मेरो जन्म एउटा साधारण परिवारमा भयो । अहिलेको भुम्लु गाउँपालिकामा पर्ने विकट गाउँमा मेरो बाल्यकाल बित्यो । त्यतिबेला हाम्रो गाउँमा न राम्रो बाटो थियो, न सहज शिक्षा, न त जीवनलाई सहज बनाउने कुनै सुविधा नै । गाउँका मानिसहरूको जीवन खेतीपाती, ज्याला मजदुरी र अनेकौँ अभावसँग जुध्दै बित्थ्यो ।
मेरा बुबाका दुई श्रीमती हुनुहुन्थ्यो । म पहिलो आमाको सन्तान हुँ । हामी छ जना दिदीबहिनी थियौँ । म काइँली । अर्की आमाका दुई छोरा थिए । उनीहरू मेरा दाइ । एउटै घरभित्र दुई आमा, दुई परिवार र फरकफरक जिम्मेवारी थिए । तर हामी सबैका लागि बुबा एउटै हुनुहुन्थ्यो । बाल्यकालमा परिवारभित्रका यस्ता सम्बन्धको गहिराइ बुझ्ने उमेर मेरो थिएन । म त केवल आमाको काखमा रमाउन, दिदीहरूसँग खेल्न र भोलिको चिन्ता नगरी बाँच्न चाहन्थेँ । तर हाम्रो जीवनमा खुसीभन्दा अभाव धेरै थियो । गरिबीले हाम्रो घरलाई चारैतिरबाट घेरेको थियो । कहिलेकाहीँ बिहान के खाने र बेलुका के खाने भन्ने चिन्ताले नै दिन बित्थ्यो । घरमा भएका थोरै सामग्री र सीमित आम्दानीले सबैको आवश्यकता पूरा गर्नु असम्भवजस्तै थियो ।
हामी छोरीहरूका लागि जीवन झन् कठिन थियो । सानै उमेरदेखि घरको काममा सघाउनुपथ्र्याे । दिदीहरू पनि आफ्नै बाल्यकाल बिर्सेर घरपरिवारको जिम्मेवारी सम्हाल्न बाध्य थिए । उनीहरूको अनुहारमा उमेरभन्दा बढी चिन्ता देखिन्थ्यो । मलाई पढ्ने ठूलो रहर थियो । गाउँका अरू बालबालिका किताब बोकेर विद्यालय गएको देख्दा मेरो मनमा पनि पढ्ने इच्छा जाग्थ्यो । तर रहरले मात्र कहाँ पुग्थ्यो र ? गरिबी, विकटता र पारिवारिक परिस्थितिले पढाइलाई निकै टाढाको सपना बनाइदिएको थियो । धेरै कठिनाइपछि बल्लतल्ल मैले साँवा अक्षर चिन्ने अवसर पाएँ । अक्षरहरू जोडेर आफ्नो नाम लेख्न सक्दा मलाई संसार नै जितेजस्तो लाग्थ्यो । तर मेरो पढाइले निरन्तरता पाउन सकेन । जीवनका बाध्यताले मेरा रहरहरूलाई विस्तारै थिच्दै लगे ।
त्यतिबेला मलाई के थाहा थियो र, एक दिन यही अभावले भरिएको बाल्यकालले मलाई जीवनका असंख्य कठिनाइसँग जुध्न सिकाउनेछ । म सानी थिएँ । मेरा पनि सपना थिए । पढ्ने, राम्रो लुगा लगाउने, मिठो खाने र अरूजस्तै रमाइलो जीवन बिताउने रहर थियो । तर मेरा रहरभन्दा ठूला थिए परिवारका बाध्यता । त्यहीँबाट सुरु भएको थियो मेरो संघर्षको यात्रा । बाल्यकालमा आमाले धेरै दुःख गर्नुभयो । उहाँको जीवनमा सुखभन्दा संघर्ष धेरै थियो । परिवार ठूलो थियो, आम्दानी थोरै । छ जना छोरीलाई हुर्काउनु, खुवाउनु, पढाउनु र भविष्यको चिन्ता गर्नु उहाँका लागि सामान्य कुरा थिएन ।
दिदीहरू पनि आफ्नै दुःखसँग जुधिरहेका थिए । कसैको हातमा सीप थिएन, कसैको हातमा पैसा थिएन । पढाइलेखाइको अवसर नपाएपछि उनीहरूका अगाडि पनि जीवनका विकल्पहरू सीमित थिए । बिस्तारै दिदीहरूको विवाह हुने उमेर आयो । दुई दिदीहरूको विवाह परम्पराअनुसार राम्रैसँग भयो । उनीहरू आफ्नो घरजममा लागे । तर अरू दिदीहरूको जीवन पनि सहज थिएन । सबै आ–आफ्नो संघर्षमा थिए । हाम्रो परिवारमा छोरीको भविष्यका बारेमा धेरै ठूलो सपना देख्ने अवस्था थिएन । जसोतसो जीवन चलाउनु नै ठूलो कुरा थियो । छोरीहरूको विवाह गरिदिएपछि आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने सामाजिक सोच पनि त्यतिबेला बलियो थियो ।
म पनि उमेरसँगै हुर्कँदै गएँ । मनमा अनेकौँ रहर र सपना थिए । तर ती सपना पूरा गर्न सक्ने आर्थिक अवस्था थिएन । पढाई अधुरै रह्यो । आफ्नो खुट्टामा उभिने कुनै अवसर पनि थिएन । यस्तै परिस्थितिमा मैले पनि आफ्नो जीवनसाथी रोज्ने निर्णय गरेँ । मेरो विवाह अन्तरजातीय थियो । समाजले सजिलै स्वीकार गर्ने सम्बन्ध थिएन । त्यसैले मैले भागेर विवाह गर्नुपर्ने अवस्था आयो । त्यतिबेला मलाई लाग्थ्यो, आफ्नो मनले रोजेको मान्छेसँग जीवन बिताउन पाएपछि सायद मेरा दुःखका दिन समाप्त हुनेछन् । बाल्यकालदेखि भोगेका अभाव र पीडालाई बिर्सेर नयाँ संसार बनाउन सक्नेछु । मैले पनि अरू महिलाजस्तै एउटा सानो घर, माया गर्ने श्रीमान् र सुखी परिवारको सपना देखेकी थिएँ । तर जीवनले देखाउने सपना र वास्तविकताले दिने परिणाम सधैँ एउटै कहाँ हुँदो रहेछ र ?
मैले घर छोड्दा आमाको मनमा कति पीडा भयो होला, दिदीहरूले मलाई सम्झेर कति आँसु झारे होलान्, त्यसको कल्पना अहिले गर्दा पनि मेरो मन भारी हुन्छ । त्यतिबेला म आफ्नो भविष्य बनाउन हिँडेकी थिएँ । तर मलाई थाहा थिएन, भविष्य बनाउने त्यही यात्रामा मैले कति धेरै आँसु बगाउनुपर्नेछ । मैले भागेर विवाह गरेँ । अन्तरजातीय विवाह भएकाले सुरुवाती दिनहरू सहज थिएनन् । तर मनमा एउटा आशा थियो—अब हामी दुवै मिलेर दुःखसुख बाँड्दै जीवन बिताउनेछौँ । विवाहपछिका सुरुवाती दिनहरू राम्रै थिए । हामी दुवै मजदुरी गथ्र्याै । मेहनत गरेर कमाएको पैसाले घर चलाउँथ्यौँ । कहिलेकाहीँ दुःख हुन्थ्यो, कहिलेकाहीँ अभावले सताउँथ्यो । तर श्रीमान् साथमा छन् भन्ने विश्वासले मलाई बल दिन्थ्यो ।
समय बित्दै गयो । हाम्रो परिवारमा दुई सन्तान जन्मिए । उनीहरूलाई पहिलोपटक काखमा लिँदा मैले संसारकै सबैभन्दा ठूलो खुसी पाएको महसुस गरेँ । आमाको माया कस्तो हुँदो रहेछ भन्ने कुरा मैले आफ्ना सन्तान जन्मिएपछि अझ गहिरोसँग बुझ्न पाएँ । उनीहरूको सानो मुस्कानले मेरा सबै दुःख बिर्साइदिन्थ्यो । उनीहरू रोए भने मेरो मन पनि रुन्थ्यो । उनीहरू बिरामी हुँदा रातभरि निद्रा लाग्दैनथ्यो । मैले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिने सपना देखेँ । आफूले पढ्न नपाए पनि उनीहरूले पढून्, आफूले भोगेका अभाव उनीहरूले नभोगून् भन्ने मेरो ठूलो इच्छा थियो । मलाई थाहा थियो, हाम्रो आर्थिक अवस्था कमजोर छ । मजदुरी गरेर मात्र सन्तानको भविष्य सुरक्षित बनाउन सजिलो थिएन। तर मैले हार मानिनँ ।
श्रीमान्सँग मिलेर काम गथ्र्याै । घर चलाउँथ्यौँ । छोराछोरीको पढाईका लागि पैसा जुटाउने प्रयास गथ्र्याै । उनीहरूलाई राम्रो भविष्य दिन मैले आफ्नो खुसीभन्दा उनीहरूको आवश्यकतालाई प्राथमिकता दिन थालेँ । तर समयसँगै हाम्रो सम्बन्धमा परिवर्तन आउन थाल्यो । श्रीमानले रक्सी खान सुरु गर्नुभयो । सुरुमा कहिलेकाहीँ मात्र हो भन्ने लाग्थ्यो । मैले पनि सम्झाउने प्रयास गरेँ । परिवारको जिम्मेवारी सम्झाएँ । छोराछोरीको भविष्य देखाएँ । तर बिस्तारै रक्सी हाम्रो घरको शान्ति खोस्ने कारण बन्न थाल्यो । मजदुरी गरेर थाकेर घर फर्किंदा पनि घरमा शान्ति नहुने अवस्था आउन थाल्यो । कहिले झगडा, कहिले आरोप, कहिले गालीगलौज । जुन घरलाई मैले सुखको संसार ठानेकी थिएँ, त्यही घर विस्तारै मेरा लागि डरको ठाउँ बन्दै गयो ।
तैपनि मैले सम्बन्ध जोगाउने प्रयास गरिरहेँ । मलाई लाग्थ्यो, सायद भोलि सुध्रिनुहुन्छ । सायद छोराछोरी ठूला हुँदै गएपछि जिम्मेवार बन्नुहुन्छ । म हरेक दिन यही आशामा बाँचेँ । घरको आर्थिक अवस्था कमजोर थियो । श्रीमान्को रक्सी खाने बानी बढ्दै गयो । घरको जिम्मेवारी र छोराछोरीको भविष्यको चिन्ता मेरो काँधमा थपिँदै गयो । मलाई थाहा थियो, यसरी बसिरहँदा छोराछोरीको भविष्य अन्धकार हुन सक्छ । उनीहरूलाई राम्रो शिक्षा दिन र घरको आर्थिक अवस्था सुधार्न मैले केही गर्नैपथ्र्याे । त्यसपछि मैले भारत जाने निर्णय गरेँ । आफ्ना साना सन्तानलाई छोडेर परदेश जानु मेरो जीवनको सबैभन्दा कठिन निर्णयमध्ये एक थियो । आमाको मनले बच्चाहरूलाई छोड्न कहाँ मान्थ्यो र ? तर उनीहरूकै भविष्यका लागि मैले आफ्नो मनलाई कठोर बनाएँ । भारतमा मजदुरी गरेँ । अरूको घरमा र अरूका लागि काम गर्दा आफ्नै घरको यादले सताउँथ्यो । कहिलेकाहीँ थकाइले शरीर गल्थ्यो । तर छोराछोरीको अनुहार सम्झिएपछि फेरि काम गर्न मन लाग्थ्यो ।
मलाई आफ्नो लागि धेरै केही चाहिएको थिएन । मेरा सन्तानले पढ्न पाऊन्, उनीहरूको जीवन सहज होस् घरमा सुखशान्ति छाओस् भन्ने मात्रै चाहना थियो । भारतबाट केही रकम लिएर फर्किएँ । तर त्यो रकमले मात्र समस्या समाधान हुने अवस्था थिएन । त्यसैले फेरि विदेश जाने निर्णय गरेँ । यसपटक मलेसिया पुगेँ । परदेशको जीवन सजिलो थिएन । आफ्ना मान्छेबाट टाढा, अपरिचित ठाउँमा, अर्काको देशमा पसिना बगाउनुको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । मलेसियामा पनि मैले दिनरात मेहनत गरेँ । आफ्नो शरीरको थकाई, मनको पीडा र परिवारको चिन्तालाई मनभित्रै लुकाएर काम गरिरहेँ । मैले कमाएको पैसाको ठूलो हिस्सा घर पठाएँ । करिब आठ लाख रुपैयाँ श्रीमानलाई बुझाएँ । त्यो पैसा मैले आफ्नो सुखका लागि कमाएकी थिइनँ । घर बनाउन, परिवार चलाउन र छोराछोरीको भविष्य सुरक्षित गर्न कमाएकी थिएँ ।
मलाई विश्वास थियो, मैले पठाएको पैसाले घरको अवस्था सुध्रिनेछ । श्रीमान् जिम्मेवार बन्नुहुनेछ । छोराछोरीले राम्रो वातावरण पाउनेछन् । तर मेरो विश्वास विस्तारै टुट्दै गयो । म परदेशमा दुःख गरेर पैसा कमाइरहेकी थिएँ । उता घरमा मेरा सन्तानले दुःख पाइरहेको खबर आउन थाल्यो । उनीहरूलाई राम्रोसँग हेरचाह नगरिएको, दुःख दिएको र घरमा शान्ति नभएको कुरा सुन्दा मेरो मन छियाछिया हुन्थ्यो । आफू हजारौँ किलोमिटर टाढा थिएँ । बच्चाहरूको आँसु पुछ्न सक्ने अवस्था थिएन । उनीहरूलाई अँगालो हालेर सान्त्वना दिन सक्दिनथेँ । म आफैँ परदेशमा रोएर बस्ने गर्थेँ । कहिलेकाहीँ काम गर्दागर्दै पनि आँखाबाट आँसु झथ्र्याे । आफ्ना सन्तानको खुसीका लागि विदेश गएकी म उनीहरूकै दुःखको खबर सुनेर दिनरात तड्पिन थालेँ । आठ लाख रुपैयाँ दिएर पनि मैले घरमा शान्ति किन्न सकिनँ । परदेशमा बगाएको पसिनाले पनि श्रीमान्को व्यवहार परिवर्तन गर्न सकेन ।
त्यतिबेला मैले पहिलोपटक महसुस गरेँ–पैसाले घर बनाउन सकिन्छ, तर परिवारमा माया र सम्मान किन्न सकिँदैन रहेछ । आज म जीवनको यस्तो मोडमा उभिएकी छु, जहाँ अगाडि बढ्ने बाटो पनि स्पष्ट छैन र पछाडि फर्किने साहस पनि छैन । श्रीमानको व्यवहार अझै सुध्रिएको छैन । कुटपिट, गालीगलौज, आरोप र प्रत्यारोपको क्रम रोकिएको छैन । मैले भोगेका यातना सम्झँदा कहिलेकाहीँ आफ्नो जीवन नै भारी लाग्छ । मलाई डर लाग्छ–कतै कुनै दिन यही हिंसाले मेरो ज्यान नै नलिने हो कि ? श्रीमान्ले साथीहरू लगाएर मेरो पिछा गराएको अनुभवले पनि मलाई असुरक्षित महसुस गराउँछ । म जहाँ गए पनि शान्तिसँग बस्न पाउँदिनँ कि भन्ने डर छ । तर मेरो मनमा सबैभन्दा ठूलो प्रश्न मेरा सन्तानलाई लिएर उठ्छ ।
उनीहरू अहिले ठूला भइसकेका छन् । पढिरहेका छन् । मैले जीवनभरि गरेको दुःखको सबैभन्दा ठूलो उद्देश्य नै उनीहरूको भविष्य हो । उनीहरूको पढाइ नरोकिनोस, उनीहरूले राम्रो जीवन पाऊन् र मैले जस्तो पीडा भोग्न नपरोस् भन्ने मेरो चाहना छ । तर उनीहरू पनि अहिले मेरो अवस्थालाई देखेर दुःखी छन् । फोन गरेर रुन्छन् । आमालाई त्यहाँ नबस्नू, यसले मार्छ, अन्त कतै गएर बस्नू भन्छन् । आफ्नै सन्तानको मुखबाट यस्तो कुरा सुन्दा मेरो मुटु चिरिन्छ । मैले उनीहरूलाई जन्माउँदा कति खुसी भएकी थिएँ । उनीहरूको सानो हात समातेर हिँड्न सिकाउँदा, विद्यालय पठाउँदा र उनीहरूको भविष्यका लागि परदेश जाँदा कति सपना देखेकी थिएँ । आज त्यही सन्तानले आफ्नी आमाको ज्यानको चिन्ता गर्नुपर्ने अवस्था आएको छ ।
म उनीहरूलाई कसरी सम्झाऊँ? उनीहरूकै लागि त मैले यति धेरै दुःख गरेकी हुँ । आज उनीहरूकै अगाडि म असहाय बनेकी छु । मलाई थाहा छ, श्रीमान्सँग बसिरहँदा मेरो जीवन जोखिममा पर्न सक्छ । तर अलग भएर जाने ठाउँ पनि छैन । यो उमेरमा कहाँ जाऊँ ? कसको घरमा बसूँ ? कति दिन अरूको सहारा लिएर जीवन बिताऊँ ? एकातिर श्रीमान्सँग छुट्टिएर आफ्नो जीवन जोगाउने चाहना छ । अर्काेतिर सन्तानको भविष्य र समाजको डर छ । फेरि कतै श्रीमान् सुध्रिनुहुन्छ कि भन्ने सानो आशा पनि मनको कुनै कुनामा बाँकी छ । तर कति दिन आशा गरेर बस्ने ? कति दिन कुटपिट सहने ? कति दिन अपमान सहने ? कति दिन अरूको अगाडि आफ्नो दुःख लुकाउने ?
म पनि मान्छे हुँ । मेरो पनि मन छ । मेरो पनि आत्मसम्मान छ । मलाई पनि शान्तिसँग बाँच्न मन लाग्छ । अरू महिलाजस्तै हाँस्न, रमाउन र आफ्नो जीवन आफ्नै तरिकाले बिताउन मन लाग्छ । मैले बाल्यकालमा गरिबी भोगेँ । विवाहपछि अभाव भोगेँ । सन्तानको भविष्यका लागि परदेशमा पसिना बगाएँ । आफ्नो कमाइ घरमा बुझाएँ । तर आज पनि मेरो जीवनमा शान्ति छैन । आखिर महिलाले कति दुःख सहनुपर्ने हो ? किन आफ्नो घरभित्रै सुरक्षित हुन पाउँदिनन् महिलाहरू ? किन आफ्नो श्रीमान्बाटै डराएर बाँच्नुपर्ने अवस्था आउँछ ? किन न्याय खोज्न जाँदा पनि पैसा र अनेकौँ कागजपत्रको बाधा झेल्नुपर्छ ? म आज पनि यी प्रश्नको उत्तर खोजिरहेकी छु । कहिलेकाहीँ राति एक्लै बस्दा भगवानलाई सम्झन्छु । आँसु झार्दै मनमनै भन्छु, ‘हे भगवान् ! मैले आखिर के गल्ती गरेकी छु ? मैले त केवल आफ्ना सन्तानको भविष्य राम्रो होस् भनेर दुःख गरेकी हुँ । आफ्नै घरमा सुख र शान्तिसँग बाँच्न चाहेको मात्र त हुँ । अब मलाई योभन्दा बढी के परीक्षा लिनुहुन्छ ?
तर बिहान भएपछि फेरि उही जीवन सुरु हुन्छ । उही चिन्ता, उही डर र उही अनिश्चितता । मलाई थाहा छैन, भोलि मेरो जीवनले कुन मोड लिनेछ । म श्रीमान्सँग छुट्टिनेछु कि फेरि त्यही घरमा बस्नेछु, त्यो निर्णय गर्न अझै सकेकी छैन । तर एउटा कुरा भने पक्का छ–मलाई पनि सम्मानपूर्वक बाँच्ने अधिकार छ । मेरो जीवनको मूल्य छ । मेरा सन्तानको भविष्य छ । मेरो पसिनाको कमाईमा मेरो पनि अधिकार छ । म केवल कसैकी श्रीमती होइन । म दुई सन्तानकी आमा हुँ । म आफ्नै सपना र इच्छा भएकी एउटा मान्छे हुँ । आज म न्यायको खोजीमा छु । मलाई दया होइन, न्याय चाहिएको छ । मलाई कसैको बोझ बन्नु छैन । मलाई केवल सुरक्षित भएर बाँच्ने वातावरण चाहिएको छ । मलाई थाहा छैन, मेरो आवाज कसले सुन्छ । तर म चाहन्छु, मेरो जस्तै पीडा भोगिरहेका अरू महिलाहरूको आवाज पनि दबिएर नजाओस् ।
कुनै पनि महिलाले आफ्नो घरमा हिंसा सहेर बाँच्न नपरोस् । कुनै पनि आमाले आफ्ना सन्तानको अगाडि असहाय भएर रुन नपरोस् । कुनै पनि महिलाले न्याय खोज्न जाँदा पैसाको अभावमा हार मान्न नपरोस् । आज पनि आफ्ना सन्तानको भविष्य सम्झेर बाँचिरहेकी छु । मेरो जीवनमा अझै धेरै प्रश्न छन्, तर एउटा आशा भने बाँकी छ–कुनै दिन मैले पनि डरबिना, अपमानबिना र हिंसाबिना बाँच्न पाउनेछु । सायद त्यो दिन नै मेरो जीवनको वास्तविक जित हुनेछ । मेरो नाम एउटा व्यक्तिको मात्र परिचय होइन । यो गरिबी, अभाव, संघर्ष, मातृत्व, अन्याय र न्यायको खोजीमा बितेको एउटा जीवनको कथा हो । म एउटी आमा हुँ । म पनि सम्मानपूर्वक बाँच्न चाहन्छु ।
अम्बिका बुढाथोकी
भुम्लु, हाल पाँचखाल









