2026 April 16/ 04:38: 07pm

    दुर्गम र ओझेलमा परेको क्षेत्रका रूपमा चिनिएको महाभारत गाउँपालिका परिवर्तनको एक सशक्त कथा बन्दैछ । विकासका आधारभूत पूर्वाधार विस्तारसँगै यसले आफ्नो मौलिक पहिचानलाई जोगाउँदै सम्भावनाको नयाँ ढोका खोल्न थालेको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र साँस्कृतिक विविधताले भरिएको यो भूभाग अब केवल भौगोलिक विकटता होइन, समृद्धिको संकेत बोकेको क्षेत्रका रूपमा स्थापित हुँदैछ ।
    महाभारतका डाँडाकाँडा, हरियाली वनजंगल र झरनाहरू आफैंमा अनुपम सम्पदा हुन् ।   महाभारत लेक, भूमेचुली, ताराखसे, चैतेपानी, पात्ले तीनतले झरना, सरदुङ मेलुङ झरना, जोर छाँगा, बनखुचौर देविटार, कोखाजोर खोला, बेतिनी लेकजस्ता स्थलहरू केवल दृश्य सुन्दरता मात्र होइनन्, तिनले ग्रामीण पर्यटनको बलियो आधार तयार पारिरहेका छन्। विशेषगरी सरदुङ मेलुङ झरना जस्ता गन्तव्यहरू सही व्यवस्थापन र प्रचारप्रसार पाएमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन नक्शामा स्थापित हुन सक्ने स्पष्ट संकेत देखिन्छ ।
    तर, पर्यटनको सम्भावना मात्र पर्याप्त हुँदैन—त्यसलाई स्थानीय जीवनसँग जोड्नुपर्छ । यही सन्दर्भमा महाभारतले कृषि र उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकतामा राख्नु सकारात्मक संकेत हो । कफी खेतीलाई पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना, अम्रिसोको व्यावसायीकरण, खुवा उत्पादनजस्ता कार्यक्रमहरूले गाउँपालिकालाई आत्मनिर्भरतातर्फ डो¥याउने आधार तयार पारिरहेका छन्। ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ जस्ता अभियान केवल नारा होइनन्,  तिनले कृषिमा लगानी र आकर्षण बढाउने व्यवहारिक उपायको रूपमा काम गरिरहेका छन् ।
    सुशासन र सेवा प्रवाह सुधारतर्फ गरिएका प्रयासहरूले पनि महाभारतलाई उदाहरणीय बनाउने संकेत दिएका छन् । कानुनी संरचना निर्माण, डिजिटल भुक्तानी प्रणाली, नागरिक सहायता कक्ष स्थापना र ‘पहिले आउने, पहिले सेवा’ प्रणालीले स्थानीय सरकारप्रति विश्वास मजबुत बनाएको छ ।      विकास केवल भौतिक संरचना निर्माण मात्र होइन, सेवा प्रणालीमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नु पनि हो, जसतर्फ महाभारतले कदम चालेको देखिन्छ।सामाजिक क्षेत्रमा शिक्षा, स्वास्थ्य र खानेपानीमा भएका सुधारले जनजीवनमा प्रत्यक्ष प्रभाव पारेका छन्। निःशुल्क शिक्षा, स्वास्थ्य शिविर, पूर्ण खोप अभियान र ‘एक घर, एक धारा’ जस्ता कार्यक्रमहरूले आधारभूत अधिकार सुनिश्चित गर्ने दिशामा उल्लेखनीय प्रगति देखाएका छन् । यस्ता प्रयासले विकासलाई समावेशी र दिगो बनाउने आधार तयार गर्छन् ।
    यद्यपि, उपलब्धिका यी उज्याला पक्षबीच केही गम्भीर चुनौतीहरू पनि रहेका छन् । सीमित स्रोतसाधन, अपुग जनशक्ति, संघीय तथा प्रदेशबाट अपेक्षित सहयोगको कमी, र विकट भूगोलले विकासलाई अझै चुनौतीपूर्ण बनाइरहेको छ । योजनाहरू समयमै कार्यान्वयन नहुनु, कर्मचारी टिकाउन कठिन हुनु र विपद् पूर्वसूचना प्रणालीको अभाव जस्ता समस्या समाधान नगरी दीर्घकालीन उपलब्धि सुनिश्चित गर्न सकिँदैन।अब महाभारतका लागि मुख्य प्रश्न विकास सुरु भयो कि भएन भन्ने होइन, त्यो कति दिगो र समावेशी हुन्छ भन्ने हो। पर्यटन, कृषि र सुशासनलाई सन्तुलित रूपमा अघि बढाउँदै स्थानीय जनताको सहभागिता सुनिश्चित गर्न सके मात्र यहाँको सम्भावना वास्तविक उपलब्धिमा रूपान्तरण हुनेछ । महाभारत अब विकटताको कथा होइन—यो परिवर्तन, सम्भावना र आत्मनिर्भरतातर्फ उक्लिँदै गरेको एक जीवित उदाहरण हो ।