2026 October 08/ 04:41: 25pm

    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा कृषि उत्पादनका लागि रासायनिक मलको माग उल्लेख्य छ । कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकको आर्थिक वर्ष २०८२÷०८३ को तथ्याङ्कअनुसार जिल्लामा युरिया, डीएपी र पोटासको माग तथा आपूर्तिको अवस्था फरक–फरक रहेको छ । 
    युरियाको परिमाण सबैभन्दा बढी देखिएको छ भने पोटासको परिमाण तुलनात्मक रूपमा निकै कम छ । जिल्लामा युरियाको परिमाण ७ हजार २७६ दशमलव ५५ मेट्रिक टन, डीएपीको ४ हजार ४४७ दशमलव ८५ मेट्रिक टन र पोटासको ४५० दशमलव ७५ मेट्रिक टन रहेको छ । यी तीन प्रकारका मलको कुल परिमाण १२ हजार १७५ दशमलव १५ मेट्रिक टन हुन्छ । कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले माग र आपुर्तिको सन्तुलन मिल्न नसकेको बताए । 
    रासायनिक मलको आवश्यकतामा युरियाको हिस्सा ठूलो छ । युरियाको हिस्सा ५९ दशमलव ८ प्रतिशत, डीएपीको ३६ दशमलव ५ प्रतिशत र पोटासको ३ दशमलव ७ प्रतिशत छ । कृषि विकास कार्यालयको तथ्याङ्कमा स्थानीय तहमा रासायनिक मलको परिमाण फरक–फरक छ । पाँचखाल, पनौतीलगायतका कृषि उत्पादन बढी हुने क्षेत्र र अन्य स्थानीय तहबीच मलको परिमाणमा अन्तर देखिन्छ । मल वितरण गर्दा स्थानीय तहको कृषि उत्पादन, खेतीयोग्य जमिन र बालीको प्रकृतिलाई ध्यान दिनुपर्ने देखिन्छ । काभ्रेपलाञ्चोकको कृषि क्षेत्र धान, मकै, तरकारी तथा अन्य बाली उत्पादनमा आधारित छ । कृषि उत्पादन बढाउन मलको उपलब्धता महत्वपूर्ण भए पनि मलको परिमाण मात्र पर्याप्त हुनु हुँदैन । किसानले आवश्यक समयमा, आवश्यक प्रकारको मल प्राप्त गर्न सक्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । तथ्याङ्कमा युरियाको परिमाण सबैभन्दा बढी देखिएकाले यसको आपूर्ति र वितरण व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने छ । त्यस्तै, डीएपी र पोटासको उपलब्धता पनि बालीको आवश्यकता र खेतीको समयअनुसार सुनिश्चित गर्न आवश्यक छ । 
    मलको माग र वास्तविक आपूर्तिबीचको अन्तर स्पष्ट रूपमा सार्वजनिक गर्नु महत्वपूर्ण छ । मागअनुसार मल उपलब्ध भए–नभएको जानकारीले किसानलाई योजना बनाउन सहयोग पु¥याउँछ । साथै, मल वितरणमा पारदर्शिता कायम गर्न र सम्भावित अभाव पहिचान गर्न पनि सहज हुन्छ । कृषकले खेतीको समयमा मल सहज रूपमा प्राप्त गर्ने वातावरण निर्माण गर्न समयमै आपूर्ति, आवश्यकताअनुसार वितरण र प्रभावकारी अनुगमनमा ध्यान दिनु पर्छ ।