निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गरिएको छ । खोरेत, पीपीआर तथा लम्पी स्किन रोगविरुद्ध हजारौँ पशुमा खोप लगाइएको छ । कृषकलाई ३३ वटा च्याफकटर वितरण गर्नुका साथै दुग्ध उत्पादन प्रोत्साहनस्वरूप १७ वटा दुग्ध संकलन केन्द्र तथा सहकारीलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ ।
त्यस्तै नगरपालिकाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै स्वीकृत ४६९ योजनामध्ये ४४३ वटा योजना सम्पन्न गरेको छ । यो कुल योजनाको करिब ८८ प्रतिशत हो । सम्पन्न योजनाअन्तर्गत सडक ढलान, ग्राभेल, कालोपत्रे, खानेपानी आयोजना, मुहान संरक्षण, भवन मर्मत तथा अन्य सार्वजनिक पूर्वाधार निर्माणका काम रहेका छन् । साथै, नगरका ८ हजारभन्दा बढी घरमा हाउस नम्बरिङको कामसमेत सम्पन्न गरिएको छ । प्रशासनिक सेवा प्रवाहलाई पारदर्शी र प्रविधिमैत्री बनाउन सबै वडा कार्यालय तथा स्वास्थ्य केन्द्रमा ई–हाजिरी प्रणाली लागू गरिएको छ । त्यसैगरी विभिन्न प्रणालीमा समयमै विवरण प्रविष्ट गर्ने तथा सीसीटीभीमार्फत सुरक्षा निगरानी गर्ने व्यवस्था मिलाएको अधिकृत यादव खनालले बताए । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सम्मान र सामाजिक संरक्षणलाई प्राथमिकता दिँदै हालसम्म ४ हजार १३० जना ज्येष्ठ नागरिक र ५१७ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ । पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई घर निर्माणमा सहयोग तथा ह्विलचियर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
महिला तथा किशोरीलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले जुत्ता बनाउने, च्याउ खेती, आत्मरक्षा, डेरी परिकार निर्माण तथा इम्ब्रोइडरी तालिम सञ्चालन गरिएको छ । यी कार्यक्रमले महिलाको सीप विकास, आयआर्जन तथा स्वरोजगारका अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उपप्रमुख विमला सापकोटाले बताईन् । नगरपालिकाले आ.व. २०८२/०८३ मा १३ करोड ५९ लाख ८० हजार ७६२ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८.१७ प्रतिशतले बढी हो । राजस्व संकलन प्रक्रियालाई सहज र पारदर्शी बनाउन डिजिटल भुक्तानी अन्तर्गत क्यूआर कोड प्रणालीसमेत सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले बताईन् ।
त्यसैगरी रोजगार सेवा केन्द्रमार्फत युवालाई हेयर कटिङ तालिम प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा जाने ४०४ जनालाई अनलाइन श्रम स्वीकृति तथा श्रम स्टिकरसम्बन्धी सेवा उपलब्ध गराइएको छ । कृषि उत्पादन वृद्धि, पशुपालन प्रवद्र्धन, पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, प्रविधिमैत्री प्रशासन र आन्तरिक राजस्व बृद्धिलगायतका क्षेत्रमा बनेपा नगरपालिकाले हासिल गरेका उपलब्धिले नगर विकासको प्रयासलाई थप गति दिएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकको आवश्यकता र अपेक्षाअनुसार विकास निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य नगरपालिकाले अघि सारेको नगर प्रमुख शाक्यले बताए । सुशासन, समावेशी विकास र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्ने गरी योजना निर्माण गरिएको उनले बताए । बनेपालाई व्यवस्थित, समुन्नत र नागरिकमैत्री नगरका रूपमा विकास गर्न थप सहयोग पुग्ने उनले बताए ।









