2026 October 17/ 12:40: 15am

    नेपालमा विपत्ति कुनै एउटा मौसममा मात्र आउँदैन रहेछ । कहिले बन्दुक बोकेर आउँछ, कहिले पहिरो बनेर, कहिले भूकम्प भएर, कहिले भाइरस भएर । कहिले बाढीले घर बगाउँछ, कहिले राजनीतिले मान्छेको मन । मलाई लाग्छ, हाम्रो पुस्ताले विपत्ति देखेर होइन, विपत्तिसँगै हुर्केर बाल्यकाल बिताएको हो । २०५२ सालमा देशमा सशस्त्र द्वन्द्व सुरु भयो । सुरुमा हामीले त्यसलाई टाढाको कुनै खबरजस्तो मात्रै सुनेका थियौँ । रेडियोमा समाचार आउँथ्यो, गाउँका चौतारामा मानिसहरू कुरा गर्थे, कसैले परिवर्तन आउँछ भन्थे, कसैले देश बिग्रन्छ भन्थे । तर बिस्तारै त्यो समाचार हाम्रो घरको ढोकासम्म आइपुग्यो ।
    गाउँमा राति अपरिचित मानिसहरू आउन थाले । दिनमा सुरक्षाकर्मी । राति बन्दुक बोकेका अरू मानिस । हामी बच्चाहरूलाई केही थाहा थिएन । तर आमाको अनुहार पढ्न सिकेका थियौँ । बाहिर गोली चलेपछि आमा झ्यालतिर हेर्नुहुन्थ्यो, अनि हामीलाई आफ्नो काखमा तान्नुहुन्थ्यो । बाबु भने सधैँ भन्नुहुन्थ्यो, डराउनु हुँदैन छोरी । डरले मान्छेलाई भित्रैदेखि कमजोर बनाउँछ । म बाबुको कुरा पत्याउँथेँ । बाबु घरमा हुनु भनेको हाम्रो घर सुरक्षित हुनु हो भन्ने लाग्थ्यो । उहाँ खेतमा जानुहुन्थ्यो, बजार जानुहुन्थ्यो, मेलापात जानुहुन्थ्यो । हामीलाई स्कुल पु¥याउन नसके पनि बाटोसम्म आएर हेर्नुहुन्थ्यो । जाडोमा बिहान उठाएर न्यानो कपडा लगाइदिनुहुन्थ्यो । दशैँमा नयाँ कपडा किन्न सक्ने अवस्था भए नयाँ कपडा ल्याउनुहुन्थ्यो, नसके पनि अर्को साल राम्रो हुन्छ भनेर हाम्रो मन राख्नुहुन्थ्यो ।
    बाबु हाम्रो घरको मान्छे मात्र हुनुहुन्नथ्यो । उहाँ घरको पिल्लर हुनुहुन्थ्यो । तर युद्धले गाउँका धेरै घरका पिल्लरहरू हल्लाइरहेको थियो । कसैको छोरा मारियो । कसैको श्रीमान् पक्राउ परे । कसैको छोरी घर छोडेर गइन् । कसैको परिवार गाउँबाट विस्थापित भयो । हाम्रो पालो पनि आयो । एक दिन आमाले भन्नुभयो, अब केही समय गाउँ नजाने । मैले सोधेँ, किन ? आमाले उत्तर दिनुभएन । बाबुले टाउको झुकाउनुभयो । त्यो दिनदेखि गाउँ हाम्रो लागि गाउँ रहेन । घर थियो, खेत थियो, आँगन थियो, तुलसीको मठ थियो, बाबुले रोपेका रूख थिए–तर हामी त्यहाँ जान सक्दैनथ्यौँ । विस्थापनको पीडा के हो भन्ने कुरा किताबले सिकाउँदैन । आफ्नै घरको बाटो सम्झेर पनि फर्किन नसक्नुको पीडा हो त्यो । आफ्नै आँगनमा खेल्न मन लाग्दा पनि अर्काको घरमा बस्नुपर्नुको पीडा हो । 
    गाउँमा रहेका छिमेकीको खबर सुन्दा आफ्नो घरको ढोका सम्झेर मन भक्कानिनु हो । हामी शहरतिर आयौँ । बाबु केही समयपछि आउने भन्नुहुन्थ्यो । छोरी, तिमीहरू अगाडि जाऊ । म सबै मिलाएर आउँछु । मलाई के थाहा थियो, त्यो आउँछु भन्ने शब्द हाम्रो परिवारको सबैभन्दा लामो प्रतीक्षा बन्नेछ । २०५९ साल आयो । त्यो वर्ष हाम्रो घरबाट बाबु हराउनुभयो । कहाँ जानुभयो ? कसले लग्यो ? किन लग्यो ? कसैले स्पष्ट उत्तर दिएन । हामीले धेरै ढोका ढकढक्यायौँ । प्रशासनमा पुग्यौँ । सुरक्षाकर्मीलाई सोध्यौँ । राजनीतिक नेताका ढोका पुग्यौँ । मानव अधिकारकर्मी भेट्यौँ । सूचीमा नाम खोज्यौँ । शिविरमा खोज्यौँ । अस्पतालमा खोज्यौँ । कहिलेकाहीँ कसैले भन्थ्यो, सायद उहाँलाई त्यहाँ लगिएको थियो । हामी त्यहाँ पुग्थ्यौँ । तर बाबु हुनुहुन्नथ्यो । कसैले भन्थ्यो, सायद उहाँ मारिनुभयो । आमाले त्यो कुरा सुन्नै मान्नुहुन्नथ्यो । उहाँ भन्नुहुन्थ्यो, लास नदेखेसम्म मेरो मान्छे मरेको मान्दिनँ । 
    म पनि मान्दिनथेँ । किनकी बाबु हराउनु र बाबु मर्नु एउटै कुरा थिएन । मृत्युको अन्त्य हुन्छ । बेपत्ताको हुँदैन । बेपत्ताको घरमा हरेक ढोकाको आवाज आशा हुन्छ । हरेक फोनको घण्टी मुटु चिरिन्छ । हरेक अपरिचित अनुहार बाबुजस्तो देखिन्छ । हरेक दशैँमा एउटा प्रश्न उठ्छ–यसपालि बाबु आउनुहुन्छ कि ? तर बाबु कहिल्यै आउनुभएन । समय बित्दै गयो । देशमा शान्ति प्रक्रिया सुरु भयो । बन्दुकहरू बिस्तारै मौन भए । सम्झौता भए । सभा भए । भाषण भए । नयाँ नेपालका कुरा भए । हामीले पनि सोचेका थियौँ, अब बाबु भेटिनुहुन्छ होला । तर शान्ति आयो । बाबु आएनन् । कागजमा युद्ध सकियो । हाम्रो घरमा युद्ध सकिएन । आमाको प्रतीक्षा सकिएन । मेरो प्रश्न सकिएन ।
    देशले द्वन्द्वका घाउ बिर्सने प्रयास ग¥यो । हामीले भने घाउलाई बोकेर हिँड्नुप¥यो । बेपत्ता नागरिकको खोजीका लागि आयोग बने । सत्य पत्ता लगाउने भनियो । दोषीलाई कारबाही गर्ने भनियो । पीडितलाई न्याय दिने भनियो । हामीले फेरि आशा ग¥यौँ । फाइल खुल्यो । बयान लिइयो । कागज भरियो । मिति थपियो । अर्को वर्ष आयो । फेरि मिति थपियो । तर बाबुको खबर आएन । कहिलेकाहीँ मलाई लाग्थ्यो–आयोगका लागि मेरो बाबु एउटा फाइल नम्बर हो, तर मेरा लागि उहाँ मेरो बाल्यकाल हुनुहुन्छ । उहाँ मेरो हात समाएर हिँड्ने मान्छे हुनुहुन्छ । दशैँमा टीका लगाइदिने हात हुनुहुन्छ । गल्ती गर्दा सम्झाउने आवाज हुनुहुन्छ । म बिरामी हुँदा निधार छाम्ने स्पर्श हुनुहुन्छ । कसरी एउटा फाइलले बाबुको सम्झना समेट्न सक्छ ?
    २०७२ सालमा भूकम्प आयो । धरहरा ढल्यो । घरहरू ढले । मन्दिरहरू ढले । गाउँहरू ढले । मानिसहरू मरे । हामी फेरि सडकमा आयौँ । त्यो दिन मैले सोचें–नेपालको जमिन पनि हामीजस्तै रहेछ । बारम्बार हल्लिन्छ । तर हरेकपटक फेरि उठ्न खोज्छ । त्यसपछि संविधान आयो । संविधान जारी भयो । तर त्यसको नाममा पनि सडकमा हिंसा भयो । मान्छे मरे । फेरि परिवार रोए । फेरि आमाहरूले छोराको शव पर्खिए । मलाई लाग्यो–यो देशले शोक मनाउन पनि पूरा समय पाउँदैन । त्यसपछि आयो कोरोना । सहर बन्द भयो । सडक सुनसान भयो । मान्छे घरभित्र थुनिए । अस्पतालमा अक्सिजन खोजियो । कतिपयले आफ्ना मान्छेको अन्तिम अनुहार पनि हेर्न पाएनन् । त्यो बेला मैले बाबुलाई झन् धेरै सम्झिएँ । यदि बाबु हुनुहुन्थ्यो भने ? सायद भन्नुहुन्थ्यो–डराउनु हुँदैन छोरी । तर त्यो आवाज अब सम्झनामा मात्र थियो ।
    बुबाको मुख हेर्ने दिन आयो । घरका अरू छोरीहरू बिहानै उठेर बाबुलाई सम्झिएर पूजा गर्न थाले । कसैले बाबुको निधारमा टीका लगायो । कसैले मिठाई खुवायो । कसैले बाबुको खुट्टा छोयो । मैले पनि पूजा गरें । तर मेरो अगाडि बाबु हुनुहुन्नथ्यो । थालमा अक्षता थियो । फूल थियो । दियो थियो । तर बाबुको अनुहार थिएन । मैले ऐनामा आफ्नो अनुहार हेरेँ । र मनमनै सोधेँ–बाबु खोई ? उत्तर आएन । त्यस दिन मैले पहिलोपटक बुझें–बाबु नहुनु भनेको एउटा मान्छे नहुनु मात्र होइन रहेछ । बाबु नहुनु भनेको जीवनका धेरै निर्णयहरूमा एउटा आवाज हराउनु रहेछ । छोरी, डराउनु पर्दैन । छोरी, ठीक गर्यौ । छोरी, यो मान्छे ठीक छैन । छोरी, तिमी सक्छौ । यी साना वाक्यहरू कति ठूलो सहारा रहेछन् भन्ने बाबु नभएपछि मात्र थाहा हुँदो रहेछ ।
    मेरो विवाहको कुरा चल्यो । घरमा खुसी पनि थियो, डर पनि । आमाले मेरो विवाहको तयारी गर्न थाल्नुभयो । लुगा आयो । गहना आयो । निम्ता बाँडियो । घरमा मान्छे आउन थाले । सबैले मलाई हेरेर मुस्कुराए । तर मेरो मनमा एउटै प्रश्न थियो, मेरो कन्यादान कसले गर्ने ? यो प्रश्न मैले कसैलाई सोधिनँ । किनकि समाजसँग उत्तर थिएन । बाबु भएको भए कस्तो हुन्थ्यो होला ? विवाहको दिन बाबुले मेरो टाउकोमा हात राखेर भन्नुहुन्थ्यो होला–खुसी भएर जानू छोरी । सायद उहाँको आँखाबाट आँसु झथ्र्यो । सायद उहाँले मेरो हात समाएर केही बेर चुपचाप बस्नुहुन्थ्यो । सायद ज्वाइँलाई हेरेर भन्नुहुन्थ्यो–मेरी छोरीलाई दुःख नदिनू । तर मेरो विवाहमा त्यो आवाज थिएन । मण्डपमा बसेर मैले वरिपरि हेरेँ । कसैका बाबु छोरीको काँधमा हात राखेर उभिएका थिए । कसैका बाबु छोरीको अनुहार हेरेर आँसु पुछिरहेका थिए । कसैका बाबु पाहुनालाई स्वागत गरिरहेका थिए । मेरो आँखाले पनि भीडमा बाबुलाई खोज्यो ।
    मलाई एकछिन लाग्यो, सायद उहाँ कतैबाट आउनुहुन्छ । ढोकामा उभिनुहुन्छ । मलाई बोलाउनुहुन्छ, छोरी ! तर ढोका खाली थियो । विवाह भयो । म नयाँ घर गएँ । नयाँ सम्बन्ध पाएँ । तर एउटा पुरानो अभाव मसँगै गयो । विवाहपछि कसैले सोध्यो–तिम्रो बाबु के गर्नुहुन्छ ? मैले केही क्षण चुप लागेर भनेँ, उहाँ हुनुहुन्न । मर्नुभएको ? मैले फेरि केही बोल्न सकिनँ । बेपत्ता मान्छेको छोरी हुनुको सबैभन्दा कठिन कुरा यही हो । तपाईंलाई मानिसले दुईमध्ये एउटा उत्तर खोज्छ—बाबु छन् । वा–बाबु छैनन् । तर हामीसँग तेस्रो उत्तर हुन्छ–बाबु कहाँ छन्, थाहा छैन । त्यो उत्तर कसरी बुझाउने ? कसरी सम्झाउने कि २०५९ सालदेखि मेरो बाबुको मृत्यु प्रमाणित भएको छैन, तर उहाँको उपस्थितिको प्रमाण पनि छैन ? दशैँ आउँछ । माइती सम्झिन्छु । आमालाई सम्झिन्छु । पुरानो घर सम्झिन्छु । बाबुले लगाउने टोपी सम्झिन्छु । उहाँको स्वर सम्झिन्छु । दशैँमा बाबुले दिने आशीर्वाद सम्झिन्छु । ठूलो मान्छे बन्नू । अरूलाई दुःख नदिनू । आफ्नो खुट्टामा उभिनू । 
    आज म आफ्नो खुट्टामा उभिएकी छु । तर त्यो उभिन सिकाउने मान्छे कहाँ छ ? मेरा सन्तानले सोध्छन, हजुरबुबा कहाँ हुनुहुन्छ ? म उनीहरूलाई बाबुको पुरानो फोटो देखाउँछु । उनीहरू फोटो हेर्छन् । मलाई हेर्छन् । अनि सोध्छन, उहाँ हामीलाई भेट्न किन आउनुहुन्न ? मसँग उत्तर हुँदैन । म फोटो छातीमा टाँस्छु । र मनमनै भन्छु, तिम्रो हजुरबुबा हराउनुभएको हो बाबु, मरेको प्रमाण छैन । समय रोकिँदैन । २०८१ सालमा बाढी–पहिरो आयो । पहिरोले घर बगायो । बाढीले खेत लग्यो । सडक काट्यो । मान्छेहरू हराए । फेरि परिवारका परिवार चौतारामा बसेर खबर पर्खिन थाले । कसैले भन्यो–बाढीले लग्यो । कसैले भन्यो, अझै भेटिएको छैन । कसैले भन्यो–सायद कतै जोगिनुभएको होला । म ती शब्दहरू सुन्दा फेरि २०५९ सालमा फर्किएँ । अझै भेटिएको छैन । यो वाक्य मेरो जीवनको सबैभन्दा पुरानो वाक्य हो ।
    अहिले रसुवामा बाढी आयो । मान्छेहरू बेपत्ता भए । कसैको श्रीमान् फर्किएनन् । कसैको छोरा फर्किएन । कसैको बाबु फर्किएन । कसैले मोबाइलमा अन्तिमपटक कुरा गरेको थियो । कसैले बाटोमा देखेको थियो । कसैले नदी बढेको देखेको थियो । तर केही घण्टापछि मान्छे थिएन । फेरि खोजी सुरु भयो । नदी किनारमा मानिसहरू उभिए । आँखा नदीमा थियो । मन आशामा । मैले ती अनुहारहरूमा मेरी आमाको अनुहार देखें । २०५९ सालको त्यो दिनदेखि आजसम्म नदीको किनारमा उभिएको जस्तो । कहिले सुरक्षाकर्मी आउने आशा । कहिले खबर आउने आशा । कहिले ढोकामा बाबु आइपुग्ने आशा । बेपत्ता परिवारको पीडा समयले कम गर्दैन रहेछ । समयले त केवल पीडामाथि नयाँ तह थप्दै जाने रहेछ । त्यसपछि दशैँ आयो । दशैँ भनेको घर फर्किने चाड हो । तर केही घरमा दशैँ आउँदा पनि घर पूरा हुँदैन । टीका हुन्छ । जमरा हुन्छ । आशीर्वाद हुन्छ । तर बाबु हुँदैनन् । आमाको हात काँप्छ । छोरीको आँखामा आँसु हुन्छ । छोराले बुबाको पुरानो टोपी निकालेर हेर्छ । नातिनातिनाले फोटोमा फूल राख्छन् । र एउटा प्रश्न फेरि उठ्छ–बाबु खोई ? मैले आज त्यो प्रश्नबाट भाग्न छोडेकी छु । किनकि बाबु मेरो घरमा नभए पनि मेरो जीवनमा हुनुहुन्छ । उहाँ मेरो बाल्यकालको सम्झना हुनुहुन्छ । मेरो साहस हुनुहुन्छ । अन्यायविरुद्ध बोल्ने हिम्मत हुनुहुन्छ । कुनै बेपत्ता परिवारको कथा सुन्दा दुख्ने मन हुनुहुन्छ । रसुवाको बाढीमा हराएका बाबुहरूलाई सम्झिने आँखाको आँसु हुनुहुन्छ । २०५९ मा हराउनुभएको मेरो बाबु आज पनि मेरो मनमा जीवित हुनुहुन्छ । मलाई थाहा छैन उहाँ कहाँ हुनुहुन्छ । कसले लग्यो, थाहा छैन । उहाँको अन्तिम दिन कस्तो थियो, थाहा छैन । उहाँले अन्तिमपटक मलाई सम्झनुभयो कि सम्झनुभएन, त्यो पनि थाहा छैन । तर एउटा कुरा थाहा छ, उहाँकी छोरीले उहाँलाई बिर्सेकी छैन । न्यायका आयोगहरू कमजोर भए पनि स्मृति कमजोर भएको छैन ।
    कागजका फाइलहरू धुलाम्मे भए पनि एउटी छोरीको मनमा बाबुको अनुहार धुलाम्मे भएको छैन । देशले धेरै विपत्ति भोग्यो । युद्ध भोग्यो । विस्थापन भोग्यो । भूकम्प भोग्यो । हिंसा भोग्यो । महामारी भोग्यो । बाढी–पहिरो भोग्यो । आज पनि मान्छेहरू बेपत्ता भइरहेका छन् । तर प्रत्येक बेपत्ता मान्छेको पछाडि एउटा घर हुन्छ । एउटी आमा हुन्छिन् । एउटी श्रीमती हुन्छिन् । एउटी छोरी हुन्छे । एउटा छोरा हुन्छ । र हुन्छ—एउटा अधुरो प्रश्न । उहाँ कहाँ हुनुहुन्छ ? म आज पनि त्यो प्रश्न बोकेर बाँचेकी छु । सायद जीवनको अन्तिम दिनसम्म बोकिरहनेछु । तर अब मेरो प्रश्न मेरो बाबुका लागि मात्र होइन । अब यो प्रश्न ती सबै बाबुहरूका लागि हो, जो युद्धमा हराए । ती सबैका लागि हो, जो राज्यको बेवास्तामा बेपत्ता भए । ती सबैका लागि हो, जसलाई बाढीले लग्यो र परिवारले अझै नदी किनारमा खोजिरहेको छ । ती सबैका लागि हो, जसका छोराछोरीले दशैँमा ढोकातिर हेरेर बसिरहेका छन् ।
    र ती सबैका लागि हो, जसले बाबुको हात समातेर हिँड्न पाएनन् । मलाई अझै पनि दशैँ मन पर्छ । किनकि दशैँमा घर सम्झिन्छु । बाबु सम्झिन्छु । आमाको अनुहार सम्झिन्छु । पुरानो आँगन सम्झिन्छु । र बाबुले कहिल्यै पूरा गर्न नपाएको एउटा वाक्य सम्झिन्छु, छोरी, तिमी डराउनु पर्दैन...। वाक्य त्यहीँ रोकिएको छ । तर म आज पनि त्यसको बाँकी शब्द आफैँ पूरा गर्छु, र एक दिन, कुनै दशैँको बिहान, कुनै छोरीले आफ्ना सन्तानलाई फोटो देखाउँदै भन्न नपरोस् । तिम्रो हजुरबुबा कहाँ हुनुहुन्छ, मलाई थाहा छैन । त्यो दिनसम्म, म प्रतीक्षामा छु । 

अनिषा सापकोटा
बनेपा काभ्रे