2026 April 17/ 04:37: 16am

    जिल्लाको विकट पालिका महाभारत र खानीखोलाका नागरिकहरुको दैनिकी अस्तब्यस्त छ । गरिवी र भौगोलिक विकटताका कारण नागरिकहरु दैनिक असहजता ब्यहोर्न बाध्य छन् । विकास पुग्न नसकेका पालिकामा पुगेका विकास पनि सम्पन्न हुन सकेका छ्रैनन् । स्वास्थ्य, शिक्षा, गरिवी, रोजगार तथा चेतनामा समेत पछि परेको महाभारत र खानीखोलालाई दिगो विकासका कुनै सुचकहरुले छुन सकेका छैनन् । भौगोलिक विकटता पहिलो समस्याका रुपमा देखिएको छ । आय आर्जन हुन नसक्दा गरिवीको सिमा नाघेको छ । शिक्षा र स्वास्थ्यलाई प्रथामिकतामा राखेर आयोजना गरिएको दुई दिने शिविरमा दर्जनौ घटना प्रतिनिधिमुलक रुपमा देख परेका छन् । ति घटनाको प्रतिविम्ब दुरदराजका नागरिकहरुले दैनिक भोगिरहेको समस्या हो । 
    महाभारत गाउँपालिका वडा नम्वर ४ बुढाखानी किल्ला स्थित बीचबहादुर मोक्तान र डल्कीमाया मोक्तानकी चार बर्षिया छोरी शान्ति मोक्तान जन्मँदै अपाङ्ग भईन् । उनका दुबै खुट्टा चल्दैनन् । हात चल्छ, बोली प्रश्ट छ । गरिवी र विकटताका कारण शान्तिलाई अस्पताल पु¥याउन सम्भव थिएन । स्वास्थ्य कार्यालय काभ्रे र महाभारत गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा शान्ति जस्ता अनेकौं समस्या भएका तर अस्पताल जान नसकेका चार सय भन्दा धेरै विरामीहरुले सेवा प्राप्त गरे । शिविरमा पहिचान भएका गम्भिर प्रकृतिका रोग लागेर उपचार गराउनै नसक्ने अवस्थाका विरामीहरुलाई गाउँपालिकाको सहयोग र समन्वयमा निशुल्क उपचारका लागि पहल भएको छ । शिविरले नागरिकहरुलाई स्वास्थ्य पहुँच पु¥याउन सहयोग पु¥याएको भए पनि आधारभुत अस्पताल नभएका कारण परेको समस्या समाधानका लागि पालिकाले आवश्यक पहल गरिरहेको छ । एम्बुलेन्स समेत नजाने सडकका कारण महाभारतका अधिकांश वडाका नागरिकहरु स्वास्थ्य सेवाबाट बन्चित छन् । बीचबहादुरको आफ्नो जग्गा र घर छैन । बाटो छेउमा टहरा बनाएर त्यहि टहरामा भैसी एउटा पालेर बसेका बीचबहादुरको पहिलो सन्तान ८ वर्षको छोरा लाक्पा दोर्जे मोक्तान स्वस्थ छ । नजिकै रहेको ग्रामोन्नती मावी किल्लामा अध्ययन गरिरहेका लाक्पाको शिक्षाका लागि पनि लगानी गर्न उनिहरुसँग श्रोत छैन । दोश्रो सन्तान छोरी शान्तिको जन्म भयो । परिवारमा केहि नभए पनि छोरी जन्मिए पछिको खुशी चार वर्ष हुँदासम्म पाउन सकेनन् । छोरी बोल्दै गईन् । हात चलाउँदै गईन् । बोली फुट्यो, हात चल्यो, शरिर चल्यो तर खुट्टा चलेनन् । जन्मे देखिको उक्त समस्या चार वर्ष हुँदासम्म देखाउन जाने साहस बीचबहादुर र उनको श्रीमती डल्कीमाया मोक्तानमा आएन । 
    नियमित सवारी साधन चल्न नसक्ने, चलेको सवारी साधनमा ओहोर दोहोर गर्न पैसा नहुने, उपचारका लागि थप रकमको जोहो गर्न नसक्ने समस्याका कारण महिला तथा बालबालिकाहरु र जेष्ठ नागरिक समेत भगवान भरोसामा जीवन विताई रहेका छन् ।     शिविरमा सहभागि जिल्लाका विशिष्ट ब्यक्तिहरुले अकालमा ज्यान गुमाउनु पर्ने परिस्थितीको अन्त्य गर्न सडक र अस्पताल लगायतका आधारभुत आवश्यकता पुरा गर्ने बताए पनि निर्माणाधिन सडक अलपत्र पार्ने निर्माण ब्यवसायी तथा अन्य पूर्वाधार निर्माणमा पहलकदमी गर्न नसक्दा महाभारतबासीका पीडा हरेक वर्ष सहज नभई गहिरो बन्दै गएका छन् । नागरिकहरुलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न भएका स्वास्थ्य चौकीको स्तरोन्नती र गुणस्तरीय सेवाका लागि जनशक्ति ब्यवस्थापनमा ध्यान दिए पनि विकटातकै कारण नागरिकले खोजे जस्तो सेवा सहज हुन सकेको छैन ।