2026 April 16/ 03:06: 50pm

    नेपालकै पहिलो ‘स्वस्थ शहर’ का रूपमा परिचित धुलिखेल स्वास्थ्य बीमाको कार्यान्वयनमा पनि उदाहरणीय नगर बनेको छ । आठ वर्षसम्म नगरको नेतृत्व गरेका धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जु फागुन २१ गते हुने निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् । उनको नेतृत्वकालमा धुलिखेलले स्वास्थ्य क्षेत्रमै मात्र होइन, स्वास्थ्य बीमाको पहुँच र उपयोगमा समेत उल्लेखनीय फड्को मारेको देखिन्छ ।
    देशभर लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रम नीति र उद्देश्यका हिसाबले महत्वाकांक्षी भए पनि व्यवहारमा अझै पूर्ण प्रभावकारी बन्न सकेको छैन । सरकारी नीतिगत अस्पष्टता, सेवा केन्द्रको सीमितता, जटिल प्रक्रिया र कमजोर जनचेतनाका कारण धेरै नागरिकले स्वास्थ्य बीमाबाट अपेक्षित सहजता पाउन सकेका छैनन् । तर जहाँ अस्पताल, सूचीबद्ध सेवा केन्द्र, सूचना र पहुँच उपलब्ध छन्, त्यहाँ भने बीमा कार्यक्रमले राहत दिएको अनुभूति नागरिकले गरेका छन् । धुलिखेल यसैको उदाहरण हो ।
    काभ्रेपलाञ्चोक जिल्लाको तथ्यांकले जिल्लाको कुल जनसंख्याको करिब ५७.७ प्रतिशत मात्रै स्वास्थ्य बीमामा आबद्ध रहेको देखाउँछ । यो अवस्था ‘सबै नागरिकको सार्वभौमिक स्वास्थ्य पहुँच’ भन्ने सरकारी दाबीभन्दा धेरै टाढा छ । बनेपा, पनौती र पाँचखालजस्ता शहरी तथा अर्धशहरी पालिकामा स्वास्थ्य बीमाको पहुँच ६० देखि ७३ प्रतिशतसम्म पुगेको छ । तर जिल्लाका पहाडी र दुर्गम गाउँपालिकाहरूमा अवस्था निकै चिन्ताजनक छ ।
    खानीखोलामा मात्र १०.८ प्रतिशत, महाभारतमा १५.१ प्रतिशत र चौरीदेउरालीमा २५.४ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बीमामा समेटिएका छन् । तेमाल (२६.७%), बेथान्चोक (२८.५%) जस्ता पालिकाको अवस्था पनि उस्तै कमजोर छ । यसले स्वास्थ्य बीमा कार्यक्रम भूगोल र पहुँचका आधारमा गहिरो असमानतामा रहेको स्पष्ट संकेत गर्छ । यही असमानताको बीचमा धुलिखेल नगरपालिका भने अपवादका रूपमा उभिएको छ । धुलिखेलमा स्वास्थ्य बीमा आबद्धता १०१.२ प्रतिशत पुगेको छ, जुन जनसंख्याभन्दा बढी हो । यसको कारण धुलिखेलमा बसोबास गर्ने सरकारी–गैरसरकारी कर्मचारी तथा आसपासका नागरिकले पनि सेवा सहजताका कारण धुलिखेलबाटै बीमा गराउनु हो । यसले स्वास्थ्य सेवा गुणस्तर, विश्वास र व्यवस्थापन राम्रो भए बीमा कार्यक्रम प्रभावकारी हुन सक्छ भन्ने प्रमाणित धुलिखेलले गरेको छ । स्थानीय तहहरूले ‘बीमा कार्यक्रम छ’ भनेर औपचारिक प्रतिवेदन बुझाए पनि ग्रामीण भेगमा बीमा दर्ता अभियान, जनचेतना, सहुलियत शुल्क व्यवस्था तथा नवीकरण प्रक्रियामा आवश्यक सक्रियता देखिएको छैन । विपन्न, दलित र सिमान्तकृत समुदायका लागि प्रदेश तथा स्थानीय सरकारले सहजिकरणको दाबी गरे पनि त्यसको प्रभाव दुर्गम क्षेत्रमा न्यून देखिन्छ । २०८२ माघ १० गतेसम्मको तथ्यांकमा काभ्रेपलाञ्चोक जिल्लाको ३ लाख ६४ हजार ३९ जनसंख्या मध्ये २ लाख ९ हजार ९ सय २१ नागरिक स्वास्थ्य बीमामा आवद्ध छन् । यो संख्या आफैंमा महत्वपूर्ण भए पनि अझै करिब आधा जनसंख्या बीमाको दायराबाहिर रहेको यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन । धुलिखेलको अनुभवले के स्पष्ट गर्छ भने स्वास्थ्य बीमा केवल केन्द्रको नीति मात्र होइन, स्थानीय नेतृत्व, सेवा संरचना र जनविश्वाससँग जोडिएको विषय हो । जहाँ नेतृत्व सक्रिय छ, त्यहाँ बीमा सफल छ । अब आवश्यकता छ—धुलिखेलको मोडललाई अध्ययन गरेर दुर्गम र पिछडिएका पालिकामा कार्यान्वयन गर्ने राजनीतिक इच्छाशक्ति र नीतिगत सुधारको। नत्र स्वास्थ्य बीमा कार्यक्रम कागजमै सीमित हुने देखिन्छ ।