
२०३७ सालमा मेरो जन्म भयो । परिवारको दोश्रो सन्तानको रुपमा । दाई म भन्दा दुई वर्ष बढी उमेर भएको र एउटा भाई म भन्दा दुईवर्ष कम भएको तीन सन्तान आमाबाबुको आँखाको नानी हुनुपर्ने । तुलबुलिन नपर्ने आमाबुबाको काखमा लडिबुडी खेल्नुपर्ने कलिलै उमेरदेखि नै जीन्दगीमा तुषारापात भयो । खै कसरी सम्झुँ । पटक्कै मन छैन सम्झन तर पनि पलपल बिथोल्छ मलाई । आजसम्म मैले नबुझेको किन र कुन कारण आमाबुबाको बिच असमझदारी भयो मैले बुझ्न सकिनँ । जब म केही बुझ्ने भएँ आमाबुबाको झगडा नभएको कुनै दिन नै थिएन होला । हर दिन बाबाले आमालाई पिटेको देख्दा म पाँच वर्षको हुँदा नै घरको हँसियाले बाबुको हत्या गर्ने भनि गएको थिएँ । विचरी थुप्रै यातना सहिन् । हरदिनको पिटाई, लालाबाला सन्तानहरुको पालनपोषण त्यसमाथि पनि बुबाले अर्की श्रीमती भित्र्याए । सहेकै थियौ । माया गर्लिन् नि कान्छी आमाले अनि बाबु पनि सुध्रिएलान् भन्ने थियो तर उल्टो भयो । हाम्री आमा माथिको यातना र हामी माथिको दुव्र्यवहारले सिमाना नाघ्यो, चरम यातना दिइयो हामीलाई । हरेक दिन भातको साटो आँँशु पिउनु पथ्र्यो । अन्ततः घरबाटै निकालिइन् हाम्री आमा । लालाबाला तीन सन्तान साथ लिएर । केही दिन मामाघरमा बस्यौं । त्यहि त हो नी अर्काको सन्तानहरु कसले पाल्छ र ? एकदुई दिन सम्म त ठिकै हुन्छ धेरै दिन भएपछि सबैलाई झर्काे हुँदोरहेछ । सायद आमाले माइतीलाई पनि बोझ दिन चाहिनन् र फेरी श्रीमान्कै घर फर्किइन् । तर घरमा सदाको लागि ताल्चा लगाइएको थियो । रात पर्दा समेत हामीलाई त्यस घरमा बास दिइएन । हामी अलपत्र प¥यौं । कता जाने कता ? आमा रुन थालिन् । दाई आठ वर्षको म छ वर्षकी अनि भाई चार वर्षको मात्र । हाम्रो विजोग देखेर होला छिमेकी काकाले गुन लगाए । आजको रात यतै बस भोलि गाउँले बोलाएर कुरा गरौंला । त्यसदिन त्यतै बस्यौं । भोलिपल्ट गाउँले डाकियो । तर बाउ डगमगाएनन् कान्छी आमाको चँगुलमा फसिसकेका थिए उनी । हामीले बास पाएनौं । तिनै छिमेकीले हाम्रै खेतीमा काम गर्नु पुरानो घरमा बस्नु र केटाकेटीलाई पढाइदिउँला खान दिउँला भने । त्यसपछि मेरी आमाको आँखामा केही खुशीको आभाष महसुस गरे मैले । हामी त्यही घरमा बस्यौं । तिनै काकाले स्कूल हालिदिए । हाम्री आमा उनकै खेतबारीमा मजदुरी गर्न थालिन् । जीवन त्यसै चलेको थियो । दाई अलि ठूलो भएकाले बुबासँग अंश माग्ने गर्थे त्यहि निहुँमा दाजुलाई अझ धेरै मानसिक तनाव दिन्थे ।
आजभोलि मलाई जीन्दगीका बारेमा एक हरफ लेख्न मन लाग्छ । एक चिम्टी जीन्दगी महसुस गर्न मन लाग्छ । एक एक थोपा आँशुको मूल्यांकन गर्न मन लाग्छ । कति विवश हुन्छ मान्छेको जीन्दगी भन्ने कुराको भेउ पत्ता लगाउन मन लाग्छ । जीन्दगीले दिएको धोका हो या भाग्यले लेखेको भोगाई या मेरो कर्मको खेल मैले बुझ्न सकिनँ जीन्दगीलाई । गल्ती मेरो थियो या मेरो भाग्यको या यो ढोंगी समाजको या त समाजलाई आफ्नो काबुमा नचाउने यो पुरुषत्वको । खै मैले बुझ्नै सकिनँ । लाग्छ कहिले म दुःखमा जसले साथ दियो उसको गुण तिर्न जलिरहें । कहिले फेरी मन विद्रोही बन्छ र सबैलाई चिथोरौं । यो जंजीर भित्रको जीन्दगीदेखि नै भागौं झै लाग्छ । कताकता विचलित हुन्छ मन । खानु र लाउनु मात्र पनि जीवन होइन रहेछ । मानसिक रुपमा पाएको पीडा र मेरो संवेग सधंै गिज्याउँछ । हुन त पेटभरी खान नपाउने र मौसम अनुसारको कपडा लगाउन नपाउनेको कथा र व्यथाहरु पनि विकराल छन् तर आज म सबै धन र सम्पत्तिमा पौडिँदा पनि जीवनको सन्तोष महसुस गर्न पाएकी छैन । चलेकै थियो तर खुशी कहाँ टिक्छ र । आमा बिरामी भइन् उठ्नै नसक्ने गरी थला परिन् । म १२ वर्षकी भएकी थिएँ । आमाले गर्ने सबै काम आफैं गर्थें । खेतीपातीको काम पनि सबै गर्थें तर उपचारका लागि पैसा जुटाउन सकिनँ । तिनै काकासँग रोएँ कराएँ केही थोरै पैसा सहयोग गरे । अस्पताल लगें मैले तर आमालाई कहिल्यै निको नहुने रोग क्यान्सर भएको रहेछ । उपचार लागेन । घर फर्काए । घर ल्याएको केही दिनमै आमाले दुःखको यो संसारबाट त पार पाइन् तर हाम्रो जीवन अझै आँशु आँशु भयो । आमाको मृत्युपछि दाईको मानसिक अवस्था खराब भयो । बस्ने खाने टुंगो भएन । ऊ घर आउन पनि छाड्यो । कहाँ गयो कता गयो । कसले खोज्ने कहाँ जाने ? हाम्रो को थियो र ? आमा बितेको दिन तिनै छिमेकी काकाले नरोउ म छु भनेका थिए । तिनै काकाको सहारा बाहेक हामी सँग कोही थिएन । आमा बितेपछि दाई बेपत्ता भएदेखि नै काकाले हाम्रो अलि धेरै हेरचाह गर्थे । हामीले खाए नखाएको, पढे नपढेको सबै रेखदेख गरेका थिए । म १४ वर्षकी थिएँ । एक दिन हल्का बिरामी परेकोले विद्यालय नगई बसेकी थिएँ । काका आए औषधि लिएर । औषधि खाएँ । केहीबेर सँगै बसे । मायाले सुम्सुम्याएझै लागेको थियो । तर उनमा उन्माद थियो । सायद मेरो शरीरसँग । विस्तारै उनी मलाई आफ्नो शरीरसँग निकट बनाउन थाले । म झस्किएँ । कराउन थालें । तर उनले मलाई म तलाई असाध्यै माया गर्छु यो कुरा कसैलाई नभन । तँलाई सानोदेखि नै हुर्काएँ मैले माया गर्छु । सबैकुरा पु¥याइदिउँला भन्न थाले । मैले मानिनँ । उनी धम्क्याउन थाले । तँलाई घरबाट निकालिदिन्छु । सबैका अगाडि बेइज्जत गरिदिन्छु यस्तै यस्तै .... । म लम्पसार परें । म सँग केही विकल्प थिएन । म ढुंगो भएर ढलें । कि त म फेरी घरवार विहीन हुनुप¥यो कि त चुपचाप सहनुप¥यो । काकाले खेल्नु खेले मेरो शरीर सँग त्यसदिन । मैले खुब सोचे घर छाडेर जाने समेत निर्णय नगरेको होइन । भाई सानै थियो । उसलाई पनि म कहाँ लैजाऊँ ? फेरी जतिबेला बाउले निकालेर उठिबास हुँदा आमा मृत्युशैयामा हुँदा लगाएको गुणको लागि पनि म जल्नुपर्छ भन्ने ठानेर बसें । त्यस दिनदेखि लगभग निरन्तर जस्तै काकीको आँखा छलेर मसँग नै शारिरीक सम्पर्क गर्थे । मलाई चाहिने हरेक आवश्यकता पूरा गर्न कुनै कमी गरेनन् उनले ।
१८ वर्षको हुने वित्तिकै भाईलाई विदेश पढ्न पठाए । लाउँलाउँ खाउँखाउँ भन्ने मेरो उमेर अनि वैंशले उन्मत्त मेरो शरीर खुब खेले काकाले । उनी म भन्दा ३० वर्ष जेठा थिए । मलाई अरु साथीभाई कसैसँग पनि संगत गर्ने अनुमति थिएन तर भौतिक चिजको सुख भने कुनै कमी गराएनन् । चंगा झै मेरो उमेर पिँजडामा सीमित थिए । कोही केटा साथीसँग त आँखा समेत जुधाउनु हुन्न थियो । काकीले पनि शंका गर्न थालिन् । घरमा मेरै विषयलाई लिएर खुबै झगडा हून्थ्यो । भाउजुले केटा खोजेर विवाह गरिदिने कुरा गर्नुभयो । तर काकाले सबैसँग झगडा गरे र मलाई विवाह गर्नु दिनुभएन । मलाई घरबाट निकालेर काठमाडौंमा कोठामा राखे र त्यस्तै पढाउन भनि कलेजमा भर्ना गरिदिए । सबै भौतिक खुशि दिए तर शारीरिक रुपमा म उनकी श्रीमती झै थिएँ । मलाई कसैसँग विवाह गर्न समेत अनुमति दिएनन् । म भागेर जान पनि नखोजेको होइन तर मलाई यस्तो बाध्यताले थिचेको थियो कि म त्यसबाट बाहिर निस्कनै सक्दिनथे । समय समयमा विदेश घुमाउँथे । बाहिरी हाँसो भएपनि म हरदिन रोएर नै बिताउँथे । उनी सँगको मेरो यस प्रकारको यात्रा २० वर्ष चल्यो । सम्पत्ति पनि थुप्रै कमाए उनले म पनि जागिरे भएर कमाउँथे । दिनभरी काममा व्यस्त हुन्थे उनी साँझ म सँग आयो शारिरीक भोक मेटायो अनि घर लाग्थे । भरभराउँदो मेरो जवानी मैले एक्लै रात काटेको छु । मलाई पनि त रहरहरु लाग्दो हो । आफ्नो श्रीमान होस् परिवार होस् बच्चाहरु हुन् । मेरो मन पनि त नारी मन हो तर मैले सधैं एक्लो रात काट्नुपथ्र्यो । उनि कुन दिन पुक्लुक्क हुने हुन् मेरो त्यसपछिको जीवन के हुन्छ भन्ने डर लाग्थ्यो । विवाह गरौं कोसँग गरौं फुल्न नपाउँदै निमोठएकी मलाई कसले विवाह गर्छ ? जवानी जति अर्कैलाई सुम्पेकी म कसरी अरु कसैकी भएर सुखले बाँच्न सक्छु ? म मानसिक रुपमा विक्षिप्त भएँ । मलाई यस्तो घिन लाल्दो र दर्दनाक जीन्दगी बाँच्न मन लागेन र विष पिएर आत्महत्याको प्रयास गरें । मलाई छिमेकी कोठाको साथीले थाहा पाई अस्पताल लगिछिन् र फेरी दुःखको संसारमा फर्किएँ । ति साथीलाई आफ्ना सबै दुःखको पोको फुकाएँ उनले नै नाता प्रमाणित गर भन्ने सल्लाह दिइन् । त्यसभन्दा अघि बाबुसँग अंश मुद्दा गरें र अंश लिई भाईको नाममा पास गरें । तर उनि विरुद्ध जर्बजस्ति करणी तथा अन्य कुनै मुद्दा दर्ता गर्न मन लागेन । त्यो जीवनभर पछुताउने अर्काे कर्म जस्तो लाग्यो । उनको स्वार्थ सहितको सहयोगलाई सलाम गर्दै हामी अलग्गै बस्ने निर्णय ग¥यौं । मेरो जस्तै दुःख भोगेका ब्यक्तिलाई भेटें । उनको र मेरो मन मिल्यो । श्रीमतीबाट पीडित भएर अलग्गै बसेका पुरुषसँग मेरो भेट भयो । अहिले हामी सँगै छौं । समाजमा यस्ता थुप्रै घटना भएका छन् । ति घटनाहरुले सबैलाई उद्देलित बनाउँछ । कोहि सहमतिमा बस्छ । कोहि जर्बजस्तिमा बस्छ । कानुन एकातिर छ । ब्यवहार अर्काे तिर छ । तर पनि ब्यक्तिले गर्नुपर्ने दायित्व बाँकी नै हुने रहेछ । जन्मँदा लिएर आएका भोगाई सबै पुरा नगरी मान्छे मर्न कहाँ सक्दो रहेछ र ? ब्यक्तिको लेखान्त जन्मदै लिएर आएको हुन्छ । सायद त्यहि भोग्नु पर्छ । मर्न चाहेर पनि मर्न नपाईने त्यहि लेखान्त नै त होला नि हैन र ? मान्छेका चाहना, संकट र त्यहि संकटको बीचमा ब्यक्तिहरुले उठाउने फाईदा पनि अनेकखालका हुने रहेछन् । चाहेर पनि ब्यक्त गर्न नसकेका यस्ता घटना समाजमा अरु पनि होलान नि है ??
श्रृंखला उप्रेति
ओखलढुंगा,
हालः काठमाडौ