2026 August 21/ 11:28: 08pm

ज्ञानमणि न्यौपाने
हो हरेक क्षेत्रमा हुनु पर्दछ, राजनीति । चोक–चोकमा, चिया पसलमा, सामाजिक तथा व्यक्तिगत जमघटमा, औपचारीक तथा अनौपचारीक बैठक, सभा सम्मेलनमा प्रायःचर्चाको विषय हुने गर्दछ यो शब्द । जहाँ पनि राजनीति भयो भन्ने व्यापक गुनासोको भावमा प्रकट गरिन्छ । के हर क्षेत्रमा राजनीति हुनु गलत विषय हो ? होइन पक्कै होइन, समाजमा रहेका हरेक संस्थागत संरचनामा राजनीति हुनुपर्दछ भन्ने मेरो मान्यता हो । नीतिले राज गर्नु नै राजनीति हो । गर्ने कार्य चाँही खुराफाती, षड्यन्त्र, जालझेल अनि नाम दिने राजनीति । गरिएका गलत अभ्यासलाई राजनीतिको नाममा अपव्याख्या गरि आम नागरिकमा भ्रम फैलाउनु कतिको जायज हो ? खराब अभ्यासलाई राजनीति भनिदैन । 
एकपटक चाणक्य रातको समयमा घरमा आफ्नो केहि काममा व्यस्त थिए । त्यत्तिकैमा एकजना पाहुना उनलाई भेट्न आइपुगे । चाणक्य आफ्नै काममा व्यस्त थिए, उनले त्यस पाहुनालाई एकछिन सँगै बस्न भने । एकछिन पछि आफ्नो काम सकाएर बलिरहेको टुकी निभाए र अर्को टुकी बाले । त्यो सँगै रहेको पाहुना अचम्म मान्दै चाणक्यलाई सोध्छन् ः महोदय त्यो बलिरहेको टुकी निभाएर अर्काे टुकी किन बाल्नु भएको ? चाणक्य जवाफ दिन्छन्, अघि म राज्यको काम गर्दै थिए त्यै भएर त्यो बलिरहेको टुकीमा राज्यकोषको तेल थियो, अहिले म तपाईसँग आफ्नो निजी व्यक्तिगत कुरा गदैछु त्यसैले यो बलिरहेको टुकिमा मेरो आफ्नो व्यक्तिगत कमाईको तेल राखेको छु, आफ्नो निजी काममा राज्यको सम्पत्ति प्रयोग गर्नु दुरुपयोग हुनेछ । यसबाट के बुझिन्छ भने राज्य संचालन गर्न पदीय दायित्व र अधिकार प्राप्त पदाधिकारी नैतिकवान् भएमा राजनीति पवित्र हुन्छ नभए फोहरी हुन्छ । तसर्थ राजनीति आफैमा गलत होइन, यो त पदमा आसिन व्यक्तिको गलत र अपव्याख्या गरि न्यायिक निर्णय नभएर व्यक्तिगत स्वार्थको स्वेच्छाचारी कार्यको प्रभावले नकारात्मक भएको विषय बनेको छ । 
राजनीति भनेको नीतिले राज गर्नेु हो, जहाँ व्यक्तिको होइन नीतिको राज हुन्छ । यहाँ राजनीति जस्तो पवित्र शब्दलाई दलीय व्यवस्थामा दुर्गन्धित बनाइएको छ । हरेक नागरिकलाई राजनीति भन्ने शब्दसँग वितृष्णित गराइएको छ, यो विषयलाई उल्टो र गलत दिशातर्फ धकेलिदै छ, जसको कारण नयाँ पुस्ता राजनीति भन्ने शब्द सुन्न अनि बुझ्न नै चाहदैन । राजनीति भनेको शक्ति संलग्न सामाजिक अख्तियार वा शक्ति संलग्न सामाजिक सम्बन्ध हो, शासन र राजनीतिक मामिलाहरुमा समर्पित सामाजिक पेशाको रुपमा पनि बुझ्न सकिन्छ । अझ बृहत्त रुपमा भन्ने हो भने सरकारको विज्ञान, राज्य वा अन्य क्षेत्रको शासनसँग सम्बन्धित गतिविधिहरु विशेष गरी व्यक्ति वा दलहरु बीचको बहस र द्वन्द्व मार्फत शक्ति प्राप्त गर्ने अथवा सोसँग आशक्त रहि राज्य संचालनको लागि आवश्यक व्रिmयाकलाप गर्न समर्पित रहन गरिने साधना हो र यसको लागि सामान्यता भन्दा माथि रहेर कार्य गर्ने ज्ञान र क्षमता हुनु पर्दछ । 
सरल भाषामा भन्ने हो भने राजनीति भनेको राज्यको मामिला र राज्यभित्र रहेका नागरिक वा अनागरीकहरुको गतिविधिहरुको संयोजन हो जुन समूहरुमा निर्णय गर्न वा व्यक्तिहरुबीचको शक्ति सम्बन्धका अन्य रुपहरु, जस्तै स्रोत वा स्थितिको न्यायिक वितरणसँग सम्बन्ध राख्दछ । नीतिहरुमा प्रमुख नीति राजनीति हो । राजनीतिकै सेरोफोरोमा सम्पुर्ण नीति कार्यव्रmम लगायत राज्यको भविष्यको लय देखिन्छ । चेतनशील मानव समाजमा राजनीतिलाई मर्यादित शब्दको रुपमा उच्चारण गर्नको लागि समाजको हरेक संरचनामा सहि नेतृत्व भएमा मात्र सम्भव छ । यति सुन्दर र सुसँस्कृत शब्द किन नकरात्मक रुपमा प्रयोग हुँदैछ । यस्को लागि समाजमा रहेका हरेक नागरिक, समुह, दल तथा प्रत्येक तह र तप्काका प्रतिनिधिहरु जिम्मेवार छन् । सरकार संचालन देखि उपभोक्ता समुहसम्म दलीय राजनीतिको फोहरी खेलको कारण आम जनमानसमा देखिएको वितृष्णा राजनीति गर्ने व्यक्तिहरुको नकरात्मक बोली, व्यवहार र गतिविधिको कारण हो । समाजको हरेक संरचनामा राजनीतिक दलको प्रतिनिधित्व गराँउदै खराब आचरण र व्यवहारलाई प्रोत्साहित गर्दै जाने हो भने भावी पुस्ताले राजनीति भनेको गाली गलौजमा प्रयोग गरिने शब्द हो भनेर बुझ्ने अवस्था श्रृजना नहोला भन्न सकिदैन । राजनीति भनेर समाजसेवालाई व्यवसाय बनाउने सीमित राजनीतिज्ञको कारण राजनीति शब्द बदनाम भएको छ ।
देशको राजनीतिले समग्र आर्थिक, सामाजिक लगायत हरेक क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको हुन्छ । सरकारले बनाउने नीति तथा कार्यक्रमसँग यसको सिधा र सोझो सम्पर्क रहेको हुन्छ र प्रत्येक नागरिकको भान्सा देखि सम्पूर्ण जीवनयापन गर्ने व्यवहारमा असर परिरहेको हुन्छ । राजनीतिबाट कोहि पनि अछुतो रहन सक्दैन । राजनीतिक दलको सदस्य, कार्यकर्ता र नेताहरुलाई मात्र राजनीतिज्ञको रुपमा हेरिन्छ जुन सहि होइन । राजनीतिज्ञ भनेको सामाजिक रुपमा जुनसुकै क्षेत्रमा रहेता पनि  आदर्श, न्यायिक, पक्षपात रहित र सैद्धान्तिक रुपमा कार्य गरि समाजलाई सहि दिशामा डो¥याउने व्यक्तित्व हो र जो सामाजिक रुपमा निष्ठावान र अनुसासित हुन जरुरी छ । 
नेपालको परिप्रेक्षमा हाल युवा पुस्ता राजनीति शब्दसँग यति चिढिएका छन् कि राजनीति भनेको खासमा के हो बुझ्न नै चाहादनैन्, जति पनि बुझेका छन ति सबै दलको रुपमा मात्र । खासमा कुनै एउटा अमुक राजनीतिक दलसँग आबद्ध भएर समाजसेवा गर्नु मात्र राजनीति होइन । शिक्षा, स्वास्थ्य, यातायात, खेल मनोरञ्जन, व्यापार व्यवसाय उद्योग धन्दा, कल कारखाना लगायत सम्पुर्ण क्षेत्रको नीतिगत व्यवस्था गरि नीति विधि र प्रकृयामा संचालन गर्नु नै राजनीति हो । हालको अभ्यास हेर्दा युवा पुस्तामा नैराश्यता उत्पन्न हुनु स्वभाविक पनि हो । राजनीतिक निर्णयले गर्दा हरेक जनताको नुन देखि सुन सम्मको सम्पुर्ण क्षेत्रमा प्रभाव पारिरहेको हुन्छ । तसर्थ हरेक नागरिकले राजनीतिको बारेमा प्रारम्भिक मात्रामा भएपनि चेतना विकास गर्नु सान्दर्भिक रहन्छ ।
आजको आवश्यकता भनेको जो–जो जहाँ बसेर आफ्नो काम गर्दे हुनुहुन्छ, त्यहिबाट आफ्नो दायित्व र जिम्मेवारी महसुस गर्दै नीति विधि र प्रकृयामा लैजानु युवाहरुको कर्तव्य हो । आफ्नो वरिपरि भैरहेको असमाजिक कार्यको विरोध र खबरदारी गर्नु नैतिक जिम्मेवारी बहन गर्नु पर्दछ । राजनैतिक चेतनाको विस्तार गर्दै समाज अनि देशमा भैराखेको गतिविधिहरुको अध्ययन र विश्लेषण गर्दै अगाडि बढ्नु पर्दछ । अन्तमा राजनीति जस्तो शुद्ध पवित्र शब्दको साख कायम गर्नु हामी सबैको दायित्व हो ।