2026 May 15/ 06:09: 02pm

    म अहिले पचासी वर्षकी भएँ । जीवनले यति धेरै घामपानी देखायो कि अब आँसु पनि थाकिसके । शरीर बुढो भयो, आँखाको ज्योति धमिलो भयो, पाइला काँप्न थाले । तर मनभित्रका सम्झनाहरू अझै जवान छन् । कहिलेकाहीँ म यही आँगनको पिँढीमा एक्लै बस्छु र बितेका दिनहरू सम्झिन्छु । मनभित्र एउटा प्रश्न बारम्बार उठ्छ, के साँच्चै समय यति धेरै बदलिएको हो, कि मान्छेको मन नै हरायो ?
    आज सबै कुरा छ । घर ठूला छन् । कोठामा तातो चिसो सबै छ । हातहातमा महँगा मोबाइल छन् । विदेशको खबर एकैछिनमा थाहा हुन्छ । पैसा पनि पहिलेभन्दा धेरै छ । अनुहार हेरेरै कुराकानी हुन्छ । तर म भन्छु, पहिले जस्तो मन छैन । पहिले जस्तो आदर छैन । पहिले जस्तो माया छैन । पहिले जस्तो सद्भाव छैन । संस्कार हरायो । संस्कृति मासियो । सत्कार र अपनत्व पनि बिस्तारै मर्दै गयो । म पढेलेखेकी मान्छे होइन । किताबका कुरा जान्दिनँ । तर जीवनले सिकाएको ज्ञान धेरै छ । किनकी मैले छोरी भएर पनि बाँचेँ, बुहारी भएर पनि बाँचेँ, सासु भएर पनि बाँचेँ, आमा भएर पनि बाँचेँ । हुन त अरु पनि भएका छन् तर मेरो अनुभूतिले अरुलाई पनि केहि शिक्षा होस् म त्यहि चाहन्छु । 
    मैले हरेक भूमिकामा आफूलाई जलाएँ । तर अहिले कहिलेकाहीँ लाग्छ त्यो सबै त्यत्तिकै भएछ । म छोरी हुँदाको अवस्था कस्तो थियो होला ? तपाई पनि सम्झनुस् त ? त्यो समय कस्तो थियो होला ? छोरा छोरा चाहिने भन्ने अवस्था थियो । सबैले छोराको चाहना राख्थे तर विवाह गर्ने बेला अर्काको छोरी नै खोज्थे । म जन्मिँदा हाम्रो घर गरिब थियो । माटोले पोतेको सानो घर, खरको छानो, आँगनमा एउटा आँपको रूख । हामीसँग धेरै धन थिएन, तर मनमा गरिबी थिएन । म बिहान उज्यालो नहुँदै उठ्थेँ । आमासँग पानी भर्न जान्थेँ । दाउरा टिप्थेँ । गाईबाख्रा चराउँथेँ । खेतमा काम गर्थेँ । त्यो बेला छोरी हुनु भनेको काममा खटिनु थियो । तर म दुःखी थिइनँ । किनकी घरमा माया थियो ।
    बुबाले कहिल्यै ठूलो स्वरले बोल्नुभएन । आमा थाकेर ढल्दा पनि हामीलाई मिठो खान खोज्नुहुन्थ्यो । हामी सबै एउटै थालमा बसेर खान्थ्यौँ । भात कम हुन्थ्यो, तर माया धेरै हुन्थ्यो । गाउँमा कसैको घरमा दुःख परे सिङ्गो गाउँ पुग्थ्यो । कसैको घरमा विवाह भए सबै जना काम गर्न जान्थे । चाडपर्व आउँदा धनी–गरिबको फरक देखिँदैनथ्यो । दशैंमा नयाँ कपडा नपाए पनि टीका लगाउँदा मन धनी हुन्थ्यो । तिहारमा देउसीभैलो खेल्दा गाउँ नै हाँसेको जस्तो लाग्थ्यो । अहिले जस्तो थिएन त्यो समय । तर मान्छेहरू मान्छेजस्ता थिए । छोरीबाट बुहारी हुँदा पक्कै जिम्मेवारी फरक थियो । अहिले जस्तो २० वर्ष पुगे पछि मात्रै विवाह गर्ने भन्ने हुन्थेन । ७ वर्षमा विवाह गरिसक्थे । ९ वर्षमा घर पठाई हाल्थे । मेरो हकमा फरक भयो । सानोमा अलिक विरामी भएका कारण विवाह ढिला भयो । सकेसम्म महिनावारी नहुँदै विवाह गरिदिने चलन थियो । विरामी भएकै कारण म अलिक ठुलो हुँदासम्म विवाह भएको थिएन । बुबा आमा दुई कुराको चिन्ता थियो । एउटा छोरी विरामी भएकोमा अर्काे ढिलासम्म विवाह गर्न नसकेकोमा । 
    म पन्ध्र वर्षकी हुँदा बिहे भयो । त्यो दिन अझै सम्झिन्छु । डोली चढेर माइती छोड्दा म रोइरहेकी थिएँ । आमाको काख छोडेर पराइ घर आउनु भनेको के पीडा हो, त्यो केवल छोरीले मात्र बुझ्छे । यो घरमा पहिलो दिन आउँदा म निकै डराएकी थिएँ । सबै नयाँ मान्छे । नयाँ परिवेश । सासु कडा स्वभावकी हुनुहुन्थ्यो । उहाँको अगाडि बोल्न पनि डर लाग्थ्यो । बिहान सबेरै उठ्नुपथ्र्यो । ढिलो उठे गाली खाइन्थ्यो । सबैलाई खाना खुवाएर मात्रै खान पाइन्थ्यो । दिनभरी मेलापात, घाँसदाउरा, भाँडाकुँडा, गाईबस्तु, खेतबारी । कहिलेकाहीँ थाकेर राति चुपचाप रोएको पनि छु । तर आज फर्केर हेर्दा लाग्छ–त्यो दुःखमा पनि आत्मीयता थियो । मेरो सासुले मलाई गाली त धेरै गर्नुभयो, तर म बिरामी हुँदा रातभरी सिरानीमा बसेर टाउको पनि छाम्नुभयो । उहाँले कहिल्यै माया गर्छु भन्नुभएन । तर उहाँको व्यवहारमै माया थियो । त्यो बेला बुहारीहरूले घरलाई आफ्नो ठान्थे । घरका बूढाबूढीलाई भगवान् जस्तै मानिन्थ्यो । जेठाबडाको अगाडि आवाज चर्काउन त परको कुरा, आँखा उठाएर बोल्न पनि सकिँदैनथ्यो । अहिलेका मानिसले त्यसलाई दासत्व भन्छन् होला । तर म भन्छु त्यो सम्मान थियो । त्यो संस्कार थियो । 
    मैले पाँचजना सन्तान जन्माएँ । कति रात त उनीहरूलाई ज्वरो आउँदा म आफैँ निदाइनँ । आफू भोकै बसेर पनि छोराछोरीलाई दूध खुवाएँ । मेरो जीवन आफ्ना सन्तानमै बित्यो । मेला घुम्ने रहर थियो । नयाँ सारी लगाउने रहर थियो । तर मैले आफ्ना सबै रहर चुलोको आगोसँगै जलाएँ । किनभने सन्तान खुसी भए भने आमाको जीवन सफल हुन्छ भन्ने सोच्थेँ । हाम्रो समयमा बाबुआमाको सम्मान गर्थे सन्तानले । बुबाले खोक्दा छोराछोरी डराउँथे । आमाको आँखामा आँसु आए घर नै मौन हुन्थ्यो । अहिले त बाबुआमाको अगाडि नै ठूलो स्वरले बोल्छन् । मोबाइल हेर्दै जवाफ फर्काउँछन् । मलाई सबैभन्दा दुःख त्यही लाग्छ । समय फेरियो । एकदिन म आफैँ सासु भएँ । मैले मनमनै कसम खाएकी थिएँ, मैले जस्तो दुःख मेरी बुहारीले भोग्नु पर्दैन ।  त्यसैले मैले बुहारीलाई छोरीजस्तै माया गरेँ । थाकी भने आराम गर्न भनें । बिरामी परे आफैँ भान्सामा पसेँ । उनले गल्ती गर्दा पनि धेरै सम्झाएँ, कम गाली गरेँ ।
    किनकी समय बदलिएको थियो । म पनि बदलिन चाहन्थेँ । तर थाहा छैन किन, सम्बन्धहरू भने झन् टाढा हुँदै गए । पहिले बुहारीहरू सासुसँग मन खोलेर कुरा गर्थे । अहिले एउटै घरमा बस्दा पनि मोबाइलले सबैलाई छुट्ट्याइदियो । भान्सामा बस्दा कानमा इयरफोन । कोठामा जाँदा मोबाइल । खाना खाँदा पनि मोबाइल । अब घरमा गफ हरायो । हाँसो हरायो । मन साट्ने समय हरायो । अहिले म बूढी भएँ । यो शरीर अब धेरै बाँच्ला जस्तो लाग्दैन । तर मर्नुभन्दा पहिले एउटा कुरा देखेर मन धेरै दुख्छ, मानिससँग सबै कुरा छ, तर मानिस छैन । पहिले छिमेकी बिरामी पर्दा रातभरी कुरुवा बस्थे । अहिले आफ्नै घरका मान्छेलाई समय छैन । पहिले पाहुना आउँदा घर रमाउँथ्यो । अहिले पाहुना आउँदा झन्झट लाग्छ । पहिले वृद्धवृद्धा घरको आशीर्वाद हुन्थे । अहिले धेरै ठाउँमा बोझ भएका छन् ।
    कहिलेकाहीँ म आफ्नै घरमा पनि पराइझैँ महसुस गर्छु । सबैजना व्यस्त छन् । कसैसँग समय छैन । म बोल्न खोज्छु, तर कसैको ध्यान मोबाइलबाट माथि उठ्दैन । त्योबेला मन भक्कानिन्छ । त्यो दशैं..। दुई वर्षअघिको दशैं म कहिल्यै बिर्सन्नँ । सबै छोराछोरी घर आएका थिए । मैले सोचेकी थिएँ, आज पुरानो दिन फर्किन्छ । म नातिनातिनालाई कथा सुनाउँला भनेर खुसी भएकी थिएँ । तर त्यो दिन सबैले फोटो खिचे । भिडियो बनाए । टिकटक हाले । हाँसे पनि मोबाइलका लागि । तर एकछिन मेरो छेउमा बसेर मन खोलेर कुरा गर्ने फुर्सद कसैसँग थिएन । म चुपचाप भान्सातिर गएर रोएकी थिएँ । घर मान्छेले भरिएको थियो । तर मेरो मन खाली थियो । अहिलेको समानता । म छोरीबुहारी पढेको, अगाडि बढेको देखेर खुसी हुन्छु । 
    महिलाले अधिकार पाउनुपर्छ । आफ्नो पहिचान बनाउनुपर्छ । तर बाबु, समानताको नाममा आदर नै हराउन त भएन नि । समान हुनु भनेको बुबाआमालाई हप्काउनु होइन । ठूलाबडाको मजाक उडाउनु होइन । संस्कारलाई पुरानो सोच भनेर फाल्नु होइन । आधुनिकता राम्रो कुरा हो । तर आधुनिक हुँदैमा मान्छेभित्रको माया किन मर्नुप¥यो ? आज म जीवनको अन्तिम घाम तापिरहेकी छु । अब धेरै इच्छा छैनन् । न धन चाहियो, न ठूलो घर । मलाई त केवल पहिले जस्तो दुई शब्द माया चाहिएको हो । कसैले हजुरआमा खाना खानुभयो ? भनेर सोधिदिए पुग्छ । कसैले एकछिन हात समातिदिए पुग्छ । किनकी बूढेसकालमा मानिसलाई औषधिभन्दा बढी माया चाहिन्छ ।
    म कहिलेकाहीँ भगवानसँग एउटै कुरा सोध्छु । हे भगवान्, प्रविधि दिएर मानिसको मन किन खोस्नुभयो ? समानता दिएर सम्मान किन हराउनुभयो ? घरहरू ठूलो भए, तर परिवार किन सानो भयो ? सायद समय बदलिएको छ । सायद अब म पुरानो भएँ । तर यति चाहिँ पक्का हो, पहिले दुःख धेरै थियो तर मानिसहरू एकअर्काका थिए । अहिले सुख धेरै छ । तर मान्छेहरू एक–अर्काबाट टाढा भइसके ।

राधादेवी घिमिरे
बनेपा, काभ्रे