2026 April 17/ 04:36: 52am

    २०७२ सालमा गएको भुकम्पका कारण जिल्लाका अधिकांश ढुंगा माटोको जोडाईबाट निर्माण भएका भवनहरुमा क्षति पुग्यो । केहि पक्की घरहरु पनि भत्किए । अस्थायी घरहरुको अवस्था पनि नाजुक बन्यो । विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक भवनहरु, प्रहरी कार्यालय तथा अन्य भवनहरुमा पुगेको क्षतिले ठुलो जनधनको खर्च हुन पुग्यो । नागरिकहरुले पनि ज्यान गुमाए । बाँचेकाहरुलाई राज्यले राहत पनि प्रदान ग¥यो । भवनहरुको निर्माणका लागि आवासमा ३ लाख रुपैयाँ उपलब्ध गरायो भने अन्य भवनहरु विदेशी दाता तथा नेपाल सरकार आफैले पनि निर्माण ग¥यो । अझै पनि भुकम्पका कारण क्षति भएका कयन भवनहरु निर्माणाधीन अवस्थामा छन् । विशेषगरी विद्यालय, स्वास्थ्य संस्था र प्रहरी कार्यालयका अलावा नागरिकहरुले आवास पनि निर्माण गर्न सकेका छैनन् । वास्तविक भुकम्पबाट पीडित भएकाहरुले घर बनाउन रकम प्राप्त गर्न सकेनन् भने ग्रैह् पीडितहरुले भवन निर्माणका लागि लिएको राहत सदुपयोग भएको छैन । 
    भुकम्प गएको ८ वर्ष लागेको छ । यो अवधीमा थुप्रै भवनहरु निर्माण भए । आवासीय भवनहरु भुकम्पका लागि मात्रै बनेको आभाष भएको छ । भुकम्प घरको नामांकरण गरिएको घरहरुले ग्रामीण भेगमा एउटा परिवारको आवश्यकता धान्न सकेनन् । केहि घरहरु प्रयोगमा आउन सकेनन् । करिब १८ हजार भन्दा धेरै घरधुरीहरु अझै प्रयोग विहिन भएका छन् । ३ लाख रुपैयाँ पाउने लोभमा ३० लाख ऋण लिएर शहरी क्षेत्रमा घर बनाउने नागरिकहरुले अहिले ऋण तिर्न सकेका छैनन् । भद्दा घर निर्माण र लाखौ रुपैया खर्च गरिएका कारण त्यसको ऋणको भारले अहिले पनि किस्ता बुझाउन नसकेका नागरिकहरुको संख्या धेरै छ । एकातिर भवनहरुको संख्या थपिएको छ । अर्काेतिर जनगणनामा संख्या घटिरहेको छ । परिवार संख्या बढिरहेको छ । भवन बढिरहेका छन् । तर जनसंख्या घटिरहेको छ । भुकम्पका कारण अधिकांश परिवारले घर निर्माण गरेका कारण जनगणना २०७८ को तंथ्यांकमा पनि भवनहरुको संख्या थपिएको छ । बनेका घरहरु भुकम्प प्रतिरोधी भएकाले अब आउने त्यस्ता विपद्हरुमा नागरिकहरुको जनधनको क्षति कम हुने अपेक्षा गरिएको छ । तर कतिपय स्थानमा भुकम्प पछि निर्मित घरमा नागरिकहरु नबसेर भुकम्पले चर्काएका पुरानै घरहरुमा बसिरहेका छन् । एकातिर राज्यबाट अनुदान लिएर घर बनाउने अर्काेतिर नागरिक चाँहि जोखिम भएकै घरमा बस्ने गर्दा राज्यले सोचेको नागरिक सुरक्षित राख्ने योजना सफल हुन सकेको छैन । नागरिकहरुले आफु सुरक्षित हुने घरमा बसेर त्यस्ता जोखिम भएका घर खाली गर्नुपर्छ । स्थानीय सरकारले त्यस्तो विषयमा समयमा ध्यान दिन सकेनन भने भविष्यमा हुन सक्ने विपदले पुनः जनधनको क्षति गराउने निश्चित छ । 
    जिल्लामा १ लाख २९ हजार ५ सय ९४ वटा भवन रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लामा निर्माण भएका कुल भवनहरुको संख्या जनगणना २०७८ मा सार्वजनिक भएको छ । निर्माण भएका घरहरु मध्ये १८ हजार ५ सय ५५ वटा घर खाली छन् । कुल भवनहरु मध्ये ८० हजार ६१ आवासीय छन् । ब्यवसायीक तथा तालिम केन्द्रहरुका रुपमा २५ सय ७९ वटा भवन निर्माण भएका छन् । सरकारी भवन ३ सय ७४ वटा छन् भने शैक्षिक संस्थाहरु १ हजार ४ सय ६७ वटा निर्माण भएका छन् । भुकम्प पछि विद्यालय भवन निर्माणको संख्या ह्वात्तै बढेको हो । स्वास्थ्य संस्थाहरुको संख्या २ सय ५८ वटा छन् । हरेक वडामा स्वास्थ्य चौकी निर्माण तथा अस्पताल निर्माण भएको छ । उद्योगका लागि ५ सय ७२ वटा भवन निर्माण भएका छन् । जिल्लामा होटल तथा लजका लागि ४ सय ४२ वटा भवन निर्माण भएको तथ्यांकमा उल्लेख छ । जिल्लामा गोठ तथा स्टोरका लागि निर्माण भएका भवनहरुको संख्या १७ हजार ३ सय १२ वटा निर्माण छन् । अन्य भवनहरुको संख्या ७ हजार ४ सय १० वटा रहेका छन् । खाली घरहरुको संख्या १८ हजार ५ सय ५५ वटा रहेका छन् । भवन निर्माणको संख्या बढिरहँदा जिल्लाका नागरिकहरुलाई मात्रै होईन राज्यलाई पनि ऋणको भार थपिएको छ । निर्मित भवनहरुको सदुपयोग जरुरी छ ।