2026 April 17/ 04:36: 52am

जनप्रतिनिधिहरुले स्थानीय तहमा एक वर्ष पूरा गरेका छन् । अघिल्लो वर्ष निर्वाचित हुँदा आर्थिक वर्षको अन्त्य तिर भएकाले खासै मेलोमेसो नपाएका जनप्रतिनिधिहरुले एक वर्षको अवधीमा नागरिकहरुको तमाम समस्या र समाधानको बाटो समेत बुझेका छन् । तर पनि नागरिकहरुले अपेक्षाकृत उपलब्धी हासिल गर्न नसकेको गुनासोलाई स्थानीय सरकारले सम्बोधन गर्न सकेका छैनन । २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले एक वर्षको अवधी पुरा गरेका छन् । निर्वाचनको मत परिणाम प्राप्त भए सँगै सपथ ग्रहण पछि कार्यभार सम्हालेका जनप्रतिनिधिहरुले पहिलो वर्ष अघिल्लो आर्थिक वर्षका योजनाहरु सम्पन्न गर्न ध्यान केन्द्रित गरे भने चालु वर्षका लागि आफै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे । केहि पालिकाले राम्रो कामको शुरुवात पनि गरेका छन् । केहि पालिकाले शुरु गरेका कार्यलाई सम्पन्न गर्न सकेका छैनन् ।    दक्षिण एशियामै पहिलो स्वस्थ शहर घोषणाको तयारीमा धुलिखेल छ । स्वस्थ शहर निर्माणका लागि घर धुरी सर्भेक्षण सम्पन्न गरी कुन घरका ब्यक्तिलाई कस्तो प्रकारको रोग लागेको छ ? कस्तो प्रकारको रोगको निदान र उपचारका लागि नगरपालिकाले कस्तो योजना बनाउनु पर्छ भन्ने तय भएको छ । धुलिखेल अस्पताल र धुलिखेल नगरपालिकाले शुरु गरेको अभियानमा नेपाल सरकारका प्रदेश र संघ सरकारका अलावा विश्व स्वास्थ्य संगठनले समेत चासो राखेर त्यसको अनुमति प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । धुलिखेल नगरपालिकाको अर्काे महत्वपूर्ण कार्यक्रम एक घर एक धारा हो । ९० प्रतिशत घरमा धारा पुगिसकेको अवस्था छ । छिट्टै पूर्ण रुपमा खानेपानी प्राप्त गर्ने नगरपालिकाका रुपमा नगरपालिका चिनिने छ । गरिवी मुक्त नगर, स्वस्थ शहर, सरसफाई युक्त शहर, उज्यालो शहर, पूर्ण खोप, बालमैत्री शहर, शुन्य कार्वन उत्र्सजन गर्ने शहरका रुपमा चिनिदै छ । निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारका कार्यक्रम नगरपालिकाको प्राथमिकतामा छ । हरेक पालिकाहरुले  शिक्षा, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधारलाई महत्वपूर्ण कार्यभारका रुपमा अघि बढाएका छन् । 
केहि पालिका संस्थागत, भौतिक र प्रशासनिक कार्य प्रारम्भ तर्फ अघि बढेका छन । खानीखोला गाउँपालिकाले एक वर्षको अवधीमा भौतिक पूर्वाधारका लागि प्रशासकिय भवन निर्माणका लागि जग्गा प्राप्ति गरेको छ । अहिलेसम्म गाउँपालिकाको प्रशासनिक भवन साविकको गाउँ विकास समितिको साँघुरो भवनमा छ । शिक्षाको गुणस्तरका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गरी शिक्षक सेवा आयोगबाट प्राप्त शिक्षकहरुको ब्यवस्थापन गरेको छ । बाल विवाह न्यूनिकरण गर्न हरेक विद्यालय र अभिभावकहरुलाई जनचेतनामुलक सडक नाटक संचालन गरेको छ । सडक निर्माणलाई प्राथमिकतामा राखी १२ महिना नै सडक संचालन हुने गरी अवरुद्ध हुन सक्ने स्थानको पहिचान गरी मर्मत, सम्भार र पुर्ननिर्माणको कार्य गरेको छ । जिल्लाको सबै भन्दा अग्लो स्थान बेथान्चोक नारायणस्थानलाई पर्यटकिय रुपमा अघि बढाउन ढुंखर्कबाट केबुलकार संचालनका लागि सम्भाब्यता अध्ययन गरिएको छ । अर्काे महत्वपूर्ण कार्य गाउँपालिकाले जिल्लामै पहिलो पटक सुरुङ्ग मार्ग निर्माणका लागि काठमाडौ विश्वविद्यालयको सहकार्यमा प्राज्ञिक थलोको रुपमा चिनाउने गरी सम्झौता गरिएको छ महाभारत गाउँपालिकाले यो वर्ष १ हजार ५ सय घरमा विजुली बत्ति बालेको छ । पहिलो पटक राष्ट्रिय प्रसारण लाईनको बत्ति महाभारत गाउँपालिकामा पुगेको छ । वडा नम्वर ३, ४ र ५ का १ हजार ५ सय घरमा विजुली बत्ति बलेको छ । गाउँपालिकाले ३ हजार घर धुरीलाई मिटर जडानका लागि अनुदान उपलब्ध गराएको थियो । भुम्लु गाउँपालिकाले जिल्लाकै नमुना कार्य शुरु गरेको छ । गाउँपालिका आफैले हेभि इक्युमेन्ट खरिद गरेर भुम्लु गाउँपालिकाको भुम्लुटार देखि सिम्थली जोड्ने सडक निर्माण कार्य जारी छ । गाउँपालिकामा भएका ४६ वटै विद्यालयमा योगालय निर्माण गरेर हरेक विद्यार्थीहरुलाई योगको माध्यमबाट स्वस्थ राख्ने कार्यक्रम प्रारम्भ गरिएको छ भने विद्यालयमा हर्बल बगैचा शुरु गरिएको छ । दोलालघाट देखि साँगासोतीसम्मको पर्यटन गुरुयोजना निर्माण र डिपिआर तयार गरिएको छ । कृषि मार्फत आत्मनिर्भर बनाउने गरी हरेक वडामा प्राविधिक तयार गरिएको छ । १३ वटै पालिकाले क्षमता अनुसार बनाएका योजना कार्यान्वयनका लागि प्रयास गरेका छन् ।