2026 April 20/ 07:15: 08am

           पहाडको काखमा बसेको त्यो सानो गाउँ बिहानैदेखि ब्युँझिसकेको थियो । चराहरूको आवाज, गाईबस्तुको घण्टी र टाढाबाट सुनिने खोलाको सुस्केरा–सबै मिलेर जीवनको साधारण तर सुन्दर संगीत बजाइरहेका थिए । त्यही गाउँमा जन्मिएको थियो आर्यन । ऊ अरू बालबालिकाजस्तै थियो । माटोमा खेल्ने, खोलामा पौडी खेल्ने, र साना–साना सपना देख्ने । म ठूलो भएपछि पाइलट बन्छु ! अनि भन्थ्यो म डाक्टर बन्छु ! कहिले भन्थ्यो । उसका बुबा हाँस्दै भन्थे, तँ जे बने पनि, राम्रो मान्छे बन्नु । तर त्यो ‘राम्रो मान्छे’ बन्ने यात्रा कति कठिन हुन्छ भन्ने कसैले सोचेको थिएन ।
         घरको अवस्था राम्रो थिएन । सानो खेत, केही बाख्रा र ऋण । पहिले पहिले साहुहरुले थोरै रकम दिएर धेरै असुल्थे । तर पनि गाउँमा अन्याय हुन दिदैन थिए । भोकै बस्न दिँदैन थिए । सकेको बेला ति¥यो, उनिहरुकै काम गरिदियो । बाँच्न कठिन थिएन । सामुहिक र सहयोगी भावना थियो । अहिले त्यस्तो भावना छैन । कसैले कसैलाई त्यसरी सहयोग गर्ने सोच राख्दैन । सहयोग गरेको अवस्थामा फाईदा कसरी असुल्ने भन्ने सम्झिरन्छ । स्वार्थी दुँनियामा रमाउनेहरु धेरै छन् । अरुको दुःखमा हाँस्नेहरु धेरै छन् । अरु बिग्रँदा रमाईलो मान्नेहरु धेरै छन् । सरकार भने पनि जनप्रतिनिधि भने पनि उनिहरु सबै स्वार्थका लागि गरिरहेका हुन्छन् । बोल्नेहरुले पिठो बिकाउँछन् । बोल्न नसक्नेहरुले चामल पनि बिकाउन सक्दैनन् । यो पहिले देखि अहिलेसम्म पनि चलिरहकै चलन हो । जुन जोगी आए पनि कान चिरेको भने जस्तो जुन सरकार आए पनि हामी जस्ता गरिबहरुका लागि बोलिदिने र अभिभावक बनिदिने सम्भावना कम नै देख्छु म ।
            आमाले धेरैपटक भनेकी थिइन् । हामीले यसरी कति चलाउने ? त्यसपछि एकदिन बुबाले निर्णय गरे, म विदेश जान्छु । त्यो निर्णय आर्थिक रूपमा सही थियो । तर भावनात्मक रूपमा खतरनाक । विदेश जाने दिन, आर्यन चुपचाप थियो । स्थानीयहरुसँग रकम मागेर बाबु विदेशको तयारीमा जुटे । दलालीले केहि रकम खाई दियो पनि । तर पनि घर परिवार चलाउन पैसा चाहिन्थ्यो । हरेक क्षेत्रमा महङ्गी थियो । महङ्गी मात्रै भएन परिवारका चाहना पुरा गर्न पनि विदेशिनुको विकल्प थिएन । आज बैदेशिक रोजगारमा नजाने ब्यक्तिहरुको घर खोज्न कठिन छ । गाउँ त्यसै रित्तो भएको छैन । मुलुकले रेमिट्यान्स पाएको छ । हाम्रो घर उजाड भएको छ । भविष्य अन्धकार बनेको छ । परिवार छिन्नभिन्न भएको छ । आखिर यो सबै पैसाका लागि थियो । पैसाकै कारण थियो । 
              बाबु विदेश जाने दिन आर्यन धेरै रोयो । नरोएस्, बुबाले भने, म छिट्टै फर्किन्छु । तर त्यो ‘छिट्टै’ वर्षौँमा बदलियो । त्यसैदिन अर्को निर्णय भयो, आर्यनलाई सहरको छात्राबासमा राख्ने । छात्राबास स्वतन्त्रता कि जोखिम ? सहरको जीवन चम्किलो थियो । तर त्यो चमकभित्र अँध्यारो पनि थियो । छात्राबासमा नियन्त्रण कम थियो । साथीहरूको प्रभाव बढी । यहीँबाट सुरु भयो, आर्यनको परिवर्तन । त्यहाँ उनले पाउनु पर्ने संगत पाउन सकेनन् । उनी गलत संगतमा फसे । उसले भेट्यो केही साथीहरू, जो पढाइभन्दा बाहिर रमाइला कुरा खोज्थे । जिन्दगी एकचोटि पाइन्छ, उनीहरू भन्थे । त्यो ‘रमाइलो’ लागू औषधसम्म पुग्यो । पहिलोपटक उसले डर र उत्सुकता सँगै महसुस ग¥यो । त्यो क्षण छोटो थियो । तर प्रभाव गहिरो । लतको विस्तार फैलियो । लागूऔषध अब उसको साथी बन्यो ।
                जब ऊ एक्लो हुन्थ्यो, त्यो साथ दिन्थ्यो । जब ऊ दुःखी हुन्थ्यो, त्यो सान्त्वना दिन्थ्यो । तर त्यो सान्त्वना झुटो थियो । छात्राबासमा बसेको छोरालाई आमा भेट्न आउन छाडिनँ । बाबुले पैसा पठाएको भए पनि दिन आउन भ्याईनन् । कारण धेरै थिए होला तर आर्यनसँग आमा पनि टाढिइन् । अर्कैसँग विवाह गरिन् । अब आर्यनसँग कोही थिएन । हजुरबुबा–हजुरआमाको माया थियो । तर उहाँहरु घरमा हुनुहुन्थ्यो । आर्यन छात्राबास । शिक्षकहरुले पनि आर्यनको बदलिँदो अवस्थाका बारेमा बुझे तर ढिला भईसकेको थियो । उनीहरूले प्रयास गरे । तर समय बदलिसकेको थियो । एसईईपछि पतनको बाटो शुरु भयो । पढाइ भन्दा बाहिरको जीवन हावी भयो । पैसा चाहियो । लतले दबायो । अनि शुरु भयो अपराधको साम्राज्य । सानो चोरीबाट सुरु भयो । ठूलो अपराधसम्म पुग्यो । समाज प्रतिक्रिया दिन थाल्यो । बिग्रेको केटा । त्यही नाम दिइयो । विदेशी रोजगारीले पैसा त ल्यायो, तर परिवार तोड्यो । समाजले साथ दिएन । न त विद्यालयले समयमै हस्तक्षेप ग¥यो । परिवार प्रणाली कमजोर हुँदै गयो । सामूहिक जिम्मेवारी हरायो । अन्ततः ऊ पक्राउ प¥यो । जेल उसको गन्तव्य बन्यो ।  
                 जेल सुधार केन्द्र हुनुपर्ने थियो, तर त्यो अपराध सिक्ने ठाउँजस्तो बन्यो । एक रात उसले आफूलाई सोध्यो, म यस्तो किन भएँ ? आमाको याद, बुबाको सपना, हजुरआमाको आँसु । सबै एकैचोटि आए । ऊ रोयो । धेरै रोयो । त्यही रात उसले निर्णय ग¥यो, म फेरि सुरु गर्छु । केवल जेल होइन, रिह्याब, काउन्सेलिङ, शिक्षा, पुनस्र्थापना । आर्यन जस्ता युवाहरू फर्किन सक्छन् । यदि समाजले मौका दियो भने । एउटा बालक बिग्रनु उसको मात्र गल्ती होइन, त्यो हाम्रो सामूहिक असफलता हो । हरेक बिग्रिएको जीवनभित्र, अझै पनि एउटा राम्रो भविष्य लुकेको हुन्छ, यदि हामीले त्यसलाई देख्न सक्यौं भने । 
बिहानको पहिलो घाम जेलको सानो झ्यालबाट भित्र पस्दा आर्यनको अनुहारमा हल्का उज्यालो प¥यो । तर त्यो उज्यालो उसको मनसम्म पुग्न सकेको थिएन । उठ ! पहरेदारको कडा आवाजले उसलाई झस्कायो । ऊ बिस्तारै उठ्यो । उसको शरीर मात्रै होइन, आत्मा पनि थाकेको थियो । त्यो बिहान उसले एउटा कुरा महसुस ग¥यो, जेलको ढोका बन्द भए पनि उसको जीवन पूर्ण रूपमा बन्द भइसकेको थिएन । तर त्यो अझै खुल्न बाँकी थियो । जेलभित्र ऊ एक्लो थिएन, तर ऊ अझै पनि एक्लो महसुस गथ्र्यो । त्यहाँ विभिन्न कथाहरू थिए, कोही गरिबीले अपराधी बनेका, कोही परिस्थितिले, कोही आफ्नै निर्णयले । त्यहीँ उसले भेट्यो रमेश । रमेश उमेरले धेरै ठूलो थिएन, तर अनुभवले बृद्ध जस्तै देखिन्थ्यो । पहिलोपटक हो ? रमेशले सोध्यो, आर्यनले टाउको हल्लायो । डर लाग्छ ? हो...। सबैलाई लाग्छ । त्यो छोटो संवादले आर्यनको मनमा केही नरमपन ल्यायो । रमेशले आफ्नो कथा सुनायो, म पनि तेरै जस्तै थिएँ...सानो गल्ती, त्यसपछि ठूलो...। आर्यन चुपचाप सुन्दै थियो । तर फरक के भयो थाहा छ ? रमेशले भन्यो, मैले कहिल्यै रोकिएर सोचेनँ, ‘म कहाँ जाँदैछु ?’
                त्यो वाक्य आर्यनको मनमा गहिरो गरी बस्यो । एकदिन जेलमा एक परामर्शदाता आयो । तिमीलाई कुरा गर्न मन छ ? उसले आर्यनलाई सोध्यो । पहिले ऊ चुप रह्यो । तर केही समयपछि बोल्न थाल्यो । उसले पहिलोपटक आफ्नो जीवन कसैसँग खोलेर सुनायो, आमा, बुबा, छात्राबास, लागूऔषध, सबै । परामर्शदाताले ध्यान दिएर सुनिन् । तिमी खराब होइनौ, उनले भनिन्, तिमी घाइते छौ । त्यो वाक्यले आर्यनको आँखामा आँसु ल्यायो । जेल भित्र पनि पत्रहरु आदान प्रदान हुन्थे । जुन आर्यनले पनि गरेको थियो । गाउँमा रहेका हजुरबुबा, हजुरआमा उसको भविश्यका बारेमा चिन्ता गर्थे । एकदिन पहरेदारले उसलाई एउटा चिठी दियो । चिठी आर्यनको बुबाको थियो । छोरा, तिम्रो बारेमा सुनेँ...। म दुःखी छु, तर तिमीमाथि आशा अझै छ...। आर्यनले पढ्दै जाँदा उसका आँसु झर्न थाले । म चाँडै आउँछु, चिठीको अन्त्यमा लेखिएको थियो । 
              त्यो रात ऊ फेरि रोयो । तर यो पटकको रोइ हारको थिएन, यो स्वीकारोक्ति र पश्चातापको थियो । म फेरि उठ्न चाहन्छु...। उसले मनमनै भन्यो । उसले जेलभित्रका कार्यक्रमहरूमा भाग लिन थाल्यो, पढाई, सीप तालिम, समूह छलफल, बिस्तारै उसले आफूलाई पुनः बनाउने प्रयास ग¥यो । बाहिर समाज अझै पनि विभाजित थियो, यस्तालाई मौका दिनु हुँदैन ! केही भन्थे । सुधार्ने अवसर दिनुपर्छ, अरू भन्थे । यो केवल आर्यनको मुद्दा थिएन, यो समाजको सोचको परीक्षा थियो । अन्ततः अदालतको दिन आयो । आर्यनलाई उभ्याइयो । न्यायाधीशले सोधे, तिमी आफ्नो गल्ती स्वीकार गर्छौ ? उसले टाउको झुकायो र भन्यो हो...। कोर्टमा सन्नाटा छायो । न्यायाधीशले भने, तिमीलाई सजाय हुन्छ...। तर तिमीलाई सुधारको अवसर पनि दिइन्छ । त्यो निर्णय कठोर पनि थियो, आशावादी पनि । आर्यनलाई सुधार केन्द्र पठाइयो । त्यहाँ वातावरण फरक थियो । त्यहाँ गालीभन्दा सहानुभूति थियो, दण्डभन्दा मार्गदर्शन । एकदिन अचानक आमा आइन् । आर्यन स्तब्ध भयो । आमा...। उसको आवाज काँप्यो । आमा रोइन् । म गलत थिएँ..उनले भनिन् । दुवै रोए, वर्षौँको दूरी, आँसुले भिज्यो । केही दिनपछि बुबा पनि आए । उनीहरू एकअर्कालाई हेरे, शब्दहरू हराए । 
              अन्ततः बुबाले अँगालो हाल्नुभयो । त्यो अँगालो दण्डभन्दा ठूलो थियो । समय बित्दै गयो । आर्यन बदलिँदै गयो । उसले नयाँ जीवन सुरु ग¥यो, पढाइमा फर्कियो अरू युवालाई सल्लाह दिन थाल्यो । आफ्नो कथा सुनाउन थाल्यो । जब ऊ समाजमा फर्कियो, सबैले स्वीकार गरेनन् । तर केहीले गरे । र त्यो केही नै पर्याप्त थियो । उही गाउँको आँगनमा उभिएर उसले आकाशतर्फ हे¥यो । म अझै बाँचिरहेको छु...। उसले मनमनै भन्यो । यो भोगाई मेरो मात्रै होईन, यो परिवारको कथा हो, समाजको कथा हो, राज्यको जिम्मेवारीको कथा हो । दण्डले डर जन्माउँछ, तर माया र अवसरले परिवर्तन । 
आर्यन आज समाजमा सकारात्मक सन्देश बाँडिरहेको छ तर समाज नकारात्मक सन्देश मात्रै पत्याईरहेको छ । असल कार्यको भन्दा खराब कार्यको चर्चा भएको छ । उनिहरुको परिवार अहिले पुनर्मिलन भएको छ । आमाले पनि गल्ति महसुस गरेर फर्किएकी छिन् । तीनजनाको परिवारसँग हजरबुबा खुशी छन् । हजुरआमा वितिसक्नु भएकाले आर्यनसँग भेट भएन । तर पनि उनले दुःख मानिरहेका छन् । उनको परिवार सहज बनाउन छिमेकीहरुको पनि मेहनत छ । आज गरिबको घरमा मात्रै नभई धनीको घरमा पनि यो समस्या बल्झिन थालेको छ । सचेत रहौं, सजग बनौं । सबैभन्दा ठुलो सन्देश सन्तानलाई अभिभावक भन्दा टाढा नपठाउ । 

ऋषिकेश घिमिरे
हालः काठमाडौ