2026 April 18/ 08:56: 23pm

जो अगुवा उसैले बाटो बिराएका उदाहरण समाजमा धेरै देखिन थालेका छन् । प्रविधिको प्रयोग र कानूनी उपचारका लागि सहज माध्यमहरु बनिरहेको अवस्थामा घटना लुकाउन छाड्ने र घटना हुनै नदिने तर्फ सचेत हुनुपर्छ । न्यायका लागि प्रकृया शुरु गरेर न्यायको अपेक्षा गरेका बालबालिकाहरु त्यतिबेला झनै मर्माहत हुन पुग्छन् जतिबेला उनिहरुले अपेक्षा गरे भन्दा फरक परिणाम देखिन्छ । जिल्लाका पछिल्ला केहि घटनामा बालबालिकाहरुले शुरु गरेको न्यायको अभियान पानीको फोका जस्तै फुट्न पुगेको छ । ठुला ठुला फोका उठ्ने गरी परेको पानीका फोका आफै फुटे झै भिडका आधारमा, कसैको योजनामा र निर्देशनमा भएका सुनियोजित घटनामा भने परिणाम प्राप्त पनि हुँदैन र हुन पनि सक्दैन । अन्तिम हतियारका रुपमा बालबालिकाहरुलाई प्रयोग गर्ने प्रचलन पनि ल्याईएको छ । यस्ता अमूर्त र कोठा भित्रका काला पर्दाहरुको पर्दाफास गर्ने भन्दा पनि संरक्षण गर्ने अभियान बढेको छ । जसका कारण बास्तविक पीडितहरुले न्याय पाउनबाट बञ्चित हुन थालेका छन् भने पीडकलाई परिबन्दमा पार्ने र दुःख दिने सुनियोजित घटनाहरु बढ्न थालेका छन् ।
    पछिल्लो समय जिल्लाका विभिन्न पालिकामा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षकहरुबाटै यौनजन्य कृयाकलापको दृष्टिकोणबाट दुव्र्यवहार भएको उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन् । केहि घटनामा विद्यार्थीहरुको भावना विपरीत राजनीतिकरण गर्दै घटनालाई अतिरञ्जित गरिएको छ । जिल्लाको समग्र तथ्याङ्क र विगतका वर्षहरुमा दर्ता भएका मुद्दाहरुको विवरणका आधारमा काभ्रेपलाञ्चोक जिल्लामा बालबालिकाहरु प्रति हुने यौन दुव्र्यवहारका घटना बढेका छन् । आर्थिक वर्ष २०७९÷०८० मा जिल्ला अदालतको बाल इजलासमा ३५ मुद्दा थिए । जिम्मेवारी सरेका १५ वटा र नयाँ मुद्दा २० वटा गरी ३५ मुद्दा कायम भए । जिम्मेवारी सरेका र नयाँ गरी ३१ वटा मुद्दाको फछ्र्याैट भयो । घटनामा संलग्न बालबालिकाहरु मध्ये २ जनालाई अभिभावकको जिम्मेवारीमा पठाईएको थियो भने एक जनालाई बालसुधार गृहमा र अभिभावकको जिम्मामा रहेका ३ वटा मुद्दा छन् । बाल सुधार गृहमा पठाईएका बालबालिकाहरु पनि पुनः निस्केर त्यहि कार्यमा लाग्ने गरेका घटना दोहोरिन थालेका छन् । 
    सुधार गृहमा सुधार भन्दा पनि यातना धेरै हुने गरेको पछिल्ला घटनाहरुले देखाएका छन् । उनिहरुलाई दिईने परामर्श र हेरचाह कमी भयो कि ? मुलुक निर्माणको जिम्मेवारी बोक्नुपर्ने कलिला बालबालिकाहरुमा किन अपराधको मानसिकता थपिएको छ ? जिल्लामा दर्ता भएका ३५ मध्ये ८ वटा मुद्दा बालयौन दुव्र्यवहारका छन् । आठवटा जर्बजस्ति करणीका छन् । सवारी अंगभङ्ग, डाँका चोरी, अभद्र ब्यवहार, अपहरण तथा शरीर बन्धक, झुटो विवरण पेश गरी नागरिकता लिएको, जर्बजस्ती करणी र चोरी, ज्यान मार्ने उद्योग लागु औषध प्रयोग तथा ओसारपसार सम्बन्धीका मुद्दा दर्ता भएका छन् । बालबालिकाहरुलाई विभिन्न अपरामा संलग्न गराउने वा आफै संलग्न भई अपराध गर्ने कार्य दिन प्रतिदिन बढिरहेको छ । केहि वर्ष अघि मात्रै सडकमा बसिरहेका बालबालिकाहरुले सडकमा हिडिरेकी एक युवतीलाई सामुहिक बलात्कार गरे र हत्या समेत गरे । निस्फिक्री रुपमा उनिहरु भन्छन हामीले घटना गराएको हो ? यसको दोष कसको ? अहिले तीन तहकै सरकारले गर्नुपर्ने र निभाउनु पर्ने दायित्वबाट कतै पन्छन पो खोजिरहेका छन् कि ? असुरक्षित रुपमा बालबालिकाहरुले आफ्ना दैनिकी कसरी संचालन गर्छन् ?