2026 October 03/ 05:17: 10am

लेखकः भुपेन्द्र थापा ‘माधव’
तिब्बतदेखि नुवाकोटसम्म बाढीले छोडेको मृत्यु, विनाश र राज्यको कठोर परीक्षा
          हिमालको काखमा जन्मिएको नदीले सीमा चिन्दैन । त्यसले न त नक्सामा कोरिएको रेखा हेर्छ, न प्रशासनिक सीमाको अनुमति खोज्छ । माथिल्लो हिमाली भू–भागमा भएको एउटा असाधारण प्राकृतिक घटना केही घण्टामै तल्लो भू–भागका बस्ती, सडक, पुल, आयोजना र मानिसको जीवनमाथि कहर बनेर आइपुग्न सक्छ । तिब्बतको उच्च हिमाली क्षेत्रबाट सुरु भएको यसपटकको विनाशकारी बाढीले यही कठोर सत्य फेरि देखाएको छ । २६ अगस्टको बिहान तिब्बततर्फको ल्हेन्दे नदी क्षेत्रमा आएको ठूलो बरफ–चट्टानको पहिरोपछि उत्पन्न असाधारण बहाव रसुवागढी हुँदै नेपाल प्रवेश ग¥यो । भोटेकोशीको बहावलाई उग्र बनाउँदै टिमुरे, स्याफ्रुबेँसी र आसपासका क्षेत्र तहसनहस पा¥यो । त्यसपछि यही जलप्रणाली त्रिशूलीमा मिसिँदै बेत्रावती, विदुर र नुवाकोटसम्म पुग्यो । त्रिशूलीको जलस्तर केही स्थानमा अत्यन्त छोटो समयमा अस्वाभाविक रूपमा बढेको प्रारम्भिक विवरणले बाढीको वेग र शक्ति अनुमान गर्न सकिन्छ । यो केवल एउटा बाढी थिएन । यो हिमालबाट तल झरेको पानी, बरफ, चट्टान, माटो र गेग्रानको यस्तो संयुक्त प्रहार थियो, जसले मानिसलाई आफ्नो जीवन बचाउने समयसमेत नदिएको देखिन्छ ।
हिमाल भत्कियो, जीवन बग्यो
           सामाजिक सञ्जालमा सुरुमा ‘तिब्बतको ड्याम फुट्यो’ भन्ने चर्चा चल्यो । तर अहिलेसम्म उपलब्ध वैज्ञानिक प्रमाणले कुनै जलविद्युत् ड्याम फुटेको पुष्टि गर्दैन । उपग्रह तस्वीरको प्रारम्भिक विश्लेषणअनुसार करिब ५,२०० मिटर उचाइको हिमनदीको तल्लो भाग भत्किएर झन्डै १,२०० मिटर तल उपत्यकामा बरफ, चट्टान र गेग्रानसहित खसेको देखिएको छ । त्यसले ल्हेन्दे खोलामा ठूलो बहाव उत्पन्न गरेको अनुमान छ । अमेरिकी भू–गर्भ सर्वेक्षणसहितका वैज्ञानिक विश्लेषणले पनि हिमनदीको पतनलाई मुख्य सम्भावित कारण मानेका छन् । घटनाको सम्पूर्ण भौगोलिक प्रक्रिया भने थप अध्ययनकै विषय छ । अर्थात्, अहिलेको प्रमाणले ‘ड्याम फुटेको बाढी’ होइन, हिमनदीजन्य बरफ–चट्टानको आकस्मिक पतनबाट उत्पन्न विनाशकारी बाढीतर्फ संकेत गर्छ ।
तिब्बतदेखि नुवाकोटसम्मको मृत्युयात्रा
               ल्हेन्दे खोलाबाट सुरु भएको असाधारण बहाव रसुवागढी हुँदै भोटेकोशीमा मिसियो । भोटेकोशीको उर्लिएको पानी र गेग्रानले टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रलाई आफ्नो चपेटामा लियो । त्यसपछि बाढी दक्षिणतिर बढ्दै त्रिशूली नदी प्रणालीमा प्रवेश ग¥यो । बेत्रावती हुँदै नुवाकोटको विदुर र आसपासका बस्तीमा त्यसको प्रभाव देखियो । यसरी तिब्बतको हिमाली ढलानमा सुरु भएको घटना नुवाकोटको घरदैलोमा पुग्दा एउटा ठूलो मानवीय त्रासदी बनिसकेको थियो । यो भौगोलिक यात्राले हामीलाई एउटा महत्वपूर्ण कुरा सिकाउँछ–रसुवाको विपद् नुवाकोटको पनि विपद् हो । नदीको माथिल्लो जलाधारमा भएको घटना तल्लो तटीय बस्तीको भाग्यसँग प्रत्यक्ष जोडिएको हुन्छ ।
मृत्युको संख्या बढ्दैछ, बेपत्ताको पीडा गहिरिँदैछ
             उपलब्ध पछिल्लो विवरणअनुसार नेपालमा कम्तीमा १५७ जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढी मानिस अझै बेपत्ता छन् । ७५ जना घाइते भएको विवरण छ । बेपत्तामध्ये नेपालीसँगै ठूलो संख्यामा विदेशी नागरिक पनि छन् । उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै परिवर्तन हुनसक्ने अवस्था छ । यी संख्या केवल तथ्यांक होइनन् । प्रत्येक अंकभित्र एउटा परिवारको सपना, एउटा आमाको सन्तान, एउटा छोराको बाबु, एउटा श्रीमतीको जीवनसाथी र एउटा घरको आधार लुकेको छ । बाढीले घर मात्र बगाएको छैन; धेरै परिवारका भविष्य, आशा र स्मृतिसमेत बगाएको छ । विदेशी पर्यटक तथा तीर्थयात्रीसमेत ठूलो संख्यामा बेपत्ता हुनु यस विपद्को अन्तर्राष्ट्रिय आयाम हो । तिब्बततर्फ कैलाश–मानसरोवर यात्रामा रहेका यात्रु र नेपालतर्फ हिमाली तीर्थ तथा पर्यटकीय क्षेत्रमा रहेका मानिससमेत प्रभावित भएका छन् ।
सडक, पुल र ऊर्जाको ठूलो क्षति
          मानवीय क्षतिसँगै भौतिक विनाश पनि भयावह छ। प्रारम्भिक विवरणअनुसार कम्तीमा ४१ पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको छ । कतिपय बस्ती र सडकखण्डको सम्पर्क नै विच्छेद भएको छ । पुल र सडक बगेपछि उद्धार टोलीलाई घटनास्थलसम्म पुग्नसमेत कठिनाइ भएको छ । रसुवा र नुवाकोटका जलविद्युत् आयोजना तथा अन्य पूर्वाधार पनि प्रभावित भएका छन् । भोटेकोशी करिडोरमा निर्माण भएका संरचनामाथि आएको यस्तो प्रहारले हाम्रो पूर्वाधार निर्माणको जोखिम मूल्यांकनमाथि गम्भीर प्रश्न खडा गरेको छ । विकासका नाममा नदीको प्राकृतिक बहाव क्षेत्र साँघुरो पार्दै जाने, नदीकिनारमै बस्ती र संरचना थप्दै जाने र चरम बाढीको सम्भावनालाई सामान्य जोखिम ठान्ने हो भने आगामी विपद् अझ महँगो हुन सक्छ ।
राज्य उद्धारमा छ, तर प्रश्न पूर्वतयारीको हो
          विपद् आएपछि सरकारको पहिलो दायित्व उद्धार र राहत हो । यस पटक नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन भएका छन् । नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरिरहेको छ र निजी क्षेत्रका हेलिकप्टरसमेत परिचालनमा राखिएका छन् । प्रारम्भिक उद्धारमा हेलिकप्टरबाट २५ जनालाई सुरक्षित स्थानमा ल्याइएको तथा घाइतेलाई अस्पताल पु¥याइएको विवरण आएको छ । सरकारले घाइतेको निःशुल्क उपचारको व्यवस्था गरेको छ । स्वास्थ्य संस्था, सुरक्षा निकाय र स्थानीय प्रशासनलाई उद्धार तथा राहतमा परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार, उपचार र सुरक्षित स्थानान्तरणलाई प्राथमिकता दिइएको छ । यी प्रयास आवश्यक छन् । तर एउटा प्रश्न अझै बाँकी छ—विपद् आउनु अघि हामी कहाँ थियौँ ?
         यदि तिब्बतको हिमनदीमा आएको असामान्य परिवर्तन, नदी अवरोध वा बरफ–चट्टानको ठूलो पतन केही समय अगावै पहिचान गर्न सकिन्थ्यो भने नेपालका नदीकिनारका बस्तीलाई कति समय अगाडि चेतावनी दिन सकिन्थ्यो? रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती र नुवाकोटका मानिसलाई सुरक्षित स्थानमा सार्न कति समय पर्याप्त हुन्थ्यो ? अब राज्यले यस प्रश्नबाट भाग्न मिल्दैन ।
सीमा होइन, साझा जोखिम
             नेपाल र चीनबीच हिमाली विपद् सम्बन्धी सूचना आदानप्रदानको स्थायी संयन्त्र अब विलासिता होइन, आवश्यकता हो । ल्हेन्दे, भोटेकोशी र त्रिशूली जलाधारमा स्वचालित जलमापन केन्द्र, हिमताल र हिमनदीको निरन्तर उपग्रह निगरानी, पहिरो तथा नदी अवरोधको तत्काल सूचना र स्थानीय तहसम्म पुग्ने पूर्वसूचना प्रणाली आवश्यक छ । विपद् व्यवस्थापनको अर्थ हेलिकप्टर उडाउनु मात्र होइन । विपद् आउनुअघि मानिसलाई सुरक्षित स्थानमा पु¥याउने सूचना प्रणाली बनाउनु नै आधुनिक विपद् व्यवस्थापन हो । हामीले सडक र पुल बनाउँदा पनि अब पुरानो बाढीको तथ्यांक मात्र हेरेर पुग्दैन । चरम बाढी, हिमताल फुट्ने जोखिम, हिमपहिरो र नदीको अचानक बहावलाई पूर्वाधारको डिजाइनमै समेट्नुपर्छ ।
हिमालको चेतावनी
            यो घटना जलवायु परिवर्तनकै कारण भएको अन्तिम निष्कर्ष निकाल्न अझै वैज्ञानिक अध्ययन आवश्यक छ । तर हिमालयमा हिमनदी र हिमतालसँग जोडिएका जोखिम बढिरहेको तथ्यलाई बेवास्ता गर्न सकिँदैन । एउटै ल्हेन्दे जलाधारमा एक वर्षभन्दा केही बढी समयमै फेरि विनाशकारी बाढी आउनुले जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने संकेत दिएको छ । प्रकृतिलाई दोष दिएर राज्यको जिम्मेवारी समाप्त हुँदैन । बाढी रोक्न नसकिएला, तर बाढीलाई मृत्युको महासागर बन्न नदिन सकिन्छ । पूर्वसूचना दिन सकिन्छ । जोखिमयुक्त बस्ती पहिचान गर्न सकिन्छ । सुरक्षित मार्ग बनाउन सकिन्छ । पुल र सडकको डिजाइन बदल्न सकिन्छ । सीमा पारिको जोखिमसँगै सीमा वारिको जीवन जोगाउन सकिन्छ । तिब्बतको हिमाली क्षेत्रमा खसेको बरफ र चट्टानले ल्हेन्दे खोलालाई उग्र बनायो । ल्हेन्देले भोटेकोशीलाई रगताम्य बनायो। भोटेकोशीले त्रिशूलीलाई भ¥यो । त्रिशूलीले नुवाकोटसम्म पीडाको खबर ल्यायो ।
हिमाल रोयो, नदी रगताम्य भयो ।
           अब हाम्रो जिम्मेवारी हिमालको त्यो रुवाइ सुन्नु हो । नदीको त्यो चेतावनी बुझ्नु हो । र अर्को विपद् आउनुअघि राज्यलाई यस्तो बनाउनुपर्छ–जहाँ उद्धारका लागि हेलिकप्टर उड्नुअघि नै चेतावनीको सन्देश बस्ती–बस्ती पुगिसकेको होस् ।
किनकी विपद्को पानी तल बग्छ,
तर त्यसको संकेत धेरैपटक हिमालको टाकुरामै जन्मिसकेको हुन्छ ।