धुलिखेल/माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा स्थानीय तहगत विवरण अनुसार १३ पालिका मध्ये कमजोर पालिकाका रुपमा रोशी गाउँपालिका देखिएको छ । रोशी गाउँपालिकामा १७ विद्यालयका ३ सय ६२ विद्यार्थी मध्ये १ सय ८३ जना अनुतिर्ण भएका छन् । १ सय ७९ जना अर्थात कूल प्रतिशतका आधारमा ४९.४५ प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण भएका छन् ।
सबैभन्दा बढी उत्तिर्ण प्रतिशत धुलिखेल नगरपालिकामा ९५.०६ प्रतिशत रहेको छ । धुलिखेल स्वस्थ शहरका रुपमा पनि दक्षिण एशियाको पहिलो शहर हो । चौरीदेउराली गाउँपालिकाले ९०.८० प्रतिशत नतिजा हासिल गरेको छ । सबैभन्दा कम नतिजा रोशी गाउँपालिकामा ४९.४५ प्रतिशत देखिएको छ । बनेपा र पनौती नगरपालिकाले पनि तुलनात्मक रूपमा राम्रो नतिजा हासिल गरेका छन् । ग्रामीण क्षेत्रका केही स्थानीय तहमा नन–ग्रेडेड विद्यार्थीको संख्या उल्लेखनीय रहेको छ । अझै पनि सामुदायिक विद्यालय कमजोर रहेको फेरी पनि तथ्यांकले पुष्टी गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको सामुदायीक विद्यालय बनेपा नाला ४ बाट चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयका दुईजना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । जिल्लामा यो पहिलो सामुदायिक विद्यालय हो ।
पालिकागत रुपमा धुलिखेल ९५.०६ प्रतिशत, बनेपा ८५.४७ प्रतिशत, पनौती ८७.३४ प्रतिशत, पाँचखाल ७४.८४ प्रतिशत, नमोबुद्ध ७६.२१ प्रतिशत, मण्डनदेउपुर ६०.४७ प्रतिशत, बेथानचोक ५७.५७ प्रतिशत, महाभारत ६०.२८ प्रतिशत, खानीखोला ५२.० प्रतिशत, भुम्लु ६६.१५ प्रतिशत, तेमाल ५३.२१ प्रतिशत, चौरिदेउराली ९०.८ प्रतिशत, रोशी ४८.४५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । धुलिखेल नगरपालिका र चौरिदेउराली गाउँपालिकाले उत्कृष्ट नतिजा हासिल गर्दा रोशी, खानीखोला र तेमाल जस्ता स्थानीय तहमा नतिजा कमजोर देखिएको छ । शिक्षाविद्हरूले ग्रामीण क्षेत्रमा शैक्षिक पूर्वाधार, शिक्षक व्यवस्थापन र विद्यार्थीको नियमित सिकाइमा थप लगानी आवश्यक रहेको बताएका छन् ।
जिल्लामा ११ जनाको चार जिपिए, ८ सय ३८ जनाको ३.६० देखि ४ जिपिए भन्दा कम, १३ सय ७७ जनाको ३.२० देखि ३.६० भन्दा कम जिपिए, १३ सय ६५ जनाको २.८० देखि ३.२० भन्दा कम जिपिए, ८ सय ९२ जनाको २.४० देखि २.८० जिपिए भन्दा कम, १ सय ५ जनाको २.०० देखि २.४० जिपिए भन्दा कम प्राप्त भएको छ । कुल ४ हजार ५ सय ८८ जना विद्यार्थी उत्तिर्ण भएका छन् भने १३ सय ४३ जना विद्यार्थी अनुतिर्ण भएका छन् । कुल ५९ सय ३१ जना विद्यार्थी परीक्षामा सहभागी भई साधारण र प्राविधिकतर्फ गरी ७७.३६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ । प्राविधिक तर्फका ८८.७३ र साधारण तर्फका ७६.९५ प्रतिशत विद्यार्थी उत्तिर्ण भए ।
जिल्लाका ८ विद्यालयबाट ११ विद्यार्थीहरुले चार जिपिए प्राप्त गरेका छन् । अधिकांश विद्यालयले उत्कृष्ट चार जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेका छन् । नीजि अर्थात संस्थागत तर्फ बनेपाको विद्यासागर अङ्ग्रेजी माध्यमिक विद्यालय बनेपाबाट एकजना, पनौतीको नवरत्न अंग्रेजी माध्यमिक विद्यालयबाट एकजना, पाँचखालको नव प्रतिभा माध्यमिक विद्यालयबाट एकजना, बनेपा साँगाको नेपाल प्रहरी स्कुलबाट एक जना, श्रीखण्डपुरको एसओएस बालग्रामबाट दुई जना, बनेपाको सिद्धार्थ एकेडेमीबाट दुई जना र पनौतीको मल्पी इन्टरनेशनल स्कुलका एक विद्यार्थीले चार जिपिए प्राप्त गरेका थिए । मल्पी जिल्लाकै महङ्गो विद्यालयका रुपमा चिनिन्छ । सोहि विद्यालयबाट एक जना विद्यार्थी अनुत्तिर्ण भएका छन् । जिल्लाको सदरमुकाम धुलिखेलमा १९ विद्यालयका ५ सय ६ जना विद्यार्थी सहभागी भएकोमा ४ सय ८१ जना उत्तिर्ण भएका छन् । २५ जना अनुत्तिर्ण भएका छन् । प्रतिशतका आधारमा ९५.०६ प्रतिशत विद्यार्थी उत्तिर्ण गराई जिल्लाकै उत्कृष्ट पालिका बनेको छ । संस्थागततर्फका ८ वटै विद्यालयका शत प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । सामुदायिकतर्फ ९१.८३ प्रतिशत प्राप्त भएको छ । सामुदायकतर्फ धुलिखेल २ को सेतीदेवी मावि, धुलिखेल ८ को सरस्वती मावि, धुलिखेल ११ को हनुमान मावि र धुलिखेल १२ को शंखेश्वर महालक्ष्मी माविबाट शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । धुलिखेल ११ कै कालिदेवी मावि डाँडागाउँ नगर क्षेत्रकै कमजोर विद्यालय देखिएको छ । उक्त विद्यालयबाट ११ विद्यार्थी सहभागी भएकोमा ५ जना मात्रै उत्तिर्ण भएका छन् । सञ्जीवनी मावि धुलिखेलबाट १ सय १५ जनामा १४ जना अनुत्तिर्ण भएका छन् । अन्य विद्यालयले ९० प्रतिशत भन्दा धेरै विद्यार्थी उत्तिर्ण गराएका छन् ।
पनौतीका २९ विद्यालय मध्ये १३ वटा सामुदायिक र १६ वटा संस्थागतका गरी ८ सय ८५ विद्यार्थी सहभागी थिए । सामुदायिकतर्फ श्वेत गणेश माविबाट शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । भालेश्वर माविबाट १ सय १३ सहभागी भएकोमा ३ जना अनुत्तिर्ण भएका छन् । इन्द्रेश्वर माविबाट १९ जना सहभागी भएकोमा २ जना मात्रै उत्तिर्ण भएका छन् । कुल ९७.३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । पालिकाभरी सामुदायिक तर्फ केटातर्फ ३.९१ ल्याई उत्कृष्ट भएको छ । छात्रातर्फ कुशादेवी माविकी एक विद्यार्थीले ३.९१ ल्याएर उत्कृष्ट भएकी छिन् । उक्त विद्यालयको कुल प्रतिशत ७० रहेको छ । संस्थागत तर्फका ८ वटा विद्यालय मात्रै शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएका छन् । जिल्लामा ३३ वटा परीक्षा केन्द्र मार्फत विद्यार्थीहरुले परीक्षा दिएका थिए । परीक्षामा जिल्लाका ६९ वटा संस्थागत र १५० वटा सामुदायिक विद्यालय गरी कुल २१८ वटा विद्यालयबाट विद्यार्थीहरू सहभागी थिए । नियमिततर्फ ५,२२७ जना, प्राविधिकतर्फ २०१ जना र ग्रेडवृद्धितर्फ २८० जना गरी कुल ६,२०८ जना विद्यार्थी परीक्षामा सहभागी हुन फाराम भरेका थिए । १२ जना बहिरा विद्यार्थी र एक जना दृष्टिविहीन विद्यार्थी पनि परीक्षामा सहभागी थिए । २ सय ७७ विद्यार्थी परिक्षामा अनुपस्थित थिए ।
पाँचखालको सबैभन्दा कमजोर विद्यालय महांकाल मावि रहेको छ । ३४ विद्यार्थी मध्ये २८ जना अनुत्तिर्ण भएका छन् । जनता माविमा १३ मध्ये ११ जना अनुत्तिर्ण भएका छन् । पाँचखाल भित्रका सामुदायिक विद्यालयका १ सय ५ जना विद्यार्थी अनुत्तिर्ण छन् । सामुदायिकतर्फ ६९ प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण भएका छन् । संस्थागततर्फ ९८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । ६ वटा संस्थागत मध्ये ३ वटाबाट शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
ब्यापारीक नगरी बनेपा सबैभन्दा धेरै विद्यालय भएको पालिका हो । जहाँ ४८ वटा माध्यमिक विद्यालयबाट १८ सय ११ विद्यार्थी सहभागी थिए । २ सय ६० जना विद्यार्थी अनुत्तिर्ण भएका छन् । कुल प्रतिशत ८५.६४ प्रतिशत रहेको छ । नगरपालिकाको नमूना विद्यालय चण्डेश्वरी श्रृष्टीकान्त माविबाट २ जना विद्यार्थी चार जिपिए सहित जिल्ला प्रथम भएका छन् । सामुदायिकतर्फ त्यहि विद्यालयबाट मात्रै चार जिपिए प्राप्त भएको छ । जहाँ शतप्रतिशत अर्थात ७० जना विद्यार्थी सहभागी थिए । सामुदायिक तर्फ ६ वटा विद्यालयले शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराएका छन् ।









