2026 October 08/ 04:41: 26pm

    धुलिखेल/मानव स्वास्थ्यका लागि हानीकारक मानिएको दूषित प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा दायर मुद्दामा संचालकहरु कसुरदार ठहरिएका छन् । उनिहरुले गरेको कसुर ठहर भएकाले सजायँ निर्धारणका लागि आदेश भएको छ । 
    बनेपाको ‘बुद्ध भूमि बेभरेज प्रा.लि.’ विरुद्ध जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मुद्दा दायर भएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलका खाद्य निरीक्षण अधिकारी पूर्णप्रसाद पौडेलले उक्त उद्योग र त्यसका सञ्चालकहरू विरुद्ध २०८३ वैशाख ११ गते अदालतमा अभियोग पत्र दर्ता गराएका थिए । २०८१ असोज ४ गते बनेपा नगरपालिका वडा नम्म्वर १०, जनागालस्थित उद्योगबाट प्रशोधित पिउने पानीको नमुना संकलन गरेको थियो । संकलित पानीमा भेटिएको हानिकारक जीवाणुका आधारमा खाद्य निरीक्षक पौडेलले उक्त उद्योग र संचालक विरुद्ध मुद्दा दायर गरेका थिए । नमुना परीक्षण गर्दा पिउने पानीमा यिस्ट र मोल्ड गणना अनुपस्थित हुनु पर्नेमा १.३ सिएफयु प्रति एम.एल. हुन गई दूषित खाद्य पदार्थ भएको प्रयोगशालाको प्रमाणका आधारमा उनिहरुलाई थप अनुसन्धान सहित मुद्दा दर्ता गरिएको हो । २०८१ कात्तिक २८ गते प्रयोगशाला प्रतिवेदनले उक्त तथ्य देखाएको थियो ।     
    खाद्य नियमावली, २०२७ को नियम ११ (३) बमोजिम पिउने पानी मानव स्वास्थ्यका लागि दूषित प्रमाणित भएको हो । मुद्दामा उद्योगका मुख्य शेयरधनीहरू विश्वजीत श्रेष्ठ, दिनेश श्रेष्ठ र रूपचन्द्र थापालाई प्रतिवादी बनाइएको थियो । बयानका क्रममा सञ्चालकहरूले जारमा पुनः प्याकेजिङ गर्दा सरसफाइको कमीले समस्या आएको स्वीकारेका थिए । बयानपछि तारिखमा छाडिएका सञ्चालकहरू पछि म्याद तामेल गर्दा उपस्थित नभई फरार भए । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४० (ङ) र दफा ४२ (१) (ग) बमोजिम प्रतिवादीहरूलाई कडा सजाय र अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ अनुसार क्षतिपूर्तिको मागदाबी गरिएको छ । 
    न्यायाधीश दिपक घिमिरेको इजलासले तीन जना संचालक विरुद्ध दायर अभियोग अनुसार कसुर ठहर भएकाले उनिहरुलाई फौजदारी कसुर सजायँ निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा ९ बमोजिम सजायँ निर्धारणका लागि छुट्टै सुनुवाई गर्नु पर्ने भएकाले सोहि प्रयोजनका लागि असोज २२ गते विहिबार पेशी तोक्ने आदेश गरेको हो । असोज १३ गते भएको उक्त कसुर ठहर आदेश अनुसार अब संचालकत्रय र उद्योगलाई सजाँय निर्धारण हुनेछ । उनिहरुले गरेको कसुर पिउने पानी दुषित विक्री वितरण गरेको भन्ने अभियोग पुष्टी भएको छ । जिल्लाका अन्य पानी उद्योग विरुद्ध पनि दुषित पिउने पानी विक्री गरेको अभियोगमा मुद्दा दायर भएको छ ।