2026 April 17/ 04:36: 52am

जनगणना २०७८ को तथ्याङ्कले कम उमेरमा विवाह गर्ने नागरिकहरुको संख्या अत्याधिक रहेको छ । काभ्रेपलाञ्चोक जिल्लाका विकट पालिका खानीखोला, महाभारत, तेमाल, रोशी, चौरीदेउराली, भुम्लु र शहरी क्षेत्रका पालिकाहरुमा समेत कम उमेरमा विवाह गर्ने बालबालिकाहरुको संख्या धेरै देखिएको छ । बाल विवाह न्यूनिकरण गर्ने अभियान शुरु भए पनि प्रभावकारी हुन सकेका छैनन । विशेषगरी विद्यालय तहबाटै प्रदान गरिने जनचेतनामुलक कार्यक्रम अझै प्रभावकारी बनाउन जरुरी छ । स्थानीय तहले खेल्नुपर्ने भूमिका पनि प्रभावकारी बन्न सकेको छैन । बालमैत्री नगर तथा पालिका घोषणा गरिसकेका स्थानमा पनि बाल विवाह रोकिएको छैन । 
    कानुनले बर्जित गरेको २० वर्ष भन्दा कम उमेर समुहमा धेरै ब्यक्तिहरुको विवाह हुने गरेको जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाईने कानूनमा ब्यवस्था भए पनि जिल्लामा त्यहि उमेर भन्दा कम उमेर समुहमा विवाह गर्नेहरुको ६२ प्रतिशत रहेको छ । अझै पनि १० वर्ष भन्दा कम उमेरमा विवाह भएका ब्यक्तिहरुको संख्या कुल जनसंख्याको १ प्रतिशत छ भन् १० भन्दा माथी १४ भन्दा कम उमेर समुहमा विवाह गर्नेहरुको सख्या ८ प्रतिशत छ । जिल्लाको महाभारत र खानिखोला गाउँपालिकामा यो उमेर समुहमा विवाह गर्नेहरु धेरै छन् । १५ देखि १७ वर्ष उमेर समुहमा विवाह गर्नेहरुको संख्या २१ प्रतिशत छ भने १८ देखि २० वर्ष भित्र विवाह गर्नेहरुको संख्या ३२ प्रतिशत छ । २१ देखि २४ वर्षसम्म विवाह गर्नेहरुको संख्या २३ प्रतिशत छ । २५ देखि २९ सम्म विवाह गर्नेहरु ११ प्रतिशत छन् । ३० वर्ष उमेर कटाएर विवाह गर्नेहरुको सख्या ४ प्रतिशत छ । काभ्रेमा ३ लाख ६४ हजार ३९ जनसंख्या रहेको छ । 
    शहरी क्षेत्रमा बालविवाहको संख्या कम भए पनि ग्रामिण भेगमा बढिरहेको बालविवाहको तथ्याङ्क प्रति स्वयम बालबालिका र अभिभावकलाई जिम्मेवार बनाउने अभियान पालिकाहरुले शुरु गरेका छन् । चालु आर्थिक वर्षमा महाभारत गाउँपालिकाले हरेक आधारभुत विद्यालयमा बाल विवाह न्यूनीकरणका लागि सचेतनामुलक नाटक, गित र नृत्यका साथै प्रहरी मार्फत कानूनी ज्ञान र त्यसका असरका बारेमा जानकारी गराएको छ । अभियान शुरु भएका केहि वर्ष देखि बालविवाह गर्नेहरुको संख्या कम भए पनि मोवाईलको प्रयोग, गरिवी, चेतनाको अभाव तथा विविध कारणबाट बालविवाह रोक्न सकिएको छैन । विद्यालयमा अभिभावक र बाललिबाहरु दुबैलाई संगै राखेर बाल विवाह गर्दा कानूनी, आर्थिक, सामाजिक र स्वास्थ्यका हिसावले हुन सक्ने संकटका बारेमा जानकारी गराउँदै आएको छ । ८ हजार भन्दा धेरै ब्यक्तिहरुले नाटक हेर्नु भयो । नाटक हेरेकै भोलिपल्ट दुई जना बालबालिकाहरु विवाह गरेर भागेको सूचना पालिकामा आएकाले अझै चेतना नपुगेको गाउँपालिकाले स्विकार गरेका छन् ।  विकट पालिकामा विद्यार्थीहरु बीचमै अध्ययन छाड्ने र बालविवाह गर्ने समस्या बलियो बन्दै गएको तथ्यहरुले देखाएका छन् । बाल विवाह अन्त्य गर्न सबै क्षेत्रको उत्तिक्कै भूमिका र सक्रियता जरुरी छ ।