धुलिखेल/पूर्ण सञ्जीवनी लंखनामाई माध्यमिक विद्यालय धुलिखेलको ६६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस, छात्रबृत्ति एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष सुर्वणकाजी चोच्छे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यालयकी प्रधानाध्यापक गायत्री तिमल्सिनाले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका आगामी योजना र समस्याका बारेमा ध्यानाकर्षण गराएकी थिईन् । शैक्षिक सत्र २०८२ मा उत्तिर्ण शिशु देखि कक्षा ९ सम्म उत्तिर्ण भएका विद्यार्थीहरुलाई पुरस्कार तथा छात्रबृत्ति वितरण गरिएको कार्यक्रममा विद्यालयले आगामी शैक्षिक सत्रहरुमा छात्राहरुका लागि छात्राबास संचालन गर्ने, संगीत विषयलाई अझै प्रभावकारी र ब्यवस्थापन गर्ने योजना रहेको प्रधानाध्यापक गायत्री तिमल्सिनाले बताईन् ।
शैक्षिक सत्र २०८३ मा ३ सय ७८ जना विद्यार्थी भर्ना भएका छन् । अघिल्लो वर्षमा भन्दा ५७ जना थप नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना भएका छन् । विद्यालयले संचालन गरेको बसमा १ सय ६२ जना विद्यार्थी आवतजावत गरिरहेका छन् । विद्यालयले भौतिक पुर्वाधारको अभावका बीच गुणस्तरीय शिक्षा प्रदान गरिरहेको सहभागीहरुले बताए । सिकाई उपलब्धी, सिकाई बृद्धि तथा प्रविधी मैत्री शिक्षा, अतिरिक्त कृयाकलाप, विद्यालय सुधार योजना लगायतका विविध कृयाकलाप गरिएको प्रधानाध्यापक तिमल्सिनाले बताईन् ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सविता दंगाल, धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख डिकबहादुर राई, शैक्षिक सशक्तिकरण केन्द्रका कार्यकारी निर्देशक दिपक रोक्का लगायतले विद्यालयले प्रदान गरिरहेको शिक्षा, गुणस्तरीय शिक्षाका लागि भएका प्रयास र एमजीएमएल कार्यक्रमको प्रभावकारीताका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा विद्यालयका संस्थापकहरुका नाममा स्थापना गरिएका पुरस्कार तथा छात्रबृत्ति, विद्यालयलाई सहयोग गर्ने दाताहरु, जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधिहरु लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीद्वय विनिता तामाङ र मञ्जु घर्ति मगरले स्वागत मन्तब्य राखेका थिए ।









