2026 May 01/ 06:19: 44pm

    म जन्मिँदा आमाले भनेकी थिइन् । छोरो जन्मियो, अब घरमा उज्यालो छिर्छ । तर गाउँलेले भने, उज्यालो होइन, फेरि उही जात जन्मियो । मलाई सानैदेखि लाग्थ्यो, म अरू बच्चाभन्दा फरक किन छु ? मेरो दुई हात, दुई आँखा, एउटै हाँसो, एउटै आँसु–सबै अरूकै जस्तै थिए । तर गाउँको बाटोमा हिँड्दा मलाई हेर्ने नजर भने फरक हुन्थ्यो । म पानीको धारा नजिक पुगेँ भने कोही भन्थ्यो, ए, टाढा बस । छोए पानी फाल्नुपर्छ । त्यतिबेला म सात वर्षको थिएँ । मैले आमासँग सोधेँ–आमा, म किन छोएर पानी बिग्रिन्छ ? आमाले उत्तर दिन सकिनन् । उनका आँखा भरिए । त्यो दिन पहिलो पटक मैले बुझें–कहिलेकाहीँ प्रश्नको उत्तर शब्दमा हुँदैन, आँसुमै हुन्छ । 
    विद्यालय गएँ । नयाँ कापी, नयाँ झोला, ठूलो सपना । शिक्षकले नाम सोधे । मैले गर्वले भनेँ । अनि थर भनेँ । कक्षामा केही केटाहरू हाँसे । कसैले मुख छोपेर भन्यो, ए, यो त त्यही जातको रहेछ । त्यो दिनदेखि मेरो नामभन्दा पहिले मेरो जात बोलिन थाल्यो । मलाई पछिल्लो बेञ्चमा बसाइन्थ्यो । मेरो टिफिन कसैले खान्थेन । मसँग खेल्दा घरमा गाली खाने डर उनीहरूलाई हुन्थ्यो । म विद्यालयमा पढ्न होइन, अपमान सहन जान्थें । एकदिन म खेलमैदानमा लडेर घुँडा फुटाएँ । रगत बगिरहेको थियो । साथीहरू वरिपरी थिए । तर कसैले हात दिएन । एउटाले भन्यो, छोए घरमा थाहा पाए भने आमा रिसाउँछिन् । म आफैं उठें । धूलो टकटकाएँ । रगत पुछें । अनि त्यही दिन सिकें, दलितको घाउ आफैंले पुछ्नुपर्छ ।
    घरमा गरिबी थियो । बाबु अरूको खेत जोत्न जानुहुन्थ्यो । आमा अरूका घरमा भाँडा माझ्नुहुन्थ्यो । मैले थाहा पाएँ, हाम्रो गरिबीको कारण केवल पैसाको कमी थिएन, अवसरको ढोका बन्द हुनु थियो । गाउँको मेलामा हामी जान्थ्यौं । तर पूजा गर्ने ठाउँभित्र जान पाइँदैनथ्यो । परबाट हेर्नुपथ्र्यो । देवता सबैका भए पनि ढोका केहीका मात्र थिए । एकचोटी मन्दिरको पेटीमा चढेको थिएँ । एकजना वृद्धले चिच्याए, ओई ! तेरो पाइला लाग्यो भने चोख्याउनुपर्छ । म डराएर तल झरेँ । तर मनभित्र एउटा प्रश्न बस्यो, यदि भगवानले नै मलाई बनाएका हुन् भने, भगवानकै घरमा म अशुद्ध कसरी ? आमाले कहिल्यै ठूलो स्वरमा रोएको देखिनँ । तर राति ढोकाबाहिर बसी बसी आँखा पुछेको धेरै देखेको छु । उनी भन्थिन्, हामीले गरिब भएर होइन, जात भएर धेरै दुःख पायौं । म किशोर हुँदै जाँदा पीडा पनि बढ्दै गयो । गाउँमा कसैको बिहे भयो भने भान्सा अलग । भोजमा प्लेट अलग । कतिपयले त पातमा खाना राखिदिन्थे, मानौं हामी मानिस होइनौ ं।
    म कहिलेकाहीँ ऐनामा आफूलाई हेर्थें । मेरो अनुहारमा कुन ठाउँमा दलित लेखिएको छ ? मेरो निधारमा कुन रेखाले मलाई तल्लो बनायो ? उत्तर कहिल्यै भेटिनँ । तर सबैभन्दा दुखद् कुरा के थियो भने, यो विभेद केवल माथिल्लो जातबाट मात्र थिएन । दलितभित्रै पनि थर अनुसार ठूला–साना ।  हामीभन्दा माथि मान्ने दलित, हामीलाई तल्लो भन्ने दलित, हामीसँग बिहे नगर्ने दलित, एउटै पंक्तिमा नबस्ने दलित । त्यो बेला बुझें, दमनले मानिसलाई केवल पीडित बनाउँदैन, कहिलेकाहीँ दमनकारी पनि बनाउँछ । एक दिन गाउँको एक परिवारमा बिहेको कुरा चल्यो । केटी दलित थिइन् । हामी पनि दलित । तर उनीहरूको घरबाट खबर आयो, थर मिल्दैन, हाम्रो भन्दा तल हो । म धेरैबेरसम्म नबोली बसें । हामी सबैलाई एउटै समाजले हेपेको थियो । तर हामीले पनि एक अर्कालाई छोड्नुको विकल्प थिएन ।
    त्यसपछि मैले सपना देख्न छाडें । सपना पनि जात हेरेर आउँछ जस्तो लाग्न थाल्यो । एसएलसी सकेपछि म शहर आएँ । सोचेँ, शहरमा मान्छे शिक्षित हुन्छन्, यहाँ जातपात कम होला । यहाँ मेहनतको मूल्य होला । तर शहरले मलाई अर्को पाठ पढायो । कोठा खोज्न निस्किएँ । एउटा घर राम्रो लाग्यो । घरबेटीले मुस्कुराउँदै सोधिन । कहाँको ? के गर्छौ ? मैले सबै बताएँ । उनले चिया पनि दिइन् । अन्त्यमा भनिन्, थर के हो ? मैले साँचो थर भनेँ । उनको अनुहार तुरुन्त फेरियो । अहिले त कोठा दिने मान्छे भेटिसक्यौं । म निस्किएँ । बाहिर बोर्ड झुण्डिएको थियो । त्यो दिन म धेरै बेर सडकमा हिँडिरहेँ । कोठा खाली थियो, तर मेरो लागि थिएन । दोस्रो घरमा गएँ । फेरि उही प्रश्न । फेरि उही मौन अस्वीकार । तेस्रो घरमा त सिधै भनियो, हामी जात हेरेर दिन्छौं । शहरले सभ्य भाषामा विभेद गथ्र्यो । 
    त्यसपछि साथीले सल्लाह दियो, थर फेर । नत्र कोठा पाउँदैनस् । मैले धेरै रात सोचें । थर भनेको बाबुको इतिहास हो । आमाको पीडा हो । पुर्खाको अस्तित्व हो । म कसरी फेर्न सक्छु ? तर बस्ने ठाउँ चाहिएको थियो । भोकभन्दा ठूलो आत्मसम्मान हुँदैन कहिलेकाहीँ । अन्ततः मैले थर फेरेँ । नयाँ थर बोकेर अर्को घरमा गएँ । घरबेटी हाँसिन्, कोठा देखाइन्, अग्रिम लिइन् । त्यो दिन मैले कोठा पाएँ, तर आफूलाई हराएँ । राति नयाँ कोठामा एक्लै बसेर रोएँ । मानिसले बस्ने ठाउँ पाउन आफ्नो नाम किन मार्नुपर्छ ? कलेजमा पनि उस्तै थियो । साथीहरू जातबारे मजाक गर्थे । कोही प्रगतिशील भाषण दिन्थे, तर घरमा दलित बिहे मान्दैनथे । फेसबुकमा समानता लेख्नेहरू विवाहमा वंश खोज्थे । 
    म जागिर खोज्न थालेँ । अन्तर्वार्तामा योग्यताभन्दा थर धेरै काम लाग्थ्यो । थर बदलिएकोले केही ठाउँमा अवसर खुल्यो । तर भित्र अपराधबोध थियो । म आफैंलाई धोका दिएर बाँचिरहेको थिएँ । एकदिन कार्यालयको एक सहकर्मीले भने–तिम्रो चालचलन हेर्दा त त्यो जातको जस्तो लाग्दैन । म हाँसेँ । तर मनभित्र चिरा प¥यो । कुन जातको चालचलन कस्तो हुन्छ ? त्यही शहरमा मैले प्रेम पनि भेटें । उनी मेरो कलेजकी साथी थिइन् । हाँसो मिठो, मन सफा । उनले कहिल्यै जात सोधिनन् । हामी पुस्तकालयमा भेटिन्थ्यौं, चिया खान्थ्यौं, भविष्यका सपना बुन्थ्यौं । पहिलो पटक मलाई लाग्यो, सायद प्रेमले जात जित्छ । उनले एकदिन भनिन्, म तिमीलाई मान्छे भएर माया गर्छु । त्यो वाक्य सुनेर म धेरै रोएँ । किनकी पहिलोपटक कसैले मलाई जात होइन, मान्छे देखेको थियो । तर प्रेम केवल दुई जनाको हुँदैन रहेछ । परिवार, समाज, वंश, इज्जत–सबै बीचमा आउँछन् ।
    उनले घरमा कुरा राखिन् । सुरुवातमा सबै ठीक थियो । जब मेरो वास्तविक थर थाहा भयो, घरमा आँधी आयो । उनको बाबुले भनेछन्, मरेर जाऊ, तर त्यो घरमा बिहे हुँदैन । आमाले रोएर भनिन्– समाजमा मुख देखाउन कहाँ जाने ? उनी मलाई भेट्न आइन् । काँपिरहेको स्वरमा भनिन् । म तिमीलाई छोड्न चाहन्नँ...तर घरले मलाई बाँच्न दिदैन । म चुप लागें । प्रेमले मलाई पहिलो पटक उचाल्यो, समाजले फेरि भुइँमा बजा¥यो । उनीसँग अन्तिम भेट बसपार्कमा भयो । साँझ परिरहेको थियो । मानिसहरू आ–आफ्नो गन्तव्यतिर हतारिँदै थिए । हाम्रो यात्रा भने त्यहीँ टुंगिँदै थियो । उनले रोएर भनिन्–अर्को जन्म भए जात बिना भेटौँला । म मुस्कुराएँ । तर त्यो मुस्कान शवयात्रामा बजेको बाजा जस्तो थियो । बस चल्यो । उनी झ्यालबाट हेर्दै थिइन् । म हात हल्लाउन सकिनँ । किनकी मेरो हातमा प्रेम होइन, हार बाँधिएको थियो । त्यसपछि म लामो समयसम्म कसैसँग बोलिनँ । काममा जान्थें, फर्किन्थें, खाना खान्थें, सुत्थें । शरीर बाँचिरहेको थियो, मन थाकिसकेको थियो । 
    एकदिन आमाले फोनमा सोध्नुभयो, बाबु, तेरो स्वर किन यस्तो सुकेको ? मैले झूट बोलेँ–थकाई हो आमा । तर सत्य के थियो भने, म थकाइले होइन, समाजले सुकेको थिएँ । बिस्तारै मैले लेख्न थालेँ । डायरीमा, कागजमा, मोबाइलको नोटमा, जहाँ पाएँ त्यहीँ पीडा पोख्न थालेँ । मलाई थाहा भयो, रोएर सकिँदैन भने लेखेर बच्न सकिन्छ । मैले आफ्नो कथा अरूलाई सुनाएँ । धेरैले भने, हाम्रो पनि यस्तै हो । त्यतिबेला बुझें, मेरो पीडा व्यक्तिगत थिएन । यो हजारौंको सामूहिक इतिहास थियो । दलित भएर जन्मिनु अपराध होइन । तर समाजले अपराधीझैँ व्यवहार गर्छ । प्रेम गर्नु अपराध होइन । तर जातले सजाय दिन्छ । थर हुनु गौरव हो । तर मलाई थर लुकाउन बाध्य बनाइयो । आज म फेरि आफ्नो पुरानो थर प्रयोग गर्छु । किनकि धेरै लुकेँ । धेरै भागें । अब भाग्दिनँ । कोठा नदिने घरहरू अझै छन् । बिहे नमान्ने परिवार अझै छन् । दलित भित्रै विभेद गर्ने मनहरू अझै छन् । तर अब मौन बस्ने म छैन । म गाउँ फर्किन्छु कहिलेकाहीँ । त्यही धारा छ । त्यही बाटो छ । त्यही मन्दिर छ । फरक केवल यत्ति हो पहिले म डराउँथेँ, अहिले प्रश्न गर्छु । एकदिन मन्दिरअगाडि उभिएर मनमनै भनेँ, भगवान्, यदि तिमी सबैका हौ भने, ढोका खोल । यदि केहीका मात्र हौ भने, म बाहिरै ठीक छु । आमा अहिले बुढी हुनुभएको छ । उहाँ कहिलेकाहीँ मेरो अनुहार हेरेर भन्नुहुन्छ–तैले धेरै सहिस् बाबु ।
    म हाँसिदिन्छु । तर उहाँलाई थाहा छैन, मैले अझै सबै सुनाएको छैन । मलाई कोठा नदिएको शहर, प्रेम खोस्ने समाज, थर फेर्न बाध्य बनाउने व्यवस्था, आफ्नै बीचको विभेद, सबैले मिलेर मलाई तोड्न खोजे । तर म टुटेर पनि बाँचेँ । किनकी मेरो कथा केवल आँसुको होइन, अस्तित्वको पनि हो । यदि आज कुनै बच्चाले आमालाई सोधिरहेको छ, आमा, म किन फरक ? म भन्न चाहन्छु तँ फरक होइनस्, समाज बिरामी छ । यदि कुनै युवक कोठा खोज्दै थर लुकाइरहेको छ भने–तँ दोषी होइनस्, ढोका बन्द गर्नेहरू दोषी हुन् । यदि कुनै प्रेमी जातका कारण छुट्टिँदै छन् भने–तिमीहरूको प्रेम हार्दैन, समाज नांगिन्छ । र यदि कुनै दलितले अर्को दलितलाई हेपिरहेको छ भने–हामीलाई चोट दिने हातको नक्कल नगर । म अझै हिँडिरहेछु । घाउ बोकेर । नाम बोकेर । इतिहास बोकेर । एकदिन यस्तो समाज बनोस्, जहाँ बच्चाले आफ्नो थर बोल्दा डराउनु नपरोस् ।
    जहाँ कोठा पाउन जात नखुलाउन परोस् । जहाँ प्रेमलाई कुलले नमारोस् । जहाँ दलित शब्द पीडा होइन, संघर्षको सम्मान बनोस् । त्यो दिन शायद म पहिलो पटक ढुक्कसँग रोउँला । किनकि आजसम्मका सबै आँसु लुकाएर रोएको छु । यो पीडा मेरो मात्र होइन । हरेक त्यो मान्छेको कथा हो, जसले नाम लुकायो, प्रेम गुमायो, कोठा पाएन, अपमान सहे, तर अझै बाँचिरहेको छ । म दलित हुँ । म थाकेको छु । तर म हारेको छैन । हार्ने छैन । हरेक दिन दलितकै नाममा अपमान बोक्नेहरुका पक्षमा वकालत गर्नेछु । उनिहरुको अधिकारको खातिर संघर्ष गर्नेछु । पछिल्लो समय समाज बदलिएको छ तर सोच अझै बदलिन सकेको छैन । 

खड्क विक
बनेपा, काभ्रे