देशभित्र पर्याप्त रोजगारीका अवसर नहुँदा वैदेशिक रोजगारी नेपाली युवाका लागि बाध्यात्मक विकल्प बन्दै गएको छ । काभ्रेपलाञ्चोक जिल्लाबाट मात्र एक वर्षको अवधिमा १३ हजार २ सयभन्दा बढी युवा रोजगारीका लागि विदेशिनु यसैको स्पष्ट उदाहरण हो । हरेक वर्ष यो संख्या बढ्दो क्रममा रहनु मुलुकको श्रम बजार, आर्थिक संरचना र सामाजिक जीवनमा गहिरो असर पारिरहेको छ ।
वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको तथ्य अस्वीकार गर्न सकिँदैन । कुल ग्राहस्थ उत्पादनमा करिब २८ प्रतिशत योगदान, ७६.८ प्रतिशत घरपरिवारको जीवनयापनमा प्रत्यक्ष सहयोग र ३० खरबभन्दा बढी विदेशी मुद्रा सञ्चिति हुनु वैदेशिक रोजगारीकै परिणाम हो । आर्थिक वर्ष २०८१÷०८२ मा मात्रै १७ खरब २३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिनु यसको प्रमाण हो । गरिबी न्यूनिकरण, शिक्षा र स्वास्थ्यमा पहुँच बृद्धि जस्ता सकारात्मक पक्ष पनि यसैसँग जोडिएका छन् । तर यसका चुनौती र सामाजिक मूल्य चुकेको पक्ष अझ गम्भीर बन्दै गइरहेको छ । काभ्रेपलाञ्चोकबाट वैदेशिक रोजगारीमा गएकामध्ये एक वर्षमै १५ जनाले ज्यान गुमाउनु र दर्जनौं अंगभंग हुनु पीडादायी यथार्थ हो । दैनिक ३ देखि ५ वटा शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देश भित्रिनु केवल तथ्यांक होइन, राज्यको गम्भीर असफलताको संकेत हो ।
सूचना र सीपको अभावमा युवा थ्रीडी (फोहोर, कठिन र खतरनाक) काम गर्न बाध्य छन् । दलाल र अवैध मेनपावरको फन्दामा परेर ठगी, शोषण र अलपत्र पर्ने क्रम रोकिएको छैन । प्राप्त रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसक्दा उपभोगमुखी र भड्किलो जीवनशैली बढ्दो छ । उता गाउँघरमा युवा जनशक्तिको अभावले खेतीयोग्य जमिन बाँझिँदै जंगलमा परिणत हुँदै जानु अर्को चिन्ताको विषय बनेको छ । वैदेशिक रोजगारीको असर केवल आर्थिकमा सीमित छैन । परिवार विखण्डन, मानसिक स्वास्थ्य समस्या, घरेलु हिंसा, सम्बन्ध विच्छेद र सामाजिक असन्तुलन बढ्दै गएका छन् । अभिभावकको अभावमा बालबालिका र जेष्ठ नागरिकहरू असुरक्षित बन्दै गइरहेका छन् । यससँगै, अध्ययनका नाममा विदेशिने विद्यार्थीका कारण ठूलो रकम बाहिरिनु दीर्घकालीन रूपमा अर्थतन्त्रका लागि चुनौतीपूर्ण बन्दैछ । राज्यले अब वैदेशिक रोजगारीलाई केवल रेमिट्यान्सको स्रोतका रूपमा होइन, समग्र मानव सुरक्षाको सवालका रूपमा हेर्नु जरुरी छ । सुरक्षित आप्रवासन, सीपमूलक तालिम, सही सूचना प्रवाह, कडाइका साथ दलाल नियन्त्रणर स्वदेशमै रोजगारी सिर्जनामा गम्भीर लगानी आजको आवश्यकता हो । वैदेशिक रोजगारी बाध्यता नभई विकल्प बनाउनेतर्फ नीतिगत रूपमै सोच्न नसकेसम्म, युवाको पलायन र त्यसले निम्त्याउने सामाजिक घाउ अझ गहिरिँदै जाने निश्चित छ ।





