ढिलो न्याय दिनु नदिनु सरह हो भन्ने मान्यतालाई चिर्दै जिल्ला अदालत काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षमा मुद्दामा गरेको निरन्तरको सुनुवाई तथा ब्यवस्थापन र फैसलाको तथ्याङ्कले समयमै मुद्दाहरुको फछ्र्याैट गरेर पीडितहरुलाई न्याय दिन खोजेको आभाष दिलाएको छ । मुद्दा दर्ता गरेको लामो समयसम्म फैसला नहुने, फैसला भए पनि कार्यान्वयन नहुने र कार्यान्वयन भए पनि न्याय पाएको महसुस नहुने जस्ता कयन कारण न्यायालय प्रति घट्दो विश्वासलाई कमजोर बनाउँदै जिल्ला अदालत काभ्रेपलाञ्चोकले नागरिकहरुको विश्वास जित्ने गरी कार्य सम्पादनमा गति बढाएको छ । जिल्लाका नाागरिकहरुले न्याय सम्पादनमा जिल्ला अदालतले देखाएको क्षमता र फैसला कार्यान्वयनका पाटाहरुलाई अझै प्रभावकारी बनाउन नागरिक समाज, स्थानीय तह र सरोकारवाला पक्षहरुको भूमिकालाई महत्वपूर्ण बनाउन सुझाव समेत दिएका छन् ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अझै २ वर्ष नाघेका १ सय ४६ वटा, २ वर्ष सम्मका ८४ वटा, डेड वर्ष अवधीका २ सय ८ वटा, एक वर्ष अवधीका ३ सय ९६ वटा, ६ महिना भित्रका ६ सय ५ वटा गरी १ हजार ४ सय ३९ वटा मुद्दा फछ्र्याैट हुन बाँकी छन् । फछ्र्याैट भएका मध्ये ९ सय ४४ वटा जिम्मवारी सरि आएका मुद्दा हुन् भने ५ सय ३४ वटा नयाँ दर्ता मध्येका हुन् । चालु वर्षको मसान्तसम्म मुद्दा फछ्र्याैटको प्रतिशत धेरै बढ्ने अपेक्षा गरिएको छ । त्यसका लागि अदालत प्रशासनले प्रहरी, मुद्दाका पक्ष विपक्ष तथा अन्य सरोकारवाला निकाय मार्फत जुटाउनु पर्ने तथ्य प्रमाणहरु संकलनका लागि निरन्तर ताकेता गरिरहेको छ । आर्थिक वर्ष २०७८÷२०७९ बाट चालु आर्थिक वर्ष २०७९÷२०८० का लागि १ हजार ५ सय ५५ थान मुद्दाको जिम्मेवारी सरेको थियो । चालु वर्षको ९ महिनाको अवधीमा १ हजार ३ सय ६२ थान दर्ता भएका छन् । कुल मुद्दाको संख्या २ हजार ९ सय १७ पुगेको छ । जसमध्ये चैत्र महिनामा मात्रै २ सय ९४ वटा फछर्याैट भएका छन् भने ६ महिना अवधीका २ सय ९१ वटा, एक वर्ष अवधीका ५ सय ४ वटा, डेड वर्ष अवधीका २ सय ४० वटा, २ वर्ष अवधीका १ सय ६६ वटा र २ वर्ष नाघेका २ सय ७७ वटा गरी १ हजार ४ सय ७८ वटा मुद्दा फैसला भएका छन् । प्रतिशतका हिसावले यो ५०.६७ प्रतिशत हो । चालु वर्षमा दर्ता भएका भन्दा धेरै मुद्दा फछ्र्याैट गरी अदालतले कार्य सम्पादनमा समेत यो वर्ष उत्कृष्टता देखाएका छ । निर्वाचन तथा कम जनशक्तिका बाबजुत पनि धेरै मुद्दाको लगत घटाउन सकेको छ ।
दर्ता भएका मध्ये केहि मुद्दा अप्रत्यासित हुन थालेका छन् । सम्वन्ध विच्छेद भएका घटनामा पनि सम्पतिको हकदावी कार्यान्वयनमा कठिनाई देखिएको छ । केहिले सम्वन्ध विच्छेदको सट्टा अंशचलन र मानाचामलमा मुद्दा दर्ता गरेका छन् । प्रविधिको प्रयोग र खुल्मखुल्ला समाजका कारण सम्वन्ध विच्छेदका घटनामा बृद्धी हुन थालेको विश्लेषण गरिएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको २०७९ साउन १ गते देखि २०७९ चैत्र मसान्तसम्मको ९ महिनाको अवधीमा ३ सय ६५ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्लामा फौजदारी सरकारवादी अन्र्तगत दर्ता हुने मुद्दाहरु मध्ये डरलाग्दो तथ्याङ्क देखिएको करणी सम्वन्धी मुद्दा रहेका छन् । हरेक महिना ४ वटा भन्दा धेरै करणीका घटना दर्ता हुने गरेको तथ्याङ्कले देखाएको छ । एकल महिला, बालबालिका देखि जेष्ठ नागरिकहरुसम्म जर्बजस्ति करणी अभियोगका शिकार बनेका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाईने बाध्यकारी कानूनका कारण पनि केहि घटना जर्बजस्ति करणीमा दर्ता भएका छन् । प्रेम गर्ने, सम्वन्ध रहने अनि परिवारले थाहा पाएर असमझदारी भएको दिन जर्बजस्तिकरणीमा मुद्दा दर्ता भएका घटना पनि छन् । विवाह गर्न मिलेन, बच्चा समेत जन्मिसकेको अवस्थामा जन्मदर्ता, विवाह दर्ता जस्ता समस्या देखाउँँदै उजुरी गरेका घटना पनि बढिरहेका छन् । ९ महिनाको अवधीमा ४१ वटा करणी सम्वन्धी मुद्दा दर्ता भएका छन् । समाज कता जाँदैछ भन्ने विषय गम्भीर बन्न थालेको छ ।





