2025 July 14/ 04:49: 16am

    सबि अस्पतालको बेडमा निदाए झैं लाग्थिन् । उनी लडेर टाउकामा गहिरो चोट लागेको रहेछ । उनी बेहोस थिइन् । डाक्टर सबिलाई नियाल्दै औषधी लेख्दै थिए । छेवैमा उनकी सासू आफूलाई धिक्कार्दै भगवानसँग गुनासो गर्दै थिइन भगवान् तिमी कसरी यति निष्ठुर हुन सक्छौ ? छोरा दुई वर्ष नपुग्दै मेरो पति खोस्यौ, नातिलाई गर्भे टुहुरो बनायौ, आज बुहारी पनि खोस्न लाग्यौ । नातिले सधैं । बाबा खै  भनेर पिरोल्ने, अब आमा पनि खै भनेर सोध्दा म के जवाफ दिऊँला ? भगवान् ! जे जे सजाँय दिनु छ मलाई देऊ । उहाँको कुरा सुनेर डाक्टरले आमालाई धैर्य राख्न अनुरोध गरे । उनी बेला बेला सबिलाई नियाल्थे । उनी सार्है राम्री, सेतो साडीमा चन्द्रमा झैं उज्याली । शायद बाईस, पच्चीसकी हुँदि हुन् । फुल्न लागेको गुलाब झैँ अनुपम थियो उनको रुप । डाक्टर उनीप्रति आकर्षित देखिन्थे । नाति डाक्टरकै अघि पछि कुदिरहन्थ्यो । ऊ चार वर्ष को मात्र थियो।
    केही दिनको उपचार पछि सबि निको भएर घर गइन् । शेखरलाई सबिको संझना आइरह्यो । उनी केही दिन अगाडि मात्र सबिको छिमेकीका घरमा डेरा सरेका रहेछन् । उनी आश्रममा हुर्केका, बढेका र पढेर डाक्टर भएर आएका रहेछन् । उनलाई त्यो परिवारको औधीमाया लाग्न थालेछ । एक दिन सबिकी सासूसँग उनले सोधेका रहेछन । आमा, मलाई आफ्नो छोरा स्वीकार गर्न सक्नु हुन्छ ? सासूको मनमा एक किसिमको शीतलता छाउन थालेछ, उनलाई पनि शेखर आफ्नै छोरा झैँ लाग्न थालेको रहेछ । एकदिन शेखर आँटै गरेर सबि लाई भेट्न केही औषधी, खानेकुरा र फूलको गुच्छा लिएर गए । त्यो दिन प्रणय दिवस रहेछ । सबिसँग निकै बेर गफिए र फर्किए । सबिले शेखरले ल्याइदिएका झोला खोलिन् । त्यहाँ एक टुक्रा कागजमा लेखिएको रहेछ । सबि ! म तपाईंलाई हृदयदेखि नै चाहन्छु, माया गर्छु ! बाचुन्जेल साथ दिन चाहन्छु । मलाई बिस्वास गर्नुहोस् । जब सम्म तपाईंको हृदयमा मेरो नामको प्रेम अंकुरित हुने छैन तब सम्म म तपाईंको पर्खाइमा रहनेछु । प्रणय दिवसको शुभकामना सबि !
    पत्र पढेर उनलाई आफ्नो बिधवापनको मजाक उडाए झैँ लाग्यो । दुई–चार दिन अस्पतालमा सेवा गर्ने बित्तिकै सोध भर्ना मागिहाल्नु पर्ने ? यो त डाक्टरको धर्म हैन र ? सबिले सासूसँग गुनासो गरिन् । सासू मौन रहिन् । उनी त बुहारीको जोडा बाँध्न पाए हुन्थ्यो भन्ने आशमा मात्र हुन्थिन् । डाक्टरले धेरै पटक सबिसँग प्रेम प्रस्ताव राखे । उनको मनमा डाक्टर प्रति कति माया थियो थिएन, देखाइनन् । छोरो भने डक्टरको हात समाउँदै अघि पछि हुन्थ्यो । उनीसँग निकै रत्तिएको थियो । यो दृष्यले सबिकी सासूलाई भित्रभित्रै पीडा हुन्थ्यो । झल्झल्ती आफ्नो छोराको संझनाले डस्थ्यो । अर्काे दिन फेरि डाक्टर सबिलाई भेट्न गए । केही छिनको भलाकुसारी पछि सासूआमा फूलमा पानी हाल्ने बहानाले बाहिर निस्किन् । फुच्चे पनि हजुरआमासँगै पछि–पछि लाग्यो । वातावरण सुनसान थियो । लाग्थ्यो, सियो खस्दा नि आवाज आउँछ झैँ । शेखर फेरि सबिसँग प्रेमको याचना गरिरहेका थिए । सबि टाउको निहुराएर सुनि मात्र रहेकी थिइन् । शेखरको कुरा सकिएपछि उनी भन्दै थिइन डाक्टर साब ! भाग्यले ठगिएकी मजस्ती नारीले एकपटक रङ्गिएर पखालिको सिउँदोमा सिन्दुर लगाउनु त के, सोच्नु पनि पाप हो । यो जुनी त यस्तै भैहाल्यो, अर्काे जुनी रहेछ भने म हजुरकी अर्धाङ्गिनी हुनेगरी जन्मिन पाऊँ ।
    सबि जी, मलाई अर्काे जुनीको विश्वास छैन । म एक डाक्टर हुँ, विज्ञानले प्रमाणित नगरेको कुरामा म कसरी भर परुँ ? सवाल अर्काे जुनीको हैन, यही जुनीको हो । पहाड जस्तो जिन्दगीलाई तपाईं एक्लैले काट्न मुस्किल पर्छ । तपाईंको बाँकी जिन्दगीमा आइपर्ने कठिनाइलाई सहजै पार लगाउन म तपाईंको हात थाम्न चाहन्छु । मान्छेले बनाएको पाप र धर्मको नियम उलंघन गर्दा एक बेसाहारा नारीको जीवनमा बसन्त बहार आउँछ भने म त्यो पाप गर्न तयार छु सबि । यो बच्चाको सुन्दर भविष्यको खातिर म अभिभावकत्व स्वीकार्न तयार छु । म माथि भरोसा राख्नुहोस् । तपाईंको यो खाली सिउँदोमा मेरो नामको सिन्दुरले रङ्गाएर यो जुनीभर तपाईंको सहयात्री बन्न दिनुहोस् सबि ! डाक्टर शेखर सबिलाई भेटेर निस्किए । केही छिनमै आँधी–तुफान मच्चियो । बिजुली चम्कियो, चट्याङको आवाज कानै खानेगरी आयो । हावाको झोंक्काले झ्यालको पल्ला खोलियो । झ्याल लगाउन उनी गइन् । बिजुलीको उज्यालोमा बाहिर शेखर भिजिरहेको देखिन् । एक्कासि उनको मनमा शेखर प्रतिको माया भेल बनेर उर्लियो । झ्यालैबाट उनी चिच्याउँदै आइ लभ यू शेखर भनिन् । डाक्टरलाई भित्र ल्याइन्, अनि गुनासो गर्दै भनिन्थ्यो पनि कुनै माया गर्ने तरिका हो ? हजुरलाई केही भइहाल्यो भने ? केहीबेर पछि आमाले शेखरको हातमा सिन्दुरको बट्टा दिँदै भनिन डाक्टर बाबु यो सिन्दुरले सबिको सिउँदो भरिदिनुस् । शेखरले सबिको सिउँदो रङ्गाई दिए । उनको उजाडिएको जीवनमा पुनः बहार आयो । उनको आँखा भिजे । हजुरआमा र नातिका आँखामा हर्षका आँसु तप्किरहेका थिए । त्यो देखेर डाक्टरका नयनबाट पनि आँसुका दाना तप्प तप्प खस्न थाले ।
    त्यो बेला गाउँमा पत्रिका पढ्न पाईदैनथ्यो । कुनै कुनै एफएम लामो तार वा एन्टेना जडान गरे पछि मधुरो टिप्थ्यो । गाउँमा एउटा एउटा घरमा मात्रै टेलिभिजनमा समाचार हेर्न सकिन्थ्यो त्यो पनि ब्याट्रीको चार्ज नसकिँदासम्म । ब्ल्याक एण्ड ह्वाइट टेलिभिजनको पर्दामा दिनभरका घटनाक्रम, देश तथा विदेशबाट संकलित समाचार पढ्दै पाना पल्टाउँदै राख्दै गरेको हेदा अचम्म लाग्थ्यो । पर्दामा चटक्क सजिएर देखा परेका एकंर, स्क्रिनमा एकपछि अर्को गर्दै फुत्त फुत्त आइरहने स्क्रोलहरु, एकंरले जुन पातो उचालेर पढ्यो त्यही अनुसार मिलेको भिडियो क्लिप । विच विचमा विज्ञापन अनि फेरि समाचारका क्लिप, पत्रकारले कसरी मिलाउँदा हुन् यी हरफ र टोन स्लेबलहरु ? कसरी मिलेको होला पढाइको शैलीमा भिडियोका क्लिप र फोटाहरु ? विनयको किशोर अवस्थाको मानसपटलमा यी र यस्तै प्रश्नहरु मडारिरहन्थे ।
    देशभर छरिएका समाचार संकलन गरेर रेडियो र टेलिभिजनमा फरर पढेको न्यूज टोन र दृष्यात्मक ट्यूनको आकर्षणले विनयलाई सानैबाट पत्रकार बन्ने भोक जागेको थियो । पत्रकारिताको हुटहुटी मेट्न भित्ते पत्रिका निकालेर विद्यालय परिसरमा बकाइनो र पैयुका रुखमा बोर्ड टाँसेर साहित्यिक भित्ते पत्रिका प्रकाशन गर्दा ठूलै काम गरेको अनुभूति हुन्थ्यो । विभिन्न कोलममा कतै कविता, कतै छोटा कथाहरु, कतै गाउँघरमा अलि ठूलो मुल्यमा भैसी, गोरु र खसी विकेका समाचार, वीउ आलु र दुधालु गाईका टुक्रे कथा, कोदो र अलैंचीले भाउ पाएका समाचार पनि मिलाएर भित्तेपत्रिकामा सिमीका पात निचोरेर तयार पारेको हरियो मसीमा कुचोका डाँठ, बाँसका टुप्पी र परेवाका प्वाँखले लेखेर पनि समाचार तयार गरेको अनुभूति ताजा छ । एक्काइसौ शताब्दी निकट पत्रकारिताको समयमा बलपेन नभएको भने होइन तर वाँस र कुचोका डाँठ कपेर बनाइएका पोतो र कुचीहरुले नै भित्तेपत्रिकामा अक्षरको आकर्षण थप्दथ्यो । मसीमा चोबेर बाँसका टुक्राले लेखेका अक्षरहरु आकर्षक र चटक्क मिलेका हुन्थे । 
    ड्रोइङ पेपरमा समाचार र कविताका हेडिङ राम्रा अक्षरमा घुमाएर लेख्ने कलाको अभ्यासले परापूर्वकालमा चराको प्वाँख र हरियो सिमीका पात निचोरेर बनाइएको मसीलाई लेख्ने साधन बनाइएको थियो भन्ने भनाई पनि अभ्यासको नौलो श्रृखला हुन सकेन । यस्तै प्राकृतिक कुचीहरुको सहयतामा गाउँका विद्यालयका वालहरुमा महानवाणी र कोटेसनहरु पनि लेखिएका हुन्थे । चराका प्याँखले घुमाएर लेखेका अक्षरहरु अझ आकर्षक र इटालिक स्टायलका हुन्थे, हेर्दै कति मज्जा र आनन्द आउँने । विभिन्न रंगका वनस्पतिका फूल या पातहरूलाई पिसेर आएको रंगलाई मसिदानीमा जम्मा गर्दै बाँसको तिखो टुप्पोलाई मसीमा चोप्दै लेख्दै गर्दा बनेका अक्षरका आकृति र चित्रहरुको आकर्षक र अग्रजहरुले गरेको बर्णनले पनि विनयलाई प्रकाशनतर्फ उत्साहित गरेकै थियो । 
    भित्ते पत्रकारिताले लय लिँदै गएको थियो । छायाँमा पारिएका बस्तीहरुमा जागरण ल्याउँदै थियो, खेताला गोठालाहरु खेतीबाट फकिँदा भारी विसाएर पसीना ओभाउँन्जेल विश्राम गरेर खेतीका कथा पड्थे । भरीयाहरु भारी विसाएर भरीयाकै कथा पड्थे, विद्यार्थीहरु स्कूल सकेर कविता र गाउँका समाचार पढ्थे । गाउँभरीका समाचारको संगालो थियो त्यो । त्यो असत्यहरुको उजागर थियो, सूचनाविहिनहरुको सारथी थियो, आवाजविहिनहरुको आवाज थियो, विचारविहिनहरुको दस्तावेज थियो, दविएकाहरुको भावना पोख्ने स्पेस थियो । समयको गतिसँगै प्रविधिको तिव्रतम विकास रोकिने कुरै परिकल्पना बाहिरको कुरा हो । कम्प्युटरको जमानामा पनि कम्प्युटरको सजिला र अप्ठयारा कथा छुट्टै होलान् तर कलम र पत्रकारिताको परिचय कहिल्यै मेटिँदैन, कलम र पत्रकारितालाई विभाजित गरेर छुट्टै कित्तामा राखेर अध्यायको पूर्णता खोजियो भने त्यो मुर्खता हुनसक्छ । यसरी पत्रकारिताको जीवनको अध्याय पूरा हुँदैन । कम्प्युटरलाई मात्रै प्राथमिकतामा राखेर आवरण र साजसज्जामा होइन, गुदीमा के छ त्यो महत्वको रहन्छ भन्दै गर्दा पनि बाहिरी रूपसज्जा, परिधान र नाम विशेषले पनि मर्यादाको अर्थ राख्दो रहेछ भन्ने उदाहरण पनि धेरै छन् । 
    त्यतिबेला समाचारसँगै यस्ता विषयहरु अध्ययन गर्ने कुनै माध्यम थिएनन् । सवि र शेखरका बारेमा धेरै पछि जानकारी भयो । उनिहरुको सम्वन्ध र उनिहरुबाट जन्मिएको बच्चा विस्तारै हुर्कदै गयो । त्यहि बच्चा पत्रकारितामा प्रवेश ग¥यो । टेलिभिजन, रेडियो नेपाल र पत्रपत्रिकामा समेत समाचार लेखन र अध्ययन गर्न थाल्यो । सवि र शेखरको छोरा विनय थियो । विनयको काँधमा शेखरको र सवि दुबैको सपना पुरा गर्नु पर्ने चुनौती त थियो नै आफ्नो पनि सपना । त्यहि बीचमा उनि पत्रकार भए । विनय पत्रकारिताको माध्यमबाट राष्ट्रमा कहिलियो । अनि मुलुकको परिस्थिती अनुसार उ विदेश भासियो । विवाह ग¥यो विदेश गयो । सवि पनि खुशी छन् । शेखरले कहिल्यै धोका दिएनन् । छोरा पनि उस्तै जन्मिए । सायद डाक्टर शेखर उनका लागि भगवान भएर आए । डाक्टरलाई उसै पनि भगवान भन्छन् । सविका लागि त पुर्नजीवन भयो नै शेखर पनि सधै खुशी हुन सक्यो । सायद प्रेम र प्रेमले जितेको सम्वन्ध र जोडी यस्तै नमुना हुन्छन कि ? 
    

रविन चौलागाई
काठमाडौं