2026 April 16/ 04:37: 47pm

    काभ्रेपलाञ्चोक जिल्लाको तेमाल क्षेत्रमा राष्ट्रिय वन र सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालन गरिएको ‘हेन्जेन दोर्जे’ क्रसर उद्योगविरुद्ध वन मुद्दा दर्ता प्रक्रिया अघि बढाइनु केवल एउटा प्रशासनिक कदम मात्र होइन । यो राज्यको कानुनी दायित्व, पर्यावरणीय उत्तरदायित्व र स्थानीय समुदायको न्यायप्रतिको अपेक्षासँग गाँसिएको गम्भीर विषय हो । डिभिजन वन कार्यालयले स्थलगत अनुगमनमार्फत ३.४ हेक्टर राष्ट्रिय वन क्षेत्र अतिक्रमण भएको पुष्टि गर्नुले हाम्रो वन व्यवस्थापन प्रणालीमा विद्यमान कमजोरी, नियमनको अभाव र राजनीतिक–आर्थिक प्रभावको छायालाई उजागर गरेको छ ।
    नेपाल जस्तो जैविक विविधताले समृद्ध देशमा वन केवल काठ वा जमिनको स्रोत होइन, यो जलस्रोत, माटो संरक्षण, जलवायु सन्तुलन र स्थानीय जीविकोपार्जनको आधार हो । यस्तो सन्दर्भमा कुनै पनि उद्योगले निजी जग्गाको नाममा अनुमति लिएर व्यवहारमा सार्वजनिक तथा वन क्षेत्रमा विस्तार हुनु केवल कानुन उल्लंघन मात्र होइन, दीर्घकालीन वातावरणीय संकट निम्त्याउने कार्य हो । अझ विडम्बना के छ भने, यस्ता गतिविधि प्रायः स्थानीय तहदेखि केन्द्रसम्मका निकायको आँखा अगाडि वर्षौंदेखि चलिरहन्छन् । स्थानीयवासीले उठाएका गुनासा–खेतबारीमा क्षति, पानीका मुहान सुक्नु, धुलो तथा ध्वनि प्रदूषण, खोलाको बहाव परिवर्तन—यी कुनै सामान्य समस्या होइनन् । यी संकेत हुन् कि विकासका नाममा भइरहेको अव्यवस्थित उत्खनन्ले प्राकृतिक सन्तुलनलाई गम्भीर रूपमा बिगारिरहेको छ । करिब ४ सय घरधुरी जोखिममा परेको तथ्यले यसलाई केवल वातावरणीय मुद्दा नभई सामाजिक न्याय र मानव सुरक्षाको प्रश्न बनाउँछ ।
    नेपालमा क्रसर उद्योग सञ्चालन सम्बन्धी मापदण्ड र कानुनी व्यवस्था स्पष्ट छन् । तर कार्यान्वयनको पाटो सधैं कमजोर देखिन्छ । उद्योगले अनुमति लिएको स्थानभन्दा बाहिर सञ्चालन गरेको पुष्टि हुँदाहुँदै पनि किन यत्रो समयसम्म कारबाही हुन सकेन ? के स्थानीय निकाय, प्रशासन र नियामक संस्थाहरूबीच समन्वयको अभाव हो, वा प्रभावशाली व्यक्तिहरूको दबाब ? यी प्रश्नहरूको उत्तर खोजिनु जरुरी छ । वन ऐन, २०७६ ले वन अतिक्रमणलाई गम्भीर अपराधका रूपमा लिएको छ, जसमा जरिवाना र कैद सजायँसम्मको व्यवस्था छ । तर कानुनको कठोरता कागजमा मात्र सीमित रह्यो भने त्यसको अर्थ रहँदैन । यस प्रकरणमा कारबाही प्रक्रिया सुरु हुनु सकारात्मक संकेत भए पनि यसले अन्तिम परिणाम दिन्छ कि दिँदैन भन्ने कुरा अझै अनिश्चित छ । विगतका धेरै उदाहरणहरूले देखाएका छन्–प्रारम्भिक कारबाहीपछि मुद्दा सेलाउने, सम्झौता गर्ने वा राजनीतिक दबाबमा कमजोर बनाउने प्रवृत्ति विद्यमान छ ।
    यस घटनाले अर्को महत्वपूर्ण प्रश्न पनि उठाउँछ–विकास र वातावरणबीचको सन्तुलन कसरी कायम गर्ने ? ढुंगा, गिट्टी जस्ता निर्माण सामग्रीको आवश्यकता अस्वीकार गर्न सकिँदैन । तर त्यसको उत्खनन् वैज्ञानिक, व्यवस्थित र वातावरणमैत्री तरिकाले हुनुपर्छ । नदी प्रणाली, भू–क्षय, जैविक विविधता र स्थानीय समुदायमा पर्ने प्रभावको मूल्यांकन नगरी गरिएको उत्खननले अल्पकालीन आर्थिक लाभ दिन सक्छ, तर दीर्घकालमा ठूलो क्षति पु¥याउँछ । अब आवश्यक के छ भने, यस प्रकरणलाई उदाहरणका रूपमा लिएर देशभर सञ्चालनमा रहेका यस्तै उद्योगहरूको पुनः मूल्यांकन गरिनुपर्छ ।  अनुगमनलाई नियमित, पारदर्शी र उत्तरदायी बनाउनुपर्छ । स्थानीय समुदायलाई निगरानी प्रक्रियामा सहभागी गराउनुपर्छ, किनकि उनीहरू नै प्रत्यक्ष पीडित र सरोकारवाला हुन् । साथै, वातावरणीय प्रभाव मूल्यांकनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ ।
     प्रश्न स्पष्ट छ—के राज्यले आफ्नै कानुन लागू गर्न सक्छ ? यदि सक्छ भने, ‘हेन्जेन दोर्जे’ प्रकरणमा कडा र निष्पक्ष कारबाही हुनुपर्छ । यदि सक्दैन भने, यस्ता घटनाहरू दोहोरिरहनेछन् र वन, वातावरण तथा स्थानीय समुदायको भविष्य झन् असुरक्षित बन्दै जानेछ ।