विश्व आत्महत्या दिवस सेप्टेम्वर १० विश्वभर मनाईएको छ । विश्वमा आत्महत्या गर्ने दर बढिरहेको छ । त्यसको असर नेपालमा पनि छ । सम्पन्न भएर मात्रै ब्यक्तिले आत्महत्या नगर्ने होईन । गरिबीका कारण मात्रै आत्महत्या हुने पनि होईन । आत्महत्याका लागि विभिन्न कारण जोडिएका छन् । ब्यक्तिको मन शान्त बनाउन तथा मनले चाहेको कुरा पुरा गर्न नसक्दा ब्यक्तिले आत्महत्या गरिरहेका छन् । विश्वमा नै आत्महत्या रोकथामका लागि भएका प्रयासहरु कामयावी हुन सकेका छैनन् । यसका लागि सरकारको प्राथमिकतामा परेको छैन । विकास निर्माणको प्राथमिकता जस्तै ब्यक्तिको मानसिक स्वास्थ्यका बारेमा चासो र चिन्ता लिएर उपचार गराउन सम्भव भयो भने ब्यक्तिको आत्महत्या दर कम गराउन सकिन्छ ।
तथ्याङ्क सुन्दै डरलाग्दा घटना हुन थाले पछि जुर्मुराउने पर्ने निकाय अझै उठ्न सकेका छैनन् । प्रहरी सचेतना बोकेर विद्यालय प्रवेश गरेको छ स्थानीय सरकार मुकदर्शक छन् । जिल्लाका हरेक निकाय ब्यक्ति ब्यक्तिको स्वास्थ्य अवस्था बुझ्दै मनोपरामर्शमा जुट्ने समय आएको मानसिक रोग विशेषज्ञहरु बताउन थालेका छन् । माओवादी सशस्त्र द्वन्द्वका समयमा पनि जिल्लामा १० वर्षको अवधीमा त्यति ब्यक्तिको निधन भएको थिएन । तर पछिल्ला १० वर्षमा आत्महत्याबाट मर्नेहरुको संख्या धेरै छ । दिन दिन अप्रत्यासित रुपमा ब्यक्तिहरु मरेका खबरले समुदायमा त्रास फैलन थालेको छ । त्रास न्यूनीकरण गर्न समुदाय जुर्मुराउन थालेको छ । ब्यक्ति ब्यक्तिमा मानसिक समस्या देखिन थालेको छ । यसका कारण थुप्रै छन् । मानसिक समस्यालाई समाधान गर्ने गरी स्थानीय सरकारले अलग्गै कार्यक्रम संचालन गर्नुपर्छ । मानसिक रोगको उपचार र परिक्षणका लागि हरेक पालिकास्तरमा अस्पताल संचालनमा ल्याउनु पर्छ । जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय र केहि स्थानीय तहले सचेतनामुलक कार्यक्रम शुरु गरेका छन् । महामारीजन्य रुपमा फैलन थालेको आत्महत्या न्यूनीकरणमा स्थानीय सरकार चुपचाप छन् । मुलुक र विश्वमै प्रविधिको विकसित रुपका कारण ब्यक्ति एक्लो हुँदैछ । समाज, समुदाय र परिवारबाट एक्लो महसुस हुन थालेको ब्यक्तिलाई सम्झाउने, बुझाउने र पारिवारीक घुलमिलमा रमाउन दिने वातावरण विस्तारै हराउँदै गएको छ । पछिल्लो सर्भेक्षणले १ सय जना ब्यक्तिमा ५० प्रतिशत ब्यक्ति कुनै न कुनै मानसिक समस्याले ग्रसित छन् । महामारीजन्य मानसिक रोगको न्यूनीकरण, रोकथाम र त्यस बारेमा जनचेतना जगाउन संचारमाध्यमको महत्वपूर्ण भूमिका हुन्छ । तर राज्यका निकायले नै मानसिक स्वास्थ्यलाई आवश्यकताका आधारमा प्राथमिकतामा नराखेका कारण नागरिकहरु रोग लुकाउन बाध्य छन् । रोग लुकाएकै कारण मानसिक रोग विस्फोटन हुँदा आत्महत्यासम्म पुग्ने गरेका छन् । यसको रोकथामका लागि सबै क्षेत्रको सक्रियता जरुरी छ । काभ्रेपलाञ्चोक जिल्लामा १० वर्षको अवधीमा १ हजार १२ जनाले आत्महत्याका कारण ज्यान गुमाउन पुगेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो वर्ष २२ जनाको संख्या कम हो । तर यो संख्या आर्थिक वर्ष २०८०/०८१ मा बढ्ने संकेत देखिएको छ । संकेतहरुका आधारमा न्यूनिकरणको अभियानलाई घर घर तथा ब्यक्ति ब्यक्ति पु-याउनु आवश्यक छ ।





