
हर्षनारायण कर्माचार्य
जात्रा एक खुशीको प्रकट हो । जात्रा चलाउन कुनै एउटा आधारमा विश्वास राखी स्थानीय तहमा सरसल्लाह, मेल मिलापमा कुनै किंवदन्ती भनाईबाट जात्राको सुरुवात हुने गर्दछ । चल्दै चलाउँदै जाँदा भविष्यमा परम्परा कायम हुन जान्छ । नेपालमा मनाइने जात्राहरुमा लामो समय सम्म मनाइने पाटनको भोटो जात्रा हो । यो नेपालमा पानी नपरी अनिकाल हुँदा, भारतको कामाक्षबाटा तान्त्रिक शक्तिद्धारा करुणामय नेपाल ल्याई पु¥याउँदा पानी परेछ । त्यसैले त्यहिबेला देखि जात्रा चलाउने गरेको कथा किंवदन्ती छन् । यस देवतालाई सहकालको देवता पनि भनिन्छ । त्यस्तै अर्काे भक्तपुरको विस्केट जात्राको पनि भनाइ छ । जुन दैनिक राजा फेर्नुपर्ने प्रथालाई तोडेर रानीको नाकबाट २ वटा भयानक सर्प निस्कि राजालाई मार्ने सर्प मारेर नयाँ प्रथा जात्रा चलाएको कथा पनि छ । यो जात्रालाई नेवारी भाषामा विसिका, विस्काजात्रा भन्दछन् । हाम्रो बनेपामा वार्षिक रुपमा मनाइने जात्राको पनि कथा किंवदन्ती छन् । चण्डेश्वरी भगवतीद्धारा असुर दानवराज चण्डासुर दैत्यको बध गरी देवगण र मानवको दुःखकष्ट मुक्त गरिदिएको सन्दर्भ खुशीयालीमा मनाइँदै आएको जात्रा भन्दछन् । कथा र किंवदन्तीहरु विश्वासयोग्य छन् ।
अब बनेपामा यस वर्षको २०८२ सालको जात्रा आउँदो वैशाख २९ गते र ३० गते २ दिन भव्य रुपमा मनाइने छोटो चर्चा, चण्डिपूर्णिमाको विहान मतः पूजा हुन्छ । यो मतः पूजा विहान सबेरै बनेपाको तीनधाराबाट सुरुभई चण्डेश्वरी मन्दिर परिक्रमा गरि जसिगः महादेवस्थानमा पुगि समापन हुन्छ । यो पूजा हाम्रो बनेपामात्र मनाइने हुनाले यस मतः पुजाको विशेष महत्व राख्दछ । देव र मानवको दुःखकष्ट मुक्त भएको खुशीयालीमा मनाउँदै वार्षिक रुपमा मान्दै आएको छ । यस मतः पूजामा बनेपालीहरुबाट सक्दो सबैले खुशी तथा अनिवार्य रुपमा सहभागी भएको हुन्छन् । यस जसिगः महादेवस्थान कुण्डमा नुहाउनाले गर्भपतन जस्ताको प्राकृतिक उपचार भई अर्काे पटकमा गर्भ सफल भएका छन् । यसदिन बनेपामा गौतम बुद्धको जात्रा हुने गर्दछ । अपरान्हतिर बनेपाको तीनधारा डबलीमा रथ बनाई परम्परागत पूजा विधि गरी रथ जात्रा सुरु गरिन्छ । रथ चण्डेश्वरी नपुगिन्जेल खाली हुन्छ । त्यसैले नेवारी भाषामा रथलाई प्वँखः भनिन्छ । प्वंख ःभनेको रित्तो रथ भनिएको हो । रथ चण्डेश्वरी पुगेपछि माई चण्डेश्वरी रथमा विराजमान गराइन्छ । रथमा माईका साथमा २ जना माइका पुजारी दायाँ बायाँ र अगाडि सुसारे र पछाडि राजवाहक रक्षकको रुपमा हुन्छन् । तिनीहरु रथ जात्राको अन्तसम्म बस्छन् ।
चण्डेश्वरीबाट रथ जात्रा गरी बनेपातर्फ लगिन्छ । भैरवकुण्डमा पुगेपछि भैरव कुण्डको जलद्धारा माईलाई स्नान गरिन्छ । बनेपा बजार भित्र्याउन लशकुश पूजा हुनछ । भोछिभोयाको दुधेबालकबाट माईको मुखमा रहेको धंकि खोल्ने कार्य गराइन्छ । यसबेला सिन्दुर जात्रा हुन्छ । यसरी बनेपा बजार भरि जात्रा गरी दक्षुटोल सम्म जात्रा गर्दै, रथ फर्काइन्छ, कलंदान गरिन्छ । कलंदानमा तकपूजामा बलिदिएका १२ वटा बोकाका मासु छरिन्छन् । छरिएका मासु जसले सक्छ उसले टिपेर लिन्छ । यसरी बनेपा बजार भरि माईलाई जात्रा पूजा गरी पुनः चण्डेश्वरीमा नै फर्काइन्छ । भोलिको दिन “द्यो सँग” पूजा हुन्छ । द्यो सँग पूजा भनेको देवतालाई जात्राको खुशीयालीमा सगुन दिएको हो । यसरी पूजा गरि जात्रा समाप्ति हुन्छ ।
जात्रामा हुने विशेष महत्वका पूजा स्थान पूर्णिमाको दिन विहान मतः पूजा जलेश्वरमा । राती १२ वटा कालो बोका बलिपूजा मन्दिरभित्र, टकपूजा, बनेपामा बुद्ध जयन्ती जात्रा, भैरवकुण्डमा माईलाई स्नान गराउने, लशकुश पूजा सिन्दुर जात्रा, दक्षुटोलमा हंस बलीपूजा, कलंदान, द्योक्षेमा द्यो सुगन पुजा, ४ दिन अघि यो क्वहा विज्याकेगु पूजा, ८ औं दिनमा द्यो थहा विज्याकेगु र समापन घोकेचउरमा पहिले एउटा पाटी थियो । त्यस पाटीमा “साँ स्व ती” खुवाइन्थ्यो । हाल त्यो पनि छैन । साँस्वती पनि छैन । अझ घोकेचउर भन्दा केहि पूर्वतर्फ पूर्व फर्केको ढुंगेधारा छ, अहिले पनि छ । त्यो ढुंगेधारा सँगै पनि पाटी थियो । त्यहाँ पनि साँस्वती खुवाइएको सम्झना आउँछ । हाम्रै जात्रामा हाम्रो बनेपामा हामीले पहिले र अहिलेसम्म कति कुराहरु लोप भैसकेका छन् । यो लोप भइसहेको खोजीनीति कार्य सम्बन्धित अधिकार प्राप्त निकायबाट हुनुपर्ने हो । जय बनेपा ।