2026 April 17/ 04:37: 15am

    प्रविधिको प्रयोगसँगै युवाहरुको आर्कषण दुरुपयोग र दुब्र्यसनी तर्फ बढिरहेको छ । युवाहरुको उर्जाशिल समय दुब्र्यसनमा लागिरहँदा मुलुकले ब्यहोर्नु पर्ने कयन ब्यवधान, परिवारको पीडा तथा सामाजिक अपहेलनाबाट मुक्त हुन सकेका छैनन् । अभिभावकहरुले विश्वासमा सन्तानलाई विद्यालय वा ब्यवसायमा पठाउँदा युवाहरुले गलत बाटो समाउँदै दुब्र्यसनीमा फस्नु स्वतन्त्रताको समेत दुरुपयोग हो । प्रहरीको सक्रियता, अभिभावकको निगरानी र साथीहरुको लहैलहैमा फसेका युवाहरुलाई उत्साहपूर्ण वातावरण बन्न सकेन भने युवाहरु दुब्र्यसनीको दलदलमा फस्ने निश्चित छ । विद्यालय तहबाट नै युवाहरुलाई अभिमुखीकरण गर्ने, गलत बाटोका बारेमा सचेतना गराउने र सहि मार्गमा लाग्न अभिप्रेरित गर्ने अभियानमा सरोकारवाला पक्ष सक्रिय हुनु आवश्यक छ । 
    काभ्रेपलाञ्चोक जिल्लाको तथ्यांकले पनि युवाहरुलाई त्यस्तै अवस्थामा सक्रिय हुन थालेको देखाउँछ । दुब्र्यसनीमा संलग्न भएर प्रहरीले पक्राउ गरेको अभियुक्तको संख्या थोरै छ तर सुधारका लागि चालिएका प्रयास प्रभावकारी बन्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा दुब्र्यसनी सम्वन्धी ८ वटा मुद्दा दर्ता भएका छन् । लागु औषध नाईट्रोभेट र गाँजा सहित पक्राउ परेका ब्यक्तिहरुलाई मुद्दा चलाएको छ । अरनिको र विपी राजमार्गको केन्द्र ब्यापारीक नगरी बनेपा र शहरी क्षेत्रका मुख्य मुख्य भाग लागु औषध ओसारपसारको केन्द्र बनिरहेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा सोहि अभियोगमा ४ वटा मुद्दा दर्ता भएका छन् । चालु वर्षको ६ महिनामा ३ वटा मुद्दा दर्ता भएका छन् । पछिल्ला ३० महिनामा १५ वटा लागु औषधका मुद्दा दर्ता हुँदा २३ जना पक्राउ परेका छन् । एकजना महिला छन् । अझै चार जना मुद्दामा संलग्न ब्यक्ति फरार छन् । यसले पनि थप प्रमाणित गर्छ लागु औषध मुद्दामा युवाहरुको संलग्नता बृद्धि हुँदै गएको छ । विशेषगरी जिल्लाको पनौती र पाँचखाल नगरपालिकामा लागु औषध दुब्र्यसनमा फसेका ब्यक्तिहरुका लागि सुधार गृह सचालन भएको छ । ब्यक्ति सुधारका नाममा दिईने यातनाका कारण पनौतीमा केहि वर्ष अघि एक युवकले ज्यान गुमाउन पुगेका थिए । संचालकहरु अहिले कारागारमा छन् । सुधार गृहमा राखिएका युवाहरु पनि पहिलाकै अवस्थामा फर्कने अवस्थामा छैनन् ।  
    युवाहरु लागु औषध प्रयोग गरेकै कारण निधन हुने क्रम पनि बढेको छ । केहिदिन अघि बनेपामा २० वर्षिया युवतीको निधन लागु औषधको अत्याधिक प्रयोगकै कारण भएको छ । लागु औषधकै कारण एचआईभी एड्स जस्ता प्राणघातक रोगको शिकार समेत हुनु परेको युवा पुस्ता दुब्र्यसनको दलदलमा फसेको हो । जिल्लाको १३ पालिकामा तथ्यांकमा खानीखोला, महाभारत, नमोबुद्ध, मण्डनदेउपुर, चौरीदेउराली, तेमाल र बेथान्चोक गाउँपालिकामा तीस महिनामा एउटा पनि लागु औषधका मुद्दा दर्ता भएका छैनन् । यसको मतलब त्यहाँ घटना नभएका र नहुने भन्ने होईन । प्रहरीले बरामद गरेका घटनामा ति पालिका बरामद छैनन् । सदरमुकाम धुलिखेलमा पनि अघिल्ला दुई आर्थिक वर्षमा त्यस्तो मुद्दा छैन । तर चालु वर्षको ६ महिनामा एउटा मुद्दा दर्ता भएको छ । लागु औषध ओसार पसार, प्रयोग तथा दुब्र्यसनीमा फसेकाहरुलाई उद्दारका लागि अझै प्रभावकारी सचेतना कार्यक्रम तीन तहकै सरकार, विद्यालय तथा समुदायमा हुनु आवश्यक छ ।