2026 April 16/ 04:26: 49pm

-  मिलनभक्त श्रेष्ठ
हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउदै आएकोमा यो वर्ष पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी देशभरका योग साधक–साधिकाहरुले हर्षोल्लासका साथ मनाउने तयारीमा लागेका छन् । नेपालमा ध्यान र चेतनाको जीवित परम्परा रहेको कारणले ध्यान, योग साधनातर्फ आकर्षण रही र स्वस्थ जीवन र स्वस्थ समाजको आवश्यकता महसुस गरेर यसतर्फ जनजनमा लहर फैलिदैँ गएको छ । अहिलेको समयमा मान्छेको दैनिक जीवनमा योग साधना, ध्यान साधना अपरिहार्य बन्दै गएको छ । 
    दैनिक योग साधनाले सकारात्मक सोचको विकास हुन्छ र मानिसभित्र प्रेम, दया, करुणा र सेवाभाव जाग्छ । यसले जीवनलाई सहज ढङ्गबाट शारीरिक, मानसिक स्वास्थ्यलाई ठीक ठाउँमा राख्न मद्दत गर्छ । मानिसको जीवनमा हरेक क्षण मन चञ्चल रहिरहेको हुन्छ । यहि चञ्चल मनलाई एकचित्त भई ध्यान योग गरेर सही र गलत कुरा केलाउदै राम्रा पक्षहरुलाई आत्मसात गर्न सक्नुपर्छ र सकारात्मक विचारको विजारोपण गरी आफूबाट भएका गल्तीहरुबाट भोगेका पाठहरुलाई मनन गरी आफूमा भएका अहङ्कार र महोत्वाकाङ्क्षालाई परित्याग गर्न पनि यसले मद्दत गर्छ र खुसी रहन, स्वस्थ रहन तनावमुक्त जीवन जीउन सकिन्छ । 
    मुख्य कुरा हाम्रो मन र मस्तिष्क स्वस्थ भएमा जीवन धन्य हुनेछ । सकारात्मक सोचको विकासले मन सफा हुन्छ । सफा मनमा ईश्वरको बास हुन्छ । दैनिक योग साधनाले शरीर स्वस्थ हुन्छ भने दैनिक ध्यानले मनमा भएका डर, चिन्ता र तनाव हटाउदै सरल जीवन विताई आफूले आफूलाई नै सन्तुष्ट बनाउन सकिन्छ । 
    यस्तो पवित्र काममा लागेर जीवनलाई उल्लासमय बनाउन सम्पूर्ण व्यक्तिहरुले दैनिक योग अभ्यास, ध्यान साधनामा लाग्नु आजको आवश्यकता भईसकेको छ । योगको अर्थ जोड्नु हो भने वियोग को अर्थ छुट्टिनु हो । सांसारिक व्यवहारमा योग भएपछि वियोग हुन्छ अथवा मिलन भएपछि बिछोड हुन्छ र वियोग पछि पुनः योग हुन्छ अथवा बिछोड भएपछि फेरि मिलन हुन्छ, योग एउटासँग र बियोग अर्कासँग होस्, तर त्यो हुन्छ हुन्छ । किन यसो हुन्छ भने योग र वियोग साइकलको पाङग्रा या चक्का जस्तो हुन्छ जसलाई आध्यात्मिक भाषामा चक्र भनिन्छ । चक्रको एकापट्टीको भाग योग हो भने अर्कापट्टीको भाग बियोग हो । कतिपय विद्वानहरुले यसलाई “कुमालेको चक्रजस्तो” भन्ने उदाहरण दिने गरेका छन् । रात हुँदा दिन नहुने र दिन हँुदा रात नहुने भएजस्तै योग हुदा बियोग र वियोग हुँदा योग हुदैन । यसैलाई स्वास्थ्य सँग जोड्ने हो भने योगासन गरे रोग रहदँैन भन्न सकिन्छ । आध्यात्मिक दृष्टिबाट भन्नुपर्दा योगपछि बियोग आउँदैन । यसको अर्थ के हो भने एकपल्ट परमात्मामा लीन भइसकेपछि अथवा आत्मा र परमात्माको योग वा मिलन भइसकेपछि परमात्माबाट बियोग भएर वा छुटेर सांसारिक जन्ममरणको जन्जालमा फस्नुपर्दैन । यसै अवस्थालाई कसैले मुक्ति भन्छन्, कसैले मोक्ष भन्छन् कसैले निवार्ण भन्छन् । योगकै कारणबाट यस्तो अवस्था आउँछ । 
    योगसँग सम्बन्धित दर्शनलाई योग दर्शन भनिन्छ । योग दर्शनलाई व्यवस्थित गर्ने कार्य महर्षि पतञ्जलिले गरेका हुन् । नेपालमा महर्षि, पतञ्जलिपछि योग दर्शनको प्रचार–प्रसार दत्तात्रय, मत्स्येन्द्रनाथ एंव गोरखनाथद्धारा भएको हो । अचेल त नेपालभरि नै योगका विषयमा प्रचार–प्रसार भइसकेको छ । संयुक्त राष्ट्रसंघले हरेक वर्षको जून २१ तारिखका दिनलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने घोषणा गरेपछि नेपाल र इन्डियामा बहुप्रचलित योग विश्वव्यापी हुन पुगेको हो । नेपालमा चाहि पतञ्जलि योग समिति, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, ओशो यशोधरा ध्यान केन्द्र, शिवयोग साधना केन्द्र, मनोक्रान्ति योग अभियान, यशोधरा योगपीठ, चरित्र निर्माण संघ, जीवन विज्ञान आदि संस्थाहरु र ती संस्थाहरुसँग सम्बन्धित र समत्वित संस्थाहरुद्धारा योगको प्रचार–प्रसार र व्यावहारिक प्रयोग भइरहेका छन् । नेपाल सरकारले २०७२ सालको माघ १ गतेदेखि हरेक वर्षको माघ १ गते राष्ट्रिय योग दिवस मनाउने घोषणा गरेपछि योगले जनजनसम्म फैलिने र सरकारी सहयोग पनि प्राप्त हुने अवस्था सिर्जना भएको हो । 
    योग साधनाको क्षेत्रमा सक्रृय संस्थाहरुमध्ये पतञ्जलि योग समिति विशेष सक्रिय देखिन्छ । यसको केन्द्रस्थल हरिद्धारदेखि विश्वका विभिन्न स्थलमा यसका अङ्गहरु फैलिएका छन् । नेपालका विभिन्न जिल्लाबाट हरिद्धार पुगेर योग सम्बन्धि तालिम लिने अथवा हरिद्धारबाट नेपालका विभिन्न जिल्लामा पुगेर तालिम दिने क्रमपनि चलिरहेको छ । यसबाट जनस्तरीय सम्बन्धलाई पनि सुदृढ बनाएको छ । 
    योग तथा ध्यान सनातनदेखि मानिसको शारीरिक तथा आत्मिक विकासका लागि प्रयोग हुँदै आएका विधा हुन् । योग तथा ध्यानलाई हाम्रा पूर्वजहरुले आफ्ना जीवन पद्धति बनाउदै आएका थिए । योग, ध्यान, आयुर्वेद, जडिबुटी चिकित्सा, प्राकृतिक चिकित्सा, रेकी चिकित्सा, चुम्बक चिकित्सालगायतका पद्धतिहरुलाई नै हाम्रा पूर्वजहरुले जस्तै हामीले पनि जीवन पद्धती बनाउनुपर्छ भन्ने चेतना अहिलेको समाजमा आईसकेको छ । त्यसैले लामो समयदेखि यी विधाका संस्थाहरु सक्रिय भइरहेका र हुन सकेका हुन् । विभिन्न जिल्लाहरुमा जिल्लास्तरीय योग समन्वय समितिको गठन, योग साधना केन्द्रको स्थापना हुनुको कारण पनि यही हो । योग जिल्ला घोषणा गर्ने, आफ्नो देशका मौलिक परम्परालाई घरघरमा पु¥याउने काम पनि भइरहेको छ । यही कार्य गर्न स्थापित संघसंस्थाहरुलाई व्यवस्थित र परिष्कृत रुपमा अगाडि बढाइदै छ । योग अभियन्ता र योगकर्मीहरुको सक्रृयता बढिरहेको छ । 
    धार्मिक, आध्यात्मिक, मानसिक र शारीरिक जुनसुकै रुपबाट हेर्दा पनि योगको महत्व विशिष्ट देखिन्छ । त्यसैले योगलाई विशेष महत्व दिएको हो । हामी पनि यस्तो अभियानमा सामेल होऊँ र आफू स्वस्थ बनेर निर्वाण प्राप्त गरौँ अरुलाई पनि स्वस्थ बनाएर निर्वाण हुने द्वार खोलिदिऊँ ।